अव्यावहारिक नियम, अक्षम नेतृत्व र असफल विद्यालय

हाम्रा सामुदायिक विद्यालयहरूले सरकारको पूर्ण लगानी तथा निःशुल्क भइकन पनि निजी विद्यालयको तुलनामा अत्यन्तै न्यून नतिजा निकालिरहेका छन् । यसको मूल कारण नेतृत्व तहमा रहने मुख्य व्यक्ति प्रधानाध्यापकलाई लिने गरिएको छ । नेतृत्व अक्षमता, कार्य कुशलताको कमी, हेलचेक्र्याइँको पराकाष्ठाका कारण सामुदायिक विद्यालयले न्यून नतिजा बेहोर्नु परेको हो ।
नेपालका विद्यालयहरूमा प्रअ नियुक्तिको लागि व्यवस्थित गरिएको नियम अव्यावहारिक छ । त्यही नियमको पनि कार्यान्वयनको अभावले विद्यालयले सफल नेतृत्व पाउन सकेका छैनन् । यही कारण कतिपय विद्यालयहरू बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । कतिपय विद्यालयहरूमा विद्यार्थी भन्दा शिक्षक बढी भएको अवस्था छ ।

एउटा विद्यालय सफल हुनको लागि त्यस विद्यालयको प्रअलाई विद्यालय प्रशासनको मियोको रूपमा लिइन्छ । ऊ योग्य नेतृत्व क्षमता भएको , योजना निर्माण, संगठन र कर्मचारी व्यवस्थापनमा सक्षम, नियन्त्रण क्षमता भएको , दण्ड र पुरस्कार को महत्व बुझेको, समन्वय गर्न सक्ने, कार्यक्रम तथा बजेट निर्माणमा दक्ष हुनुपर्दछ । प्रधानाध्यापक नै त्यस्तो व्यक्ति हो जसले शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय, संघ–संस्था आदिसँग उचित समन्वय राखी सबैलाई विद्यालयको हितका लागि उत्प्रेरित गर्नु पर्छ । तर नेपालका सामुदायिक विद्यालयमा कुनै कारणवश प्र्रअको स्थान रिक्त भयो भने शिक्षा नियमावलीमा गरिएको व्यवस्था अनुसार त्यस विद्यालयमा कार्यरत जेष्ठ शिक्षक (जसलाई वरिष्ठ पनि भनिन्छ) लाई निमित्त प्रअ तोक्ने गरिन्छ । सेवा अवधि र अनुभव लामो भएतापनि त्यस्ता शिक्षकहरूको कम योग्यता, उचित सीपको अभाव, तालिम लिने अवसर आए पनि जागिर छोड्ने बेलामा किन तालिम लिनु भनेर बेवास्ता गर्ने प्रवृत्ति र सम्बन्धित निकायले तालिम अनिवार्य गर्न नसक्नु आदि कारणले गर्दा त्यस्ता प्रअहरू नाम मात्रका हुने गर्छन् । क्षमतावान र जुझरु अनि सक्षम व्यक्तिले जिम्मेवारी नपाउँदा तिनको मन मर्ने र विद्यालय सफलगन्तव्यमा जान नसक्ने कुरा आजको कटु सत्य हो । यस यथार्थलाई मनन गरी योग्य, निपुण, सक्षम, जुझरु व्यक्ति जो छ त्यो नै प्रअ हुनुपर्ने प्रावधान नआएसम्म समस्या ज्यूँकात्यूँ रहनेछ ।

