२१औं शताब्दीको शिक्षाका चुनौती के पढाउने, के नपढाउने ?

हामीलार्ई थाहा छैन— अबको ३० वर्षपछि मानिसले जीवन–निर्वाहका लागि कस्तो रोजगारी गर्नेछन्; सेना र कर्मचारीतन्त्रले कसरी काम गर्नेछन्; लैङ्गिक सम्बन्ध कस्ताखाले हुनेछन्। त्यसैले, आज केटाकेटीले जेजति सिकिरहेका छन् त्यसमध्ये अधिकतर सन् २०५० सम्ममा अप्रासंगिक हुन पुग्ने सम्भावना छ।

शिक्षा–विज्ञहरू भन्छन्— अब स्कूलमा चार 'C' पढाउन जोड दिनुपर्छः क्रिटिकल थिंकिङ (विवेचनात्मक चिन्तन), कम्युनिकेशन (सम्प्रेषण), कोल्याबोरेशन (सहकार्य) र क्रिएटिभिटी (सृजनात्मकता)। स्कूलले प्राविधिक दक्षताहरूलाई कम र जीवन सम्बन्धी दक्षताहरूलाई बढी महत्व दिनुपर्छ । 

मानवजातिले अभूतपूर्व क्रान्तिहरूको सामना गर्दैछ; हाम्रा सारा कथा ध्वस्त भइरहेका छन्, अनि तिनको स्थान लिन कुनै नयाँ किस्सा अहिलेसम्म हाम्रासामु आइपुगेको छैन । यस प्रकारका अभूतपूर्व रूपान्तरण र जरैदेखि उलटफेर गरिदिने अनिश्चितताहरूले भरिएको दुनियाँ सामना गर्न हामीले आफूलाई र आफ्ना केटाकेटीलाई कसरी तयार गर्नुपर्ला ? आज जन्मेको बच्चा सन् २०५० मा तीस वर्षको हाराहारीमा हुनेछ । सबै कुरा ठीकठाकसँग चल्दैगयो भने त्यो बच्चा सन् २१०० सम्म जीवित एवं स्वस्थ रहनेछ, र हुन सक्छ, उसले २२औं शताब्दीको पनि सक्रिय नागरिक बन्ने मौका पाओस् । त्यसैले हामीले आजको बच्चालाई त्यस्तो के पढाउनुपर्ला, जसले उसलाई सन् २०५० अथवा त्यसभन्दा पनि पछिको २२औं शताब्दीको दुनियाँमा ‘जीवित’ बनिरहन र फल्न–फुल्न मदत गर्न सकोस् ? रोजगारी प्राप्त गर्न, आफू वरिपरिका घटनाक्रमलाई बुझन अनि जीवनको घनचक्करका बीच आफ्नो गोरेटो निर्माण गर्न उसलाई कस्ताखाले दक्षता आवश्यक पर्लान् ?

दुर्भाग्यवश, आज हामी कसैलाई पनि, सन् २१०० को त कुरै छोडौं, सन् २०५० मै यो दुनियाँको अनुहार कस्तो हुनेछ भन्ने कुराको कुनै भेउ छैन । त्यसैले शिक्षा सम्बन्धी यी प्रश्नको जवाफ पनि कसैलाई थाहा छैन । हो, मानिसले भविष्यको पूर्वानुमान कहिल्यै ठीक–ठीक तवरमा गर्न सक्तैनन् । तर, आज यो काम हिजोभन्दा निक्कै बढी मुश्किल भएको छ । किन भने, जुन दिन प्रविधिले हामीलाई शरीर, गिदी र मस्तिष्क नयाँ किसिमले निर्माण गर्न सक्षम बनाइदिनेछ, त्यसै दिन हामी कुनै पनि कुराबारे पक्कापक्की तवरमा केही पनि भन्न सक्ने स्थितिमा रहनेछैनौं । यसमा ती कुरा पनि शामेल हुनेछन्, जो त्यतिन्जेलसम्म निश्चित र शाश्वत प्रतीत हुने गर्थे । 

एक हजार वर्ष अघि, सन् १०१८ मा, भविष्यसँग जोडिएका त्यस्ता धेरै कुरा थिए जसका बारेमा मानिसलाई थाहा थिएन; तर पनि उनीहरूलाई विश्वास हुनेगथ्र्यो— मानव समाजका आधारभूत लक्षणमा कुनै परिवर्तन आउनेवाला छैन । यदि तपाईं सन् १०१८ मा चीनमा बसोबास गर्नुुहुन्थ्यो भने, सन् १०५० सम्ममा साङ साम्राज्य ध्वस्त हुन सक्छ, उत्तर दिशाबाट ‘खितान’ (मंगोलियातिरका फिरन्ते जनजाति) ले आक्रमण गर्न सक्छन् अनि महामारीले लाखौंको ज्यान लिन सक्छ भन्ने तपाईंलाई थाहा नहुन सक्थ्यो । तर, तपाईंका सामु के कुरा स्पष्ट थियो भने, सन् १०५० मा पनि अधिकतर मानिस किसान अथवा बुनकरका रूपमा काम गरिरहेका हुनेछन्, शासकहरूले त्यसवेला पनि आफ्नो फौज र कर्मचारीतन्त्रमा मानिसहरू नै भर्ना गरिरहनुपर्नेछ, त्यसवेला पनि महिलाहरूमाथि पुरुषको वर्चस्व कायमै रहनेछ, औसत आयु–सीमा चालीस वर्ष हाराहारी नै रहनेछ अनि मानिसको शरीर ठ्याक्कै ‘अहिलेको जस्तै’ भइराख्नेछ । त्यसैले सन् १०१८ मा गरीब चिनियाँ अभिभावक आफ्ना छोरालाई धान रोप्ने र रेशमको कपडा बुन्ने विधि सिकाउँथे, सम्पन्नतर अभिभावक आफ्ना छोरालाई कन्फ्युसियस–साहित्य पढ्ने, चित्रलिपि लेख्ने अथवा घोडा चढेर युद्ध गर्ने विधि सिकाउँथे, अनि सबैले छोरीलाई चाहिं विनम्र तथा आज्ञाकारी गृहिणी बन्ने शिक्षा दिन्थे । कुरो स्पष्टै थियो— यी दक्षताहरूको आवश्यकता सन् १०५० मा पनि पर्नेवाला थियो ।

