पुतलीको रोमान्स

जोडा मिल्ने पोथी खोज्न भाले पुतलीहरू लखतरान हुने गरी चारचौरास घुमिरहेका हुन्छन् । केही चाहिं पोथी जन्मिन लागेको ठाउँमा ढुकेर बस्छन् । जन्मनासाथ पोथी वयस्क हुन्छे र तत्काल भालेले मैथुनको मौका छोपिहाल्छ । 

म आफ्नो कलेजमा केटाहरूले निस्संकोच विचित्र–विचित्र शैलीमा कपाल काटेको, दाह्री पालेको, नानाथरिका जुत्ता र पहिरन लगाएको देख्छु । केटीहरूले ढुक्कसँग रंगविरंगी नङपालिश, रिप्ड जीन्स, अत्यन्त आकर्षक कपडा, अचम्मका नक्कली गहना र अनेकथरी परफ्यूम प्रयोग गरेको देख्छु । कैयौंले नाचेर, गाएर, खेल देखाएर अरूको ध्यान आफूतिर खिच्छन् त कतिले शिष्टता, वाक्पटुता र ज्ञान–प्रदर्शनद्वारा अरूलाई प्रभावित बनाउन प्रयास गर्छन् । समग्रमा यो प्रवृत्ति आफूलाई विपरीतलिंगी समक्ष अरूभन्दा बढी सुन्दर, आकर्षक, योग्य, प्रसन्नचित्त, समझ्दार र राम्रो देखाउने कोशिश हो ।
मानिस मात्र होइन, पशुपन्छी र कीट–पतंगमा पनि यही प्रवृत्ति पाइन्छ । आज पुतलीकै कुरा गरौं । नढाँटी भन्ने हो भने पुतलीमा आकर्षक रंग र विपरीतलिंगप्रति कामुकताको प्रदर्शन मानिसमा भन्दा बढी देखिन्छ । सबै प्राणी झैं, पुतलीको लक्ष्य पनि आफ्नो वंशाणु (जीन) लाई आगामी पुस्तामा पु¥याउनु नै हो । सन् १८१७ मा चाल्र्स डार्विनले पहिलो पटक यसबारे उल्लेख गर्दै भनेका छन्— ‘यस्ता कतिपय लक्षणले विपरीतलिंगीलाई प्रतिस्पर्धीले भन्दा बढी आकर्षित गराउँछन् र सन्तानोत्पादनमा सफलता दिलाउँछन् ।’ उनी भन्छन्, चम्किला रंग र सुरुचिपूर्ण डिजाइन प्रदर्शनकै निम्ति हुन्छन् । पोथीहरू सामान्यतः चम्किला र स्वस्थ भालेहरूप्रति बढी आकर्षिक हुन्छन् ।

कतिपय पुतली रंग हेरेर प्रजननका निम्ति आकर्षित हुन्छन् भने कतिपयले यस्ता संवेदी संकेत पहिल्याउँछन्, जसलाई मानिसले ठम्याउन सक्तैनन् । तिनका निम्ति उत्तेजक रंग र गन्धको ममहत्व विपरीतलिंगीको ध्यान आकर्षित गर्ने मात्र नभई त्योभन्दा बढी हुन्छ । आकर्षक रंग, रूप र गन्ध पुतलीहरूमा विपरीतलिंगीको स्वास्थ्य, सक्रियता र जोशको स्तर नाप्ने वा अनुमान गर्ने आधार पनि हुन सक्छ ।

हेर्दा उस्तै
पुतलीका अधिकांश प्रजातिमा भाले र पोथी उस्तै देखिन्छन् । केहीमा मसिनो फरक देख्न सकिन्छ भने धेरैमा हाम्रा आँखाले देख्न नसक्ने भिन्नता हुन्छन् । मध्य भारतमा ‘ग्रेट एगफ्लाई’ (Greateggfly)  नामक ज्यादै सुन्दर, कालो रंगका पुतली पाइन्छन् । यिनको भालेका पछाडिका पखेटाको भित्री सतहमा अण्डाकार सेतो बुट्टा हुन्छ, नीलो आभा भएको । गोलो, नीलो आभाका कारण यिनलाई ‘ब्लु मून’ (Blue moon)  पनि भनिन्छ । पोथीका पछिल्ला पखेटामा भने त्यस्तो बुट्टा हुँदैन, बरु किनारमा सुन्दर बुट्टे झल्लर  हुन्छ ।

