समाहित शिक्षाः आवश्यकता र महत्व

समाहित शिक्षा भित्र अपाङ्ग तथा प्रतिभावान व्यक्तिहरू, सडकमा सुत्ने बस्ने तथा कामदार बालबालिका, दुर्गम क्षेत्रका तथा घुमन्ते जाति, भाषिक, सांस्कृतिक, अल्पसंख्यक, अल्पसंख्यक जातिहरू तथा अन्य सुविधाविहीन वा सीमान्तकृत वर्ग वा क्षेत्रका बालबालिका समेत पर्दछन् ।

मानवीय मूल्य र मान्यतामा आएको परिवर्तन
समाहित शिक्षाको बारेमा चर्चा गर्नुअघि यसको पृष्ठभूमि सम्बन्धी केही जानकारी लिनु आवश्यक हुन्छ । प्राचीन समयदेखि युरोपको बौद्धिक जागरणकालसम्म अपाङ्गहरू परित्यक्त थिए । बौद्धिक जागरणदेखि मानवअधिकारको विश्वव्यापी घोषणाअघिसम्म तिनीहरू दयाका पात्र भए र मानवअधिकारको घोषणापछि उनीहरू अरू सबलाङ्ग व्यक्तिसरह अधिकार प्राप्त गर्ने हैसियतमा पुगे ।

पछि अपाङ्गताको परिभाषालाई अझै व्यापक बनाइयो र यसलाई विशेष शिक्षाको आवश्यकता (Special Education Needs) भन्न थालियो । यो परिभाषामा अपाङ्गता भएका, सुविधाविहीन वर्ग र कठिनाइ भएका बालबालिकालाई सामेल गरियो । अपाङ्गभित्र दृष्टिविहीन, सुस्त मनस्थिति, बहिरा, सुस्त श्रवण र शारीरिक अङ्गभङ्ग भएकाहरूलाई राखियो । सुविधाविहीन वर्गमा विपन्नता, भाषिक तथा सांस्कृतिक अल्पसंख्यक जातिहरू, अल्पसंख्यक जनजाति (Ethnic Minorities) आप्रवासी तथा फिरन्ते आदिलाई समेटियो । ‘कठिनाइ भएका’ अन्तर्गत सिकाइ कठिनाइ, संवेगात्मक तथा व्यवहारजन्य विचलन भएकाहरू समावेश गरिए ।

यी विभिन्न किसिमका अपाङ्गहरूको पठनपाठनका लागि शिक्षामा पनि फरक फरक शैक्षिक उपागमहरू (Educational Approach) देखापरे । पहिलो उपागम अन्तर्गत अपाङ्गहरूलाई अरूबाट अलग (Segregate) गरियो र उनीहरूको शिक्षाको लागि अलग्गै विद्यालय खोलिए । यस्ता विद्यालयलाई विशेष विद्यालय (Special School) भनियो । उदाहरणका लागि बहिराका लागि बहिरा विद्यालय, नेत्रहीनका लागि नेत्रहीन विद्यालय, सुस्त मनस्थिति भएकाहरूका लागि छुट्टै विद्यालयको सुरुआत गरियो । नेपालमा ठीक यस्तै प्रयास भए । बहिराहरूका लागि काठमाडौंको नक्सालमा बहिरा विद्यालय, सुस्त मनस्थितिका बालबालिकाका लागि निर्मल सुस्त मनस्थिति तथा शारीरिक अपाङ्गहरूका लागि खगेन्द्र नवजीवन केन्द्रको स्थापना गरियो । यस्ता विद्यालयलाई ‘विशेष विद्यालय’ भनियो र शिक्षण विधि पनि अलग नै निर्धारण गरियो । नेपालमा अहिले यस्ता विशेष विद्यालयहरूको संख्या ३४ रहेको छ । तर यसरी अध्ययन अध्यापन गराउँदा थोरै व्यक्तिहरूलाई मात्र शिक्षा दिन सकिने, खर्चिलो तथा यस्ता अपाङ्गहरूको सामाजिकीकरणमा कठिनाइ पैदा भयो ।