परन्तु, आज हामी कसैगरी अनुमान गर्न सक्तैनौं— सन् २०५० मा चीन अथवा बाँकी दुनियाँ कस्तो खालको हुनेछ । हामीलार्ई थाहा छैन, अबको ३० वर्षपछि मानिसले जीवन–निर्वाहका लागि कस्तो रोजगारी गर्नेछन्; हामी जान्दैनौं, सेना र कर्मचारीतन्त्रले कसरी काम गर्नेछन्; हामीलाई अन्दाज छैन, लैङ्गिक सम्बन्ध कस्ताखाले हुनेछन् । केही मानिस शायद आजको तुलनामा बढी लामो जीवन जिउनेछन्; बायो–इंजिनीयरिङ र प्रत्यक्ष मस्तिष्क–कम्प्युटर–इन्टरफेस (brain-computer-interface) का कारण मानवीय शरीर स्वयंमै अभूतपूर्व क्रान्ति हुनेछ । त्यसैले, आज केटाकेटीले जेजति सिकिरहेका छन् त्यसमध्ये अधिकतर सन् २०५० सम्ममा अप्रासंगिक हुन पुग्ने सम्भावना छ । 

अहिले अधिकतर स्कूल केटाकेटीमा सूचना कोच्नमा जोड दिन्छन् । अतीतमा यसले अर्थ राख्थ्यो; किन भने एक त सूचना नै दुर्लभ थियो, त्यसमाथि विद्यमान सूचनाको मन्द चुहावटलाई समेत सेन्सरशिप मार्फत बारम्बार अवरुद्ध गरिन्थ्यो । उदाहरणका लागि, तपाईं सन् १८०० मा मेक्सिकोको कुनै सानो गाउँले बस्तीमा बस्नुहुन्थ्यो भने त्यसभन्दा बाहिरको व्यापक दुनियाँका बारेमा थप जानकारी पाउन निकै मुश्किल थियो । त्यहाँ कुनै रेडियो, टेलिभिजन, इन्टरनेट, दैनिक अखबार अथवा सार्वजनिक पुस्तकालय आदि केही थिएनन् । तपाईं साक्षर भए र कुनै निजी पुस्तकालयमा तपाईंको पहुँच भए नै पनि उपन्यास र धार्मिक ग्रन्थ बाहेक त्यहाँ पढ्नका निम्ति बढी केही हुँदैनथ्यो । स्पेनी साम्राज्यले स्थानीय स्तरमा मुद्रित हुने तमाम सामग्रीलाई नराम्ररी सेन्सर गर्नेगथ्र्यो अनि बडो सावधानीपूर्वक जाँचबुझ् गरिएका अति सीमित प्रकाशनलाई मात्र बाहिरबाट आयात गर्न छूट दिनेगथ्र्यो । लगभग यही कुरा, त्यसवेला तपाईं रूस, हिन्दुस्तान, टर्की अथवा चीनको कुनै गाउँले बस्तीमा बस्नुहुन्थ्यो भने पनि लागू हुन्थ्यो । जब आधुनिक स्कूल अगाडि आए र तिनले केटाकेटीलाई पढ्ने र लेख्ने अनि भूगोल, इतिहास र जीवविज्ञानका आधारभूत तथ्यहरूको शिक्षा दिने काम शुरू गरे, तिनीहरूले अपरिमित सुधारको प्रतिनिधित्व गरे । 

एक्काइसौं शताब्दीको दोस्रो दशक पूरा हुन लाग्दा, आज हामी सूचनाको विपुल मात्राले घेरिएका छौं र अब त ‘सेन्सर’ ले पनि यसलाई अवरुद्ध गर्ने प्रयास गर्दैन । यसको सट्टा ती गलत जानकारी फैलाउन र अप्रासंगिकता मार्फत हाम्रो ध्यान विकेन्द्रित गर्न व्यस्त छन् । यदि तपाईं मेक्सिकोको कुनै ग्रामीण बस्तीमा बस्नुहुन्छ र तपाईंसँग स्मार्टफोन छ भने, आफ्नो जीवनको अत्यधिक समय विकिपेडिया  पढ्दै, टेड–टक्स (मुख्यतः प्रविधि, मनोरंजन र डिजाइनमा केन्द्रित, छोटा कुराकानी मार्फत नयाँ सोच, विचार प्रवर्धन गर्ने श्रव्यदृश्य कार्यक्रम) हेर्दै अनि ‘फ्री अनलाइन कोर्स’ लिंदै बिताउन सक्नुहुन्छ । कुनै पनि सरकार आज आफूले नचाहेको सूचना लुकाउन सक्ने आशा गर्न सक्तैन । बरु, जनतालाई परस्परविरोधी रिपोर्ट र मुख्य कुराबाट ध्यान विकेन्द्रित गर्ने असंख्य सूचनाले पुरिदिन उनीहरूलाई सजिलो भएको छ । दुनियाँभरिका मानिस अलेप्पो (सिरियाको एक शहर) को गोलीबारी अथवा आर्कटिकका पग्लिंदा हिमशिखरहरू बारेका ताजा जानकारीबाट एउटा बटन थिच्ने मात्र दूरीमा छन्, तर यी सबका बारेमा यति परस्परविरोधी जानकारी उपलब्ध छन् कि कुनमा विश्वास गर्ने भन्ने बुझनै महाभारत छ । यसबाहेक असंख्य अरू कुरा पनि एउटै बटन थिच्ने मात्र दूरीमा छन्, जसले तपाईंको एकाग्रतालाई दुर्लभ बनाइदिन्छन् । र, जब राजनीति अथवा विज्ञान ज्यादै जटिल अथवा अबोधगम्य लाग्न थाल्छ, त्यसवेला त्यहाँबाट ध्यान हटाएर कुनै रमाइलो क्याट भिडिओ, सेलिब्रिटी गसिप अथवा ‘पोर्नोग्राफी’ हेर्ने लोभ जाग्न थाल्छ ।

