अंग्रेजी शिक्षक छान्ने परीक्षाको प्रश्न रोमनमा !

अंग्रेजी विषय शिक्षक छनोट परीक्षामा रोमन लिपिमा प्रश्न सोधियो भनेको सुन्दा ठट्टा जस्तो लाग्न सक्छ; तर काठमाडौं महानगरपालिकाको एक विद्यालयमा संचालित मावि तहको शिक्षक छनोट परीक्षामा वस्तुगत प्रश्न रोमन अर्थात् नेपाली शब्द र वाक्य अंग्रेजी अक्षरमा लेखेर सोधेको पाइएको छ ।

मंगलादेवी माध्यमिक विद्यालय,गौशाला, काठमाडौंका निम्ति १८ पुस २०७६ मा संचालित परीक्षामा सहभागी एक परीक्षार्थीका अनुसार ४० अंकको वस्तुगत प्रश्न नेपाली या अंग्रेजी भाषामा नभई रोमनमा लेखिएको थियो । अर्का एक परीक्षार्थी प्रश्नको उदाहरण दिंदै भन्छन्— जस्तो 'Prime minister' को सट्टा 'Pradhanmantri' लेखिएको थियो । त्यसरी रोमनमा प्रश्न सोधिएको कुरा स्वयं काठमाडौं महानगरपालिका शिक्षा विभागकी विषय विज्ञ तथा स्रोतव्यक्ति डा. शर्मिला पोखरेलले पनि स्वीकारेकी छन् । “विषय विज्ञका रूपमा प्रश्नपत्र मैले नै तयार गरे की हुँ । ४० अंकको वस्तुगत रोमनमा र बाँकी ६० अंकको विषयगत अंग्रेजीमा तयार गरे की थिएँ” उनले भनिन् । सो परीक्षा मावि तहमा अंग्रेजी पढाउने शिक्षक चयन गर्नका लागि थियो ।

रोमनमा प्रश्न कसरी तयार भयो त ? केही उदाहरण भन्न अनुरोध गर्दा स्रोतव्यक्ति डा.पोखरेल भन्छिन्, “अप्सन सहित हुने हुँदा अहिले याद त भएन । नेपालीलाई रोमनमा सोधिन्छ । जस्तै 'नेपालको शिक्षामन्त्री को हो ?’ भनेर सोध्दा रोमनमा अर्थात् 'Nepal Ko…..' भन्दै सोध्ने हो । वस्तुगत प्रश्न रोमनमा सोध्न मिल्छ ।” वस्तुगत प्रश्न अंग्रेजी या नेपालीमा नसोधेर किन रोमनमा सोधिएको भन्दा उनले शिक्षक सेवा आयोगको नमूना प्रश्नपत्रमा नै वस्तुगत प्रश्न रोमनमा रहेकोले यसैलाई आधार बनाएको बताइन् ।

सामान्यतः परीक्षामा अंग्रेजी र नेपालीलाई माध्यम भाषाको रूपमा प्रयोग गर्न पाइन्छ । तर, नेपाली शब्द/वाक्यलाई रोमन (अंग्रेजी) लिपिमा लेख्दा न त अंग्रेजी हुन्छ, न नेपाली । के यस्तो भाषालाई शिक्षक सेवा आयोगले मान्यता दिन्छ त ? यो जिज्ञासामा स्रोतव्यक्ति पोखरेलको जवाफ थियो— ‘आयोगले यसो गर्न मिल्छ पनि भनेको छैन, मिल्दैन पनि भनेको छैन ।’ उनले शिक्षक सेवा आयोग (Teacher Service Commission-TSC) (टीएससी) को वेबसाइटमा त्यस्ता नमूना प्रश्नपत्र भएको पनि दाबी गरिन् । तर हामीले खोज्दा आयोगको वेबसाइटमा त्यस्ता प्रश्न भेटिएनन् । परीक्षार्थीबाट बाहिर आएको गुनासोको सम्बन्धमा उनले भनिन्, “केहीलाई समस्या भएको थियो । नबुझेको बुझाइदिएकी थिएँ । अतिरिक्त समय पाँच मिनेट पनि थप भएको थियो ।”

रोमनमा प्रश्न सोधिएको बारे परीक्षाका वेला चाहिं कसैले पनि गुनासो न गरेको मंगलादेवी माविका प्रअ मधुसूदन ढुङ्गेलको भनाइ छ । ढुङ्गेल भन्छन्, “हामीले विषय विज्ञ पठाइदिन अनुरोध गर्दै महानगरपालिकालाई पत्र लेखेका हौं । विषय विज्ञले नै प्रश्न बनाउनुभएको हो ।”

शिक्षाका एक उच्च अधिकारी अंग्रेजी विषयको परीक्षामा वस्तुगत प्रश्न सोध्ने भन्ने कुरा कल्पनाभन्दा बाहिरको हो भन्छन् । यस्तो परीक्षा अनि परीक्षण कसरी वैध हुनसक्छ र उनले प्रश्न गरे । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्याल भन्छन्, “अंग्रेजी विषयको विषय शिक्षकका लागि लिइएको परीक्षामा वस्तुगत प्रश्न रोमनमा सोध्न मिल्दैन । अंग्रेजी भाषामा नै सोध्नुपर्छ ।”

मंगलादेवी माविमा भएको परीक्षा अब वैध हुन्छ कि हुँदैन त ? यो प्रश्नमा काठमाडौं महानगरपालिका, शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेल भन्छन्, “हुन त रोमनमा दिंदा पनि बिग्रने कुरा होइन, बुझन सकिन्छ । विषय विज्ञ पोखरेलले नमूना प्रश्नपत्र आयोगको वेबसाइटमा छ भन्नुभएको छ । आयोगको वेबसाइटमा छ भने आधिकारिक हुन्छ । नभए हुँदैन । हामी अर्को प्रक्रियामा जान्छौं ।”

२०७६ माघ अंकमा प्रकाशित ।

commercial commercial commercial commercial