प्रायः बिरुवामा घुमिरहेका देखिने पहेंलो रंगका साना पुतलीलाई ‘कमन ग्रास एलो’ (यूरेमा हेकाबे) भनिन्छ । यिनका भाले र पोथी दुवै एकै खालका देखिन्छन्, हाम्रा आँखाले फरक छुट्याउनै सक्तैन । यिनका चारवटै पखेटा एक प्रकारको रंगीन धूलो (स्केल) ले ढाकिएका हुन्छन्; पुतली समात्दा त्यो धूलो हाम्रा औंलामा टाँसिन्छ । यसले पराबैजनी (अल्ट्राभ्वाइलेट) किरणलाई परावर्तित गर्छ, जसका कारण यिनले भाले र पोथीलाई बिल्कुल फरक रंगका देख्छन् । मानवीय आँखाले त्यो फरक ठम्याउन सक्तैन ।

‘कमन ग्रास एलो’ जस्तै देखिने ‘लिटिल एलो’ (यूरेमा लिसा) नामक पुतली युरोपमा पाइन्छन् । यिनका भाले र पोथी पनि हाम्रा आँखाले कसैगरी छुट्याउन सक्तैनन् । भाले लिटिल एलो का पखेटाको माथिल्लो सतहमा पाइने पहेंलो स्केलले पराबैजनी किरणलाई परावर्तित गर्छ तर पोथीको पखेटामा हुने स्केलले परावर्तित गर्दैन । त्यसैले तिनले भाले र पोथीलाई फरक देख्छन्, हामी देख्न सक्तैनौं ।

सारै भलादमी
पोथी पुतली देखेपछि भाले पुतलीले उसका सामु गएर उसलाई आकर्षित गर्ने, रिझाउने  प्रयास गर्छ । यसरी प्रणय–निवेदन गर्न खोज्दा अर्को भाले पहिलेदेखि नै त्यो पोथीका पछाडि लागेको देख्यो भने नयाँ भाले त्योसित लडाईं गर्नतिर लाग्दैन, खुरुक्क अर्की पोथी खोज्न हिंड्छ । पुतलीमा भालेहरूले पोथीका लागि कहिल्यै लडाईं गर्दैनन् । 

पुतलीहरू असाध्यै ‘भोलाभाला’ हुन्छन् । भर्खरै मरेको पोथीका सग्ला चारवटै पखेटालाई बगैंचाको कुनै फूलमा पारदर्शी टेपले सावधानीपूर्वक ‘मिलाएर’ टाँसिदिनुभयो भने, त्यसैलाई पोथी ठानेर भालेले प्रेम प्रदर्शन गर्न थालेको देख्नुहुनेछ । तर, यसैगरी भालेका पखेटा टाँसिदिनुभयो भने चाहिं भालेहरू तिनलाई बेवास्ता गरेर परैबाट अर्कातिर लाग्छन् ।

अर्को प्रयोग अझ् रमाइलो छ । एकै प्रजातिका पुतलीका दुइटा भालेका पखेटालाई यसैगरी दुई बेग्लाबेग्लै फूलमा टाँसिदिनोस् । एउटामाथि सामान्य ग्लास स्लाइड राख्नोस्, जसबाट प्रकाश र पराबैजनी किरण दुवै गुुज्रिन सकुन् । अर्कोमाथि सीसाको त्यस्तो फिल्टर राख्नोस्, जसले पराबैजनी किरणलाई रोकोस् (यस्तो गोलो फिल्टर क्यामेरा पसलमा सजिलै पाइन्छ) । पोथी खोज्न भौंतारिएका थुप्रै भाले फिल्टर मुनिका पखेटामा आएर प्रेम प्रदर्शन गर्न थाल्नेछन् । यस्तो किन हुन्छ त भन्दा, फिल्टरले पराबैजनी किरण रोकिदिएकाले ती पखेटाले तिनलाई परावर्तित गर्न पाउँदैनन्, जसका कारण पोथी खोज्न निस्केका भालेहरूले भालेका प्वाँखलाई पोथीका ठान्छन् । 