यस प्रकारको दुनियाँमा कुनै शिक्षकले आफ्ना विद्यार्थीलाई ‘अरू बढी’ जानकारी दिनुपर्ने कुनै आवश्यकतै रहँदैन । त्यो जानकारी उनीहरूसँग पहिलेदेखि नै भरपूर मात्रामा हुन्छ । यसको सट्टा मानिसले सूचनाको सार्थक व्याख्या गर्न सक्ने; महत्वपूर्ण  र गैर–महत्वपूर्णका बीच फरक छुट्याउन सक्ने; र सबैभन्दा बढी, सूचनाका थुप्रै अंश मिलाएर दुनियाँको व्यापक तस्वीर निर्माण गर्न सक्ने हुन जरूरी छ । 

त्यसो त, पश्चिमको उदारवादी शिक्षाको आदर्श लामो समयदेखि यही रहँदै आएको छ तर अत्यधिकांश पश्चिमी स्कूल यो आदर्शमा पुग्न सकेका छैनन् । शिक्षकहरूले एकातिर ढुक्कसँग विद्यार्थीको दिमागमा तथ्याङ्क र सूचना खाँदिरहे भने अर्कातिर विद्यार्थीलाई ‘स्वयं सोच्न’ प्रोत्साहित पनि गरिरहे । उनीहरूले के सोच्तै आए भने, जबसम्म विद्यार्थीलाई डंगुर सूचना र केही स्वतन्त्रता उपलब्ध गराउँदै जाइन्छ तबसम्म उनीहरूले दुनियाँको आफ्नै पाराको तस्वीर निर्माण गरिरहनेछन् । र, एउटा पुस्ता ती सारा सूचना संश्लेषण गरेर दुनियाँको सुसंगत र अर्थपूर्ण चित्र बनाउन असफल नै रह्यो भने पनि भविष्यमा त्यस्तो चित्र निर्माण गर्न पर्याप्त समय हुनेछ । तर अब हामीसँग त्यस्तो समय बाँकी छैन । आगामी केही दशकमा हामीले जे जस्ता निर्णय लिनेछौं, तिनले स्वयं जीवनको भविष्यलाई आकार दिनेछन् । यस्ता निर्णय हामी आफ्नो विद्यमान विश्वदृष्टिका आधारमा मात्र लिन सक्छौं । नयाँ पुस्तामा त्यस्तो दृष्टिको अभाव भयो भने तिनको जीवनको भविष्य अस्तव्यस्त हुन पुग्नेछ । 

चर्को दबाव
सूचनाका अतिरिक्त, अधिकतर स्कूलहरू केटाकेटीलाई पूर्वनिर्धारित कतिपय दक्षता उपलब्ध गराउन अचाक्ली जोड गर्छन् । जस्तैः विभेदक समीकरणहरूको समाधान निकाल्नु, C++ (एकखाले प्रोग्रामिङको भाषा) मा कम्प्युटर कोड लेख्नु, टेस्ट–ट्यूबमा रसायनहरूको पहिचान गर्नु, अथवा चिनियाँ भाषामा कुराकानी गर्नु । तर, सन् २०५० मा रोजगारको दुनियाँ कस्तो हुन्छ भन्ने हामीसँग कुुनै अनुमान नभएकाले हामीलाई वास्तवमा फिटिक्कै थाहा छैन— त्यसवेला मानिसलाई केकस्ता खास दक्षता आवश्यक हुनेछन् । हामी केटाकेटीलाई C++ मा कसरी लेख्ने अथवा चिनियाँ भाषा कसरी बोल्ने भन्ने सिकाउन न्वारनदेखिको बल त लगाऔंला, तर यसैबीच हामीले के थाहा पाउने सम्भावना पर्याप्त छ भने सन् २०५० सम्ममा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स/एआई) ले सफ्टवेयरको कोडिङ मानिसले भन्दा निकै राम्ररी गर्न थालिसक्नेछ, अनि नयाँ गूगल ट्रान्सलेट एपले तपाईंलाई मन्डारियन, क्यान्टोनिज अथवा हक्का भाषामा धाराप्रवाह वार्तालाप गर्न सक्षम बनाइदिनेछ, भलै तपाईंलाई ‘नी हाउ’ (हलो !) मात्र भन्न आउँदो होस् ! 

