कक्षा शिक्षणको प्रयोगात्मक शैली

ललितपुरको विश्वामित्रगणेश मावि वरिपरिका वस्तु, जीवजन्तु, हावापानी, वनजंगल उक्त विद्यालयको पठनपाठनलाई प्रयोगात्मक बनाउन रामवाण सावित भएका छन् । जाँ गरिला शिक्षकले चाहे प्रकृति नै असली सिकाइको औजार रहेछ भन्ने दृष्टान्त विश्वामित्रले सिद्ध गरेको छ ।  

ललितपुरको लुभू– ८ ज्यामिरकोटस्थित विश्वामित्रगणेश माविकी शिक्षक जुनु केसी थापा १६ फागुन २०६९ मा कक्षा ३ का नानीहरूलाई घुलनशील र अघुलनशील पदार्थबारे पढाउने तयारीमा थिइन् । घुलनशील र अघुलनशील पदार्थको अवधारणा र सामान्य परिचय बताएपछि उनले सबै बालबालिकालाई कक्षा बाहिर लगिन् । वृत्ताकार घेरामा उभिएका विद्यार्थीले केहीबेर सामूहिकगीतगाए । त्यसपछि शुरू भयो– विज्ञानको प्रयोगात्मक कक्षा ।

घुलनशील र अघुलनशील पदार्थ पढाउन जुनुले बालुवा, चिनी, काठको धूलो,ग्लुकोज, चकको धूलो, नुन, पानी,गिलास र चम्चा आदि सामग्री तयार पारेकी थिइन् । उनले लाइनमा उभिएका  छात्रहरू अमन खड्का र अर्जुन थापालाई शैक्षिक सामग्री भएको ठाउँमा आएर प्रयोगात्मक कक्षा अघि बढाउन आग्रह गरिन् । अरू नानीहरूलाई यो अभ्यास अवलोकन गर्न आग्रह गरिन् । अमन खड्कालेगिलासमा राखिएको पानीमा काठको धूलो हालेर चम्चाले घोल्ने कोशिश गरे । तर, घुलेन । उक्त कार्य हेरिरहेका नानीहरूलाई जुनुले सोधिन्, “काठको धूलो पानीमा घुल्यो कि घुलेन ?” “घुलेन मिस ।” छात्रछात्राको सामूहिक जवाफ थियो । “त्यसो भए काठको धूलो घुलनशील हो कि अघुलनशील पदार्थ ?” जुनुको पूरक प्रश्नको विद्यार्थीले जवाफ फर्काए, “यो अघुलनशील पदार्थ रहेछ मिस ।”

त्यसपछि अरू दुई जना विद्यार्थी अगाडि आएरगिलासको पानीमाग्लुकोजको धूलो हालेर चम्चाले घोल्न थाले । एकैछिनमा पानीमाग्लुकोजको धूलो घुल्यो । जुनुले सोधिन्, “अब भन,ग्लुकोज घुलनशील कि अघुलनशील ?” विद्यार्थीले सामूहिक स्वरमाग्लुकोज घुलनशील पदार्थ हो भने ।

त्यसै गरी विद्यार्थीले पालैपालो चकको धूलो, चिनी र नुन पानीमा हालेर घोल्ने अभ्यास गरे । काठको धूलो र बालुवा बाहेक नुन, चिनी र चक सबै घुले । बालुवा अघुलनशील र अरू घुलनशील पदार्थ भएको निचोडमा छात्रछात्रा पुगे । उनीहरू घोलिने र नघोलिने पदार्थ चिन्न सक्ने भए ।

प्रयोगात्मक अभ्यास सकेपछि शिक्षक सहित विद्यार्थीले पुनः सामूहिक रूपमागीतगाए ।गीत सकेर नानीहरू कक्षामा फर्किएपछि शिक्षक जुनुले घोलिने र नघोलिने पदार्थको सूची बनाउन लगाइन् । सबै विद्यार्थीले केहीबेरअघि कक्षा बाहिर गरेको प्रयोगात्मक अभ्यास का आधारमा घुलनशील र अघुलनशील पदार्थहरूको सूची बनाए ।

कक्षा तीनको विज्ञान कक्षा सकिनासाथ जुनु विज्ञानकै बोट बिरुवाको बारेमा पढाउन कक्षा– २ मा पसिन् । सेतोपाटीमा बोटबिरुवाका प्रकार–रूख (Tree) र बुट्यान (Shrubs and Herbs) लेखेर त्यसबारेमा नानीहरूसँग सामान्य अन्तरक्रिया गरे पछि उनले सबै बालबालिकालाई पहिले जस्तै कक्षाबाट बाहिर निकालिन् ।