पोथीको नखरा
भाले पुतली पोथी खोज्न हुरुक्क हुने मात्र होइन, पोथी पुतली भालेबाट आकर्षित भएर उसका पछि लागेको पनि पाइन्छ । यसका लागि तपाईं प्रशस्त पुतली भएको ठाउँमा जानुपर्ने हुन्छ । प्रायः कुमारी अथवा लामो समयसम्म सन्तान नजन्माएका पोथीहरू भालेका लागि हुरुक्क भएको देखिन्छ । यस सन्दर्भमा रोनाल्ड स्टोवास्कीले उत्तर–अमेरिकामा गरेको प्रयोग निकै रोचक छ । त्यहाँ उनले पोथी ‘चेकर्ड ह्वाइट’ पुतलीलाई (उसलाई असजिलो नहुने गरी) एउटा बिरुवामा मसिनो तारले खुकुलो गरी बाँधिदिएका थिए । कुनै अर्की पोथी नजिकै पुग्दा उसले खासै प्रतिक्रिया जनाउँदिनथी । भाले पुतली नजिकै आइपुग्दा भने उसका पछि लाग्न अत्यन्त आतुर हुन्थी । यो प्रजातिमा पोथीका पखेटाको ‘स्केल’ ले पराबैजनी किरणलाई परावर्तित गरेर भालेलाई आकर्षित गर्छ, भालेका पखेटाको ‘स्केल’ ले चाहिं त्यस्ता किरण सोस्छ, परावर्तित गर्दैन । भालेका पखेटालाई अमोनियाको विशेष खालको झेलले धोइदिने हो भने फेरि तिनको ‘स्केल’ ले पनि पराबैजनी किरण परावर्तित गर्न थाल्छ । त्यसैले, मृत भालेका पखेटालाई यसरी धोएर जीवित पुतली जस्तै लाग्ने ‘मोडल’ मा टाँसिदिने हो भने पोथी ‘चेकर्ड ह्वाइट’ ले त त्यसलाई पोथी नै ठानेर वास्ता गर्दैनन्, तर भालेहरू त्यससँग प्रेमसम्बन्ध कायम गर्ने प्रयासमा जुट्छन् ।

कतिपय पोथी पुतली भाले छान्ने मामिलामा निकै नाकनिके हुन्छन् । अनेक भालेमध्ये आफूलाई मन पर्ने भाले छान्न तिनले भालेको रंग र बुट्टालाई असाध्यै मसिनोसँग निरीक्षण गर्छन् । ह्यूस्टन विश्वविद्यालयकी डाएन सी विरनाजले यसबारे एउटा प्रयोग गरेकी थिइन् । उनले ‘वेस्टर्न ह्वाइट’ नामक पुतलीका कुमारी पोथीहरूलाई परीक्षणस्थलमा लगेर छोडिन् र तिनीहरूसँग प्रेमसम्बन्ध स्थापित गर्न सफल भालेहरूलाई भेला गरिन् । ती सबैका अघिल्ला पखेटाको किनारमा गाढा रंगका बुट्टा थिए । त्यस्ता बुट्टा नभएका भालेलाई पोथीले पत्याएका थिएनन् । अर्थात् फिक्का भालेहरू पोथीसँग सम्बन्ध गाँस्न असफल भएका थिए । त्यसपछि विरनाजले ‘सफल’ भालेहरूका पखेटाका बुट्टामा सेतो रंग पोतिदिइन् र पुनः परीक्षणस्थलमा लगेर छोडिदिइन् । गाढा रंगका बुट्टा नभएपछि तिनलाई पनि पोथीहरूले भाउ दिएनन् ।

पुतलीका स्वस्थ र युवा भालेका पखेटाको रंग असाध्यै गाढा, चम्किलो र आकर्षक हुन्छ । उमेर बढ्दै जाँदा त्यो गाढापन, चमक र आकर्षण घट्दै जान्छ । पोथीले गाढा, चम्किला र आकर्षक पखेटा भएका भाले छान्नुको अर्थ स्वस्थ र युवा जोडी छान्नु हो, जसबाट जति उमेर बढ्दै जान्छ, भालेको पखेटाबाट पराबैजनी किरण परावर्तित गर्ने ‘स्केल’ उति उति घट्दै जान्छ । त्यस्ता भालेप्रति पोथीको आकर्षण कम हुँदै जान्छ । वयस्क पोथीहरूले यदाकदा तिनलाई भाउ दिए पनि कुमारी पोथीले तिनीहरूतिर फर्केर पनि हेर्दैनन् । 