त्यसो भए हामीले के पढाउनुपर्ने हो त ? अनेक अध्यापन–विशेषज्ञहरूको तर्क छ, अब स्कूलमा चार 'C' पढाउन जोड दिनुपर्छ ः क्रिटिकल थिंकिङ (विवेचनात्मक चिन्तन), कम्युनिकेशन (सम्प्रेषण), कोल्याबोरेशन (सहकार्य) र क्रिएटिभिटी (सृजनात्मकता) । अझ् व्यापक तवरमा, स्कूलले प्राविधिक दक्षताहरूलाई कम महत्व दिनुपर्छ र सामान्य उद्देश्यपरक जीवन सम्बन्धी दक्षताहरूलाई बढी महत्व दिनुपर्छ । तिनमा सबैभन्दा महत्वपूर्ण हुन्— परिवर्तनको सामना गर्ने, नयाँ कुरा सिक्ने अनि अज्ञात परिस्थितिहरूमा आफ्नो मानसिक सन्तुलन बनाइराख्ने दक्षताहरू । 

सन् २०५० को दुनियाँ सँगसँगै पाइला चाल्न तपाईंले केवल नयाँ विचार र उत्पादनहरू आविष्कार गरेर मात्र पुग्दैन, यी सबै कुराभन्दा माथि आफू स्वयंलाई नयाँ किसिमले खोतल्न पनि जरूरी हुन्छ । किन भने, जति जति परिवर्तनको गति बढ्दै जान्छ, त्यति त्यति अर्थव्यवस्थामा मात्र होइन, मानिस हुनुकै अर्थमा समेत फेरबदल हुने सम्भावना छ । सन् १८४८ मै ‘कम्युनिस्ट मेनिफेस्टो’ ले घोषणा गरेको थियो— ‘जेजति ठोस छ त्यो घुलेर हावा बन्न पुग्छ ।’ माक्र्स र एन्गेल्स त्यसवेला मुख्यतः सामाजिक तथा आर्थिक संरचनाका बारेमा सोचिरहेका थिए । तर, सन् २०४८ सम्ममा शारीरिक र ज्ञानात्मक संरचनाहरू पनि घुलेर हावामा, अथवा डेटा विट्सको बादलमा परिणत हुनेछन् ।

सन् १८४८ मा लाखौं मानिस गाउँमा आफ्नो रोजगारी गुमाइरहेका थिए, र कारखानामा काम गर्न ठूला शहरहरूतिर लर्को लागिरहेका थिए । तर, ठूला शहरमा पुग्दा उनीहरूले आफ्नो लिंग बदल्नुपर्ने अथवा कुनै छैटौं इन्द्रिय जोड्नुपर्ने जस्तो कुनै आवश्यकता थिएन । र, तिनले कपडा आदिका कारखानामा काम पाए र बाँकी जीवन त्यही रोजगारी, त्यही पेशामा रहेर बिताउन सकिने आशा गर्न सक्थे । 

परन्तु, सन् २०४८ सम्ममा मानिसले अस्थिर लैंगिक पहिचानहरूसँग, अनि कम्प्युटरद्वारा सिर्जित नवीन अनुभवहरू सहित साइबरस्पेसमा स्थानान्तरित हुन जाने स्थितिसँग तालमेल कायम गर्नुपर्ने हुन सक्छ । (तिनले प्रविधिले खडा गरेका चुनौती र अवरोधलाई चिर्न र बुझन सके भने पनि दश वर्षभित्र कुनै व्यवसाय मात्र होइन, त्यस स्तरको कलात्मक सृजनात्मकता आवश्यक पर्ने सम्पूर्ण कामहरू समेत कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) (एआई) ले कब्जा गरिसक्नेछ ।) 

कृपया, भविष्यको यस परिकल्पनालाई, शब्दशः यसैगरी घटित हुनेछ भनेर ग्रहण नगर्नुहोला । आउँदो समयमा जेजस्ता परिवर्तन हामीले देख्नेछौं, तिनको पूर्वानुमान वास्तवमा कसैले गर्नै सक्तैन । भविष्यबारेको कुनै पनि परिकल्पना यथार्थबाट धेरै टाढा हुने प्रबल सम्भावना छ । यदि तपाईंका सामु कुनै व्यक्तिले एक्काइसौं शताब्दीको मध्य (सन् २०५०) तिरको दुनियाँको वर्णन गर्छ र त्यो वर्णन विज्ञान–कथा जस्तो लाग्छ भने, त्यो सम्भवतः झुटो हो । तर फेरि, यदि कुनै व्यक्तिले तपाईंका सामु मध्य–एक्काइसौं शताब्दीको दुनियाँको वर्णन गर्छ र त्यो वर्णन विज्ञान–कथा जस्तो लाग्दैन भने, त्यो पनि झुटो  नै हो । हामी निश्चयात्मकताहरूका बारेमा निश्चयपूर्वक केही भन्न सक्तैनौं, तर परिवर्तन स्वयंमा एकमात्र निश्चयात्मकता हो । 

यो गम्भीर परिवर्तनले शायद जीवनको आधारभूत ढाँचालाई नै बदलिदेला, र विच्छिन्नतालाई यसको प्रमुख लक्षण बनाइदेला । मानव जीवन चिरकालदेखि दुई अनुपूरक खण्डमा बाँडिंदै आएको थियोः सिक्ने खण्ड र त्यसपछि काम गर्ने खण्ड । जीवनको पहिलो खण्डमा तपाईं जानकारी एकत्र गर्नुहुन्थ्यो, दक्षता विकसित गर्नुहुन्थ्यो, निश्चित जीवन–दृष्टि रच्नुहुथ्यो र एउटा स्थिर पहिचानको निर्माण गर्नुहुन्थ्यो । यदि तपाईं १५ वर्षको उमेरमा आफ्ना दिन (कुनै औपचारिक स्कूलमा जानुको सट्टा) परिवारसँग खेतमा काम गर्दै बिताउनुहुन्थ्यो भने, त्यसवेला पनि तपाईंले गरिरहेको सबैभन्दा महत्वपूर्ण काम ‘सिक्नु’ हुन्थ्योः धान खेती कसरी गर्ने, शहरबाट आएका चुइयाँ व्यापारीसँग धानको मोलतोल कसरी गर्ने, साँधसीमाना र पानी पटाउने विषयमा अन्य गाउँलेसँग पर्ने झ्गडा कसरी सुल्झउने आदि । जीवनको दोस्रो खण्डमा तपाईं दुनियाँमा आफ्नो बाटो खोज्न, आजीविका कमाउन र समाजमा योगदान गर्न आफूले एकत्र गरेका दक्षता (अनुभव र सीप) मा निर्भर रहनुहुन्थ्यो । त्यसो त, पचास वर्षको उमेरमा पनि तपाईं धानका बारेमा, व्यापारीका बारेमा र झ्गडाहरूका बारेमा नयाँ कुरा सिकिरहनुभएकै हुन्थ्यो, तर ती कुराले तपाईंका प्रमुख दक्षता या क्षमतामा झ्निामसिना सुधार मात्र ल्याउँथे ।

