सिकाइ सामग्री र शैक्षिक गुणस्तरको साइनो

नदेखेका कुरा, घटना र वातावरणको प्रत्यक्ष जानकारी दिन सिकाइ सामग्रीको प्रयोग रामबाण सावित हुन सक्छ । त्यसैले आधुनिक शैक्षिक पद्धतिमा शैक्षिक गुणस्तरका लागि शैक्षिक सामग्रीको महत्व र औचित्य अहं रहेको कुरा निर्विवाद छ ।

समाजको विकासक्रम सँगसँगै शिक्षणकार्यमा पनि नयाँ आयामहरू थपिंदै गएका छन् । विज्ञान र प्रविधिको विकासले शैक्षिक सामग्रीका रूपमा श्रव्य–दृश्य सामग्री विकसित गरिएका छन् । विशेषगरी सूचना–प्रविधिमा आएको विकासले शिक्षण सिकाइ क्रियाकलापमा पनि नयाँ मूल्य र मान्यता स्थापित गरेको छ ।

आधुनिक र उपयुक्त शैक्षिक सामग्रीको प्रयोगले शिक्षणलाई आकर्षक मात्र होइन, प्रभावकारी र अर्थपूर्ण पनि बनाउँछ । विद्यार्थीले सिकेको ज्ञानलाई दिगो बनाउँदै यसले विद्यार्थीमा रुचि जगाई स्वतन्त्र सिकाइ तथा विचारको अभिवृद्धि गर्छ । सिकाइ सामग्रीको प्रयोगले बालबालिकामा रुचि र उत्साह पैदा हुन्छ । शिक्षकको समय बचत हुन्छ । विषयवस्तुको व्यावहारिक अनुभव प्राप्त गर्न शिक्षक र छात्रछात्रा दुवैलाई सहयोग पु¥याउँछ । सिकाइ प्रभावकारी र स्थायी बनाउन मद्दत पुग्छ । पाठ्यक्रमको उद्देश्य पूरा गर्न र शिक्षकको पेशागत दक्षता बढाउन पनि सिकाइ सामग्रीको महत्वपूर्ण भूमिका हुन्छ । विषयवस्तुको सही, वास्तविक र पूर्ण धारणा दिन शैक्षिक सामग्रीले सहयोग गर्छ । मौखिक सञ्चारलाई क्रियाकलापसँग जोड्नका लागि पनि सिकाइ सामग्री महत्वपूर्ण सावित भएका छन् । नदेखेका कुरा, घटना र वातावरणको प्रत्यक्ष जानकारी दिन सिकाइ सामग्रीको प्रयोग रामबाण सावित हुन सक्छ । त्यसैले आधुनिक शैक्षिक पद्धतिमा शैक्षिक गुणस्तरका लागि शैक्षिक सामग्रीको महत्व र औचित्य अहं रहेको कुरा निर्विवाद छ ।

सन् १९९० को दशकमा कच्चा पदार्थ (Raw Material) र श्रम (Labor) लाई ज्ञान (Knowledge) र सीप (Skill) ले विस्थापित (Replace) गर्न थाल्यो, तब ज्ञान र सीप मापन गर्ने एउटा प्रमुख आधारको रूपमा विद्यार्थीको राष्ट्रिय उपलब्धि परीक्षणलाई लिइयो । राष्ट्रिय उपलब्धि परीक्षणमा नै कुनै पनि देशको शैक्षिक निर्णय, नीति निर्माण, संस्थागत सुदृढीकरण र कार्यविधिगत सुधार निर्भर गर्छ । नेपालमा पनि राष्ट्रिय उपलब्धि परीक्षणको कामलाई शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले संस्थागत रूपमा अघि बढाउने प्रयास गरिरहेको छ ।

हाल कार्यान्वयनमा रहेको विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधि (२००९–२०१५) मा कक्षा ३, कक्षा ५ र कक्षा ८ को राष्ट्रिय उपलब्धि परीक्षण (National Assessment Report)   दुई चरणमा गरिसक्ने कुरा उल्लेख छ । यसै क्रममा गत वर्ष कक्षा ८ को शैक्षिक उपलब्धि परीक्षण  सम्पन्न भएको छ । स्थायी संयन्त्र, आइटम रेस्पोन्सको सिद्धान्त (Item Response Theory-IRT) अन्तर्राष्ट्रिय विज्ञको सेवा र २५ जिल्लाका १२,०१ विद्यालयका ४८,६८२ जना विद्यार्थीको संलग्नतामा गरिएको उक्त परीक्षणले शैक्षिक सामग्रीको प्रयोगले शैक्षिक गुणस्तर ल्याउन ठूलो भूमिका खेल्ने देखाएको छ । हालसम्मकै बृहत् भएकोले सिकाइका सन्दर्भमा त्यस परीक्षणका नतिजा (Findings) निकै महत्वपूर्ण छन् । सो परीक्षणले विद्यालय तहको पठनपाठनमा शैक्षिक सामग्रीको प्रयोग अपेक्षित रूपमा हुन नसकेको देखाएको छ ।