शिक्षा नियमावलीकै नियम ९३ अन्तर्गत अनुसूची १३ मा प्रअ नियुक्तिको स्पष्ट व्यवस्था गरिएको भए पनि अझैसम्म उपर्युक्त व्यवस्था अपनाएर प्रअ नियुक्ति गर्ने गरिएको छैन । नेपालका अधिकांश विद्यालयहरू निमित्त प्रअबाट नै वर्षांै वर्ष देखि चल्दै आएका छन् । त्यस्ता निमित्त प्रअहरू जसोतसो एसएलसीसम्म उत्तीर्ण हुने, नभए मित्रराष्ट्रका प्रमाणपत्र प्राप्त गरिएका हुने, अनि विद्यालय मावि भए पनि प्रा.शि. तृतीय श्रेणीको एसएलसी उत्तीर्ण शिक्षक सेवा अवधिको हिसाबले वरिष्ठ भएको कारणले नेतृत्व पाउने र स्नातकोत्तर तहको योग्यता हासिल गरेका विद्वान शिक्षकहरू आफूभन्दा अक्षमको नेतृत्वमा काम गर्नु पर्ने कारणले पनि विद्यालयको गुणस्तर मा ह्रास आएको अर्को तीतो सत्य हो ।

निमित्त प्रअ काम चलाउनको लागि केही समयको लागि हुने र सम्बन्धित विद्यालयमा सम्बन्धित तहको शिक्षक नभएमा अन्यत्र विद्यालयबाट सरुवा गरी ल्याएर प्रअ बनाउनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको भएतापनि हालसम्म यस व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको देखि ंदैन ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (२०६६—२०७२) लागू भइसकेको वर्तमान अवस्थामा प्रअको कार्यकाल चार वर्ष हुने, प्रअको दरबन्दी व्यवस्था गर्नु पर्ने र निजको नियुक्तिको लागि विद्यालय विकास प्रस्तावको आधारमा तीन जनाको प्रस्तावमध्ये उपयुक्त प्रस्ताव ल्याउने नियम ९३ अन्तर्गतको अनुसूची १३ को व्यवस्था अनुसार कम्तीमा ७० अंक ल्याउने शिक्षकलाई प्रतिस्पर्धात्मकरूपबाट प्रअ नियुक्ति गर्नु पर्ने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको पाइँदैन । जसको कारणले सक्षम नेतृत्व पर्दा पछाडि पर्ने र असक्षम नेतृत्वले सञ्चालन गर्ने विद्यालय नै असफल हुने कुरा मा दुईमत छैन । योग्यता र क्षमता भएका शिक्षकहरूलाई नेतृत्व नदिने गरी व्यवस्था गरिएको शिक्षा नियमावलीको व्यवस्थालाई तुरुन्त संशोधन गर्ने वा नियमावलीकै नियम ९३ मा गरिएको व्यवस्था अनुसार प्राथमिक तहसम्म सञ्चालित विद्यालयको प्रअका लागि कम्तीमा प्रावि तृतीय श्रेणीको स्थायी शिक्षक, निमावि तहसम्म संचालित विद्यालयको प्रअका लागि कम्तीमा निमावि तृतीय श्रेणीको स्थायी शिक्षक र मावि तथा उमावि तहसम्म संचालित विद्यालयको प्रअका लागि कम्तीमा मावि तृतीय श्रेणीको स्थायी तथा स्नातकोत्तर योग्यता हासिल गरेको शिक्षकलाई प्रअ बनाउने र त्यस्तो शिक्षक सम्बन्धित विद्यालयमा नरहेको अवस्थामा अन्यत्र विद्यालयबाट सरुवा गराए र भए पनि प्रअ बनाउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू न गरिएमा विद्यालय प्रशासन कमजोर रहने र अन्ततः विद्यालय र विद्यार्थीको शिक्षाको गुणस्तर कमजोर हुने समस्या ज्यूँकात्यूँ रहिरहन्छ ।

यसर्थ विद्यालय सफल हुनको लागि नेतृत्व सक्षम हुनुपर्दछ, स्थायी तर कनिष्ठ नै किन नहोस् योग्य र सक्षम शिक्षकलाई नेतृत्व दिइनुपर्दछ । सक्षम नेतृत्वले अनुभवी ड्राइभरलेगाडी चलाए झैँैं विद्यार्थी, शिक्षक, अभिभावक समुदाय सबैको उचित समन्वयद्वारा विद्यालयलाई उचितगन्तव्यमा पुर्याउन सफल हुन्छ ।

महेन्द्र सरस्वती सेवा निमावि, टेकू, काठमाडौं

commercial commercial commercial commercial