एक्काइसौं शताब्दीको मध्यसम्ममा तीव्रगतिका परिवर्तन र तीसँगै लम्बिन पुगेको जीवन–कालका कारण यो पारम्परिक जीवन–ढाँचा पुरानो र असान्दर्भिक हुन पुग्नेछ । जीवनका सिलाइहरू उध्रिनेछन् र जीवनका विभिन्न कालखण्डका बीच निरन्तरता झन् झन् कम हुँदै जानेछ । ‘म को हुँ ?’ भन्ने प्रश्न यति बढी निर्णायक र जटिल हुन पुग्नेछ, जति त्यो कहिल्यै थिएन । 

यसले गर्दा मानसिक सन्ताप र तनावका स्तरहरू ज्यादै बढ्न जाने सम्भावना छ । किन भने, ‘परिवर्तन’ सधैं सन्ताप र तनावले भरिएको हुन्छ, अनि एउटा निश्चित उमेरपछि अधिकतर मानिस परिवर्तन नै चाहँदैनन् । १५ वर्षको उमेरमा तपाईंको समग्र जीवन ‘परिवर्तन’ हुन्छ । तपाईंको काया बढिरहेको हुन्छ, तपाईंको दिमाग विकसित भइरहेको हुन्छ, तपाईंका सम्बन्ध प्रगाढ भइरहेका हुन्छन् । हरेक कुरा लगातार बदलिरहेको हुन्छ र हरेक कुरा नयाँ हुन्छ । तपाईं स्वयंलाई पहिल्याउन, आविष्कृत गर्न व्यस्त हुनुहुन्छ । धेरै किशोर यसबाट डराएका हुन्छन् तर यसका साथसाथै यो रोमाञ्चक पनि हुन्छ । तपाईंका अगाडि नयाँ सम्भावना प्रकट भइरहेका हुन्छन्, तर जित्नका लागि पूरै दुनियाँ तपाईं सामु विद्यमान हुन्छ । 

पचास वर्ष पुग्न लाग्दा परिवर्तनमा तपाईंको रुचि रहँदैन; अधिकतर मानिसले दुनियाँ जित्ने कोशिश त्यागिसकेका हुन्छन् । सबै कुरा यति देखी–बुझी सकिएको हुन्छ कि अब झिंझयाट लाग्न थाल्छ । तपाईंलाई स्थायित्व बढी राम्रो लाग्छ । आफ्ना दक्षताहरू, आफ्नो आजीविका, आफ्नो पहिचान र आफ्नो विश्वदृष्टिमा तपाईंले यति धेरै लगानी गरिसक्नुभएको हुन्छ कि एकपल्ट फेरि प्रारम्भदेखि नै सबैथोक शुरू गर्न चाहनुहुन्न । कुनै कुरा बनाउन तपाईंले जति कडा मिहिनेत गर्नुभएको हुन्छ, त्यस कुरामा आफ्नो नियन्त्रण खुकुल्याउन र कुनै नयाँ कुराका लागि बाटो दिन उति नै मुश्किल हुन्छ । नयाँ अनुभव प्राप्त गर्न र ससाना तालमेल मिलाउन त तपाईं अझै पनि आनन्द लिनुहुन्छ, तर आफ्नो पहिचान र व्यक्तित्वका गहन संरचनाहरूको आमूल मर्मतका लागि तयार हुनुहुन्न ।

यसका कारण प्राकृतिक हुन्छन्, स्नायुतन्त्रसँग जोडिएका । यो उमेरमा स्नायु र दुई स्नायविक कोशिकाका बीचका तारहरूलाई नयाँ ढाँचाले जोड्नु भयानक मुश्किल काम हो । तर, एक्काइसौं शताब्दीमा तपाईंले खोज्ने स्थायित्व तपाईंका निम्ति महँगो पर्न सक्छ । तपाईं कुनै स्थायी पहिचान, काम अथवा विश्वदृष्टिसँग टाँसिइरहन चाहनुहुन्छ भने दुनियाँ तपाईंलाई पछाडि पार्दै तपाईंको टाउका माथिबाट अघि बढ्न सक्ने जोखिम रहन्छ । परिणामस्वरूप तपाईंले एउटा ‘अज्ञानी, रुढिवादी’ व्यक्तिको पहिचान बोकेर दशकौं गुजार्नुपर्ने हुन सक्छ, किन भने आउँदा दिनमा हाम्रो आयु–सीमा त बढ्दै जाने नै हो । आर्थिक रूपले मात्र होइन, सबैभन्दा बढी त सामाजिक रूपले प्रासंगिक बनिरहनका लागि तपाईंले निरन्तर सिक्तै जान र आफूलाई नयाँ रूपमा खोतल्दै जानु जरूरी हुन्छ, पचास वर्षको त्यो युवावस्थामा । 

