विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा ठाकुरबाबा शैली 

शीला योगीले हालै नेपाल राष्ट्रिय मावि, ठाकुरबाबा-९, बेतहानीमा प्रावि तहको शिक्षकको रूपमा नियुक्ति लिएकी छिन्। शिक्षक छोटुराम थारूको अनिवार्य अवकाशपछि योगीले करार शिक्षकको रूपमा नियुक्ति पाएकी हुन्। योगीको नाम पालिकाले बनाएको ‘शिक्षक बैंक’ मा पहिले नै अंकित थियो। 

यस्तै जगदम्बा मावि, मडेलामा दीपिका जोशीले निमावि सामाजिक शिक्षकको रूपमा नियुक्ति पाएकी छन्। उनी पनि ‘शिक्षक बैंक’ को सूचीमा रहेकी शिक्षक हुन् । शिक्षक गीता खत्री सुत्केरी भएपछि सट्टा शिक्षकको रूपमा नगरपालिकाले गत पुसमा भर्ना गरेको हो।

ठाकुरबाबा नगरपालिकाले योगी र जोशी जस्तै ११ जनालाई आफैंले स्थापना गरेको ‘शिक्षक बैंक’ मार्फत विभिन्न विद्यालयमा अध्यापनका लागि पठाएको छ। पालिकाभित्रका विद्यालयमा शिक्षक अभाव हुन नदिन र विभिन्न कारणले शिक्षक नहुँदाका समयमा पठनपाठन सुचारु गर्ने उद्देश्यले पालिकाले ‘शिक्षक बैंक’ स्थापना गरेको हो। ‘शिक्षक बैंक’ मा ४९ जना महिला र ११ जना पुरुष गरी जम्मा ६० जना शिक्षक सूचीकृत छन्। त्यसमध्ये बालविकास तर्फका १३ जना, प्रावि तहका १४ जना, निमावि तहका २२ जना र मावि तहका ११ जना शिक्षक छन्। अहिलेसम्म विद्यालयमा खटाइएका ११ मध्ये नगर शिक्षकको रूपमा ५ जना, दरबन्दी र राहत शिक्षकको रूपमा ३ जना, सुत्केरी सट्टा शिक्षक २ जना र नगर बालविकास शिक्षकको रूपमा १ जना रहेका छन्। ११ जनामा ८ महिला र ३ पुरुष छन्। 

विभिन्न कारणले विद्यालयमा रिक्त हुने शिक्षकको छनोट प्रक्रियामा लामो समय लाग्दा त्यसको असर पठनपाठनमा पर्ने गरेको विगतको अनुभवले ‘शिक्षक बैंक’ को स्थापना गरिएको ठाकुरबाबा नगरपालिका प्रमुख (मेयर) तिलक राम लम्साल बताउँछन्। नगरपालिकाले विज्ञ सहितको छनोट समिति बनाई खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी ‘शिक्षक बैंक’ मा शिक्षकहरूको विवरण राखेको छ। शिक्षक छनोट प्रक्रियामा गणित विषयको विषयविज्ञका रूपमा काम गरेका त्रिभुवन माविका प्रधानाध्यापक वामदेव ढकाल “शिक्षक सेवा आयोगको पाठ्यक्रम र मापदण्ड पूरा गरेर ‘शिक्षक बैंक’ का लागि शिक्षक छनोट गरिएको” बताउँछन्। 

विद्यालयमा शिक्षक रिक्त हुनासाथ योग्यता, तह र विषय अनुसार शिक्षक सिफारिश गर्न, प्रसूति बिदाका कारण शिक्षकको अनुपस्थिति हुँदा र कुनै विद्यालयका शिक्षक लामो बिदामा बस्दाका अवस्थामा ‘शिक्षक बैंक’ उपयोगी देखिएको नगरपालिकाकी शिक्षा शाखा प्रमुख सीता भण्डारी बताउँछिन्। ठाकुरबाबा-५, वनकट्टीको किसान माविका शिक्षक हरिप्रसाद गौलीले आफ्नो विद्यालयमा पालिकाको शिक्षक बैंकबाट विज्ञान शिक्षक तीन दिनमै परिपूर्ति भएको बताए । नयाँ शिक्षक नियुक्तिका लागि महिना दिनसम्म लाग्ने गरेको विगतको अनुभव सुनाउँदै उनले यो पटक शिक्षकका कारण विद्यार्थीको पठनपाठन रोकिन नपाएको बताए। उक्त विद्यालयमा ‘शिक्षक बैंक’ बाट गत माघ महिनामा प्रदीप भण्डारीलाई विज्ञान शिक्षकको रूपमा नगरपालिकाले पठाएको थियो।

