किन हुन्छन् विद्यार्थी बेहोस ?

यो समस्या वा बिमार औषधी खाएर निको हुने प्रकृतिको होइन । त्यसैले व्यक्तिको भावनात्मक पीडालाई बुझी सान्त्वना दिने र धैर्यधारण गर्ने कुरालाई नै मुख्य उपचार ठान्नुपर्छ ।

विद्यालयमा एकै पटक धेरै विद्यार्थी बेहोस भई ढल्ने गरेका समाचार बारम्बार आउने गर्छन् । चिकित्सा विज्ञानको भाषामा यसरी बेहोस हुने र ढल्ने समस्यालाई ‘विकृत–तनाव’ (Convulsion Disorder) र ‘मास हिस्टेरिया’ (Mass Hysteria) भन्ने गरेको पाइन्छ ।

के हो ‘विकृत–तनाव’ (Convulsion Disorder)  ?
कुनै व्यक्तिले आफ्नो तनाव वा पीडा सहन वा प्रकट गर्न नसक्दा उसमा विकृत तथा अचेतन शारीरिक लक्षणहरू पैदा हुन्छन् भने त्यस्तो अवस्थालाई ‘विकृत–तनाव’ भनिन्छ । यो समस्यालाई पहिले पहिले ‘हिस्टेरिया’ भनेर चिनिन्थ्यो । तनावजन्य विकृतिहरू जुनसुकै उमेरका मानिसमा पनि पैदा हुन सक्छन् । यो समस्याको मूल कारण भनेको व्यक्तिको मनभित्रका पीडा, तनाव अर्थात् मान सिक चिन्ताहरू अरूसामु सहज रूपमा प्रकट हुन नसक्नु नै हो । जब यस्ता पीडा र तनाव सहजै निकास पाउन सक्दैनन् तब ती शारीरिक लक्षणका माध्यमबाट प्रकट हुन पुग्दछन् । जसका कारण व्यक्तिमा अनायास डराउने, कराउने, उत्तेजित हुने, बेहोस हुने, मुर्छा पर्ने, काँप्ने, अररो हुने, बोली बन्द हुने जस्ता नौला लक्षणहरू देखा पर्न थाल्छन् ।

विकृत–तनावका केही लक्षण
– एक्कासी टाउको दुखे जस्तो गरी टाउको समात्ने, डराएको जस्तो हुने, काँप्ने, मुठी कस्ने ।
– कुनै खास परिस्थिति र अवस्थामा बेहोस हुने वा मुर्छा पर्ने । जस्तैः विद्यार्थीका हकमा सर/मिसले अप्ठ्यारा विषयवस्तु कण्ठ गरी भन्न लगाएको, परीक्षाको समय, गृह कार्य न गरेको अवस्था आदि ।
– विकृत तनाव भएको अवस्थामा बिरामीका आँखा फरफराउने, रातो हुने, अनुहारको रङ परिवर्तन हुने, आँखा बन्द हुने, आँसु बग्ने पनि हुन सक्छ ।
– कसै–कसैले उत्तेजनापूर्ण व्यवहार पनि प्रदर्शन गर्न सक्छन् । जस्तैः चिथोर्ने, कोपर्ने, मुड्कीले हान्ने, रुने, कराउने, कपडा च्यात्ने, सरसामान फ्याँक्ने आदि ।
– होसमा आएपछि सोध्दा आँखा नदेखेको र के भएको थाहा नभएको कुरा बताउँछन् ।
– विकृत तनावको समयमा बिरामी केही मिनेट मात्र वा घण्टौंसम्म पनि बेहोस हुन सक्छन् । पछि विस्तारै आफैं ठीक भएर बिरामीको होस खुल्छ ।
– विकृत तनावका कारण बेहोस भएर लड्दा मुखमा फिंज भने आउने गर्दैन । कथं कसैको मुखबाट फिंज आएको वा शरीरमा चोटपटक लागेको पाइयो भने त्यतिबेला अन्य रोगको शंका पनि गर्नु पर्छ ।
– यो समस्या सुतेको समयमा कहिल्यै हुँदैन । यदि सुतेको समयमा समेत यस्तो लक्षण देखा पर्छ भने त्यो अन्य मानसिक रोगको संकेत हुन सक्छ । त्यसैले तुरुन्त विज्ञबाट परीक्षण गराउनु राम्रो हुन्छ ।