अपाङ्गता भएकाहरूलाई शिक्षा दिन अवलम्बन गरिएको दोस्रो उपागम (Approach) एकीकृत शिक्षा (Integrated Education) हो । यसमा अपाङ्गता भएका व्यक्तिहरूलाई एउटै विद्यालयभित्र फरक कक्षाकोठामा अध्ययन गराउने काम गरिन्छ । कक्षा बाहेकको बाँकी समय उनीहरू विद्यालयका अन्य विद्यार्थीसँगै रहन्छन् । यस उपागममार्फत केही बढी विद्यार्थीलाई अध्यापन गराउन सम्भव भयो । अपाङ्गहरूलाई अरू बढी सामाजिकीकरण गर्न मद्दत पनि मिल्यो । नेपालमा यस्तो एकीकृत शिक्षाको थालनी ‘विशेष शिक्षा’ विद्यालयको सुरुआत भन्दा अगाडि नै आएको पाइन्छ । खासगरी कीर्तिपुरस्थित ल्याबोरेटरी स्कूलमा दृष्टिविहीन बालबालिकाका लागि यस्तो एकीकृत शिक्षाको सुरुआत गरिएको थियो । नेपालमा हाल यस्ता एकीकृत विद्यालयहरूको संख्या ३६५ रहेको छ । तिनलाई ‘विशेष शिक्षा स्रोत कक्षा’ भन्ने गरिएको छ । एक स्रोत कक्षामा १० जना विद्यार्थी छात्रवृत्ति तथा आवास सुविधासहित अध्ययन गर्छन् । यस्ता विशेष शिक्षाका विद्यालय र स्रोत कक्षामा हाल ६ हजार २५० विद्यार्थी अध्ययनरत छन् ।

तर यो उपाय पनि सबै अपाङ्गलाई शिक्षा दिन पर्याप्त थिएन । सन् १९९० मा थाइल्याण्डको जोम्टिनमा भएको शिक्षा सम्मेलनले शताब्दीको अन्त्यसम्ममा सबैका लागि प्राथमिक शिक्षामा पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्‍यो तर विश्वको जनसंख्याको झ्ण्डै १० प्रतिशत संख्या अपाङ्गहरूको रहेको हुँदा ती अपाङ्गहरूलाई शिक्षा नदिई सबैको लागि शिक्षाको लक्ष्य हासिल हुन नसक्ने प्रष्ट देखियो । सन् १९९४ सम्ममा विकासोन्मुख मुलुकका १ प्रतिशत भन्दा कम अपाङ्गले मात्र शिक्षा हासिल गरेको तथ्य सार्वजनिक भयो । यसका लागि शैक्षिक उपागम (Approach) मा परिवर्तन गर्नु जरूरी देखियो । त्यसपछि प्रारम्भ भएको हो तेस्रो उपागम अर्थात् समाहित शिक्षा (Inclusive Education) को अवधारणा ।

शिक्षामा समाहित शिक्षाको प्रयोग केही अघिदेखि नै हुँदै आएको भए तापनि सन् १९९४ को स्पेनको सालमाङ्का सम्मेलनले यसलाई व्यापक बनाउने काम ग¥यो । सबै बालबालिकाले आधारभूत तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य रूपले हासिल गर्न पाउने कुरा सन् १९४८ को मानवअधिकारको विश्वव्यापी घोषणापत्रले नै अघि सारिसकेको थियो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि र स्वेच्छिक प्रोटोकल २००६ ले आफू बसेको समुदायका अन्य व्यक्तिसरह समान आधारमा अपाङ्गता भएका व्यक्तिहरूले पनि शिक्षा पाउनुपर्ने अधिकार व्यक्त गर्‍यो । सन् १९९३ को संयुक्त राष्ट्रसंघको अपाङ्गता भएका व्यक्तिहरूका लागि समानताको नियममा अपाङ्गता भएका बालबालिकाको शिक्षा, विद्यमान शिक्षा प्रणालीको अभिन्न अङ्ग हुने कुरा व्यक्त गरियो । त्यस्तै बालअधिकार सम्बन्धी महासन्धिले १८ वर्षमुनिका सबैलाई अपाङ्गतालगायतका आधारमा भेदभाव गर्न निषेध गर्‍यो ।

समाहित शिक्षाको बारेमा सबैको धारणा एउटै भने छैन । यो शैक्षिक उपागम मात्र भएको हुँदा एउटै परिभाषा सम्भव पनि भएन । त्यसैले यहाँ केही परिभाषा र समाहित शिक्षाका विशेषताहरूबारे पनि चर्चा गर्नु प्रासंगिक छ ।