दरबन्दी मिलानसँगै नगर शिक्षकः

विभिन्न विद्यालयमा शिक्षक अभाव देखिएपछि ठाकुरबाबा नगरपालिकाले दरबन्दी मिलान र नगर शिक्षक मार्फत शिक्षक व्यवस्थापनको काम पनि गरेको छ । पालिकाले कम्तीमा एउटा कक्षामा एक जना शिक्षक र प्रावि तहमा ४० जना, निमावि तहमा ४५ जना र मावि तहमा ५० जना विद्यार्थीको आधारमा शिक्षक दरबन्दी मिलान र नगर शिक्षक व्यवस्थापन गरेको हो । एउटै विद्यालयमा सेवा अवधि पाँच वर्ष पुगेका शिक्षकलाई पालिकाले अर्को विद्यालयमा सरुवा पनि गरेको छ। यसरी १११ जना शिक्षक अर्को विद्यालयमा सरुवा गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए । सरोकारवालाहरूसँगको छलफल र समझ्दारीपछि मात्रै शिक्षक सरुवाको काम गरिएको नगरपालिकाको भनाइ छ। बालविकास तह, साविकको उच्च माविको नियुक्तिका दीर्घरोगी, अपाङ्गता भएका र अनिवार्य अवकाशका लागि एक वर्ष मात्रै बाँकी रहेका शिक्षकलाई भने सरुवा गरिएको छैन। 

यसैगरी आधारभूततर्फ १-३ कक्षाका ३ वटा र १-५ कक्षाका ६ वटा गरी ९ वटा सामुदायिक विद्यालय समायोजन भएका छन्। त्यहाँ कार्यरत २१ जना शिक्षक र ८ जना विद्यालय कर्मचारी अरू विद्यालयमा व्यवस्थापन भएका छन्। समग्रमा शिक्षक संख्या अपुग भएपछि नगरपालिकाले प्रावि तहका ८ जना, निमावि तहका २८ जना, मावि तहका २६ जना र उच्च मावि तहका २ जना गरी ६४ जना नगर शिक्षक नियुक्ति गरेको छ । दरबन्दी मिलान, शिक्षक बैंक र नगर शिक्षकको व्यवस्थाले कक्षागत रूपमा विद्यार्थी संख्याका आधारमा कम्तीमा एक जनाका दरले नगरपालिकाभित्रका सबै विद्यालयमा शिक्षक उपलब्ध भएको पालिकाको दाबी छ। यसबाट विशेषगरी प्राथमिक तहमा हुने ‘बहु वर्ग शिक्षण’ को समस्या हटेको र विषयगत रूपमा कक्षाकोठामा शिक्षकको सुनिश्चितता भएको अधिकृत रिजालको भनाइ छ। 

ठाकुरबाबा नगरपालिकाले अन्य पालिकाहरूले भर्ना गरेका शिक्षकको पारिश्रमिक भन्दा तुलनात्मक रूपमा शिक्षकहरूलाई राम्रो पारिश्रमिक दिएको छ। यो नगरपालिकाले ‘शिक्षक बैंक’ मार्फत नियुक्ति हुने शिक्षक र नगर शिक्षकलाई सरकारी तलबको ८५ प्रतिशत र महँगी भत्ता रु.२ हजार प्रति महीना उपलब्ध गराउँदै आएको छ। त्यसरी तलब राख्दा प्रावि तहका शिक्षकको रु.२९ हजार ९६७, निमावि तहका शिक्षकको रु.३१ हजार ५२१, मावि तहका शिक्षकको रु.३९ हजार १३६ र साविकको उच्च मावि तहका शिक्षकको रु.४३ हजार ४२६ हुन आउँछ। तर दरबन्दी खाली भएको ठाउँमा नियुक्त भएका शिक्षकले भने सरकारी तलब स्केल नै पाउने गरेका छन्।

