गरीबी पनि अवसर !

विद्यार्थी जीवनमा सफलताको शिखर चुम्न किताबी कीरो भएर मात्र पुग्दैन । अतिरिक्त क्रियाकलाप पनि हाम्रा निम्ति उत्तिकै महत्वपूर्ण कुरा रहेछन् । स्कूल बाहिरका कार्यक्रमहरूमा भाग लिन जति धेरै पाइयो, उति धेरै हाम्रो आत्मबल बढ्ने रहेछ; म केही हुँ, म केही गर्न सक्छु भन्ने भावनाको विकास हुँदै जाँदोरहेछ । यो नै हाम्रो व्यक्तित्व विकास र प्रगतिको प्रमुख पक्ष रहेछ ।

सिंजा उपत्यका– नेपाली भाषीमध्ये धेरैले सुनेको नाम हो । जुम्ला जिल्लामा पर्ने यस उपत्यकाबाटै नेपाली भाषाको उत्पत्ति भएको मानिन्छ । म त्यहीं सिंजा उपत्यकाको धापा गाउँको एक गरीब किसान परिवारमा २३ वर्ष अघि जन्मेको हुँ । मेरो घरबाट नजिकैको प्राथमिक विद्यालय जान मात्रै दुई घण्टा लाग्थ्यो । ५/६ वर्षको कलिलो उमेरमा हरेक दिन चार घण्टा हिंडेर स्कूल–घर मैले कसरी गरे हुँला– आज सम्झँदा पनि अनौठो लाग्छ ।  

म सानै देखि पढ्नमा अलि बढी रुचि राख्दोे रहेछु । कक्षाका आफूभन्दा अलि बढी उमेरका एक जना सहपाठीलाई जित्न चाहँदोरहेछु । पढाइमा अरूलाई जित्न बढी नै पढ्न थालें । तैपनि कक्षा चारसम्म दोस्रो मात्र भएँ । तिनताका कक्षा ५ को जिल्लास्तरीय परीक्षा हुने गथ्र्यो । संयोगवश म मेरो कक्षामा मात्र होइन, जुम्ला जिल्लामा नै प्रथम हुन पुगेछु । जिल्ला प्रथम हुँदा खुशी लाग्नु स्वाभाविकै थियो । तर हाईस्कूल चाहिं अझ टाढा थियो । भैरवनाथ उच्च मावि पुग्न तीन घण्टा हिंड्नुपथ्र्यो । आर्थिक अभावका कारण स्कूल भएकै गाउँमा डेरा गरेर बस्न सक्ने अवस्था थिएन । जाडोमा अति नै जाडो ठाउँ हो त्यो । त्यहाँ माइनस १२ सम्म तापक्रम झरेको रेकर्ड छ रे । मंसीरको जाडोमा पनि चप्पल नलगाई स्कूल जान्थ्यौं ।

मेरा काका नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पढ्नुहुन्थ्यो । पुस माघको तीव्र जाडोले गर्दा स्कूल बिदा भएका बखत पनि मेरो पढाइ थप सुधारियोस् भनेर बुबाले काकासितै नेपालगन्ज पठाइदिनुहुन्थ्यो । जाडोका दुई महीना नेपालगञ्जमा व्यतीत समयमा मैले कोर्सको भन्दा बाहिरका धेरै कुरा सिकें । पढेर के हुन्छ, कुन विषय पढेर के बनिन्छ, कसरी पढ्यो भने रराम्रो गर्न सकिन्छ भन्ने लगायत थुप्रै कुरा काका र उहाँका साथीहरूसितको अन्तरक्रियाबाट थाहा पाउने मौका पाएँ ।

