सबैका लागि शिक्षक मासिक

शिक्षक  मासिकलाई समयसापेक्ष रूपमा परिमार्जन र परिष्कृत गर्दै अझ बढी उपयोगी र सान्दर्भिक तुल्याउने कुरामा हामी प्रतिवद्ध छौं । त्यस निम्ति हामीलाई विज्ञ पाठकहरूको सुझाव, विश्लेषण र मार्गदर्शन अपरिहार्य हुुन्छ । त्यही प्रयोजनका लागि यो नयाँ स्तम्भ ‘शिक्षक किन पढ्ने ?’ शुरू गरेका छौं । यो स्तम्भको उद्देश्य एकातिर शिक्षक  ले समेट्नुपर्ने नयाँ-नयाँ विषयका बारेमा जानकारी प्राप्त गर्न हुनेछ भने अर्कातिर शिक्षक पढ्ने बानी नपरेका शिक्षक तथा अन्य पाठकहरूलाई शिक्षक पढ्न प्रेरित गर्नु रहने छ । स्तम्भमा, शिक्षक  ले गरिरहेका राम्रा कार्यको समीक्षात्मक टिप्पणी र सुझावलाई विशेष प्राथमिकता दिइने छ । एकोहोरो प्रशंसा र उपदेश चाहिं खोजिएको हैन । ७०० भन्दा कम शब्दको लेख/टिप्पणीलाई आदर्श मानिनेछ । – सं.

मेरो शिक्षण यात्राभन्दा शिक्षक  मासिक एक वर्ष कान्छो छ । मैले २०६४ वैशाखमा झापाको एउटा निजी विद्यालयबाट शिक्षण थालेको थिएँ । एक शैक्षिक सत्र पूरा गरेपछि त्यो विद्यालय छोडेर म २०६५ असारमा झापाकै मेचीनगर–१३, सालघारीमा अवस्थित कञ्चनजंघा निमाविमा निजीस्रोत शिक्षकको रूपमा नियुक्त भएँ । कञ्चनजंघा निमावि मेरो प्रावि तहको शिक्षाको जग बसाउने पाठशाला पनि हो । त्यसैले पनि सो विद्यालयमा शिक्षण गर्न पाउनु मेरो लागि गर्वको कुरा थियो ।
महीना थाहा भएन, तर २०६५ देखि नै कञ्चनजंघा निमावि शिक्षक मासिकको ग्राहक बनेको थियो । म सो पत्रिका नियमित रूपमा पढ्ने गर्दथें । त्यतिबेला म शिक्षा विषय पढेको या शिक्षण तालीम प्राप्त शिक्षक थिइनँ । अर्थात् शिक्षण गर्ने तरिका र विधिसँग म साक्षात्कार थिइनँ ।

म मात्र होइन अन्य शिक्षकहरू पनि शिक्षक  मासिक चाख मानेर अध्ययन गर्दथे । शिक्षण सिकाइलाई कसरी प्रभावकारी र फलदायी बनाउने भन्ने कुराहरू शिक्षकका लेख रचनाबाट थाहा हुन्थ्यो । केही–केही कुरालाई मैले कक्षाकोठामा पनि अवलम्वन गर्न सकें जस्तो लाग्छ । शिक्षकका हरेक अंकहरू विद्यालयमा मैले नै पुस्तक पसलबाट ल्याउने गर्दथें ।

शिक्षक  मासिक अब मेरो दिमागमा अमिट छाप बनेर बसिसकेको छ । एउटा महीना सकिएर अर्को महीना शुरू हुनेबित्तिकै म पुस्तक पसलमा पुगिहाल्छु, शिक्षक आइपुग्यो ? भन्दै । शिक्षक  मा छापिएका रोचक–रमाइला कुरा र प्रेरणादायी कथाहरू मैले विद्यार्थीलाई पनि सुनाउने, पढ्न दिने र कक्षामा पढेर सुनाउने गरेको छु ।