केन्द्रको अध्ययनले देखाएको विद्यार्थीको संज्ञानात्मक तह र सिकाइ उपलब्धिको अवस्था तालिका १ मा देखाइएको छ ।


यो तालिका अनुसार ज्ञान तह (knowledge), बोध तह (Comprehension), प्रयोग तह (Application) र विश्लेषण तथा उच्च दक्षता (Higher ability) तहमध्ये सामाजिक विषय बाहेक उपलब्धिस्तर ज्ञान तहदेखि उच्च क्षमता तहसम्म क्रमशः घट्दो क्रममा देखिन्छ । याद गर्ने÷सम्झ्ने (Rote learning), सामान्य प्रश्नहरूको सहज उत्तर दिने जस्ता पक्षमा विद्यार्थीले राम्रो गरेका छन् भने सिकेका कुरालाई व्यवहारमा उतार्ने पक्षमा कमजोर देखिएका छन् । त्यस्तै; विद्यार्थीहरू तर्क प्रस्तुत गर्ने, सिकेका कुरालाई सामान्यीकरण गर्ने, प्रमाणित गर्ने, व्यवहारमा उपयोग गर्ने, एउटा परिवेशमा सिकेका कुरालाई अर्को परिवेशमा सान्दर्भिकीकरण गर्ने जस्ता पक्षमा पनि कमजोर देखिएका छन् । यसले शैक्षिक सामग्रीको प्रयोग गरेर क्रियाकलापमा आधारित सिकाइ कम भएको, परियोजना कार्य, सिर्जनात्मक, रचनात्मक अभ्यास कम हुने गरेको कुरा संकेत गर्छ । सिकाइमा जति धेरै र अर्थपूर्ण किसिमले शैक्षिक सामग्रीको उपयोग गर्न सकिन्छ, त्यही अनुपातमा छात्रछात्राको कमजोर पक्षलाई सम्बोधन गर्न सकिन्छ ।

उक्त अध्ययनले विद्यालय समयभन्दा बाहेक (बिहान वा बेलुका) घरमा टेलिभिजन हेर्दा त्यसबाट सिकाइमा परेको असरलाई पनि हेरेको थियो । त्यससम्बन्धी अध्ययनको नतिजा चाखलाग्दो छ;  जुन तालिका २ मा देखाइएको छः

यो तालिकामा टेलिभिजनलाई महत्वपूर्ण शैक्षिक सामग्रीको रूपमा लिइएको छ । घरमा प्रतिदिन औसत दुईघण्टा टिभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि टिभी नै नहेर्ने विद्यार्थीको भन्दा राम्रो छ । तर दुईघण्टा भन्दा बढी टिभी हेर्नेको भने जति धेरै समय हेर्ने गर्छन् उही दरमा सिकाइ उपलब्धि स्तर कम हुँदै गएको पाइएको छ । यो नतिजा विद्यार्थी, शिक्षक र अभिभावकका लागि समेत महत्वपूर्ण हुने ठानिएको छ । अभिभावकले विद्यार्थीको पठनपाठन र टिभीको प्रयोगलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्छ भन्ने सन्देश यो अध्ययनले दिएको छ ।

अध्ययनले घरमा भएका सन्दर्भ सामग्री र उपयुक्त वातावरणले पठनपाठनमा पर्ने असरलाई पनि विश्लेषण गरेको छ । पढ्ने टेबल, कोठा, शान्त वातावरण, कम्प्युटर, सफ्टवेयर, क्यालकुलेटर, कविताका किताब, कला सम्बन्धी पुस्तक, शब्दकोश, चित्रका किताब, अन्य सहयोगी किताब आदिको उपलब्धताले सिकाइमा गहिरो प्रभाव पार्ने सो अध्ययनले देखाउँछ । (हे. तालिका–३)