मास हिस्टेरिया (Mass Hysteria)
शाब्दिक अर्थलाई केलाउँदा मास (Mass) भन्नाले समूह र ‘हिस्टेरिया’ भन्नाले उन्मक्त, मुर्छा या ढलेको अवस्था भन्ने बुझिन्छ । यसबाट नै प्रष्ट हुन्छ; समूहमा मुर्छा पर्ने या अनियन्त्रित रूपमा उत्तेजना पैदा हुने समस्या नै ‘मास हिस्टेरिया’ हो । यो समस्या समूहमा देखा पर्ने भए तापनि यसको प्रारम्भ भने एक जनाबाट नै हुन्छ । अर्थात् कुनै भीड वा समूहमा रहेको एउटा व्यक्ति मुर्छा पर्दाको प्रभावले अर्को सँगैको व्यक्तिलाई असर पार्छ र ऊ पनि यसै गरी ढल्छ । ‘मास हिस्टेरिया’को लक्षण प्रायः एकै प्रकारको देखिन्छ । विशेष गरी बढी चिन्ता लिने (Depression) र मन कमजोर भएका बालबालिकामा यस्तो समस्या देखापर्ने प्रबल सम्भावना हुन्छ । यस्ता समस्याहरू चाडपर्व, भेला–उत्सवका बेलामा विद्यालय, कक्षाकोठा, छात्रावास, पिकनिक र पार्टी एवं यस्तै अन्य सामूहिक कार्यक्रमहरूमा देखा पर्न सक्दछन् । सँगैको साथीलाई भएपछि ‘मलाई पनि हुने हो कि’ भन्ने डर, त्रास बढ्दै जाँदा अन्य व्यक्तिलाई पनि ‘मास हिस्टेरिया’ हुन सक्छ ।

‘मास हिस्टेरिया’का केही सामान्य लक्षण
– रिंगटा लागे जस्तो हुने, थकित देखि ने ।
– आँखा तिरमिराउने, टाउको भारी भए जस्तो हुने ।
– हाउभाउ गर्ने , उत्तेजित हुँदै रुने, कराउने, लात्ती बजार्ने ।
– शरीरलाई सन्तुलनमा राख्न नसक्ने । डराउँदै ‘आयो आयो’, ‘छोड्दे छोड्दे’, ‘जानदे जानदे’ भनी कराउने र इशारा गर्ने ।
– एकोहोरो हिंड्ने, दौड्ने, भाग्ने ।
– शरीर काँप्ने, मूच्र्छित हुने, तीव्र उत्तेजनाका कारण मुड्की हान्ने, हिर्काउने ।
– बेहोस हुने, बोली बन्द हुने, आँखा बन्द हुने ।
–  मुखबाट फिंज नआउने, दिसापिसाब नचुहिने आदि ।

किन देखिन्छ त ‘मास हिस्टेरिया’
यो समस्या पनि उच्च तनाव र पीडासँगै सम्बन्धित छ । किशोर अवस्थाका बालबालिकामा उच्च संवेग, चञ्चलता तथा नैराश्य आदिका प्रभावले यो समस्या बढी देखि ने गर्छ । डरत्रास; करकाप, अनिन्द्रा पारिवारिक कलह, आफू र अरू बीचको सम्बन्ध नरराम्रो बन्दै जानु, वर्षेनि विद्यालय परिवर्तन हुनु पनि ‘मास हिस्टेरिया’का कारण हुन सक्छन् । समुदाय र घरको वातावरण, पालनपोषण तथा अभिभावकको उचित मार्ग निर्देशनको अभाव, उच्छृङ्खल बानीव्यवहारले समेत किशोरीहरूमा यो समस्या बढाउँछ । विद्यालयस्तर मा शान्त वातावरणको अभाव, साँघुरो कक्षाकोठा; धेरै विद्यार्थी, पिउने पानी, शौचालय आदिको अभावले पनि यो समस्या बढाएको हुनसक्छ ।