सालामाङ्का सम्मेलन अनुसार “समाहित शिक्षा भन्नाले विद्यालयले शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक, भाषिक तथा अन्य अवस्थाका बाबजूद सबै बालबालिकालाई समायोजित गरेको हुनुपर्छ । यसभित्र अपाङ्ग तथा प्रतिभावान व्यक्तिहरू, सडकमा सुत्ने बस्ने तथा कामदार बालबालिका, दुर्गम क्षेत्रका तथा घुमन्ते जाति, भाषिक, सांस्कृतिक अल्पसंख्यक, अल्पसंख्यक जातिहरू तथा अन्य सुविधाविहीन वा सीमान्तकृत वर्ग वा क्षेत्रका बालबालिका समेत पर्दछन् ।” (सालामाङ्का घोषणाको प्रारुप, तेस्रो अनुच्छेद)

विकिपेडियाका अनुसार ‘समाहित शिक्षा’ भनेको विशेष प्रकृतिका बालबालिकालाई शिक्षा दिने एक उपागम हो । समाहित शिक्षा अंग्रेजी inclusive education को नेपाली रूपान्तरण हो । कसैले यसलाई नेपालीमा ‘समावेशी शिक्षा’ पनि भन्ने गरेका छन् । समाहित शिक्षामा विशेष शिक्षाको आवश्यकता भएका बालबालिका पूरै समय वा ज्यादा जसो समय सबलाङ्ग बालबालिकासँगै बिताउँछन् । समाहित भनेको विद्यार्थीले आफ्नै समुदायको विद्यालयमा पढ्न पाउने अधिकार र विद्यालयले पढाउनुपर्ने दायित्व पनि हो । पूरै समय अरू सबलाङ्गसँगै रहन्छन् भने त्यो पूर्ण समाहित (Full Inclusion) भनिन्छ ।

आंशिक समय अरू विशेष शिक्षाका स्रोत कक्षामा वा उपचारात्मक कक्षा (Remedial Class) मा जान्छन् भने त्यसलाई आंशिक समाहित (Partial Inclusion) भनिन्छ । हाल पूर्ण समाहित भन्दा पनि आंशिक समाहितको प्रचलन ज्यादा छ ।

शिक्षा विभागका अनुसार “समाहित शिक्षा भन्नाले सबै बालबालिकाका लागि विभेदरहित वातावरणमा बहुसांस्कृतिक भिन्नतालाई सम्मान गर्ने, आफ्नै समुदायमा जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने शैक्षिक पद्धतिको विकास प्रक्रियालाई बुझनुपर्दछ ।” (समाहित शिक्षा र बालमैत्री विद्यालय, शिक्षा शिक्षा विभाग, २०६१)

यी परिभाषाका आधारमा समाहित शिक्षा भनेको समुदायमा रहेको विद्यालयमा सबै बालबालिकालाई शिक्षा दिने उपागम भन्ने अर्थ लाग्छ ।

समाहित शिक्षाका सिद्धान्त
सबैका लागि विद्यालय (School for all) बनाउनुपर्ने, विद्यालयले सबैलाई समावेश गराउनुपर्ने, यसले विभेदलाई अन्त्य गरी सबैका लागि अनुकूल अवस्था सिर्जना गर्नुपर्ने, सिकाइमा सहयोगी र सिकारुका व्यक्तिगत आवश्यकता माथि विचार पुर्‍याउनु प्रमुख सिद्धान्त हुन् ।

यसो गर्नका लागि विद्यालयका विद्यमान भौतिक संरचना, पाठ्यक्रम, शैक्षणिक विधिमा परिवर्तन र परिमार्जनको जरूरत पनि पर्न सक्छ ।