तालिका–३ अनुसार घरमा पढाइका सहयोगी सामग्रीहरू जति धेरै उपलब्ध हुन्छन् त्यही दरमा सिकाइको उपलब्धि स्तर बढेको पाइएको छ । यसले अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन, नीति निर्माण र कार्यान्वयन निकाय सबैलाई आ–आफ्नो भूमिकालाई यसतर्फ केन्द्रित गर्न घच्घच्याएको छ । यी सामग्री र सुविधाको सूची बनाएर आ–आफ्नो क्षेत्रबाट छात्रछात्राको सिकाइमा के–कसरी सहयोग गर्न सकिन्छ भनी सबैले विश्लेषण गर्नुपर्ने देखिन्छ । स्कूल र अभिभावकका निम्ति यो विशेष महत्व देखिन्छ ।

पाठ्यपुस्तकलाई नेपालमा पठनपाठनको एकमात्र साधनको रूपमा लिइएको छ । पर्याप्त साधन र स्रोतको अभाव, परम्परागत किताबी पठनपाठनको संस्कार, परीक्षामुखी मूल्याङ्कन प्रणाली आदि कारणले नै पाठ्यपुस्तकलाई प्रमुख शिक्षण साधन मानिंदै आएको हुनुपर्छ । विद्यालयहरूमा शैक्षिक सामग्रीको पहुँचको समस्या, शिक्षकमा ती सामान प्रयोग गर्ने सीप र जाँगरको अभाव अनि विद्यालय र अभिभावकको खर्च व्यहोर्नेे क्षमता र इच्छाशक्तिको कमीले पाठ्यपुस्तक नै एकमात्र पठनपाठनको सामग्री बन्न पुगेको छ । शिक्षकले पनि शिक्षणको मुख्य आधार पाठ्यपुस्तकलाई बनाएका छन् । अब पाठ्यपुस्तकको उपलब्धताले विद्यार्थीको शैक्षिक उपलब्धिमा पार्ने असरबारे तालिका ४ हेरौंः

माथिको तालिका अनुसार पाठ्पुस्तकको उपलब्धताले पनि विद्यार्थीको उपलब्धि स्तरमा महत्वपूर्ण असर गरेको पाइएको छ । विद्यार्थीसँग पाठ्यपुस्तक छ वा छैन भन्नेमा सदा सतर्क हुनुपर्छ भन्ने कुराको संकेत यस अध्ययनले देखाएको छ । अरू सिकाइ सामग्री नभएको स्थितिमा पाठ्यपुस्तक नै महत्वपूर्ण सामग्री सावित हुन्छन् ।

अध्ययनका यी नतिजाबाट विद्यालयले के सिक्ने ? के गर्ने त ? कक्षा ८ को राष्ट्रिय उपलब्धिका उपरोक्त नतिजाहरूलाई निम्नानुसार उपयोग गर्न सकिन्छः

प्रत्येक विद्यालयले आफ्नो विद्यालयका विद्यार्थीले प्राप्त गरेको वार्षिक परीक्षाको अंकको औसत निकाल्ने । त्यसलाई राष्ट्रिय अवस्थासँग तुलना गर्ने । आफ्नो विद्यालयको अवस्था राष्ट्रिय अवस्थाभन्दा घटी भएमा कम्तीमा औसत अवस्थासम्म पुग्न बल गर्ने; बढी भए अझ् राम्रो गर्न प्रयास गर्ने ।

सिकाइ सुधार गर्न विषय शिक्षकले गर्ने काम पनि छ । विषय शिक्षकले आफ्नो विषयको औसत उपलव्धि पत्ता लगाउने । केटा वा केटी कसको उपलव्धि कस्तो रह्यो पहिचान गर्ने । मानौं; गणित विषयमा राष्ट्रियस्तरमा जस्तै विद्यालयमा पनि केटाको बढी र केटीको कम रहेछ भने किन त्यस्तो भएको हो छलफल गर्ने । आवश्यक परे विद्यालयका अन्य सरोकारवालाहरूसँग छलफल गर्न सकिन्छ । नेपाली परिवेशमा सामाजिक, सांस्कृतिक र पारिवारिक जीवनशैलीका कारण केटीहरूले कम अध्ययन गर्ने अवसर पाउँछन् । धेरै काम गर्नु परेका कारणले गणित विषयमा अभ्यास गर्ने समय नपुगेर त्यसो भएको हुन सक्छ ।

समस्याको कारण पहिचान गरेपछि समाधान पनि सहजै निस्कन्छ । एउटा सत्य के हो भने समस्या स्थानीयस्तरमा पहिचान गरियो भने ६० प्रतिशत समस्याको समधान त्यहीं हुन्छ । मानौं घरमा अभ्यास गर्ने वातावरणको कमीका कारण सिकाइ उपलव्धि कम भएको रहेछ भने अभिभावकसँग छलफल गरेर त्यो अवस्थामा सुधार गर्न सकिन्छ । कक्षा व्यवस्थापन नभएर पनि त्यस्तो हुन सक्दछ । यी समस्याको पहिचान अरू कसैले गर्न सक्दैन । शिक्षक र विद्यालयले गर्ने हो ।