विश्वामित्र मावि हरियो जंगलको बीचमा छ । यही प्राकृतिक स्वरुपको लाभ उठाउँदै जुनुले नानीहरूलाई लाइनमा राखेर स्कूल वरिपरिको वन र बारीमा बिरुवा र घाँस संकलन गर्न लगाइन् । एक एक वटा बोट लिएर विद्यार्थी खुशी हुँदै लामबद्ध भएर खुला आकाशमुनि प्रयोगात्मक कक्षाका लागि तयार भए । बारी र पाखोबाट कसैले तोरी उखेलेर ल्याएका थिए भने केहीले झर तथा घाँस संकलन गरेका थिए । सबै विद्यार्थीको हातमा केही न केही थियो ।

विद्यार्थीको हातबाट लिएर जुनुले सबैभन्दा पहिला तोरीको जरा चिनाइन् । त्यसपछि पात चिनाइन् । यो बोटबिरुवाका अंग बुझाउने उनको प्रयास थियो । त्यही क्रममा उनले तोरीको काण्ड र फूल देखाउँदै उनले कुनै पनि बोटबिरुवाको बाहिरी आवरणमा पाँच भाग हुन्छन् भन्ने सिद्ध गरिन् । यो कक्षाबाट बालबालिकारूख, बुट्यान, घाँस र तिनका बाहिर पाँच अंग हुने कुरा जान्न सक्ने भए । करीब ३० मिनेटको खुला प्रयोगात्मक कक्षापछि जुनुले विद्यार्थीलाई कक्षामा फर्काइन् र तिनलाई अघि संकलन गरेका बोटबिरुवाको चित्र कोर्न आग्रह गरिन् ।

जुनु केसीका हरेक कक्षा यस्तै हुन्छन् । कक्षा ३ सम्म विज्ञानका ८० प्रतिशत पाठ प्रयोगात्मक विधिमा शिक्षण गर्ने गरेको उनको अनुभव छ ।रूख बिरुवा, जनावर, माटो, हावापानी आदि विज्ञानका पाठ कक्षाभित्र भन्दा कक्षा बाहिर प्रभावकारी हुन्छ भने छात्रछात्रा पनि प्रसन्न हुन्छन् ।

अवलोकन गरिरहेका पाटन उमावि केन्द्रका स्रोतव्यक्ति सत्यनारायण महर्जन प्राविका सबै विषयवस्तुको पठनपाठन प्रयोगात्मक गर्न सकिने धारणा राख्छन् । उनी भन्छन्, “शिक्षकको जाँगर भए सबै शिक्षकको कक्षा जुनुको जस्तै हुन सक्छ । किताबका पाठलाई स्कूल वरिपरिको वस्तु र वातावरणसँग जोड्ने जाँगर र सीप भए पैसा विनै स्तरीय शिक्षा दिन सकिन्छ ।”

शिक्षकले छात्रछात्रालाई खेतबारी, खोला वा वनपाखातिर लगेमा कतिपय अभिभावकले अनौठो मान्ने गरेको पाइन्छ । त्यसरी प्रयोगात्मक अभ्यास गराउँदा ‘शिक्षकले पढाउन अल्छी गरेको’ आरोप लाग्ने गरेको पनि भेटिन्छ । तर, विश्वामित्र माविका अभिभावकले भने यसलाई पठनपाठनको नियमित अंगकोरूपमै स्वीकार गरेका छन् । अधिकांश समय विद्यालयमा बिताउने सो माविको व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर थापा भन्छन्, “बालबालिकालाई खेतबारी वा जंगलमा लगेको हामीलाई अनौठो लाग्दैन, असली पढाइ नै कक्षा बाहिर हुँदोरहेछ भन्ने हामीले बुझेका छौं ।”

सबै कक्षा प्रयोगात्मक
विश्वामित्र माविका अधिकांश शिक्षकका कक्षा प्रयोगात्मक हुने भएकाले धेरैले यो स्कूललाई प्रयोगात्मक विद्यालय भन्ने गरेका छन् । माविमा विज्ञान शिक्षण गर्दै आएकी सजनी महर्जनले १६ फागुनमा आसन्न एसएलसीको तयारी गरिरहेका छात्रछात्रालाई अम्ल, क्षार, लवण र पानी पनि प्रयोगात्मक विधिमै सिकाइन् । विज्ञानका सिद्धान्त र सूत्रलाई प्रयोगात्मक रूपमा परीक्षण न गरी विद्यार्थीलाई राम्ररी बुझाउन नसकिने सजनीको कथन छ ।

गणित, अंग्रेजी, नेपाली, सामाजिक, लेखा लगायत प्रायः सबै विषयको पठनपाठनलाई विश्वामित्र माविमा व्यावहारिक बनाउने प्रयास गरिएको छ । कक्षा १० मा लेखा शिक्षण गरिरहेका धु्रव खड्काको कक्षा पनि प्रयोगात्मक देखि न्थ्यो । उनलेगोश्वारा भौचर सिकाउनका लागि विभिन्न कार्यालयमा प्रयोग हुनेगोश्वारा भौचरका नमूना ल्याएर छात्रछात्रालाई वितरण गरेका थिए भने छात्रछात्रा चाहिं ती भौचर भर्ने अभ्यास गर्दै थिए । खड्का भन्छन्, “कक्षाको पढाइलाई जीवनसँग जोड्दा छात्रछात्राले त्यसको औचित्य बुझदा रहेछन् । त्यसकारण हरेक पाठको व्यावहारिक उपयोगिता बुझाउने प्रयास गर्छु ।”