जब अज्ञातता/अपरिचितता नै नयाँ अवस्थाको विशेषता बन्न पुग्छ, त्यसवेला तपाईंका अतीतका अनुभव, साथै समग्र मानव समाजका अतीतका अनुभव पनि, उति भरपर्दा मार्गदर्शक रहने छैनन् । व्यक्तिका रूपमा मानिसले, र समग्र रूपमा मानव–जातिले उत्तरोत्तर यस्ता कुरासँग सहज/अभ्यस्त हुनुपर्नेछ, जसको सामना त्यसभन्दा अघि कसैले गरेको थिएन । जस्तैः अतिशय बुद्धिमान मशीनहरू, यान्त्रिक रूपमा निर्मित शरीरहरू, मानिसका भावनासँग भयानक तवरमा छल–योजना (म्यानिपुलेशन) गर्न सक्ने एल्गोरिदम, मानिसले तीव्रतासाथ उत्पन्न गरिरहेका जलवायुपरक उथलपुथल, अनि आफ्नो पेशा/व्यवसायलाई प्रत्येक दश वर्षमा बदल्नुपर्ने आवश्यकता आदि । जब तपाईं यस्तो अभूतपूर्व परिस्थितिको सामना गरिरहनुभएको हुनेछ, त्यसवेला त्यस्तो के गर्नुहोला जो सही हुनेछ ? जब तपाईं सूचनाको डंगुरले भरिंदै जानुहुनेछ र त्यो समग्र सूचना सँगाल्ने तथा त्यसको विश्लेषण गर्ने कुनै उपाय हुनेछैन, त्यसवेला तपाईंले चाल्ने कदम वा गर्ने कामको रूप के होला ? यस्तो दुनियाँमा कसरी बस्न सकिएला, जहाँ अथाह अनिश्चयात्मकता या अन्योल कुनै कमजोरी होइन, त्यो नयाँ दुनियाँको एउटा प्रमुख लक्षण हुनेछ ? 

यस्तो दुनियाँमा जीवित रहिराख्न र फल्न–फुल्न तपाईंमा अत्यन्त बढी मानसिक लचिलोपन र भावनात्मक सन्तुलनको विशाल सञ्चय आवश्यक हुनेछ । तपाईंले पटक–पटक त्यस्ता कतिपय कुरा त्यागिरहनु/खारेज गरिरहनुपर्नेछ जोसँग तपाईं सबैभन्दा बढी परिचित र अभ्यस्त हुनुहुन्छ, अनि अज्ञात कुराहरूसँग निरन्तर आत्मीयता महसूस गर्दै जानुपर्नेछ । दुर्भाग्यवश, केटाकेटीलाई अज्ञात अवस्थाको स्वागत गर्ने अनि आफ्नो मानसिक सन्तुलन कायम राख्ने शिक्षा दिनु भौतिकशास्त्रका समीकरण अथवा प्रथम विश्वयुद्धका कारणहरूको शिक्षा दिनुभन्दा निक्कै बढी मुश्किल काम हो । तपाईंले कुनै पुस्तक पढेर अथवा कुनै व्याख्यान सुनेर मात्र लचिलोपन सिक्न सक्नुहुन्न । शिक्षकहरू स्वयंमा पनि त्यस्तो लचिलोपन हुँदैन जसको माग एक्काइसौं शताब्दीले गर्छ, किन भने उनीहरू आफैं पुरानो शिक्षा पद्धतिका उत्पादन हुन् । 

औद्योगिक क्रान्तिले हामीलाई शिक्षाको क्रमबद्ध उत्पादन (प्रोडक्शन लाइन) को सिद्धान्त उत्तराधिकारका रूपमा सुम्पेको छ । शहरका बीचमा एउटा ठूलो पक्का भवन हुन्छ, जसमा थुप्रै एकैनासका कोठा हुन्छन् र प्रत्येक कोठा बेन्च र टेबलको लाइनले सज्जित हुन्छ । घण्टीको आवाज सुन्नासाथ तपाईं ती उनन्तीस केटाकेटी सँगै एउटा कोठामा जानुहुन्छ जो त्यसै वर्ष जन्मेका थिए जुन वर्ष तपाईंको जन्म भएको थियो । घण्टैपिच्छे ठूलो उमेरको कुनै मान्छे कोठामा पस्छ र भटभटाउन थाल्छ । त्यसो गरे बापत उसलाई सरकारले पैसा दिन्छ । तीमध्ये एउटाले तपाईंलाई पृथ्वीको आकारबारे बताउँछ, अर्काले मानिसको अतीतका बारेमा सुनाउँछ, अझ् अर्काले मानव–शरीरका बारेमा वर्णन गर्छ । शिक्षाको यो विद्यमान ढाँचाको हाँसो उडाउन सजिलो छ र प्रायः सबै केमा सहमत छन् भने, अतीतमा जेजस्ता उपलब्धि भए पनि अब यो ढाँचा खोक्रो भइसकेको छ । तर यसको कुनै आदर्श वा प्रभावशाली विकल्प हामीले निर्माण गर्न सकेका छैनौं । त्यस्तो विस्तारपरक विकल्प त झनै  रचेका छैनौं, जसलाई क्यालिफोर्नियाको कुनै सम्पन्न शहरको सट्टा मेक्सिकोका ग्रामीण क्षेत्रमा लागू गर्न सकियोस् ।

मानिसको ह्याकिङ
त्यसैले मेक्सिको, हिन्दुस्तान अथवा अलबामामा कहीं कुनै पुरानो स्कूलमा अड्किएको पन्ध्र वर्षीय किशोरलाई मैले दिन सक्ने सबैभन्दा राम्रो सल्लाह यही हुनेछः आजका वयस्कहरूमा धेरै भर नपर । तीमध्ये धेरैको नियत ठीक छ तर उनीहरू दुनियाँ बुझदैनन् । अतीतमा, वयस्कहरूको अनुसरण गर्नु निकै सुरक्षित जूवा हुन्थ्यो किनभने तिनले दुनियाँ निकै राम्ररी बुझ्ेका हुन्थे, र दुनियाँमा परिवर्तन मन्द गतिमा हुन्थ्यो । तर एक्काइसौं शताब्दी एकदम बेग्लै खालको हुँदैछ । परिवर्तनको गति निरन्तर बढिरहेकाले, वयस्कहरूको भनाइ कालातीत प्रज्ञाको कुरा हो कि थोत्रो पूर्वाग्रह भनेर छुट्याउन नै तिमीलाई महाभारत पर्नेछ । 

