शिक्षाको गुणस्तर वृद्धिका तीन शर्त

विद्यार्थीका फरक सिकाइ क्षमता तथा सिकाइ शैली हुने भएकाले उपचारात्मक शिक्षण पद्धतिको समेत उपयोग गरी शिक्षण गर्नुपर्छ । उत्तरदायी शिक्षकहरू समस्या अर्कोतिर तेस्र्याएर पानीमाथि ओभानो बन्ने गर्दैनन् । आफूलाई परिवर्तन गरेर मात्र विश्व बदल्न सकिन्छ भन्ने मान्यता अनुसार कार्य गर्दछन् ।

सामुदायिक विद्यालयहरूको गुणस्तरका बारेमा धेरै गुनासा छन् । वास्तवमा नतीजाले पनि त्यस्तै देखाएको छ । अहिलेसम्म एसएलसी परीक्षाको नतीजालाई नै विद्यालयहरूको गुणस्तर मूल्याङ्कनको आधारका रूपमा लिने गरिएको छ । तर विद्यालय शिक्षाको गुणस्तर त्यसै उकासिंदैन; त्यसनिम्ति निम्न तीन कुरा जरूरी छन्ः पूर्वाधारयुक्त विद्यालय, उत्तरदायी शिक्षक र जिम्मेवार विद्यार्थी ।

१. विद्यालय पूर्वाधारः विद्यालय पूर्वाधारभित्र भौतिक संरचना, मानवीय स्रोत, शैक्षिक तथा शैक्षणिक सामग्री तथा प्रविधिसहितको विद्यालय भवन आदि पर्दछन् । वास्तवमा हाम्रा शिक्षकले जानेका र प्रयोग गर्न चाहेका धेरै विधि, प्रक्रिया, क्रियाकलापहरू कक्षाकोठाको साइज, फर्निचर, विद्यार्थी संख्या आदिका कारण प्रभावित भएका छन् । उदाहरणका लागि लाइन बसाइमा टम्म भरिएका कक्षाहरूमा सामान्य समूह अभ्यास समेत गर्न अप्ठ्यारो हुने, फर्निचर चलाउन नमिल्ने वा चलाउँदा हल्ला बढ्ने तर ठाउँ नपुग्ने, शिक्षक कक्षाको सबै कुनामा पुग्न नसक्ने भएकाले विद्यार्थीका कार्यहरूको अनुगमन, सुपरीवेक्षण तथा पृष्ठपोषण गर्न कठिनाइ छ । शिक्षा नियमावलीले प्रति कक्षा हिमाल, पहाड र तराईमा क्रमशः ४०, ४५ र ५० जना विद्यार्थीहरूको आधार तोकेको छ । तर कतिपय विद्यालयहरूमा एउटा कक्षामा १०० भन्दा बढी विद्यार्थी राखेर शिक्षण गर्नुपर्ने बाध्यता छ । कतिपय विद्यालय भने न्यूनतम संख्या २० लाई आधार मान्दा पनि विद्यार्थी संख्या नपुगेका कारण गाभिनुपर्ने भएका छन् । यसरी एकातिर विद्यार्थीको वितरण समानुपातिक छैन भने अर्कातिर विद्यार्थी संख्या अनुसार कक्षाकोठाको आकार अत्यन्त सानो छ ।

जस्तै कि एउटा माध्यमिक तहको विद्यार्थीका लागि एक वर्गमीटरको ठाउँ पुग्ने गरी कक्षाकोठा निर्माण गरिनुपर्छ । त्यसैगरी फर्निचर, शौचालय, धारा पानी, हावा, प्रकाश, खेल्ने मैदान, साइकल स्ट्याण्ड, छात्राहरूका लागि चेञ्ज रुम, पानी तथा हावाहुरीबाट हल्ला नहुने छाना, तराईमा पंखा जस्ता भौतिक सुविधा र संरचनाहरू हुनुपर्छ । बालमैत्री विद्यालयका लागि कालोपाटीको निर्माण, सामग्री सजावट, अपाङ्गमैत्री भ¥याङ्ग जस्ता पूर्वाधारहरूको निर्माणका साथै कक्षाकोठामा शिक्षण–सिकाइका क्रममा आवश्यक पर्ने सामग्रीहरूको उपलब्धता आवश्यक हुन्छ । पुस्तकालय, हरेक कक्षामा विद्यार्थीहरूका लागि उपयोगी सन्दर्भ सामग्रीसहितको पुस्तक कुनाको व्यवस्था, विज्ञान तथा अन्य विषयका प्रयोगात्मक सामग्रीसहितका प्रयोगशाला, रेडियो, टेप रेकर्डर, टीभी, कम्प्युटर, इन्टरनेट, फोटोकपी, क्यामेरा, घडी आदि प्रविधिको उपलब्धता आवश्यक पर्छ । यस्ता सामग्रीको प्रयोगबाट शिक्षकले नयाँ–नयाँ क्रियाकलाप निर्माण गर्न सक्छन् भने विद्यार्थीहरू स्वनिर्देशित भई सिकाइ प्रक्रियामा आत्मनिर्भर बन्दै जान्छन् ।

