कविवर घिमिरेको काव्यचिन्तन

जीवनमा अनुभव सँगाल्दै जब साधक अगाडि बढ्छ, उसमा मान्यता, आधार र सिद्धान्त आफ्नै किसिमले तयार हुन्छन् । यसरी नै पूर्वीय तथा पश्चिमी काव्यमान्यताहरू तयार भएका छन्— ती मान्यता आफ्नै ठाउँमा छन् । कविवर घिमिरे दायाँ–बायाँ नहेरी निरन्तर साहित्यसाधनामा लाग्ने तपस्वी साधक हुन् । चौध वर्षको उमेरमा ‘वैराग्यपुष्प’ नामक रचनाबाट आफ्नो यात्रा शुरू गर्ने घिमिरेको काव्यसाधना ६ दशकभन्दा लामो भइसकेको छ । यति लामो साधनामय जीवनबाट दुई दर्जनभन्दा बढी पुस्तक जन्मिसकेका छन् । वार्णिक छन्द, गीतिलय अनि गद्यलेखनमा पनि उनका चिन्तनहरू प्रभावकारी रूपमा व्यक्त भएका छन् । निरन्तर कविता, काव्य, गीतिनाटक जस्ता साहित्यिक रचनाको सिर्जना गर्दा उनी काव्यसिद्धान्तका सर्जक पनि बनेका छन् । काव्यसिद्धान्त सम्बन्धी ‘आफ्नो बाँसुरी आफ्नै गीत’ नामक पुस्तक पनि प्रकाशित छ । यसका आधारमा पनि उनका काव्यसम्बन्धी धारणा बुझन सकिन्छ । त्यति मात्र होइन, ‘चारु चर्चा’ जसमा कविवर घिमिरेका अनेक साहित्यिक व्यक्तित्वका कृतिहरूमा भूमिकाका रूपमा व्यक्त भएका धारणाहरूले पनि उनको काव्यसिद्धान्त, काव्यचिन्तन र चिन्तक व्यक्तित्व प्रस्फुटित भएको छ । उनका चिन्तनहरू परिमार्जित रूपमा नेपाली पाराले, आस्था र विश्वासमय धारणाले ओतप्रोत छन् । त्यस्ता काव्यमान्यता नेपालका लागि, नेपालीका लागि उपयोगी पनि छन् । भविष्यमा यस्ता चिन्तनले नेपाली काव्यशास्त्रलाई मार्गदर्शन गर्न पनि सघाउँछन् भन्ने मलाई लाग्छ ।


कविवर घिमिरेका दृष्टिमा हारमा रुनु र जितमा हाँस्नु जिन्दगीको लक्ष्य होइन । जीवनका लागि हार र जित दुवै आवश्यक छन् । रचनामा हार र जित दुवैको कदर हुनुपर्छ भन्ने कविको धारणा छ ।

काव्यसिद्धान्त
– कवितामा, गीतमा र गद्यमा पनि उनले काव्यबारे, कविताबारे अथवा भनौं साहित्यबारे निकै बोलेका छन्, लेखेका छन् । ती सबैको लेखाजोखा यहाँ सम्भव नभए पनि मोटामोटी रूपमा चर्चा गर्नु उपयुक्त हुन्छ । उनका केही सैद्धान्तिक भनाइ हुन्—
– म कवितालाई प्राचीन पनि मान्दिनँ र आधुनिक पनि मान्दिनँ । वास्तवमा कविताको आत्मा चिरनवीन हुन्छ । देवकोटाको ‘मुनामदन’, रवीन्द्रनाथको ‘चित्राङ्गदा’, कालिदासको ‘मेघदूत’ र ऋग्वेदको ‘उषसूक्त’ जति पढे पनि म अघाउन्नँ । शाश्वत तृप्ति दिने कला पनि शाश्वत नै हुन्छ ।
– अभिव्यक्तिका शतद्वार कहिले कतातिर उघारिन्छन् भन्न सक्तिनँ । वसन्त जति वर्ष आए पनि नवीन नै बन्छ; अनि हामी आज जे लेख्छौं त्यो भोलि पनि नवीन हुन सक्छ ।
– समय त लय हो जहाँ लयभङ्ग हुन्छ त्यहाँ कविता रचिन्न । कविता लेख्नु छ भने म तीन दिनदेखि अल्छी बन्छु ।
– कविताको खेस्रा गर्नु तपस्या हो; कविताको साफी प्रार्थना हो । सामान्यतया एक कविता लेख्न म तीन दिन लगाउँछु । पहिलो दिन बतास बन्छु दोस्रो दिन श्वास बन्छु र तेस्रो दिन बाँसुरीको आलाप बन्छु ।
– यस्ता चिन्तन, अनुभूति नेपाली काव्यजगतका लागि प्रेरणादायी छन् । उनी गद्यमा अभिव्यक्ति दिन्छन् तर त्यस्ता अभिव्यक्तिलाई कविता भन्दैनन् । छन्दका पक्षपाती भए पनि छन्द नै कविता हो उनी भन्दैनन् । छन्दको रचना कण्ठस्थ गर्न सजिलो हुन्छ । भानुभक्तीय रामायण गद्यमा लेखिएको भए घाँसे, दाउरे, गोठाला, खेतालाले गाउन सक्ने थिएनन्; भानुभक्त त्यति लोकप्रिय हुने थिएनन् भन्ने धारणा उनको छ ।