समाहित शिक्षाका विशेषता

भौतिक संरचना
अहिलेका हाम्रा विद्यालयहरू सबै प्रकृतिका बालबालिकाका निम्ति अनुकूल छैनन् । उदाहरणका लागि, हाम्रा विद्यालयमा ‘ह्वील चेयर’ लैजान सकिंदैन । विद्यालयका कक्षाकोठासम्म नै ह्वील चेयर लैजान सकिने गरी भौतिक संरचनामा परिवर्तन गर्नु जरूरी हुन्छ । जसका लागि र्‍याम्पको निर्माण जरूरी हुन्छ । यसरी र्‍याम्प निर्माण गर्दा एक फुट माथि उठाउनका लागि २० फुट परबाट भिरालो पार्दै ल्याउनुपर्छ । त्यस्तै विद्यालयमा अपाङ्गहरूका लागि अलग शौचालयको व्यवस्था जरूरी हुन्छ । यसरी शारीरिक अपाङ्गहरूका लागि विद्यालयलाई अपाङ्गमैत्री बनाउन सकिन्छ । त्यस्तै दृष्टिविहीन बालबालिका छन् भने उनीहरूको आउने–जाने स्थानमा अनावश्यक कुराहरू राख्ने गर्नुहुँदैन । सुस्त मनस्थितिका बच्चाहरू एकै ठाउँमा धेरै समयसम्म बस्न नसक्ने भएका हुँदा उनीहरू चलमलाउन मिल्ने किसिमको बसाइ व्यवस्था कायम गर्नुपर्ने हुन्छ । विद्यार्थीहरूले समूह कार्य गर्न, व्यक्तिगत रूपमा अध्ययन गर्न र शिक्षकले पढाएको बेलामा डेस्क बेन्चलाई अगाडि फर्र्र्काएर क्रमबद्ध रूपमा राख्न मिल्ने खालका हुनुपर्छ अर्थात् आवश्यकता अनुसार विभिन्न खालका बसाइ व्यवस्था कायम गर्न मिल्ने खालका डेस्क बेन्चहरूको निर्माण गरिनुपर्छ ।

शिक्षक तालीमको व्यवस्था
शिक्षकहरूलाई अपाङ्गताका प्रकार, उनीहरूका सिकाइ विविधता तथा उनीहरूका लागि उपयुक्त शैक्षणिक विधिका बारेमा पूर्व सेवाकालीन तालीम तथा सेवाकालीन तालीमको माध्यमबाट परिचित गराउनुपर्छ । शिक्षकहरूमा अपाङ्गले पनि सिक्न सक्छन् भन्ने सकारात्मक सोचको विकास गराउनुपर्छ । सेवाकालीन शिक्षकहरूलाई अनलाइन, दूर शिक्षाको माध्यमबाट तालीम उपलब्ध गराउन सकिन्छ भने पूर्व सेवाकालीन तालीम शिक्षाशास्त्र संकायको पाठ्यक्रममा व्यवस्थित रूपमा राख्न सकिन्छ ।

पाठ्यक्रममा सुधार
पाठ्यक्रम अपाङ्गमैत्री नहुँदा, लैङ्गिक मैत्री नहुँदा सिकाइमा कठिनाइ हुने गर्छ । त्यस्तै पाठ्यक्रमलाई स्थानीयकरण, भाषा, संस्कृति अनुसार सान्दर्भिकरण पनि गरिनुपर्छ । कतिपय समय पाठ्यक्रममा रहेका व्यवधानका कारण सिकाइ असक्षमता पैदा हुने हुँदा त्यस्ता पाठ्यक्रम, पाठ्यपुस्तकलाई परिमार्जन गर्नुपर्छ । उदाहरणका लागि ‘चित्रमा के छ भन त’ भनी दृष्टिविहीनहरूलाई सोधियो भने यो उसको लागि सिकाइ व्यवधान हुन्छ । चित्र भर्ने काम पनि दृष्टिविहीनहरूका लागि व्यवधानपूर्ण छ ।

शैक्षणिक विधिमा परिवर्तन
विद्यमान शैक्षणिक विधि अनुरुप व्यक्तिका सिक्ने तरिकाहरू फरक फरक हुन्छन् । उनीहरूको सिकाइ गति पनि फरक हुन्छ भन्ने कुरामा ध्यान दिएको छैन । सबैका लागि एकै किसिमको शैक्षणिक विधिको प्रयोग गरिंदा सिकाइमा कठिनाइ पैदा हुन्छ । प्रवचन विधिबाट शाब्दिक बुद्धिमता भएका बालबालिकाले लाभ लिन सक्छन् तर ‘डिस्लेक्सिया’ भएका बच्चाहरू लाभान्वित हुँदैनन् । त्यसैले हरेक व्यक्तिको आन्तरिक क्षमताको प्रस्फुरण गराउन सिकाइलाई बालकेन्द्रित बनाउनुपर्छ । व्यक्तिलाई उसको आफ्नै गतिमा सिक्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