हरेक कक्षालाई प्रयोगात्मक विधिमा चलाइएकोले विश्वामित्र ललितपुरको एउटा भिन्न स्कूल बन्न पुगेको छ । प्रयोगात्मक कक्षाका कारण विद्यार्थीले पढाइलाई किताबको टेक्स पढ्नु, गृह कार्य गर्नु वा जाँच दिनु भन्ने अर्थमा मात्र नबुझी तिनले किताबी ज्ञानलाई प्रकृति तथा व्यावहरिक जीवनसँग पनि जोड्न जानेका छन् । उक्त विद्यालयले प्रकृतिलाई नै पाठशाला बनाएको अनुभूति हुन्छ ।

विश्वामित्रका प्रअ ठाकुरप्रसाद उपाध्यायका अनुसार हरेक कक्षालाई कसरी व्यावहारिक र प्रयोगात्मक बनाउने भन्ने नै शिक्षकको सामूहिक चिन्ता हो । आफ्नो कक्षालाई अरूको भन्दा भिन्न र मौलिक बनाउने रहरले शिक्षकलाई स्कूलमा मात्र होइन, घरमा पनि कक्षाको तयारीमा लाग्न प्रेरित गरेको छ । “स्कूल छिरेपछि केही न गरी बस्ने कोही शिक्षक हुँदैन, केही न केही काम भइरहन्छ । प्रयोगात्मक कक्षाका कारण विद्यार्थीलाई पढाइ बोझ् होइन, रहर भएको छ”, उनले भने । किताबी ज्ञानलाई प्रयोगात्मक तुल्याउँदा विद्यार्थीमा पनि सिक्नेरूचि बढ्ने अनुभव विश्वामित्रको छ ।

प्रयोगात्मक सिकाइबाट विश्वामित्रगणेश माविको सिकाइ उपलब्धि यात्रालाई चम्काउँदै पनि लगेको छ । तीन वर्षयता यस स्कूलको एसएलसी नतिजा ७० प्रतिशतभन्दा माथि छ भने अरू कक्षाको औसत सिकाइ उपलब्धि ६० प्रतिशतको हाराहारीमा छ । २०६६ सालको एसएलसीमा सोही विद्यालयकी छात्रा अनिषा पण्डितले ८९.३८ प्रतिशत अंक हासिल गरेर सार्वजनिक विद्यालयतर्फ छात्रा प्रथमको रेकर्ड बनाएकी थिइन् ।

करीब ४०० भन्दा बढी छात्रछात्रा रहेको उक्त विद्यालय मावि भएको भर्खर तीन वर्ष भएको छ । अरू स्कूलमा भन्दा भिन्न वातावरण र शैलीमा शिक्षण हुने भएको ले नजिकैका निजी स्कूलबाट पनि बालबालिका विश्वामित्रमा भर्ना भएका छन् । विद्यालयका शैक्षिक संयोजक रवीन्द्र थापा शिक्षकहरूको सक्रियता, मिहिनेत र प्रतिबद्धताले छात्रछात्रा र अभिभावकको विश्वास आर्जन गर्न सकिएको अनुभव सुनाउँछन् । हुन पनि सो विद्यालयका सबै शिक्षकले आफ्ना छोराछोरीलाई यही विद्यालयमा नै पढाएका छन् ।

नर्सरी देखि कक्षा १० सम्म पठनपाठन हुने यो विद्यालयका कक्षा २ का एक जना बालकले प्रदर्शन गरेको एउटा व्यवहार खुब घतलाग्दो थियो । विज्ञानको प्रयोगात्मक कक्षाका लागि तोरीको बोट उखेलेर दुई जना बालक फर्किंदै थिए । ठाडो उकालो चढ्दै गरेका यी दुईमध्ये एउटा अलि अगाडि अर्को अलि पछाडि थिए । पछिल्लो बालक उकालो चढ्न नसकेपछि अघि आइसकेका बालक फर्केर साथीलाई हातमा समातेर उकालो चढ्न सहयोग गर्दैथिए । यो दृश्यले बालबालिकामा विकास भएको सामाजिकपन, मित्रता, सहकार्य र सहयोगी भावना स्पष्ट रूपमा अभिव्यक्त भएको थियो । उक्त दृश्य नियालिरहेका स्रोतव्यक्ति सत्यनारायण महर्जन भन्दैथिए “असली र प्राकृतिक सिकाइको प्रभाव यस्तै हुन्छ ।”

commercial commercial commercial commercial