सिकाइ सामग्रीको प्रयोग विद्यालय, शिक्षक र  विद्यार्थीले धेरै तरिकाबाट गर्न सक्छन् । शैक्षिक सामग्रीहरू सम्भव भएसम्म बजारबाट खरीद गरिएका भन्दा जहाँ र जुन परिवेशमा प्रयोग र उपयोग गरिने हो त्यहीं सहभागितामूलक तरिकाले निर्माण गरिएमा बढी व्यावहारिक र उपयोगी मानिन्छ । विद्यार्थीको सहभागितामा स्थानीय तहमा निर्मित सामग्री अर्थपूर्ण र व्यावहारिक सिकाइको लागि सर्वाधिक महत्वपूर्ण हुन्छन् । वर्तमान अवस्थामा विद्यालय तहका शैक्षिक सामग्रीहरू पाठ्यक्रम विकास केन्द्रले केन्द्रीय रूपमा विकास गर्ने चलन छ । ती सामग्रीहरू प्रत्यक्ष रूपमा पाठ्यक्रमसँग सम्बन्धित र पूरकको रूपमा समेत रहने गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले विकास गरेका मुख्यमुख्य सिकाइ सामग्रीः
१)    पाठ्यक्रमः सबै विषयका पाठ्यक्रमको विस्तृत रूप समेत
२)    पाठ्यपुस्तकः पाठ्यक्रम अनुसार पाठ्यपुस्तकहरू र मातृभाषामा उल्था गरिएका पाठ्यपुस्तकहरू
३)    बालसन्दर्भ सामग्रीः प्रति वर्ष ५–१० वटासम्मको संख्यामा
४)    शिक्षक निर्देशिकाहरू विषयगत रूपमा खासगरी मुख्य विषयको मात्र विकास गर्ने गरिएको ।
५)    विद्यार्थी मूल्याङ्कन सामग्रीहरू ः माध्यमिक र निम्नमाध्यमिक तहमा विषयगत रूपमा मुख्य विषयहरूको र प्राथमिक तहमा निरन्तर विद्यार्थी मूल्याङ्कनको निम्ति
६)    पाठ्यक्रमको विषय विस्तृतिकरण
७)    विशिष्टीकरण तालिकाहरू र नमूना प्रश्नपत्रहरू    
८)    सामाजिक विषयका प्रयोगात्मक हातेपुस्तिका
९)    विज्ञान प्रयोगात्मक पुस्तिका
१०)    कार्यपुस्तिका, विशेषगरी प्राथमिक तहका कक्षाका लागि
११)    शिक्षा पत्रिका अर्धवार्षिक रूपमा
१२)    पाठ्यक्रम गतिविधिः नियमित रूपमा चौमासिक

हाम्रा विद्यालयमा कम्तीमा पनि माथि दिइएका सामग्रीलाई सिकाइ सामग्रीको रूपमा प्रयोग गर्न सकिएमा अहिलेको सिकाइस्तरमा गुणात्मक सुधार आउँछ । किनभने विद्यालयको भौतिक व्यवस्थापकीय पक्षको तुलनामा पठनपाठनको पक्ष महत्वपूर्ण हुन्छ । भौतिक पक्ष सबल हुँदैमा पठनपाठनको पक्ष सबल हुन्छ भन्ने हुँदैन । यसर्थ उत्कृष्ट विद्यालय हुन भौतिकलाई भन्दा बढी पठनपाठनको पक्षलाई विशेष ध्यान दिनुपर्छ । शिक्षक कक्षामा समयमा पुगेर पढाएर मात्र हुँदैन विद्यार्थीहरूको आवश्यकता, चाहना, समस्या पहिचान गर्दै उचित सिकाइ सामग्रीको प्रयोग गरी पठनपाठन प्रक्रियालाई अघि बढाउनुपर्छ । तब मात्र सिक्ने र सिकाउने क्रिया सजिलो तथा चाखपूर्ण हुन्छ । त्यसैले अभिभावक, विद्यालय, प्रधानाध्यापक, विषय शिक्षक र व्यवस्थापन समिति सबैले सिकाइमा शैक्षिक सामग्रीको प्रयोगलाई मुख्य प्राथमिकता दिनु जरूरी छ ।

(काफ्ले शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत छन् ।)

commercial commercial commercial commercial