आवश्यकता अनुसारको सहयोग
सबै बालबालिकालाई विद्यालय शिक्षाको कुनै न कुनै चरणमा विशेष किसिमको सहयोगको आवश्यकता पर्दछ । यसमा विद्यालयले विद्यार्थीको आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउनुपर्छ । दृष्टिविहीन बालबालिकाका लागि ब्रेललिपिको ज्ञान, बहिरा बालबालिकाका लागि सांकेतिक भाषाको ज्ञान, भाषिक कठिनाइ भएका, गणितमा कठिनाइ भएकाहरूका लागि सो विषयसँग सम्बन्धित उपचारात्मक शिक्षण (Remedial Instuction) उपलब्ध गराउनुपर्छ । त्यस्तै बोलीमा कठिनाइ हुनेहरूका लागि ‘स्पीच थेरापी’ आदिको समेत प्रबन्ध गरिएको हुन्छ । व्यक्तिको क्षमता अनुसार सिकाइ प्रक्रियाअघि बढाइने भएको हुँदा हरेक विद्यार्थीलाई उनीहरूको क्षमता र गति अनुसार शिक्षण सिकाइ क्रियाकलाप अघि बढाइन्छ । यसले गर्दा सबै विद्यार्थीलाई फाइदा पुग्छ ।

समाहित शिक्षाको आवश्यकता
१. सबैले आफ्नै समुदायमा पढ्न पाउने अधिकारको सुनिश्चितता गर्नः सबै विद्यार्थीले आफ्नै समुदायमा पढ्न पाउनुपर्छ । शारीरिक अक्षमता वा कुनै पनि कारणले विद्यालयमा विद्यार्थीलाई पढ्नबाट वञ्चित गरिनुहुँदैन । त्यसका लागि विद्यालयका भौतिक संरचना तथा शैक्षणिक विधिहरू बाधक भए तिनीहरूमा फेरबदल गरी पढ्न पाउने वातावरण निर्माण गर्नुपर्छ ।
२. सबैका लागि शिक्षाको लक्ष्य पूरा गर्नः विश्वमा १० प्रतिशत बालबालिका विशेष शिक्षाको आवश्यकता भएका छन् । ‘सबैका लागि शिक्षाको घोषणा’ को लक्ष्य हासिल गर्नका लागि सन् १९९४ मा भएको विशेष शिक्षाको आवश्यकता सम्मेलनमा समाहित शिक्षालाई प्रमुख रणनीतिका रूपमा अघि सारिएको छ ।
३. ‘समाहित शिक्षा’ विशेष शिक्षाका विद्यालयभन्दा कम खर्चिलो हुने कुरा अनुसन्धानले देखाएको छ । बच्चा आमाबाबुसँगै बस्ने भएकाले खाना तथा आवासको खर्च बच्न जाने हुन्छ ।
४. एकीकृत तथा विशेष शिक्षाका विद्यालयहरूमा पढेका विद्यार्थीलाई समाजमा समायोजन गर्न कठिनाइ भयो । समाजको विभेदकारी मानसिकताका कारण उनीहरूको सामाजिकीकरणमा कठिनाइ भयो तर समाहित शिक्षाले कक्षामा हुने विभेदको अन्त्य गर्दै सबैले सम्मानजनक अवस्थामा शिक्षा हासिल गर्न पाउने वातावरण तयार गर्ने भएको हुँदा उनीहरूलाई विद्यालय तथा समाजमा सामाजिकीकरण गर्न कठिनाइ नपर्ने हुन्छ ।
५. हरेक व्यक्ति उसको रूचि, क्षमता, शारीरिक तथा मानसिक अवस्थाका कारण भिन्न हुन्छ । यो विविधतालाई विद्यालयतहमा परिचित गराइने हुँदा विविधतालाई स्वीकार गर्ने बानीको विकास गराइएको हुन्छ ।
६. हरेक विद्यार्थीले विद्यालयमा रहेको विविधताबाट सिक्न सक्छ ।

महत्व
सबै अपाङ्ग बालबालिका र अरू बालबालिकालाई सँगै राखेर शिक्षा दिंदा सबलाङ्ग बालबालिकाको शिक्षाको स्तर घट्ने हो कि भन्ने चिन्ता एकातिर पाइन्छ भने अरू विद्यार्थीसँगै राखेर पढाउँदा अपाङ्ग बालबालिकाले उचित रेखदेख तथा शिक्षा पाउँदैनन् कि भन्ने संशय प्रकट गरिन्छ । तर हालसम्मका अध्ययनले जटिल अपाङ्गता भएका बाहेक अरू सामान्य अपाङ्गहरूले समाहित शिक्षा वा समाहित–विद्यालयबाट तल उल्लिखित फाइदाहरू प्राप्त गर्न सक्छन्ः