काव्यचिन्तन
कविवर घिमिरे जीवनजगतलाई कसरी हेर्छन् ? उनका रचनामा हेरौं—
जिन्दगी यो फूलैफूल हो
यो पनि हामी भन्दैनौं
जिन्दगी यो भूलैभूल हो
यो पनि हामी मान्दैनौं
कविवर घिमिरेका दृष्टिमा हारमा रुनु र जितमा हाँस्नु जिन्दगीको लक्ष्य होइन । जीवनका लागि हार र जित दुवै आवश्यक छन् । रचनामा हार र जित दुवैको कदर हुनुपर्छ भन्ने कविको धारणा यस्तो छ—
हार यो बायाँ पाउ होस्
जीत यो दायाँ पाउ होस्
हार र जीत दुवैले
लैजाने यौटै ठाउँ होस्
कविवर घिमिरे लोकलयमा मात्र होइन, वार्णिक छन्दमा पनि आफ्ना काव्यचिन्तन अत्यन्त प्रभावकारी रूपले व्यक्त गर्छन् । उनी थोरै शब्दमा धेरै भन्न चाहन्छन्, धेरै शब्दमा थोरै होइन । उनी लेख्छन्—
मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ

हुन पनि कविवर घिमिरेका कृतिमा कृति सानो भए पनि भाव र कल्पना टम्म हुन्छ । जस्तो काव्यसिद्धान्त छ त्यस्तै प्रयोग पनि छ । कुनै पनि कृति कठिन शैली वा शब्दमा हुँदैमा महत्वपूर्ण हुने होइन; सरल, सुबोध हुनुपर्छ भन्ने धारणा पनि निकै प्रभावकारी छ । सरल रचनामा पनि गहन भाव समेट्न सकिन्छ भन्ने सिद्धान्त अनुसार कविवर घिमिरे चलेका देखिन्छन् । हेरौं, केही सूक्तिहरू जो सरल भएर पनि भावगहन छन्, जस्तै—

मेरै धौलागिरि शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझ्ै छैन मैले सकेको
(वैशाख)
यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिंड्छन् पथिक, अरूको दर्द को आज सुन्छ
(कालीगण्डकी)
यो छायाँ छवि क्यै ह्वैन भन्न सक्तछु मै पनि
सुख र दुःख सञ्चित गर्छु यत्नले तैपनि
ŠŠŠ
मानिस जस्तो अमर मैले देखिनँ क्यै पनि
सिर्जना जस्तो सुन्दर मैले देखिनँ क्यै पनि
(गीतिकविता)
आएर कैल्यै ऋतु सिद्धिंदैन
लाएर माया मुटु रित्तिंदैन
(राष्ट्रनिर्माता)
यौटा मानिस जो गयो— हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो— हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरू के भनूँ !
(गौरी)

यस्ता अभिव्यक्ति उद्धरण गरेर साध्य छैन; जति पनि उद्धरण दिन सकिन्छ । अत्यन्त परिष्कृत भाव उनका सूक्तिमय कवितामा भेटिन्छ । जति पढे पनि पढिरहूँ, जति सुने पनि सुनिरहूँ जस्ता अभिव्यक्तिले उनी लोकप्रिय बनेका छन् ।