उसो भए तपाईं उनीहरूको सट्टा केमा भर पर्न सक्नुहुन्छ त ? शायद प्रविधिमा ? तर यो त झ्न् बढी असुरक्षित जूवा हो । प्रविधिले तपाईंलाई पर्याप्त मदत गर्न सक्छ । तर, यदि प्रविधिले तपाईंको जीवनमाथि धेरै बढी शासन गर्न थाल्यो भने तपाईं उसको कार्यसूचीको बन्धक बन्न सक्नुहुन्छ । हजारौं वर्ष अघि मानिसले कृषिको आविष्कार गरेका थिए, तर त्यो प्रविधिले सानो अभिजात वर्गलाई समृद्ध तुल्यायो अनि बहुसंख्यक मानिसहरूलाई गुलाम बनायो । अधिकतर मानिस सूर्योदयदेखि सूर्यास्तसम्म काममा जोतिइराख्ने र घाँस उखेलिराख्ने भए, पानी भरिएका बाल्टी ओसारिराख्ने भए अनि चर्को घाममा मकै गोडिराख्ने भए । तपाईंका मामिलामा पनि यस्तै हुन सक्छ । 

प्रविधि आफैंमा खराब कुरा होइन । तपाईंलाई आफू आफ्नो जीवनमा के चाहन्छु भन्ने थाहा छ भने प्रविधिले त्यसलाई हासिल गर्न तपाईंलाई मदत गर्न सक्छ । तर तपाईंलाई आफ्नो जीवनमा के चाहन्छु भन्ने थाहा छैन भने, प्रविधिले नै तपाईंका लक्ष्यहरू निर्धारित गरिदिन र तपाईंको जीवनलाई नियन्त्रण गर्न थाल्छ । खास गरी, प्रविधि मानिसहरूलाई बुझने मामिलामा जति जति प्रवीण हुँदै जानेछ, उति उति उसले तपाईंको सेवा गर्नुको सट्टा तपाईं चाहिं उसको सेवामा लाग्दै जानुभएको हुनेछ । तपाईंले ती नीरस व्यक्तिहरूलाई देख्नुभएको छ, जो आफ्नो अनुहार स्मार्टफोनमा गडाएर फूटपाथमा हिंडिरहेका हुन्छन् ? तपाईंलाई के लाग्छ, तिनले प्रविधिलाई नियन्त्रित गर्छन् कि प्रविधिले तिनलाई नियन्त्रित गर्छ ? 

त्यसो भए तपाईंले आफू स्वयंमाथि भरोसा गर्नुपर्ने हो त ? यो कुरा सेसम स्ट्रीट (अमेरिकी टीभी सिरियल) अथवा कुनै पुरानो डिज्ने–फिल्ममा त निकै प्रभावकारी लाग्छ, तर वास्तविक जीवनमा उति सफल हुँदैन । हुँदा हुँदा अब त डिज्नेसम्मले यो कुरा बुझन थालिसकेको छ । अधिकतर मानिसले शायदै आफूलाई चिने–जानेका हुन्छन्; त्यसैले जब उनीहरू ‘आफ्नो आवाज सुन्ने’ प्रयास गर्छन्, बडो सजिलैसँग बाहिरी छल–योजनाका शिकार बन्न पुग्छन् । हामी आफ्नो स्नायुतन्त्र भित्रबाट आएको जुन आवाज सुन्छौं त्यो कहिल्यै विश्वासयोग्य थिएन, किन भने त्यसले जैव–रासायनिक कमजोरी सँगसँगै सधैंभरि सरकारी प्रचार, विचारधारात्मक मतारोपण र व्यापारिक विज्ञापनहरूको प्रतिनिधित्व गर्छ । 

जुन दिन जैव–प्रविधि र ‘मेशीन–लर्निङ’ले उन्नत रूप प्राप्त गर्नेछन्, त्यसै दिनदेखि मानिसका भावना र आकांक्षाहरूका साथ छल–योजना गर्न झ्न् सजिलो हुनेछ । र, त्यसवेला आफ्नो मनको आवाजको अनुसरण गर्नु पहिलेभन्दा बढी खतरनाक हुन पुग्नेछ । जब कोकाकोला, अमेजन, बैदू (एप) अथवा सरकारले तपाईंको मनका तार कसरी तान्ने र मस्तिष्कका स्वीच कसरी थिच्ने भन्ने बुझनेछन्, त्यसवेला तपाईंले आफू र तिनका मार्केटिङ विशेषज्ञका बीच फरक छुट्याउन सक्ने के बाँकी रहला ? 