२. उत्तरदायी शिक्षकः शिक्षकहरू उत्तरदायी र विद्यार्थीको सिकाइ उपलब्धिप्रति गम्भीर हुनैपर्छ । शिक्षकले आफ्नो कक्षा शिक्षण कार्य मात्र गरेर पुग्दैन । विद्यार्थीका वैयक्तिक भिन्नताका आधारमा फरक सिकाइ क्षमता तथा सिकाइ शैली हुने भएकाले वैयक्तिक शिक्षण सिद्धान्त अनुसार उपचारात्मक शिक्षण पद्धतिको समेत उपयोग गरी शिक्षण गर्नुपर्छ । तब मात्र सबैमा सक्रिय सिकाइका माध्यमबाट सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ । उत्तरदायी शिक्षकहरू समस्या अर्कोतिर तेस्र्याएर पानीमाथि ओभानो बन्ने गर्दैनन् । आफूलाई परिवर्तन गरेर मात्र विश्व बदल्न सकिन्छ भन्ने मान्यता अनुसार कार्य गर्दछन् । वास्तवमा शिक्षण एउटा पवित्र पेशा हो । एउटा शिक्षकले ठग्दा सयौं बालबालिकाको भविष्य बिग्रिन्छ । तसर्थ आफ्नो विषयको सिकाइ उपलब्धि बढाउनका लागि आवश्यक क्रियाकलाप, सामग्री, उपकरणको व्यवस्था, विद्यार्थी सहभागिता, निरन्तर पेशागत विकासका लागि अग्रसरता, कार्यमूलक अनुसन्धान, सरोकारवालाहरूको ज्ञानलाई उपयोग गर्ने, पेशागत सञ्जालको उपयोग, शैक्षणिक विधि प्रविधिको प्रयोग जस्ता विविध माध्यमबाट कार्यकुशलता, शैक्षिक उपलब्धि र विद्यालयको समग्र विकासमा योगदान गर्ने कार्य एउटा उत्तरदायी शिक्षकले गर्दछ ।

३. जिम्मेवार विद्यार्थीः धेरै शिक्षकहरू आजभोलि विद्यार्थीको निष्क्रियता बढेकोमा गुनासो गर्छन् । यस्तो निष्क्रियताका केही कारण छन् । पहिलो कुरा त शिक्षकले विद्यार्थी सक्रिय बन्नुपर्ने क्रियाकलाप निर्माण गरेकै हुँदैनन् । चूप लागेर बस्ने बानी परेको विद्यार्थी शिक्षकलाई आवश्यक परेका बेलामा मात्र फुर्तिलो बन्न सक्दैन । त्यसैले आफ्नो सिकाइप्रति स्वाभाविक रूपमा स्वतन्त्र रूपमा संलग्न हुने र सिकाइ सफलता वा असफलताका लागि स्वयंको भूमिका बढाउँदै सिकारु स्वायत्ततातिर उन्मुख हुने व्यवहार प्रदर्शन गर्नका लागि शिक्षकले परियोजना कार्य, खोज विधि, पुस्तकालय वा सन्दर्भ सामग्रीको अध्ययन, छलफल, अन्तरक्रिया, क्षेत्र भ्रमण अवलोकन, प्रयोगात्मक अभ्यास, इन्टरनेट तथा सञ्चारप्रविधिको उपयोग जस्ता विधि तथा उपायहरूको प्रयोगबाट सिक्ने वातावरण तयार पारिदिनुपर्छ । तब मात्र विद्यार्थीमा गरेर सिक्ने बानीको विकास हुन्छ । दोस्रो, केही बालबालिकालाई नैतिक दृष्टान्तबाट पनि कामप्रति जिम्मेवार बनाउन सकिन्छ । त्यसैगरी सफल विद्यार्थीका बानी व्यवहार बारेमा जानकारी गराउने, विश्व चर्चित महान व्यक्तिहरूका जीवनीका बारेमा चर्चा गर्ने गर्दा पनि उनीहरूको लगनशीलता बढ्न सक्छ । अर्को मुख्य कुरा हाम्रो पाठ्यक्रम सीपमूलक र श्रमप्रति आस्था जगाउने खालको हुनुपर्छ । पाठ्यसामग्री तथा अभ्यासहरू खोजमूलक हुनुपर्छ । शिक्षकले पुस्तकका अभ्यासहरूमा मात्र सीमित नरही थप अभ्यास निर्माण गर्ने गर्नुपर्छ ।
शैक्षिक तालीम केन्द्र, पाल्पा

commercial commercial commercial commercial