यसका साथै नगरपालिकाले पालिकाभरका ६० जना बालविकास शिक्षक र ३९ जना विद्यालय कर्मचारीका लागि संघीय सरकारले उपलब्ध गराएको मासिक पारिश्रमिकमा थप रु.७ हजार थप गरेर दिने गरेको छ। यसले गर्दा त्यसरी नियुक्त गरिएका शिक्षक र कर्मचारीमा टिकाउपन देखिएको छ। ठाकुरबाबा नपाले बालविकास शिक्षकको योग्यता कम्तीमा एसईई उत्तीर्ण बनाएको छ। चालु शैक्षिक सत्रमा न्यूनतम योग्यता (एसईई वा सो सरह) नभएका १० जना बालविकास शिक्षकलाई रु.१ लाख क्षतिपूर्ति रकम प्रदान गरी सेवा बिदा गरेको छ। ती बालविकास शिक्षकको ठाउँमा नयाँ योग्यता सहितका जनशक्ति व्यवस्थापन गरेको छ। सूचना प्रविधिमा शिक्षकलाई दक्ष बनाउने यो नगरपालिकाले लामो बिदाको समयमा विद्यालयको पठनपाठनलाई असर नपुग्ने गरी कम्प्युटर सीप नभएका सबै शिक्षक-कर्मचारीलाई कम्प्युटर तालिम अनिवार्य गरेको छ। अहिलेसम्म उक्त तालिममा २१८ जना शिक्षक कर्मचारी सहभागी भएका छन्। 

योग्यता पुगेका शिक्षकलाई प्रअको जिम्मेवारीः ठाकुरबाबा नगरपालिकाले तहगत र विषयगत रूपमा सम्बन्धित तहका स्थायी शिक्षकले मात्र विद्यालयको नेतृत्व गर्ने गरी प्रधानाध्यापक व्यवस्थापन गरेको छ। त्यसरी नयाँ जिम्मेवारी पाउने प्रधानाध्यापकमा प्रावितर्फ ७ जना, निमावितर्फ ५ जना र मावितर्फ ६ जना छन्। यसरी तह अनुसार योग्यता पुगेका स्थायी शिक्षक प्रअ नेतृत्वमा हुँदा शिक्षकको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको र प्रअलाई बढी जिम्मेवार बनाउन सकिएको पालिकाका शिक्षा अधिकारीहरूको अनुभव पाइन्छ। विद्यालय सिकाइ सुधार कार्यविधि-२०८० अनुसार पालिकाले प्रअसँग र प्रअले शिक्षक कर्मचारीसँग कार्य सम्पादन करार गरी काम गरिरहेका छन्। 

रोष्टर शिक्षक मार्फत पेशागत सहयोगः नगरपालिकाले रोष्टर शिक्षकको व्यवस्था गरी विषयगत शिक्षकको दक्षता वृद्धिमा पनि सहयोग गरिरहेको छ। अहिले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्थानीय पाठ्यक्रम र ऐच्छिक समेत सात वटा विषयमा हरेकमा ३ जनाका दरले २१ जना रोष्टर शिक्षक छानिएका छन्। ती शिक्षकले कम्तीमा अर्धवार्षिक रूपमा विद्यालयहरूमा पुगी सम्बन्धित विषयका शिक्षकहरूसँग अनुभव आदानप्रदान तथा पेशागत सहयोग प्रदान गर्ने गरेका छन्। आउँदो शैक्षिक सत्रदेखि रोष्टर शिक्षकबाट पेशागत सहयोग पुर्‍याउने दर बढाउने योजना पालिकाले बनाएको शिक्षा सुपरीवेक्षक नन्दराम अधिकारी बताउँछन्। 

शिक्षक-कर्मचारी प्रोत्साहनः शैक्षिक गुणस्तर तथा सिकाइ सुधार कार्यविधि अनुसार शिक्षक कर्मचारी पुरस्कार तथा सम्मानका लागि नगरले सिफारिश समितिको व्यवस्था गरेको छ। जस अनुसार वार्षिक रूपमा बालविकास शिक्षक, प्रावि शिक्षक, निमावि शिक्षक, मावि शिक्षक, साविकको उच्च मावि शिक्षकलाई पुरस्कार र सम्मान गर्ने गरिएको छ । त्यसैगरी उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, संस्थागत विद्यालय र विद्यालय कर्मचारीलाई पनि सम्मान गर्ने गरेको छ । पालिकाले सामुदायिक विद्यालयका शिक्षक र कर्मचारी प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूको पनि तलब मासिक रूपमा निकासा गर्न थालेको छ। 