‘विकृत–तनाव’ तथा ‘मास हिस्टेरिया’ रोकथाम र समाधानका उपाय
– विकृत तनाव वा ‘मास हिस्टेरिया’ भएका हरेक व्यक्तिलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्ने ।
– व्यक्तिलाई होसमा ल्याउने प्रयास गर्ने, जस्तै बिरामीसँग कुरा कानी गर्ने र सान्त्वना दिने खालका व्यवहार गर्ने ।
– बिरामीको अवस्था अनुसार तनाव, पीडा कम गर्ने प्रयास गर्ने ।
– बिरामीलाई केही भएको छैन, सबै ठीक भइसक्यो आदि जस्ता मान सिक र भावनात्मक निदानका बोलीहरू व्यक्त गर्ने ।
– बिरामी बेहोस भए खुला हावा आवतजावत गर्ने ठाउँमा टाउकोलाई केही ओरालो र खुट्टालाई उकालो बनाई सुताउने ।
– उनीहरूमा रहेको डर, त्रास र अन्धविश्वास कम गर्ने प्रयास गर्ने ।
– हरेक व्यक्तिलाई सो रोग वा अवस्थाका सम्बन्धमा शिक्षा दिने ।
– संवेग र उत्तेजना बढी नै तीव्र छ भने सुरक्षाका थप उपायहरू अपनाउने ।

यो समस्या वा बिमार औषधी खाएर निको हुने प्रकृतिको होइन । त्यसैले व्यक्तिको भावनात्मक पीडालाई बुझी सान्त्वना दिने र धैर्य धारण गर्ने कुरा लाई नै मुख्य उपचार ठान्नुपर्छ । व्यक्तिको चित्त वा मनलाई स्थिर र दह्रो बनाउने खालको मान सिक उपचार गर्दै जाने हो भने यस्तो समस्या आफैं हराएर जान्छ ।

नेपाली समाज मा देवीदेवता, धामी, झँक्री, बोक्सी वा अन्य कुनै शक्ति चढेर यस्ता समस्या पैदा हुन्छन् भन्ने सोचाइ र अन्धविश्वासले जरोगाडेका कारण यस्ता रोग वा समस्याको सही निदान र उपचार हुनुको सट्टा कतिपय अवस्थामा अरू रोग वा समस्या थपिने खालका कथित उपचार वा व्यवहार पनि हुने गरेका छन् । यस्तो अवस्था आउन नदिन विशेषतः विद्यालय र शिक्षकहरूले विशेष सचेतता अपनाउनु जरुरी छ । “केटीहरूलाई ‘विकृत–तनाव’ या ‘हिस्टेरिया’ हुनुको मुख्य कारण यौन आकांक्षा हो; विवाह गरिदिएमा ठीक हुन्छ” भन्ने प्रचलित धारणा भ्रामक रगलत हो भनेर बुझाउनु पनि उत्तिकै अपरिहार्य छ । यी दुवै समस्या अचेतन मनमा रहेका भावनात्मक पीडा, तनावले गर्दा व्यक्तिमा व्यक्त गर्ने क्षमता कम भई शारीरिक विकृत लक्षण देखा पर्नगई हुन गएको हो भन्ने कुरा सबैलाई बुझाउनु अति जरुरी देखिन्छ ।

अमर्खुमावि, भुमेस्थान–३, धादिङ

commercial commercial commercial commercial