म कक्षा चारमा पढ्दाको कुरा हो । काकाको डेरामा बसेर पढ्न भनेर नेपालगञ्ज झर्ने क्रममा हिंड्दै दैलेखसम्म आइयो । तिनताका दैलेखसम्म मात्र गाडी चल्दथ्यो । मैले त्यसअघिसम्म गाडी देखेको थिइनँ । धुले सडकको बीचमा ठूलो चार पाङ्ग्रे गाडी गुडेर नजिकै आएको देख्दा मेरो सातो गयो, भागेर सडकमुनि पो गएछु । नजिकै भएका सबै जनागलल्ल हाँसे र भने, ‘गाडीसित डराउनु पर्दैन । छेउ वा भित्तामा सरे पुग्छ, यसरी भाग्नै पर्दैन ।’ सुर्खेतमा गाडीबाट झर्नासाथ देखें, जताततै साइकल र गाडी नैगाडी छन् । यत्तिका साइकल र गाडीबाट जोगिंदै कसरी अघि बढ्ने भनेर म रनभुल्लमा परें । तर बुबाले त्यो झ्मेलाबाट मलाई सहजै मुक्त गरिदिनुभयो ।

मेरो काका गणितमा स्नातकोत्तर गर्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको केन्द्रीय क्याम्पसमा भर्ना हुनुभयो । भारतमा मजदूरी गरेर घर फर्केको बेलामा बुबाले उहाँलाई भन्नुभएछ, “मैले तँलाई मात्र पढाएर भएन । छोराको पढाइ बिग्रिने भयो । यसलाई पनि उतै लगेर पढा । म मरेर काम गरेर भए पनि खर्चबर्चको जोहो गर्छु ।” त्यसपछि मेरो काठमाडौंको यात्रा तय भयो । काकाले मलाई कीर्तिपुरको जनसेवा स्कूलमा कक्षा ९ मा भर्ना गरिदिनुभयो । जुम्लाको पढाइमा अब्बल ठहरिएको भए पनि जनसेवामा भर्ना भएपछि म छाँगाबाट खसेजस्तो भएँ । मलाई अंग्रेजीका दश बीस शब्द बाहेक अरू केही पनि आउँदैनथ्यो । कक्षा पाँचमा जिल्ला टप भएको कुरा सम्झ्ँदा अट्टहास हाँसो आउँछ । र सँग सँगै प्रश्न पनि , म जस्तो औसत क्षमता पनि विकास नभएको मानिसलाई किन जिल्लाकै उत्कृष्ट घोषित गरियो ?

जब मलाई पढाइमा कमजोर रहेछु भन्ने बोध भयो, म एकदमै कहालिएँ । कक्षा ८ पास गरेको मेरो स्तर खासमा चार कक्षाको भन्दा मास्तिर को रहेनछ । मेरो काकाले मलाई धेरै नै ढाडस दिनुभयो । साथ दिनुभयो । बिहान चार बजे उठेर पढ्न थालें । राति पनि ११ बजेसम्म पढेर बसिन्थ्यो । मैले जनसेवा माविमा कक्षा ९ र १० मा पढ्दा मैले जुन मिहिनेत गरे, त्यति धेरै परिश्रम शायद जीवनमा अब कहिल्यै पनि गर्दिनँ होला । तर त्यो परिश्रमको फल पनि त्यत्तिकै मीठो निस्कियो । पहिलो त्रैमासिक परीक्षामै म कक्षामा दोस्रो स्थान हासिल गर्न समर्थ भएँ ।

एक दिन स्कूलमा वक्तृत्वकला प्रतियोगिता भइरहेको थियो । त्यस प्रतियोगितामा मलाई पनि भाग लिने तीब्र इच्छा भइरहेको थियो । तर बोल्नलाई पटक पटक हात उठाउँदा पनि मैले मौका पाइरहेको थिइनँ । यत्तिकैमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले मेरो हात उठेको देखेर शिक्षकहरूलाई भन्नुभयो, ‘त्यो भाइलाई पनि बोल्न दिनुस् त ।’ मैले बोल्ने अवसर पाएँ । मेरो प्रस्तुति र तर्कबाट प्रभावित भएर नै होला, मलाई उहाँले भन्नुभयो, “भाइ तिमीलाई कुनै अप्ठेरो परयो वा कुनै सहयोग चाहियो भने मलाई भन्नु है ।”