विद्यालय शिक्षामा निःशुल्कको अभ्यास
बर्दियाको ठाकुरबाबा नगरपालिकाले शैक्षिक सत्र-२०८० देखि व्यावहारिक रूपमै निःशुल्क शिक्षाको अभ्यास गरिरहेको नगरपालिकाको दाबी छ। त्यस अनुसार कक्षा-१० सम्म पूर्ण निःशुल्क र कक्षा ११ र १२ मा लक्षित समुदायका बालबालिकालाई निःशुल्क गरिएको नगर प्रमुख तिलकराम लम्साल बताउँछन्। ‘मानवपूँजी निर्माणले मात्रै गाउँ, समाज र समग्र देशको विकास हुने भएको हुँदा नगरको आम्दानी कम हुँदाहुँदै पनि शिक्षामा ३४.४ प्रतिशत बजेट विनियोजन गरेको मेयर लम्सालको भनाइ छ । शिक्षामा गरिएको लगानीले तत्काल केही नदेखिए पनि दीर्घकालमा परिणाम आउँछ भन्नेमा आफूहरू आशावादी रहेको’ नगरप्रमुख लम्साल बताउँछन्। 

आव २०८०/८१ का लागि ठाकुरबाबा नपाको कुल बजेट रु.७९ करोड २७ लाख छ। त्यसमध्ये शिक्षाको बजेट रु.२७ करोड ११ लाख (३४.२ प्रतिशत) छ। नगरपालिकाले सामुदायिक विद्यालयतर्फ प्रति बालबालिका प्रति महिना रु.२,२३० र वार्षिक रु.२६,६६० पर्ने गरी लगानी भइरहेको नगरप्रमुख लम्सालले बताए । नगरपालिकाको वडा-२ का सुरज थारूले आफ्ना तीन जना छोराछोरीले सामुदायिक विद्यालयमै पढिरहेको र उनीहरूको शुल्क गत वैशाखदेखि बुझउनु नपरेको बताए। आफू जस्ता निम्न आय भएका व्यक्तिलाई पालिकाको निःशुल्क शिक्षा कार्यक्रमले सहयोग पुगेको उनले बताए। अर्की अभिभावक गीता थारूले अंग्रेजी माध्यममा पढिरहेका दुई जना बच्चाको शुल्क तिर्नु नपर्दा ठूलो राहत मिलेको बताइन्। स्थानीय खड्कबहादुर थापा नगर सरकारले कक्षा-१२ सम्म शिक्षा निःशुल्क बनाउने गरी गरेको काम निकै राम्रो भएको बताउँछन्।

चुरे मावि, ठाकुरबाबा-३ का प्रधानाध्यापक राजेशकुमार यादव ‘स्थानीय सरकार बनेपछि आफ्नो क्षेत्रमा विद्यालय शिक्षाले फड्को मारेको’ बताउँछन्। उनका अनुसार सामुदायिक विद्यालयको पठनपाठन सुध्रिएपछि र अंग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि त्यस क्षेत्रमा दुई वटा निजी विद्यालय बन्द भएका छन्। ठाकुरबाबा नगरपालिकामा निजीतर्फ आधारभूत १-५ को १ वटा, आधारभूत १-८ को १ वटा र माध्यमिक १-१० को १ वटा गरी ३ वटा विद्यालय आपसमा गाभिएका छन्। नगरपालिकाले निःशुल्क शिक्षा शुरू गरेपछि ५ जना नगर शिक्षक र ५ जना दरबन्दी मिलानबाट थप शिक्षक पठाउनुको साथै केही प्रशासनिक खर्च दिएको बताए। उनका अनुसार विपन्न र बेसहारा बालबालिकालाई  शिक्षाको अवसर दिने उद्देश्यले चुरे माविलाई नगरपालिकाको सहयोगमा आवासीय विद्यालय बनाउन लागिएको छ।  