थकाउने मैथुन
भाले र पोथी पुतलीले एकअर्कालाई मन पराएपछि तिनको प्रणय–क्रीडा शुरू हुन्छ । भाले पुतलीको लक्ष्य मैथुन–कार्य सम्पन्न नभएसम्म पोथीलाई उत्तेजित र प्रेरित बनाइराख्नु हुन्छ । यो प्रक्रिया निकै लामो र असाध्यै थकाउने खालको हुन्छ; कहिलेकाहीं त एक घण्टाभन्दा लामो चल्छ तिनको प्रणय–क्रिया । पुतलीका कतिपय प्रजातिमा भालेलाई मैथुनमा सजिलो होस् भनेर पोथीले आफ्नो भुँडी पछिल्ला पखेटा भन्दा मुनि झुकाएर राख्नुपर्ने हुन्छ । 
प्रणय–निवेदन सँगसँगै भालेमा उत्पन्न रसायन, जसलाई ‘फेरोमोन्स’ भनिन्छ, ले पनि पोथीलाई मैथुनका निम्ति आतुर बनाउँछ । ‘क्वीन बटरफ्लाई’ मा गरिएको प्रयोगबाट के देखिएको छ भने, भालेले पोथीमा यौन उत्तेजना बढाउन भुँडीको फेदमा रहेको ब्रश जस्तो संरचना ‘हेयर पेन्सिल’ बाट फेरोमोन्स उत्पन्न गर्छ र त्यसलाई पोथीसम्म पु¥याउँछ । 

गौंडा ढुक्ने चलन
दुनियाँमा पुतलीका झ्ण्डै २० हजार प्रजाति पाइन्छन् । अधिकांश प्रजातिमा भालेले पोथी खोज्न दुइटा तरीका अपनाउँछन्— क. पोथी आउन सक्ने ठाउँमा गएर ढुक्ने (पर्चिङ), ख. पोथी खोज्दै हिंड्ने (पेट्रोलिङ) ।

‘पर्चिङ’ अर्थात् बाटो ढुक्नका लागि भाले पुतली प्रायः प्रशस्त फूलहरूले भरिएका हाँगामा, जहाँ पर्याप्त पराग होस्, पुगेका हुन्छन् । त्यहाँ आएका पोथीको रूप–रंग र रासायनिक पहिचान उप्रान्त प्रणय–निवेदन गर्छन् । यस्ता भालेले फूलकै छेउछाउमा र दिउसोको निश्चित समयमा मात्र मैथुन गर्छन् । चारचौरास उडेर ऊर्जा खर्च गर्नु नपरेकाले उनीहरू मैथुनमा निक्कै ऊर्जावान र फूर्तिला रहन्छन् । 

पोथीका निम्ति ढुकुवा (‘पर्चिङ’) शैली अपनाउने कतिपय भाले चाहिं पोथीमा विकसित हुँदै गरेको ‘प्युपा’ को नजिकै बसेर नयाँ पोथी कतिखेर जन्मेली भनेर पर्खन्छन् । कहिलेकाहीं त उनीहरू पोथीलाई प्युपाबाट बाहिर निस्कन पनि सघाउँछन् । जन्मन लागेको ‘शिशु’ खोलबाट निस्कनुभन्दा २४ घण्टा अघि प्युपा अर्धपारदर्शी हुन्छ । त्यसवेला माउको शरीरबाट निस्कने विशिष्ट रसायन (मोनोटर्पेन्स)को गन्ध र प्युपाको परिवर्तनलाई बुझेर भाले पुतलीले पोथी जन्मन लागेको थाहा पाउँछ । प्युपाको खोलबाट निस्कनासाथ, वा भनौं जन्मनासाथ, पोथी वयस्क हुन्छे र तत्काल भालेले मैथुनको मौका छोपिहाल्छ । पोथीले आफ्नो जोडी खोज्न वा छान्ने मौकै पाउँदिन ।