शिक्षक  मासिक पढ्दै जाँदा विभिन्न ठाउँका शिक्षकहरूले लेखेका ‘मनका कुरा’ आदि लेखले मलाई पनि लेख्न हौस्याए । मेचीनगरबाट प्रकाशित हुने जनसंसद् दैनिकको स्तम्भकार नै भएकाले कसरी लेख्ने, के लेख्ने भन्ने खासै समस्या रहेन । सामुदायिक विद्यालयका शिक्षकले गर्ने राजनीतिलाई व्यङ्ग्य प्रहार गर्दै लेखिएको पहिलो लेख २०६७ को भदौ अंकको ‘मनका कुरा’ स्तम्भमा ‘राजनीति छाडौं’ भन्ने शीर्षकमा छापियो । यसबाट मलाई अझ् प्रेरणा मिल्यो, शिक्षक मा लेख्न । त्यसपछि पनि बेलाबेलामा लेखिरहें । विद्यार्थीलाई पनि लेखहरू सुनाइरहन्थें । विद्यार्थीहरू आफ्नो सरको लेख भनेर चाख मानेर सुन्थे, पढ्थे ।

शिक्षक  मासिकमा प्रकाशित रोचक, रमाइला र प्रेरणादायी लेखहरू पढ्न विद्यार्थीलाई सधैं अभिप्रेरित गर्थें । केही विद्यार्थी खुब चाख देखाएर टिफिन समयमा पनि पढ्थे । शिक्षक  ले २०६५ कात्तिकबाट ‘फुर्सद’ स्तम्भ अन्तर्गत शब्दखेल, अन्ताक्षरी, सामान्यज्ञान र सुडोकु जस्ता चाखलाग्दा स्तम्भको थालनी गर्‍यो । त्यसले विद्यार्थीलाई शिक्षक मासिकप्रति थप आकर्षित गर्‍यो । त्यसबाट विद्यार्थीमा चिन्तन गर्ने क्षमताको विकास हुने, शब्दहरूको ज्ञान बढ्ने कुराको विकास भएको मैले पाएँ । शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापहरूमा यी खेलहरू साह्रै लाभदायक देखिएका थिए । कक्षाकोठा रोचक र रमाइलो बनेको थियो । यस्ता खेलले विद्यार्थीमा खोज्ने, सोच्ने क्षमताको विकास हुन्छन् भन्ने कुरा मैले पनि महसूस गर्न सकें ।

वास्तवमा शिक्षक  मासिक शिक्षण पेशामा लागेका तमाम शिक्षकका साथै शिक्षा लिने विद्यार्थी र तिनका अभिभावक अनि सरोकारवाला सम्पूर्ण निकाय र पक्षहरूलाई लाभदायक खुराक बनेको छ । शिक्षक  मासिकले खोजेर, अनुसन्धान गरेर देशभरका विभिन्न विद्यालयले गरेका राम्रा–नराम्रा कुराहरू हामी सबैको माझ छर्लङ्ग पार्ने कार्य गरेको छ । यसले गर्दा राम्रालाई अझ हौसला र सम्मान मिलेको छ भने नराम्रालाई सजाय र सुध्रने मौका पनि । शिक्षकलाई जिम्मेवारी बोध गराएको छ । त्यसकारणले पनि शिक्षक  मासिक पढ्नु अपरिहार्य देखिन्छ । मेरो बुझाइमा त शिक्षक  मासिक शिक्षकलाई दिइने ‘पुनर्ताजगी तालीम’ नै हो । त्यसैले म त यस्तो ज्ञानको भण्डार पढ्न विद्यार्थीलाई पनि प्रेरित गरौं, अभिभावकलाई पनि झकझझक्याऔं र आफू पनि मासिक रूपमा नछुटाई पढौं भन्छु ।

मेचीनगर–१०, काँकडभिट्टा



 

commercial commercial commercial commercial