शारीरिक दण्डसजायले बालबालिकामा पार्ने प्रभाव
हिजोआज नेपाली समाज मा बारम्बार हिंसा प्रदर्शन भइरहेको छ । हजारौं मानिस यसको शिकार भइरहेका छन् । यस्तो हिंसाको संस्कृति हामीकहाँ कहाँबाट आयो ? यो प्रश्नको विवेचना गर्दा हतियार युद्धको जरो घरपरिवार, विद्यालय र समाज मा हुने शारीरिक दण्डसजायको उपज हो भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भएको छ । अर्थात्; हिंसा, हत्या र लडाइँका विषालु जराले परिवार, छिमेक र विद्यालयबाट रस चुसेका छन्, मौलाएका छन् र समाज मा अशान्ति, भ्रष्टाचार, शोषण र भेदभावका विषालु फल फलाएका छन् । घरपरिवार भित्रको भेदभाव र झैँ–झगडाले तथा विद्यालयको दण्डको परिपाटीले हिंसाको बानी पार्छ । बालबालिकाले यस्तै कुरा सिक्दै जान्छन् र मौका पाउँदा आफूले पनि बल देखाउँछन् अनि त्यस्तै हिंसायुक्त जीवनशैली अपनाउँछन् ।
शरीरलाई पीडा हुने गरी दिइने सबै सजायहरू शारीरिक दण्डसजाय हुन् । गाली, अवहेलना, हस्तक्षेप, कुटपिट देखि हतियारले हान्ने तथागोली हान्नेसम्मका शारीरिक दण्डहरू नेपाली समाज मा व्याप्त छन् । मुखमा थुक्ने, कुखुरा बनाउने, बाहिर निकाल्ने, घाममा उभ्याउने, कपाल लुछ्ने, चिमोट्ने, आगाले पोल्ने, सिस्नुपानी लगाउने, लट्ठीले कुट्ने, हातैले कुट्ने, कान तान्ने, लछारपछार गर्ने, थुन्ने, दिसा खुवाउने जस्ता सजायहरू बालबालिकाले घर तथा विद्यालयमा भोग्नुपर्छ ।
हामी नेपालीमध्ये कसले यस्तो सजाय नदेखेको होला ? मलाई लाग्छ कुनै न कुनै रूपमा हामी सबैले यस्ता सजाय भोगेका छौं । आमा, बुबा, दाजु, दिदी, काकाकाकी, साथी, छिमेकी, शिक्षक, समाज सेवी, जनप्रतिनिधि, कर्मचारी, बटुवा आदि सबैले समस्याको समाधान बलबाट नै गर्न खोज्छन्– पहिले हातै उठाउँछन् । विद्यालयमा पढ्ने विद्यार्थीले आफ्नो कक्षामा हुने यस्ता दण्डगन्न थाले भने कति होलान् एक दिनमा ? के हामी आफैंले पनि कसैलाई शारीरिक पीडा हुने दण्ड दिएका छैनौं त ? हराम्रो पनि यस्तै बानी बसेको छ ।
दण्डसजाय र यसको प्रभाव
एकथरी व्यक्तिहरू भन्छन्, “अनुशासित बनाउन, बानी सुधार्न र असल नागरिक बनाउन” यस्तो गरिन्छ । अर्काे थरी भन्छन्, “आफ्नो आवेग नियन्त्रण गर्न नसकेर, यस्तै बानी बसेर या आफू कमजोर भएर” यस्तो गरिन्छ । पहिलो थरीका व्यक्तिहरूमा घमण्ड छ । फुर्ती छ । बडप्पन छ । त्यसमा उनीहरूको बानी परेको छ । उनीहरूले अर्काे विकल्प देख्न सकेका छैनन् । दोस्रोथरीले समस्या बुझेका छन् ।
अनावश्यक दण्डसजायले बालबालिकाको शारीरिक, मनोवैज्ञानिक र मनोसामाजिक स्वास्थ्यमा नरराम्रो प्रभाव पार्दछ । शारीरिक दण्ड भोगेकै कारणले उनीहरूको पीडा, दिग्दारी, निराशा, आत्मग्लानि र रीस बढ्दै जान्छ । आत्मविश्वास र आत्मनियन्त्रण गुम्दै जान्छ । हिंसायुक्त बानी बढ्छ । रचनात्मक हुने, लेख्ने–पढ्ने बानी हट्दै जान्छ र भविष्यमा यस्ता बालबालिका विकृत व्यक्तिका रूपमा परिणत हुन सक्छन् । प्रायः बलात्कारी, दुर्व्ययसनी, अपराधी व्यक्तिहरूको जीवनको अध्ययन गर्दा उनीहरूको बाल्यकाल यस्तै परिवेशमा हुर्केको पाइन्छ ।
दण्डसजायबाटै मान्छे तह लगाउन सकिन्छ भन्ने कुरा कहाँबाट सिकियो त ?