‘पेट्रोलिङ’ मा भने भालेले निरन्तर उडेर पोथी खोज्नुपर्ने हुन्छ । चारचौरास उड्नुपर्दा उसको ऊर्जा प्रशस्त खर्च हुन्छ र लखतरान भइसक्दा पनि जोडी बाँध्न लायक पोथी भेटिने कुनै ग्यारेन्टी हुँदैन । गर्मीको तुलनामा जाडोको पेट्रोलिङ अलिक सजिलो हुन्छ । यसरी उड्ने भालेले पोथीलाई तिनको शरीरको आकार, चालढाल, पखेटाको रंग र बुट्टा अनि पराबैजनी किरणको परावर्तनका आधारमा खुट्याउँछन् । 

फकाउने चक्करमा
प्रणय–निवेदनका क्रममा कतिपय प्रजातिका भालेले पोथीको ‘एन्टिना’ लाई आफ्ना पछिल्ला पखेटाले च्यापेर तिनमा ‘फेरोमोन्स’ टाँसिदिन्छन् । केही प्रजातिमा भने भालेले पोथीका सामुन्ने वा सँगै बसेर आफ्ना अघिल्ला पखेटालाई पोथीको एन्टिनामा दल्छन् । पोथीको एन्टिनामा फेरोमोन्स टाँस्न भाले पुतलीहरू प्रायः पोथीको तल–माथि उडिरहन्छन् । पोथीलाई मैथुनका निम्ति तयार पार्ने यो रसायन तिनको एन्टिनामा दल्ने/टाँस्ने काम केवल ३० सेकेन्डभित्रै सम्पन्न भइसक्छ । यसपछि उनीहरू दुनियाँ बिर्सेर मैथुन–कार्यमा संलग्न हुन्छन् । 

कहिलेकाहीं भने भालेले फेरोमोन्स दल्ने काम भ्याइसक्दा पनि पोथी उत्तेजित हुँदैनन् । यी त्यस्ता पोथी हुन्छन्, जसले केही दिन अघि अर्को भालेसँग मैथुन गरिसकेका हुन्छन् । यस्ता पोथीले नयाँ भालेलाई हतोत्साहित गर्छन् र रक्षात्मक उपाय अपनाउँछन् । भालेले मैथुनका निम्ति दबाब दिंदा स्थिर रहेर सहयोग गर्नुको सट्टा जोडले पखेटा फटफटाउँछन् र उडेर भाग्ने प्रयास गर्छन् । यदाकदा खुट्टा बजारेर तिरस्कार पनि गर्छन् । तैपनि ‘तम्तयार’ भइसकेको भालेले मैथुनका लागि जोड गरिरहन्छ । यस्तो अवस्थामा भालेको प्रणय–निवेदन र पोथीको अस्वीकार नाटकीय तवरले निकैवेर चलिरहन्छ । उनीहरूको यस्तो यौन–झ्गडा हेर्न यदाकदा अन्य पुतलीहरू त्यसैगरी भेला हुन्छन्, जसरी सडकमा तमाशा हेर्ने मानिस ।  

व्यवस्थित रणनीति
इम्प्रेस लिलिया नामक पुतलीको प्रजातिले निकै व्यवस्थित रणनीति अनुसार काम गर्छ । अमेरिकाका टेक्सास, एरिजोना राज्य र मेक्सिकोमा पाइने यस प्रजातिका भाले पुतली ‘ह्याक बेरी’ को बोटमा पोथीको खोजीमा उडिरहेका भेटिन्छन्, किनभने यसका पोथीले आफ्नो जीवनकालमा एकपल्ट मात्र मैथुन गर्छन् । बिहान घाम झ्ुल्केको केही समयपछि, जुनवेला नवजात तर वयस्क पोथी ‘ककून’ बाट बाहिर निस्केर पहिलो पटक उड्ने तयारी गर्छन्, त्यसैवेलादेखि भालेले तिनको गतिविधिको निगरानी गरिरहेका हुन्छन् । न्यानो घामको आनन्द लिंदै, पोथीको पछि लाग्न आफ्नो जीउ तताइरहन्छन् । घाम चढ्दै गएपछि जमीन भन्दा लगभग एक मीटर माथि कुनै ठाउँमा गएर बस्छन् किनभने पोथीको उडानको उँचाइ त्यति नै हुन्छ । जहाँ बसे पनि, तिनले एक छिनका लागि पनि पोथीलाई आफ्नो आँखाबाट ओझेल  पर्न दिंदैनन् । आफ्नो ‘इलाका’ को रक्षाका निम्ति भालेले सम्पूर्ण शक्ति प्रयोग गर्छन्; त्यहाँबाट गुज्रिने प्रत्येक कीट–पतंग र चरा मात्र होइन, कसैले फ्याकेको ढुंगामाथि पनि आक्रमण गर्न हिचकिचाउँदैनन् । अरू प्रजाति जस्तै, पोथीलाई आकर्षित गर्न यिनले पनि अत्यन्त आकर्षक रंगका पखेटा, बुट्टा र उत्तेजक फेरोमोन्सको उपयोग गर्छन् । 