तपाईंलाई थाहै नपाई अरू कसैको उपकरण बनाइदिने यो परिपञ्चका बीच ‘सफल’ पार्नका निम्ति तपाईंले आफ्नो ‘अपरेटिङ सिस्टम’ लाई (अर्थात् तपाईं स्वयं के हो र आफ्नो जिन्दगीबाट के चाहनुहुन्छ भन्ने बुझन) ज्यादै कठोर परिश्रम गर्नुपर्नेछ । निश्चय नै किताबमा दिइएको सबैभन्दा पुरानो सल्लाह होः ‘आफूलाई चिन ।’ हजारौं वर्षसम्म दार्शनिक र भविष्यद्रष्टाहरूले मानिससँग स्वयं आफूलाई चिन्न अनुरोध गरेका छन् । तर यो सल्लाह जसरी एक्काइसौं शताब्दीमा तत्काल कार्यान्वयन गर्न योग्य भएको छ, त्यस्तो पहिले कहिल्यै भएको थिएन; किन भने आज तपाईं लाओत्से र सुकरातको जमानाको भन्दा बेग्लै र अझ् गम्भीर प्रतिस्पर्धाको सामना गरिरहनुभएको छ । कोकाकोला, अमेजन, बैदू  र सरकार सबै तपाईंको दिमागभित्र छिर्न होडबाजी गरिरहेछन् । तपाईंको स्मार्ट फोनमा होइन, तपाईंको कम्प्युटरमा होइन, तपाईंको बैंक खातामा होइन— उनीहरू तपाईंभित्र र तपाईंको जैविक ‘अपरेटिङ सिस्टम’ भित्र छिर्न भयानक प्रतिस्पर्धा गरिरहेका छन् । शायद, तपाईंले सुन्नुभएको होला— हामी कम्प्युटर ह्याकिङको युगमा बाँचिरहेका छौं । तर यो अर्धसत्य हो । वास्तवमा हामी मानिसलाई ह्याकिङ गरिने युगमा बाँचिरहेका छौं । अहिले नै पनि एल्गोरिदम (algorithm) हरूले तपाईंको निगरानी गरिरहेका छन् । तिनले तपाईं कहाँ जानुहुन्छ, के किन्नुहुन्छ र कसलाई भेट्नुहुन्छ भन्ने हेरिरहेका छन् । छिट्टै नै तिनले तपाईंका प्रत्येक पाइला, तपाईंले फेर्ने प्रत्येक सास र तपाईंको मुटुका प्रत्येक ढुकढुकीको निगरानी गर्न थाल्नेछन् । तपाईंलाई बढीभन्दा बढी राम्ररी बुझन तिनले बिग डेटा  र मशीन लर्निङ  को उपयोग गरिरहेका छन् । र, जुन दिन यी एल्गोरिदम ले तपाईंलाई तपाईंभन्दा बढी राम्ररी जान्न–बुझन थाल्ने छन्, तिनले तपाईंलाई नियन्त्रित गर्न सक्नेछन्, तपाईंसँग छल–योजना गर्न सक्नेछन् र तपाईं यी सबको प्रतिरोधमा केही खास गर्न सक्नुहुने छैन । तपाईं ‘म्याट्रिक्स’ भित्र, अथवा ‘द ट्रुम्यान शो’ भित्र परिसकेको हुनुहुनेछ । (द म्याट्रिक्स=जीवनका सम्पूर्ण क्रियाकलाप कम्प्युटरले निर्धारित गर्ने प्रणाली/त्यसमा आधारित फिल्म । ट्रुम्यान शो=समग्र जीवन टेलिभिजन शोमा परिणत भएको देखाउने एउटा फिल्म ।) अन्त्यमा, यो एउटा सामान्य अनुभवको विषय हुन पुग्नेछः यदि एल्गोरिदम ले तपाईं के सोच्तै हुनुहुन्छ भन्ने कुरा साँच्चै तपाईंले भन्दा बढी बुझन थाले भने तपाईंको प्रभुत्व तपाईंका हातबाट फुत्केर तिनका हातमा पुग्नेछ । 

निश्चय नै, के सम्भव छ भने, आफ्नो सारा प्रभुत्व एल्गोरिदम का हातमा सुम्पेर अनि आफ्ना तथा दुनियाँका सम्पूर्ण निर्णय गर्ने काम तिनको जिम्मा लगाएर तपाईं पूर्णतः प्रसन्न रहनुहोस् । यदि यस्तो हो भने, ढुक्कसँग लामो सास फेर्नुहोस् र जीवन–यात्राको आनन्द उठाउनुहोस् । तपाईंले केही गर्नै पर्दैन, सबै कुरा एल्गोरिदम  ले सम्हालिहाल्छन् । तर, तपाईं आफ्नो अस्तित्व र भावी जीवनमाथिको अलिकति नियन्त्रण आफ्नो हातमा जोगाएर राख्न चाहनुहुन्छ भने, तपाईंले एल्गोरिदम  हरू भन्दा, अमेजन र सरकार भन्दा छिटो दगुर्नुपर्छ; उनीहरूले तपाईंलाई जान्नु–चिन्नुभन्दा पहिले तपाईंले स्वयं आफूलाई जान्नु–चिन्नुपर्छ । तपाईंले निकै छिटो दगुर्नुपर्नेछ, त्यसैले धेरै झेला–झयाम्टा नबोक्नुहोला । आफ्ना सबै भ्रम छोडेर जानुहोला, ती अचाक्ली भारी छन् । 

विश्व इतिहासमा विशेषज्ञता हासिल गरेका लेखक हिब्रू विश्वविद्यालय, जेरुसलेम (इजरायल) का प्राध्यापक हुन् । मानवजातिको विगत र भविष्यको इतिहासमा केन्द्रित विचारोत्तेजक पुस्तकहरूद्वारा अन्तर्राष्ट्रियस्तरमा चर्चित उनको पछिल्लो पुस्तक ‘२१ लेसन्स फर द ट्वेन्टी फस्र्ट सेन्चुरी’ पनि बहुचर्चित छ । प्रस्तुत लेख सोही पुस्तकको १९औं अध्याय ‘एजुकेशन’ (शिक्षा) को अनुवाद हो । 

साभारः शैक्षणिक सन्दर्भ १२६ 

भाषान्तरः शरच्चन्द्र वस्ती 
२०७६ फागुन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial