पढ्ने बानी बसाउने केही उपाय

विद्यार्थीको चौतर्फी सिकाइ–उपलब्धि वृद्धि गर्ने एउटा प्रभावकारी उपाय भनेको उनीहरूलाई आफैं सिक्ने प्रक्रिया र परिवेश जुटाइदिनु हो । स्व–सिकाइ (self-learning) को निम्ति पढाइ–सीपको विकास हुनु अनिवार्य हुन्छ । पढाइ–सीप विकास गर्ने सबैभन्दा उपयुक्त अवसर प्राथमिक कक्षा हुन् । सानो उमेरका बालबालिकामा पढाइ–सीप विकास गर्न तुलनात्मक रूपमा सहज मात्रै हुँदैन, खर्चका दृष्टिले किफायती पनि हुन्छ ।

त्यसो भए कम उमेरका बालबालिकामा पढाइ–सीप (reading-skill) कसरी विकास गर्न सकिन्छ त ? यहाँ त्यस्ता केही व्यावहारिक उपायबारे चर्चा गरिन्छः

बुक कर्नर
विद्यालयका साना कक्षा (१–४) मै ‘बुक कर्नर’को व्यवस्था गर्नुपर्दछ । यसका लागि विद्यालयमा बालबालिकाले सहजै र चाख दिएर पढ्न सक्ने रंगीन चित्रसहितका बालपुस्तकहरू उपलब्ध गराउनुपर्दछ । यसले विद्यार्थीको पढाइप्रतिको रूचि, पढ्ने बानीको विकास र पढाइ सीपको विकास गराउँछ ।

किताबको संख्या र प्रकारः कम्तीमा विद्यार्थी संख्या बराबर किताब उपलब्ध हुनुपर्छ । औसतमा यस्ता किताब प्रति कक्षा एक सय जति हुनु राम्रो हुन्छ । हरेक कक्षामा पुस्तक उपलब्ध गराउँदा विषयवस्तुको कठिनाइको स्तर, अक्षरको साइज, चित्र र पेज संख्याका आधारमा उपयुक्त किसिमका पुस्तकहरूको छनोट गरिनुपर्छ । उदाहरणका लागि रुम टु रिड, सेभ द चिल्ड्रेन, रातो बङ्गला, सेतो गुराँस, शिक्षा मन्त्रालय आदिले प्रकाशन गरेका बालबोध श्रृंखलाका पुस्तकहरू उपलब्ध गराउनु उचित हुन्छ । यसमा अन्य उपयोगी बाल प्रकाशनहरू पनि समाविष्ट गर्न सकिन्छ । यस्ता कक्षागत तथा उमेरगत बाल पुस्तकहरूको उपलब्धताले बालबालिकामा पुस्तकप्रति अभिरूचि पैदा गराउने र पढ्ने बानीको विकास गराउने अपेक्षा गर्न सकिन्छ । विद्यार्थीले कति हदसम्म पुस्तकहरू पढ्न पाए भन्ने कुरा शिक्षकले पुस्तकको उपयोग कसरी गराए भन्ने कुरामा भर पर्छ ।

‘वुक कर्नर’को अनिवार्य प्रयोग सम्बन्धी व्यवस्थाः विद्यालयले कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई अनिवार्य रूपमा पुस्तक पढ्न लगाउनुपर्छ । यसका लागि हरेक हप्ता एउटा कक्षालाई नै पुस्तकालयमा लगेर पुस्तक पढ्ने व्यवस्था गर्नुपर्छ । प्राप्त पुस्तकहरू कति धेरै र कति छिटोछिटो विद्यार्थीहरूलाई प्रयोग गर्न दिइयो भन्ने कुराले पढाइप्रतिको रूचि र पढ्ने बानीको निर्धारण गर्दछ ।

विद्यार्थीले जति धेरै पुस्तक पढ्छन् या जति धेरै पाना पल्टाउँछन् र पुस्तकमा दिएका चित्रहरू हेर्छन्, त्यति नै ज्यादा उनीहरूले पढाइप्रति रूचि देखाउँछन् । र, यसरी किताबहरूको नियमित प्रयोगले दैनिक जीवनमा स्वतन्त्र रूपमा पुस्तक पढ्ने बानीको विकास गराउँछ । जब बालबालिकाले नियमित रूपमा पुस्तकहरू हेर्न थाल्नेछन् उनीहरूमा क्रमशः पुस्तकप्रति रूचि  बढ्नेछ । उनीहरूले कक्षामा पाएका शैक्षणिक ज्ञानका साथै पढाइ सीपमा पनि विकास गर्नेछन् ।

‘बुक कर्नर’को नियमित प्रयोगः पुस्तकको नियमित प्रयोगका लागि विद्यार्थीले हप्ताको एक दिन अनिवार्य रूपमा पुस्तकालयमा एक घण्टी बिताउनुपर्ने हुन्छ । यो पुस्तकालय घण्टीमा प्रत्येक विद्यार्थीहरूले यसअघि नपढेका कुनै एक पुस्तक लिएर पढ्नुपर्ने हुन्छ । हरेक कक्षामा हरेक हप्ता विद्यार्थीका लागि प्रशस्त पुस्तकको व्यवस्था गरिएको हुन्छ जसले गर्दा विद्यार्थीले हरेक हप्ता नयाँ पुस्तक पढ्न पाउँन् । शिक्षकले विद्यार्थीलाई पुस्तक छान्ने र पुस्तक साटासाट गर्ने बेलामा विद्यार्थीलाई सहयोग गर्नुपर्छ ।

विद्यालयले विद्यार्थीलाई किताब घर लगेर पढ्न पनि प्रेरित गर्नुपर्दछ । यसको अलावा; कक्षा कार्य छिटो सिद्धिएमा वा शिक्षक अनुपस्थित भएको घण्टीमा पुस्तकहरू पढ्न प्रेरित गर्नुपर्छ । कक्षा १ र कक्षा २ मा पुस्तकालय घण्टी राख्नुको उद्देश्य विद्यार्थीहरूलाई पुस्तकहरूसित परिचित गराउनु हो । उनीहरूले पुस्तकका पाना पल्टाए वा पुस्तकमा भएका चित्रहरू हेरे मात्र भने पनि विस्तारै पुस्तकलाई आफ्नो जीवनको अभिन्न अंग बनाउन थाल्छन् । विद्यार्थीले पढेको बेलामा कहिलेकाहीं शिक्षकले पनि आफ्नो छनोटका पुस्तक पढ्ने गर्नुपर्छ । यसले विद्यार्थीलाई थप उत्साहका साथ पढ्ने प्रेरणा दिन्छ । अरू समय शिक्षकले कक्षाकोठामा पढ्ने वातावरण बनाउन सहयोग गर्नुपर्छ र पढाइलाई निरन्तरता दिन सघाउनुपर्छ ।

प्रगति समीक्षा
कक्षाको अन्त्यमा शिक्षकले विद्यार्थीले पढेको पुस्तकका बारेमा केही आधारभूत कुराहरू कापीमा लेख्न लगाउनुपर्छ । शिक्षकले शुरू शुरूमा पुस्तक समीक्षा तालिका बनाउन पनि विद्यार्थीलाई मद्दत गर्नुपर्छ । पढेका पुस्तकको संख्या बढ्दै जाँदा तालिका पनि थपिंदै जान्छ । यसरी पुस्तक समीक्षा फर्म भर्न लगाउनुका तीन वटा उद्देश्य रहेका छन्— पहिलो, कम्तीमा पनि पुस्तकमा भएको केही पाठ पढुन् । दोस्रो, अरू धेरै किताब पढ्न विद्यार्थी अभिप्रेरित होऊन् । तेस्रो, विद्यार्थीको व्यक्तिगत प्रगतिको अनुगमन गर्न शिक्षकलाई सजिलो बनाउनु ।

यस क्रममा, नयाँ पाठकले पढाइलाई बोझ्को रूपमा नलिउन् भन्ने बारेमा राम्ररी विचार पु¥याउनुपर्छ । यसको उद्देश्य पुस्तक पढ्ने लत लगाउनु नै हो । मन लागेका पुस्तक पढ्न दिएर मात्र लत लगाउन सकिन्छ । यो बेला नियमित रूपमा पुस्तक समीक्षा लेख्न लगाएर विद्यार्थीलाई बोझ् बनाउनु हुँदैन । त्यसैले तालिका भर्न लगाउनु नै पर्याप्त छ । जब विद्यार्थीले पुस्तक पढ्छन् शिक्षकले पुस्तक समीक्षा तालिकाबाट पढाइको प्रगतिबारे निरीक्षण गर्नुपर्छ र पुस्तक पढ्न प्रेरित गर्नुपर्छ, पढ्न दिर्नेशन दिने होइन ।

पुस्तकका बारेमा छलफल
अनिवार्य पुस्तकालय—घण्टीका बाहेक शिक्षकले पुस्तकको बारेमा छलफल गर्न हरेक दुई हप्तामा थप एक घण्टी राख्नुपर्छ । यो घण्टीको उद्देश्य पनि पढ्नका लागि प्रेरित गर्नु नै हो । यस्ता कक्षामा विद्यार्थीले आफूले पढेका रोचक पक्षहरूका बारेमा एकअर्काबीच जानकारी गराउन पाउनुपर्छ । शिक्षकले विद्यार्थीको पढ्ने बानीको जानकारी लिन कहिलेकाहीं कुनै परिच्छेद पढेर सुनाउने र रोचक स्थानमा आएपछि रोक्ने पनि गर्नुपर्छ ।

प्रधानाध्यापक तथा शिक्षकलाई तालीम
पुस्तकालय—घण्टीलाई रोचक बनाउन; पुस्तकको सदुपयोग गर्न र नियमित रूपमा पढ्ने बानीको विकास गर्न शिक्षकको भूमिका महŒवपूर्ण हुन्छ । पुस्तकालय—घण्टी र पुस्तक छलफल कक्षालाई अनिवार्य बनाउन, पुस्तकालय कक्षाको निरीक्षण, शिक्षकको अनुपस्थितिमा ‘बुक कर्नर’को प्रयोग सुनिश्चित गर्न र कक्षा प्रभावकारी रूपमा संचालन गर्न प्रधानाध्यापकको भूमिका रहन्छ । त्यसैले शिक्षक तथा प्रधानाध्यापकलाई छोटो अवधिको प्रभावकारी तालीम जरूरी हुन्छ । यस्तो तालीममा ‘बुक कर्नर’को व्यवस्थापन, पुस्तक संकलन, मर्मत सम्भार, प्रदर्शन र यसको प्रभावकारी उपयोग कसरी गर्ने भन्ने बारेमा जानकारी दिइनुपर्छ ।

विस्तृत पढाइ सीपको विकास कार्यक्रम
यसमा बालबालिकाहरूमा पढाइ सीपको विकास गर्न बहु विधिको प्रयोग गर्नुपर्छ । कक्षाकोठामा गरिने चरणबद्ध शिक्षणलाई केन्द्रित गर्नुपर्छ । आधारभूत अवधारणाः कक्षाका सबै विद्यार्थी उपयुक्त तरिकाले पढ्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्न पढ्ने तरिका बारे उनीहरूलाई पहिले नै सिकाउनुपर्छ । हाम्रो जस्तो देशमा—जहाँ पढाइ संस्कृतिको विकास भइसकेको छैन; घोकेर कण्ठ पारिन्छ; पढाइ सीपलाई महत्व दिइँदैन, भाषा शिक्षकहरू पूर्ण रूपमा पाठ्यपुस्तकमा भर पर्छन् र तल्ला कक्षामा भाषा कसरी सिकाउने भन्ने बारेमा शिक्षकलाई कुनै तालीम दिइएको हुँदैन—त्यहाँ पढाइ–सीप सिकाउनुको अर्थ र महत्व धेरै हुन्छ ।  त्यस्ता कुरा नसिकाइएकै कारण तल्लो कक्षाका विद्यार्थीले सामान्य पढाइ–सीप समेत हासिल गर्न सक्दैनन् । फलतः माथिल्लो कक्षामा उनीहरू झ्न् पछाडि पर्दछन् । त्यसैले कक्षा १ र कक्षा २ मा पठन शिक्षण (Reading instruction) बढी केन्द्रित गर्नुपर्छ । यसका साथै पाठक मैत्री कक्षाकोठाको वातावरण र बालबालिकाका लागि उपयुक्त किसिमका पुस्तकको व्यवस्थाले विद्यार्थीलाई न्यूनतम पढाइस्तरमा पुर्‍याउन मद्दत गर्छ ।

पठन केन्द्रित शिक्षण (focused reading instruction)

कक्षा १ र २ का नेपाली भाषा पढाउने शिक्षकहरू विशेषगरी भाषिक सीप सिकाउनका लागि तालीमप्राप्त छन् । उनीहरू विविध खालका सिकाइ सामग्रीहरूको प्रयोग गर्न पनि सक्छन् । कसरी पढ्ने भन्ने कुरा सिकाउनका लागि पाठ्यपुस्तकहरूको प्रयोग गर्दछन् । विद्यार्थी हरेक दिन ८०–९० मिनेटको समय र हप्ताको पाँच दिन विशेष पढाइ शिक्षण गर्छन् । यी कक्षाहरू विद्यार्थीको पढाइ–सीपको विकास गर्न चरणबद्ध रूपमा विकास गरिएका हुन्छन् । यसमा छापाको बारेमा जानकारीका साथै ध्वनि विन्यास, शब्दभण्डारको विकास, पढाइ दु्रतता (reading fluency) र पढेका कुरा बुझने अर्थात् पढाइ बोध (reading comprehension) को विकास गराइन्छ । पढाइ कक्षाका अलावा विद्यार्थीहरू नियमित रूपमा पुस्तकालय—कक्षामा पनि सहभागी हुन्छन् ।

पृष्ठपोषण तथा सहयोग
पढाइ–सीप सम्बन्धी तालीमप्राप्त स्रोतव्यक्तिले नियमित रूपमा कक्षा अवलोकन गर्ने व्यवस्था मिलाइनुपर्छ । यसका लागि कम्तीमा पनि दुई हप्तामा एक पटक कक्षा अवलोकन तथा शिक्षकसँगको छलफलका आधारमा पृष्ठपोषण तथा सुझवहरू प्रदान गर्नुपर्छ । पृष्ठपोषणका आधारमा शिक्षकले आफ्नो शैक्षणिक तरिकामा परिमार्जन र परिष्कार ल्याउँछन् भन्ने विश्वास गरिएको हुन्छ । यसका अलावा स्रोतव्यक्ति र शिक्षक मिलेर हरेक त्रैमासिक रूपमा विद्यार्थीहरूको पढाइ–सीपको मूल्याङ्कन गर्नुपर्छ । त्यसबापत हरेक विद्यार्थीको प्रगति विवरण हेरी कमजोर विद्यार्थीलाई सहयोग गर्ने रणनीति पहिचान गरिनुपर्छ ।

परिवारको सहभागिता
कक्षा १ र कक्षा २ का शिक्षकले शैक्षिक सत्रको शुरूमा पढाइ बानीको विकासको आवश्यकता बारे अभिभावकसँग बैठक गर्नुपर्छ । त्यस अवसरमा अभिभावकले आफ्ना बालबालिकाको पढाइमा कसरी सहयोग पुर्‍याउन सक्छन् र विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थितिका लागि उनीहरूको भूमिका बारेमा छलफल गरिनुपर्छ । शिक्षकले अभिभावकसँग शैक्षिक सत्रको अन्त्यमा पनि बैठक गरी बालबालिकाले गरेको प्रगतिका बारेमा जानकारी गराउनुपर्छ ।

(विश्व बैंकको नेपाल कार्यालयमा शिक्षा विशेषज्ञका रूपमा कार्यरत डा. भट्टले तयार पारेको सिकाइ–सीप विकास सम्बन्धी रणनीतिपत्रबाट साभार गरी संक्षिप्त तुल्याइएको ।)

commercial commercial commercial commercial