जनसेवा माविमा हरेक हप्ता कुनै न कुनै अतिरिक्त क्रियाकलाप हुन्थ्यो । कहिले हाजिरीजवाफ त कहिले निबन्ध प्रतियोगिता, कहिले कविता प्रतियोगिता त कहिले वक्तृत्वकला । मैले सबैजसो कार्यक्रममा भाग लिएँ । स्कूल बाहिर हुने बौद्धिक क्रियाकलाप मा पनि मैले उत्तिकै सहभागी हुने मौका पाएँ । स्वप्न बाटिकाले आयोजना गरेको निबन्ध प्रतियोगितामा म तेस्रो भएको थिएँ भने मानव अधिकार संगठनद्वारा गरिएको प्रतिस्पर्धामा प्रथम । शिक्षा मन्त्रालयले गरेको निबन्ध प्रतियोगितामा दोस्रो भएर राष्ट्रसंघीय संस्था युएनएफपीएको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एउटा कार्यक्रममा भाग लिने सिलसिलामा पोखराको फूलबारी रिसोर्टमा एक हप्ता बस्ने मौका पनि मिलेको थियो । स्कूले जीवनमा पुरस्कार स्वरुप पाएका तक्माहरूले मेरो थोत्रो बाकस भरिएका छन् । यस्ता अवसरहरूले मेरो आत्मबल बढाउन ठोस योगदान गरे ।

शायद आत्मबल बढ्दै गएकोले होला, कक्षा १० मा पढ्दाखेरी नै म मेडिसिनमा उच्च शिक्षा हासिल गर्ने सपना बुन्न थालेको थिएँ । एक दिन मैले यो सपना काकालाई सुनाउँदा उहाँले हप्काउँदै भन्नुभयो, “हामी जस्ता कर्णालीका त्यो पनि गरीब परिवारका मानिसले कहाँ मेडिसिन पढ्न सकिन्छ ? चुप लाग मोरा ! भोलिपर्सि पढ्न नपाएर निराश भएर मर्लास् !” एसएससी पास गरे पछि व्यवस्थापन समितिका अध्यक्ष माधव सर, जो जमलमा मण्डला बुक्स नामक ठूलो किताब पसल चलाएर बस्नुभएको छ, ले मलाई ब्रिटिश काउन्सिलको अंग्रेजी कोर्स गर्न हौस्याउँदै त्यसनिम्ति लाग्ने खर्च ब्यहोरिदिन्छु भन्नुभयो । सेन्ट जेभियर्स कलेजका शिक्षकहरूले त्यहाँ पढाउँदा रहेछन् । उनीहरूसितको अन्तरक्रिया र सामीप्यताले मलाई त्यही कलेज रोज्न मन लाग्यो । मेरो सपनालाई माधव सरले आर्थिक सहयोग जुटाइदिएर साकार तुल्याइदिनुभयो । एमबीबीएमा अंग्रेजी धेरै गाह्रो हुन्छ भन्ने सुनेपछि एघार कक्षाको सुरुआत देखि नै मैले एमबीबीएस ब्रिजकोर्सका किताबहरू ल्याएर पढ्न थालें । यस्तै पहल र प्रयत्नहरूको एकमुष्ट प्रतिफल अन्ततः राम्रै हात लाग्यो । १२ कक्षा त राम्रैसित उत्तीर्ण गरे नै, शिक्षा मन्त्रालयको छात्रवृत्तिमा नाम निकालेर भैरहवा मेडिकल कलेजमा एमबीबीएस पढ्ने सु–अवसर पनि प्राप्त गरे । मेरो सपना साकार हुन लागेको त्यो दिन म औधी खुशी भएको थिएँ । जुम्ला जस्तो दुरदराजको त्यो पनि भारी बोकेर जीवन चलाउने गरीब परिवारको सदस्य भइकन पनि मैले रु.४० लाख खर्च लाग्ने एमबीबीएस पढ्ने दुर्लभ अवसर प्राप्त गरे । मेरो बुबाको सपना र समर्पण, मेरो काकाको अभिभावकत्व, मेरो अथक परिश्रम र लगनशीलता, शिक्षकहरूको पढाउने कला र समर्पण अनि माधव सरको मप्रतिको स्नेहको एकमुष्ट नतिजा थियो त्यो उपलब्धि ।

मेरो अनुभवमा, विद्यार्थी जीवनमा सफलताको शिखर चुम्न किताबी कीरो भएर मात्र पुग्दैन । अतिरिक्त क्रियाकलाप पनि हाम्रानिम्ति उत्तिकै महत्वपूर्ण कुरा रहेछन् । स्कूल बाहिरका कार्यक्रमहरूमा भाग लिन जति धेरै पाइयो, उति धेरै हराम्रो आत्मबल बढ्ने रहेछ, म केही हुँ, म केही गर्न सक्छु भन्ने भावनाको विकास हुँदै जाँदोरहेछ । यो नै हराम्रो व्यक्तित्व विकास र प्रगतिको प्रमुख पक्ष रहेछ । समाज मा विभिन्न क्षेत्रमा प्रसिद्धि कमाएका व्यक्तित्वहरूसितको अन्तरक्रियाले हामीलाई आफ्नो लक्ष्य पहिल्याउन र लक्ष्य हासिल गर्न निरन्तर संघर्ष गर्न ऊर्जावान बनाउँदोरहेछ । उत्प्रेरणा दिंदोरहेछ । देश विदेशका ख्यातिप्राप्त राजनीतिज्ञ, व्यापारी, अभिनेता, विचार क सबैको आत्मकथा र जीवनी पनि नछुटाइ पढ्नुपर्ने रहेछ ।

मेरो अनुभवले भन्छ, निजीको तुलनामा सरकारी स्कूलका धेरै पाटाहरू राम्रा छन् । हाम्रा सबै सार्वजनिक स्कूलका गुरुहरू जनसेवा माविका सरहरू झै खटिदिने हो भने देशको शिक्षा पाँचै वर्षमा कायापलट हुन्छ । गुरुहरूले ‘मेरो स्कूल रराम्रो पार्छु’ भन्ने संकल्पसँगै दुईवटा काम गरिदिनुपर्छ– नियमित रूपमा पढाइदिनुहोस्, र हप्तैपिच्छे अतिरिक्त क्रियाकलाप गराइदिनुहोस् । अनि विद्यार्थी साथीहरूलाई अनुरोध छ, फिस तिरेको छैन भनेर नीच मारेर बस्नुभएन । स्कूलमा बाहेक दिनमा तीन घण्टा मात्र पढे पुग्छ । मज्जाले सफल होइन्छ ।

भैरहवामा मेरा केही साथीहरू छन्, जो हृदय देखि मलाई माया र सम्मान गर्छन् । तर धेरै साथीहरू यस्ता छन्, जो मेरो क्षमतालाई मात्र भाउ दिन्छन् । अन्यथा तिनले मलाई कुकुरको जति पनि भाउ नदिने रहेछन् । गरीब परिवारमा जन्मन पाउनु पनि सौभाग्य नै ठान्छु म । किनभने जीवनका कठोर वास्तविकताहरूलाई नजिकबाट अनुभव र अनुभूति गर्नको निम्ति आर्थिक रूपमा गरीब नै हुनुपर्ने रहेछ । भैरहवामा एमबीबीएस गर्ने धनी परिवारका मेरा थुप्रै साथीहरू छन्, तीसित अरू सबथोक छन् तर जीवनका साधारण तर कठोर यथार्थहरूबाट उनीहरू बिल्कुल अनभिज्ञ छन् ।

मेरो बुबाआमाको दुः ख, आर्थिक कठिनाइ अनि धनी साथीहरूको रवैयाका कारण पनि हुनसक्छ, म गरीबहरूप्रति विशेषरूपले संवेदनशील छु । मनमनै मैले अठोट गरेको छु, मकहाँ जँचाउन आउने गरीब मानिसहरूलाई पैसाकै अभावका कारण म मर्न दिन्न । एउटा समर्पित डाक्टरका रूपमा जुम्ली दाइ–भाइ दिदी–बहिनीहरू र देशका गरीब मानिसहरूको उपचारमा आफूलाई समर्पित गर्ने छु । त्यस्तै, मेरो निम्ति आफूलाई समर्पित गर्ने मेरा बाआमालाई कहिल्यै दुः खमा राख्दिनँ । म यो सपनालाई साकार तुल्याउन सम्पूर्णरूपले प्रयत्न गर्ने छु ।

(तिवारी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन् ।)



 

commercial commercial commercial commercial