नीति अघि सार्दै थिति बसाल्दै
ठाकुरबाबा नपाले सरोकारवालाहरूको सहभागितामा १० वर्षे नगर शिक्षा योजना बनाएको छ। त्यस्तै नगर शिक्षा पाश्र्वचित्र, विद्यालय दर्पण, स्रोत सामग्री सँगालो, वार्षिक शैक्षिक क्यालेन्डर  लगायत सामग्री पनि निरन्तर प्रकाशन गरिरहेको छ। यसबाट पालिकाको शैक्षिक अवस्थाको जानकारी लिन सजिलो भएको छ । नगरपालिकाले शिक्षा सम्बन्धी १२ वटा ऐन-नियम बनाइ कार्यान्वयनमा ल्याएको छ। ती ऐन-नियममा ठाकुरबाबा नगर शिक्षा ऐन-२०७५, नगर शिक्षा नियमावली-२०७५, शिक्षक व्यवस्थापन कार्यविधि-२०७५, नगर खेलकुद विकास तथा सञ्चालन कार्यविधि-२०७६, विद्यार्थी आन्तरिक मूल्याङ्कन कार्यविधि-२०७८, बाल संरक्षण नीति-२०७८, शैक्षिक विकास कोष परिचालन सम्बन्धी कार्यविधि-२०७८, विद्यालय तथा शिक्षा कार्यक्रम सुपरीवेक्षण कार्यविधि-२०७९, अनिवार्य तथा निःशुल्क गुणस्तरीय शिक्षा कार्यान्वयन कार्यविधि-२०७९, विद्यालय सिकाइ सुधार कार्यविधि-२०८०, असहाय एवं अनाथ बालबालिका व्यवस्थापन तथा सिकाइ सम्बन्धी व्यवस्था गर्न बनेको कार्यविधि-२०८० र नगर प्रज्ञा प्रतिष्ठान ऐन-२०८० हुन् । 

शैक्षिक र शिक्षण क्रियाकलापमा जोड

कक्षाको पठनपाठन प्रभावकारी बनाउन शिक्षण क्रियाकलापमा शिक्षण सामग्रीको प्रयोगलाई जोड दिएको पालिकाले कमजोर सिकाइ भएका बालबालिकाका लागि पृष्ठपोषण कक्षामा सहयोग गरिरहेको छ। कक्षा ४ देखि १२ सम्मका बालबालिकाका लागि परियोजना कार्य अनिवार्य गरिएको छ । चुरे माविको कक्षा–१२ की विद्यार्थी अरुणा थारूले विद्यालयले परियोजना कार्य मार्फत सिकाउने गरेको अनुभव सुनाइन्। उनले पछिल्लो पटक आफूहरूले पैतृक सम्पत्तिमा महिलाको अवस्थाको विषयमा परियोजना कार्य गरेको र त्यसबाट करिब २५ प्रतिशत महिलाले मात्रै उक्त अधिकार पाएको भेटिएको बताइन्। 

शिक्षक लग बुक (सीएमसी डायरी): पालिकाका विद्यालयमा कक्षा व्यवस्थापन गर्नका लागि बालबालिकाहरू नै रहेको कक्षा व्यवस्थापन समिति (सीएमसी) गठन गरी डायरीमा रेकर्ड राख्न शुरू गरिएको छ । उक्त डायरीमा बालबालिकाले शिक्षक प्रवेश र बाहिरिएको समय, शिक्षण क्रियाकलाप, गृहकार्य जस्ता विषयको अभिलेखीकरण गर्दछन्। यसबाट शिक्षकहरूको कक्षा शिक्षण समय र सिकाइ गतिविधिको निगरानीमा समेत सहयोग पुग्ने गरेको पालिकाको कथन छ। शिक्षकले पाठयोजना र पालिका तथा विद्यालयको सुझाव तथा निर्देशनहरू यसमा टिपोट गर्ने गरेका छन्। 

चुरे मावि, बर्दियाको कक्षा-१२ की छात्रा अरुणा थारू परियोजना कार्यबारे बताउँदै ।

कक्षा ५ र ८ मा पालिकास्तरीय परीक्षाः नगरपालिकाले कक्षा ५ र ८ को परीक्षा पालिकास्तरमा सञ्चालन गर्ने गरेको छ। उदार कक्षोन्नति अन्तर्गत शिक्षकले बालबालिकाको न्यूनतम सिकाइ पूरा नभएको पाएपछि कक्षा-५ को विद्यार्थी मूल्यांकनमा नगरपालिका जोडिनु परेको यहाँका अधिकारीहरूको कथन छ। यसले कक्षोन्नतिमा शिक्षक जवाफदेही बनी सिकाइ जोडिनमा सघाउ पुगेको पालिकाको भनाइ छ। ती दुवै परीक्षाको व्यवस्थापन खर्च पालिकाले व्यहोर्ने गरेको छ। 

स्थानीय पाठ्यक्रमः नगरपालिकाले कक्षा १-८ मा हाम्रो ठाकुरबाबा नामको स्थानीय पाठ्यक्रम २०७६ सालदेखि कार्यान्वयनमा ल्याएको छ। शिक्षकलाई सिर्जनशील बनाउनका लागि भनेर यहाँ पाठ्यपुस्तक निर्माण नगरी शिक्षकका लागि स्रोत सामग्री पुस्तिका मात्रै तयार गरिएको छ। स्रोत सामग्रीका आधारमा शिक्षकले क्रियाशील भई पठनपाठन र सिकाइ क्रियाकलाप गर्नुपर्दछ। ठाकुरबाबाकी उपमेयर बिना भट्टराई स्थानीय कला, संस्कृति र परम्पराका साथै ठाकुरबाबाको पर्यटन समेत स्थानीय पाठ्यक्रममा समेटिएको बताउँछिन्। विद्यालय तहमा नैतिक शिक्षाको आवश्यकता महसुस गरी स्थानीय पाठ्यक्रम परिमार्जन गरी नैतिक शिक्षाका पाठ स्थानीय पाठ्यक्रममा समावेश गरिएका छन् ।

पालिकाभरका विद्यार्थीको पोशाकमा एकरूपताः शैक्षिक सत्र २०८० देखि ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि एउटै पोशाक कार्यान्वयनमा ल्याएको छ। अहिले पालिका अन्तर्गतका २३ वटा सामुदायिक विद्यालयका १० हजार २३ जना विद्यार्थीले उस्तै पोशाक लगाएका छन्। पालिकाले ती विद्यार्थीका लागि टाई र बेल्ट भने निःशुल्क उपलब्ध गराएको छ । यसबाट पोशाक उपलब्धतामा सहजता आउनुको साथै नगरको शान बढेको त्रिभुवन माविको कक्षा ११ की छात्रा विपना परियारले बताइन् । पोशाक हामीले किन्यौं उनले भनिन्, ‘टाई बेल्ट नगर सरकारले दिएको छ, नगरका हामी सबै विद्यार्थी एकैनाशका देखिएका छौं ।’ पालिकाभरिका सामुदायिक विद्यालयहरूमा बिहानी प्रार्थना समयमा एकै प्रकृतिको संगीतमय पिटी संचालन हुने नगरपालिकाको भनाइ छ। 

आमा-अभिभावक शिक्षा कार्यक्रममा बोल्दै एक अभिभावक ।

आउँदो शैक्षिक सत्रदेखि ठाकुरबाबा नपामा रहेका १२ वटा निजी विद्यालयमा समेत समान पोशाक प्रयोगमा ल्याउने तयारी भइरहेको नगरप्रमुख तिलकराम लम्सालले जानकारी दिए । यहाँका निजी विद्यालयमा ४ हजार ८१९ जना बालबालिका रहेका छन् । पालिकाले निजी विद्यालयका विद्यार्थीले पठनपाठन गर्ने विभिन्न प्रकाशनका पाठ्यसामग्रीमा समेत एकरूपता ल्याउने जनाएको छ। निजी विद्यालयहरूले पटकपटक पाठ्यसामग्री परिवर्तन गर्ने र त्यसबाट अभिभावकलाई आर्थिक भार परेको भन्ने आशंकाले त्यसो गर्न लागेको नगरपालिकाको भनाइ छ। 