आफूले पट्याएकी पोथीलाई अरू भालेसँग नलाग्ने बनाउन यिनले दुईखाले उपाय अपनाउँछन् । पहिलो हो— मैथुनका क्रममा पोथीको जननांगमा पोषक तत्व  पनि हालिदिनु । यसरी पोथीमा हालिने पोषक तत्व  र आनुवंशिक पदार्थलाई संयुक्त रूपमा ‘स्परमेटोफोर’ भनिन्छ जसको तौल भालेको वजनको ६ देखि १० प्रतिशतसम्म हुन्छ । यसले पोथीलाई अन्य भालेसँग मैथुन गर्न उदासीन बनाइदिन्छ । वैज्ञानिकहरूले गरेका शोधबाट पनि के देखिएको छ भने कृत्रिम तरीकाले पोथीको जननांगमा ‘स्परमेटोफोर’ हालियो भने पनि उनीहरू मैथुनका लागि अनिच्छुक हुन पुग्छन् । आफ्नी पोथीलाई अरू भालेसँग लाग्न नदिन यो जातको भाले पुतलीले अपनाउने अर्को उपाय हो— पोथीको जननांगको ढोकालाई ठेडी राखेर (‘प्लग’) बन्द गरिदिनु । यो काम पनि उनीहरू बडो कुशलतापूर्वक गर्ने गर्छन् ।

आफ्नो जीवनकालमा एकपल्ट मात्र मैथुन गर्ने र सन्तान जन्माउने भएकाले यस प्रजातिका पोथीले भालेको चयन बडो सतर्कतापूर्वक गर्छन् । त्यस्ता भाले पहिचान गर्ने आधार चाहिं फेरि पनि पखेटाको चम्किलो र गाढा रंग, आकर्षक बुट्टा, फेरोमोन्स र प्रणय–निवेदनका लचकदार भंगिमाहरू नै हुन् । यस्ता भालेबाटै उच्च गुणस्तरको वंशाणु (जीन), बढी अन्डा र स्वास्थ्य राम्रो बनाउने पोषक तत्व  प्राप्त हुने तिनको बुझइ हुन्छ । रमाइलो कुरा के भने, सबै जीवजन्तुमा झैं  पुतलीमा पनि भालेले नै आफ्नो गुण, योग्यता, विशेषता र कलाले पोथीलाई रिझाउनुपर्छ र मैथुनका निम्ति सहमत गराउनुपर्छ । 

अनि, ट्याटू ?
तपाईंले पनि पुतलीहरूको व्यवहार अवलोकन गरेर तिनलाई बुझन सक्नुहुन्छ । यसका लागि आफ्नो करेसाबारीमा त्यस्ता बिरुवा लगाए पुग्छ, जसमा पुतलीहरू खाना खोज्न आउन्, जसबाट तिनका लार्भालाई भोजन प्राप्त होस् । जंगली लेन्टाना यस्तै एउटा बिरुवा हो । म आजभोलिका युवामा विपरीतलिंगीलाई आकर्षित गर्न ट्याटू बनाउने चलन बढ्दै गएको देख्छु । सोच्तैछु, केही प्रयोग पुतलीमा ट्याटू बनाएरै गरूँ । हेरूँ, पोथी पुतलीले पनि ट्याटू मन पराउँछन् कि ?  

प्राणिशास्त्रका वरिष्ठ प्राध्यापक लेखक हाल आफ्ना विद्यार्थीहरूसँग मिलेर माकुरामाथि अनुसन्धान गर्दैछन् । 
साभारः शैक्षणिक सन्दर्भ, पूर्णाङ्क ११६ 

सम्पादन तथा भाषान्तरः शरच्चन्द्र वस्ती
२०७६ चैत अंकमा प्रकाशित । 

commercial commercial commercial commercial