विद्यार्थीलाई नकुट्दा हुँदैन र ?

‘आमा होमवर्क गर्न जानेन भनेर विद्यार्थीलाई नकुट्दा हुँदैन ?’
मेरो सानो छोराको यो भनाइले मलाई निकै घोच्यो । केही क्षण नाजवाफ रहें । उसले पुनः त्यही प्रश्न दोहोर्‍याउँदा भने म अप्ठ्यारोमा परें । चित्तबुझदो उत्तर दिन नसकेर भान्सातिर लागें । वास्तवमा म त्यहाँबाट भागें; छोराको अर्को प्रश्न सामना गर्ने क्षमता रहेन मसँग ।

म आफू शिक्षण पेशामा लागेको लगभग १५ वर्ष भयो । मैले अध्ययन गर्दाका दिनमा गुरुले भन्नुभएका कुराहरू अझै ताजा छन् । पूरै पाठ घोकेर जानुपर्ने, नघोके सिस्नुपानी लगाइदिने, बेतका लठ्ठीका कुटाइ, कान मोलाइ, घुँडा टेकाइका कुरा हामी डराउँदै डराउँदै सुन्थ्यौं । हामी पनि त्यो परिस्थिति भन्दा खासै फरक वातावरणमा कहाँ थियौं र ? होमवर्क नगर्दा हाम्रो पनि दह्रै कुटाइहुन्थ्यो; अन्य सजायको त के सीमा हुन्थ्यो र ? कक्षामा हल्ला गर्‍यो भनेर नि कुटाइ खाएकै हो । आखिर हल्ला त गुरुले नपढाएरै भएको न थियो ।

मनमा लाग्थ्यो ‘कुनै दिन शिक्षक भएँ भने त्यसरी नै ठटाउनुपर्छ’ जस्तो भोगाइ त्यस्तै सिकाइ न हो । किन किन बडो पीडानुभूति भयो । मेरा गुरु कुटाइ खाएर हुर्किए । मैले पनि कुटाइ नै खाएँ । आज मेरो छोरो कुटाइ खाँदैछ । गुरुले खाएको कुटाइलाई मैले कुनै कहानी मानी सुनिदिएँ । मैले खाएको कुटाइलाई त्यही कहानीको एक पात्रको अनुभूति बनाइदिएँ । आज मेरो छोरोले खाएको कुटाइलाई म के भनेर सहन गरुँ ? भान्सामा छिटोछिटो तरकारी चलाउँछु; नत्र ढिलो हुन्छ मलाई । किन ? मैले पनि त केटाकेटी कुट्नु छ । दिएको होमवर्क गर्न जान्दैनन् त के गर्ने ? कक्षाकोठाको एक कुनामा राखेको लठ्ठी सम्झन्छु; आङ जिरिङ्ग हुन्छ । साँच्चै त्यो लठ्ठीले कति विद्यार्थी कुटिए होलान् ? कति छोराले आमालाई सोधे होलान्
‘आमा ! होमवर्क गर्न जानेन भने विद्यार्थी नकुट्दा हुँदैन र ?’

कुनै एक दिन छोरीको स्कूल जाने मौका मिल्यो । चार जना विद्यार्थी घामतिर फर्किएर हातले कान समाती घुँडा टेकिरहेका थिए । बुझदा थाहा लाग्यो अंग्रेजीमा भन्न आएन छ; नेपालीमा बोले रे ! हैन अंग्रेजी जान्न त कति सजिलो रहेछ । घुँडा टेकेर कान समाउँदा फिरिरि हुने रहेछ भन्ने लाग्यो तर बोलिनँ । ती अबोध नानीहरू प्रताडित र लज्जित मुहारले शिर निहुराइरहेका थिए । उनीहरूसँग आँखा जुधाउने सामथ्र्य ममा रहेन । आफ्नो काम सकेर अपराध बोध गरी म त्यहाँबाट हिंडें । मनमा अनेक तर्कना चले । आखिर हामी शिक्षक को हौं ? के भयमुक्त वातावरण सिर्जना गरी पढाउन हामी सक्षम छौं ? या हामीमा दया नामको चैतन्य मरिसकेको छ ? या हामी जंगली आदिम युगका बर्बर मानव हौं जसमा मानवीय सभ्यता नै उदय भएको छैन ?

भनिन्छ वयस्कको लागि जेल बनाउनुभन्दा बालकका लागि विद्यालय खोल्नु महत्वपूर्ण छ । तर जब विद्यालय नै जेल बन्छ भने त्यस्ता विद्यालय स्थापनाको कुनै औचित्य रहला र ? हामीले दौराको संस्कार बिर्सिदियौं, सर्ट, पेन्ट हाम्रा प्रिय भए । गुन्यूँ–चोली छोड्न हामीलाई कहाँ असहज भयो र ? सर्लक्कै छोडियो । मिनिस्कर्ट र कुर्ता भित्रिए । ममी, ड्याडी यति विघ्न सहज भयो । यस्तै कुनै आधुनिकताको नाममा यो लठ्ठी छाड्न सकिन्न र ? आखिर हामीले अंगीकार गरेका पेन्ट, कुर्ता, ड्याडीममी आयातीत नै त हुन् । विदेशी संस्कारमा विद्यार्थी तर्साउनु/कुट्नु अपराध मानिन्छ । आखिर त्यही थप एउटा आयातीत संस्कारको सुरुआत गर्न हामीलाई किन यति गाह्रो ? होमवर्क नजानेर, अंग्रेजीमा भन्न नआएर निष्प्राण रहन खोज्ने हाम्रा छोराछोरीलाई हामी बालमैत्री बनेर अघि बढ्नुपर्ने युगीन मागलाई बेवास्ता गरी लठ्ठीमैत्री नै भयौं भने हामीले लगाउने न पेन्टको अर्थ छ न त कुर्ताको नै ।

हरेक वस्तु अनुकरण हुनुपर्छ भन्ने मान्यता गलत हुन सक्छ । तर बालबालिकाले पाउनुपर्ने उन्मुक्ततालाई आत्मसात् गर्नैपर्ने र बालबालिकाको रक्षा गर्नु एक सभ्य नागरिक र शिक्षकको महत्वपूर्ण कर्तव्य हो । सबै शिक्षक वर्गहरू यो चरम आधुनिकताको युगमा आएर नि कुटेरै विद्यार्थीलाई जान्ने बनाउँछु भन्नु, घुँडा टेकाएर अंग्रेजी सिकाउँदैछु भन्नु, थर्काएर होमवर्क गराउँछु भन्नु तपाईं हाम्रो कतिसम्मको मूख्र्याइँ हो ? आदरणीय गुरुवर्ग होमवर्क जानेन भनेर विद्यार्थी नकुट्दा हुँदैन ?

श्री कवि शिरोमणि उ.मा.वि., मेचीनगर ५, झापा



 

commercial commercial commercial commercial