काव्यचिन्तनका स्रोत
एकातिर उनले पूर्वीय तथा पश्चिमी साहित्यसिद्धान्त पढे । पूर्व पूर्व नै हो र पश्चिम पश्चिम नै हो । नेपाली जनजीवनमा यथावत् रूपमा यी सिद्धान्त अनुकूल नहुन पनि सक्थे । त्यसैले खास गरी लोकजीवनलाई उनले आत्मसात् गरे । लोकपद्य सुनेर सरलता, सरसता, रोचकता जस्ता आधार आँगालेर अभिव्यक्ति दिंदै गए । ‘इन्द्रेनी’, ‘कविता’ जस्ता पत्रिकाको सम्पादन गर्दा काव्य सम्बन्धी चिन्तन सम्पादकीयका रूपमा व्यक्त गर्दै गए । साहित्यिक अन्तर्वार्ता र अरू कतिपय साहित्यिक पुस्तकको भूमिका लेख्दा पनि उनले आफ्ना सिद्धान्तहरू, आफ्ना विचार तथा भावनाहरू व्यक्त गर्दै गए । ठाउँठाउँमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्ने क्रममा पनि काव्य सम्बन्धी प्रवचन उनले दिए । लामो जीवनयात्रामा हतार नगर्दा पनि केही न केही ठोस वस्तु तयार हुँदोरहेछ । काव्य वा साहित्य सम्बन्धी चिन्तन कविवर घिमिरेका निकै छन्; तिनलाई संकलित गरेर पूर्वी तथा पश्चिमी ठेकीमा राखेर, मथेर नेपाली साहित्यशास्त्ररूपी नौनी निकाल्न सकिन्छ । यस दिशामा यो घचघच्याउने एउटा प्राथमिक प्रयास मात्र हो ।

निष्कर्ष
कविवर घिमिरेले केही कथा पनि लेखे, केही निबन्ध पनि लेखे तर कथाकार र निबन्धकारका रूपमा उनले प्रतिष्ठा पाउन सकेनन् । सबै विधामा उत्तिकै समर्पण हुन्छ, सफलता मिल्छ भन्ने केही छैन । बालसाहित्य, गीतिकविता, वार्णिक छन्दका कविता र काव्य, गीतिनाटक जस्ता क्षेत्रमा कविवर घिमिरेले अतुलनीय सफलता पाएका छन् । नेपाली पाठकले असाध्य मन पराउँछन् । यसरी पाठकको माया पाउने साहित्यकार धन्य हुन्छ । अमर हुन्छ । त्यो अमरता उनले जीवनकालमै अनुभव गर्न पाएका छन् । राष्ट्र, राष्ट्रियता, देश र समाजबारे चोखा विचार व्यक्त गरेर उनी थाक्दैनन्, अभिव्यक्तिलाई नेपाली पारामा सिंगार्न पनि उनी खप्पिस छन् । पद्य र गीति कवितालाई स्वच्छ झ्र्ना र मुहुनीदार प्रवाह बनाउन उनी सफल छन् । उनका सिर्जना जति पढे पनि पट्यार लाग्दैन । उनी लेख्छन्—

नेपालीका दिल दिल नयाँ ज्योति सल्काइदिन्छु
नौलो आशा नवरस नयाँ चाख पल्काइदिन्छु
पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु
हाम्रो झ्ण्डा अनि हिमचुली माथि झ्ल्काइदिन्छु
यस्ता उच्च राष्ट्रिय चिन्तनले युवाहरूमा उत्साह र जाँगर थप्छन्; प्रेरणा र हौसला दिन्छन् । उनी युवकहरूलाई भन्छन्—
छिः यो वेला नबस घरमा निस्क आलस्य फाली
हे तन्नेरी, उठन पृथिवी तीन बित्ता उचाली


यस्ता उच्च चिन्तनका धनी कविवर घिमिरेको काव्यचिन्तनबारे केही लेख्दा पनि आनन्दको अनुभव हुन्छ । उनका काव्यचिन्तनलाई एकत्रित गरी नेपाली काव्यशास्त्र तयार गर्नुपर्छ । यो काम समयले गर्नेछ । सधैं सिर्जनामा रमाउने, साधनामा प्रसन्न हुने कविवर घिमिरेका यी शब्दबाट अभिनन्दन गर्दै कलम रोक्छु ।

मेरो सच्चा सुख छ, दिनहूँ क्यै नयाँ सिर्जनामा
आफैंलाई पनि सिर्जनको सोखमा बिर्सनामा


साभारः कविवर माधव घिमिरे अभिनन्दन ग्रन्थ, २०६०

commercial commercial commercial commercial