यो कुरा सिकाउने हाम्रो पहिलो पाठशाला हाम्रो घरपरिवार नै हो । हाम्रो परिवारका सदस्यहरूको आपसी हिंसाजन्य व्यवहारको देखासिकीले हामीमा यसको गहिरो छाप परेको हो ।
दोस्रो पाठशाला विद्यालय हो । हाम्रा गुरुहरूले हामीलाई गोरुको व्यवहार गरेकाले घरमा भोगिरहेको हिंसाजन्य व्यवहार झन् गहिरो (गल्ती गरे पछि कुटाइ खानुपर्छ) बन्न पुग्यो । त्यति मात्र होइन, यसले त फरक मत र विचार भएका व्यक्ति, आफूभन्दा कमजोर समूहहरूसँग बलको प्रदर्शन गर्दै हुर्कने वातावरण दियो ।
तेस्रो हाम्रो पाठशाला हो रीतिरिवाज र हिंसाजन्य चलन । हामीले परिवार र समाजमा रहेका आफ्ना परम्परा, धर्मसंस्कृतिका मानव विरोधी चलनहरू पनि सिक्यौं । युद्ध, मारकाट, बलि चढाउने, ‘पापी’ लाई नष्ट गर्ने जस्ता चलनले हामीलाई हिंस्रक बन्ने प्रेरणा दिंदै गयो ।
चौथो पाठशाला हो सञ्चारमाध्यम, जसले हिंसाका खबर सुनाउँछ र छाप्छ । भिडियो, चलचित्रहरूले काटमार, लडाइँ, हत्यालाई बढी देखाउँछन् । अनि हामीमा बानी पर्छ ‘फाइट नभएको चलचित्र के हेर्ने ?’ यस्ता धेरै पाठशालाहरू छन् जसले हाम्रो मनमस्तिष्कलाई हिंसाको बाटामा डोर्याएका छन् ।
शारीरिक दण्ड–सजायलाई निरुत्साहित पार्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः
आफूलाई चिनौंः कतै यस्तो बानी हाम्रो व्यवहारमा देखा परिरहेको छ भने– एकचोटि आँखा चिम्लेर सोचौं– कस्तो अवस्थामा यो देखा पर्छ ? किन देखा परिरहेको छ ?
आफ्नो व्यवहारको नियन्त्रणगरौंः हामी हाम्रो शरीरलाई आफ्नो वशमा राख्ने अभ्यास गर्न सक्छौं । जसका निम्ति निरन्तर प्रयास आवश्यक हुन्छ । ध्यान गर्ने, सकारात्मकरूपले सोच्ने र आफ्नो कमजोरीलाई कम गर्दै जाने दिशामा अग्रसर हुन सक्छौं ।
अरूका कुरा सुनौंः अरूका कुरा सुन्ने बानी बसाल्न सक्छौं । भगवान्/प्रकृतिले हामीलाई दुईवटा कान र एउटा मात्र मुख दिएका/दिएकी छन् । यसको अर्थ हो जति बोलिन्छ त्यसको दोब्बर सुन्नुपर्छ । धेरै बोल्ने बानी बसेकाहरूले मुख बन्द गर्ने र कान ठूला बनाउने अभ्यास गरौं ।
छलफल चलाऔंः आफ्नो परिवार र आफू संलग्न व्यवसायमा शारीरिक दण्डसजाय र यसको प्रभावका विषयमा छलफल चलाउन प्रवचन, छलफल ,गोष्ठी तथा तालिममा यस विषयलाई स्थान दिऔं । विद्यालयमा यस्ता विषयका बारेमा छलफल गर्दै दैनिक रूपमा पढाइ र सिकाइको माध्यम बनाऔं ।
अहिंसा आन्दोलनमा सहभागी बनौंः आफ्नो समुदाय तथा राष्ट्रमा चलिरहेका हिंसाविरोधी अभियान, शान्ति स्थापनाका प्रयासहरू तथा शान्ति प्राप्तिका निम्ति हुने अहिंसावादी आन्दोलनमा सहभागी बनौं । हामी जस्ता धेरै व्यक्तिहरूले अब आइन्दा कसैलाई शारीरिक दण्डसजाय न गर्ने सामूहिक प्रतिबद्धता गरेका छन् र आफ्नो व्यवहार सुधार्दै छन् । यस अभियानमा बालबालिका समेत लागेका छन् ।
के हामीले पनि हाम्रो यस बानीलाई फेर्ने र हाम्रा सन्ततिमा यो दानवीय प्रवृत्ति हामीबाट सर्न नदिने वाचा गर्न सक्छौं ? हामी सबैले यही प्रतिज्ञागरौंः हामी अब आइन्दा कुनै व्यक्ति माथि कुनै प्रकारको शारीरिक दण्ड–सजाय गर्ने छैनौं । यदि यसो गर्न सक्दैनांै भने कतै हामी शान्तिको बहानामा हिंसाको चाहनामा लागेका त छैनौं ? के हामीमा बसेको हिंसाजन्य बानीले शान्तिको चाहना पूरा गर्न देला ? एकपटक गम्भीर भएर सोचौं ।
पूर्व प्रधानाध्यापक