महिलामैत्री विद्यालयः नगरका केही विद्यालयलाई महिलामैत्री बनाउने गरी काम शुरू गरेको नगर उपप्रमुख बिना भट्टराई बताउँछिन्। महिलालाई नेतृत्व सीप बढाउने उद्देश्यले महिला विद्यालयको अवधारणा ल्याएको उनको भनाइ छ। उनका अनुसार ती विद्यालयको नेतृत्व महिलाले गर्नेछन्। विद्यालयमा महिला प्रअ, महिला शिक्षक र विव्यसमा समेत महिला सदस्य रहनेछन्। ठाकुरबाबा नपा-७, कालीगौडीमा रहेको श्री प्राथमिक विद्यालयमा विव्यस अध्यक्षदेखि शिक्षक कर्मचारीहरू सबै महिला छन्। आगामी शैक्षिक सत्रदेखि वडा नं. २ मा रहेको ज्ञानोदय आविलाई पनि महिला मैत्री विद्यालय बनाउने उनले बताइन्। 

त्यसैगरी ठाकुरबाबाले आमा शिक्षा कार्यक्रम शुरू गरेको छ । उक्त कार्यक्रममा पालिकाभरिका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बाबुनानीका आमाहरू अन्तरक्रियामा भाग लिने गर्दछन्। 

विद्यालयको सुपरीवेक्षण अनुगमनः नगरपालिकाको स्थानीय कार्यविधि अनुसार विद्यालय सहायता संयन्त्र बनाएको छ। त्यस अन्तर्गत ८ जना कर्मचारी रहेका छन्। अधिकृत १ जना, प्रास १ जना, शिक्षा सुपरीवेक्षक २ जना, सूचनाप्रविधि प्रशिक्षक १ जना, संगीत प्रशिक्षक १ जना र खेल प्रशिक्षक २ जना पनि छन्। महिनाको चार दिन दुई जना शिक्षा सुपरीवेक्षकबाट विद्यालयको अवलोकन तथा निरीक्षण हुने गरेको छ। दुई जना शिक्षकलाई सुपरीवेक्षकको रूपमा पालिकामा काजमा राखेको छ। 

ठाकुरबाबा नगरपालिकाका विद्यालयका प्रअको नियमित बैठक: पालिकाले प्रअसँग र प्रअले शिक्षक कर्मचारीसँग कार्यसम्पादन गर्ने गरेका छन् ।

भौतिक पूर्वाधारः नगरपालिकाले बृहत् विद्यालयको अवधारणा सहित विद्यालय भवनमा शौचालयसँगै पिउनेपानीको व्यवस्थापनलाई जोड दिएको छ। विद्यालयमा कक्षाकोठा, प्रयोगशाला, डिजिटल कक्षाकोठा, खेल बगैंचा, फूलबारी, घेराबारको काम गरिरहेको छ। नगरपालिकाका अनुसार सिकाइ गतिविधिहरूलाई व्यवस्थित र समयसापेक्ष बनाउने हेतुले नगरपालिकाले १६ वटा विद्यालयका १६ वटा कक्षाकोठामा एभिआर बोर्डको व्यवस्था गरेको छ। पालिकामा संघ, प्रदेश र पालिकाको सहयोगमा तीन वर्षमा ८४ वटा नयाँ कक्षाकोठा निर्माण भएका छन्। १४ वटा शौचालय र १७ वटा पुस्तकालय तथा प्रयोगशाला बनेका छन्। 

जनता आधारभूत विद्यालयका प्रअ मदन कुमार चुनाराले कक्षाकोठा सुधार, बगैंचा निर्माण र अभिभावकसँग जोडिने काममा नगरपालिकाको सहयोग रहेको बताए। उनले विद्यालयको भौतिक पूर्वाधार विकासको लगानी र नियमित अनुगमनपछिको परामर्शले विद्यालय सुधार गर्नमा हौसला मिलेको प्रअ चुनाराले बताए । वडा नं. २ को ज्ञानोदय आविकी अध्यक्ष सरिता थारूले पालिकाकै पहलमा समायोजन हुन लागेको आफ्नो विद्यालयमा १३३ विद्यार्थी बढाउन सकेको बताइन् । पालिकाले ठूलो आवासीय सुविधा सहितको शैक्षिक प्रबन्ध गर्ने उद्देश्यले त्रिभुवन मावि, भुरीगाउँ र चुरे मावि आवासीय विद्यालय बनाउने कार्यक्रम शुरू गरेको छ। 

शिक्षक  मासिक, २०८० चैत अंकमा प्रकाशित ।


 

commercial commercial commercial commercial