  • यसले मित्रताको भावनाको विकास गर्छ ।
  • सामाजिक सम्बन्धको सुरुआत, विस्तार र सञ्जालको निर्माण गर्छ ।
  • आम पाठ्यक्रममा पहुँच बढ्छ ।
  • अन्तरक्रियाका लागि ज्यादा मौका प्राप्त हुन्छ ।
  • शिक्षक, कर्मचारी, अभिभावक र समुदायबीचको सम्बन्ध र सहयोगमा वृद्धि हुन्छ ।
  • परिवारहरू समुदायमा अझ् बढी एकीकृत हुन्छन् ।
  • व्यक्तिगत विभिन्नतालाई स्वीकार्ने बानीको विकास हुन्छ ।
  • सबैलाई आदर, सम्मान गर्ने बानीको विकास  गराउँछ ।
  • सामाजिकीकरण गर्न सहयोग पुग्छ ।
  • सहभागितामूलक सिकाइ र अरूलाई सिकाएर विषयवस्तुको दक्षता हासिल गर्न सकिन्छ ।
  • सिकाइ उपलब्धिमा वृद्धि हुन्छ ।
  • विभेदकारी सोचको अन्त्य गर्छ ।

नेपालको सन्दर्भ
नेपालमा विशेष शिक्षाको सुरुआत २०२० सालमा इसावेल ग्रान्टले अन्धाहरूका लागि एकीकृत कक्षा संचालन गर्न अनुरोध गरेपछि भएको हो । २०२१ सालमा लेबोरेटरी स्कूलका शिक्षक र कलेज अफ एजुकेशनका विद्यार्थीले दृष्टिविहीनहरूलाई पढाउने तालीम प्राप्त गरे । यहाँ २०२१ साल फागुनदेखि ८/९ जना विद्यार्थी भर्ना गरी एकीकृत शिक्षा कार्यक्रम संचालन गरिएको पाइन्छ । त्यस्तै २०२३ सालमा बहिरा विद्यालयको स्थापना भयो । २०२६ सालमा अन्धा र अपाङ्गहरूलाई शिक्षा र व्यावसायिक तालीम दिने गरी खगेन्द्र नवजीवन केन्द्रको स्थापना गरियो । २०३७ सालमा सुस्त मनस्थितिका बालबालिकाका लागि निर्मल बाल विकास केन्द्रको स्थापना भएपछि सुस्त मनस्थितिका बालबालिकाले पनि शिक्षा प्राप्त गर्न थालेका हुन् ।
२०३० सालमा विशेष शिक्षा परिषद् गठन भयो । २०३४ सालमा यसलाई सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को मातहत राखियो । २०४८/४९ देखि पुनः शिक्षा मन्त्रालयमा विशेष शिक्षाको अभिभारा आइपुगेको छ ।

नेपालमा अहिले कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्ग रहेका छन् । तर यो संख्या चिकित्सा विज्ञानका आधारमा मात्र हो । सिकाइ कठिनाइ भएका बालबालिका तथा सुविधाहीन वर्गका बालबालिकाको संख्या यसमा सामेल छैन । त्यसो हुँदा यो संख्या अरू बढ्न जाने निश्चित छ । हाल विशेष शिक्षाका विद्यालय तथा विशेष शिक्षा स्रोत कक्षामा पढ्ने विद्यार्थी संख्या ६ हजार २५० मात्र छ । तर अन्य साधारण विद्यालयहरूमा पढ्ने अपाङ्गता भएका बालबालिकाको संख्या ६७ हजारभन्दा बढी छ । तर ती विद्यालय समाहित विद्यालय भने होइनन् किनकि त्यहाँ उनीहरूलाई पर्ने समस्याको सम्बोधन गरिएको छैन । विभेदकारी अवस्थाको अन्त्य गरिएको छैन । उनीहरूका लागि चाहिने आवश्यक उपचारात्मक (Remedial) कक्षाहरूको व्यवस्था गरिएको छैन ।

commercial commercial commercial commercial