अभिभावक परिचालन गर्ने रैथाने उपाय

शिक्षा ऐन २०२८ को सातौं संशोधनबाट विद्यालय व्यवस्थापनमा विकेन्द्रीकरणको सुरुआत गरिएपछि विद्यालयमा अभिभावकको भूमिका बढेको हो । अहिले विद्यालयलाई समुदायको एउटा सम्पदाको रूपमा स्वीकार गरिएको छ र अभिभावकको समन्वय विना विद्यालय सुधार हुन सक्दैन भन्ने मान्यता स्थापित भइसकेको छ । शिक्षक  को भदौ अंक (२०७०) ले पनि यो कुरालाई प्रष्ट गरेको छ । यही परिप्रेक्ष्यमा आफूलाई राम्रो बनाउन विद्यालयहरूले कसरी अभिभावकलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्छन् वा विद्यालय समुदायको सम्बन्ध कसरी अझ् धेरै अर्थपूर्ण बनाउन सकिन्छ वा विद्यालय अभिभावक सम्बन्धमा के कस्ता अवसर तथा चुनौतीहरू छन् भन्ने विषयमा समुदाय र विद्यालय तहबाट विकास गरिएका साझ बुझइ र प्रभावकारी अभिभावक परिचालनका रैथाने उपायहरूका बारेमा छोटकरीमा विश्लेषण गर्ने प्रयत्न यहाँ गरिएको छ ।

विद्यालय विकास र सुधारमा अभिभावकको भूमिका अहिलेसम्म पनि अपेक्षित तहमै सीमित छ । शिक्षासँग सम्बन्धित प्रायः सबै डकुमेन्टहरूले विद्यालय विकासका लागि अभिभावकको साथ, समन्वय र सहयोगलाई अनिवार्य मानेका छन् । तर नेपालका सबै विद्यालयहरू यसमानेमा भाग्यमानी छैनन् । आफ्ना बच्चा संस्थागत विद्यालयमा भर्ना गरी सरकारी विद्यालय र शिक्षकहरूको मानमर्दन तथा खिसीट्युरी गर्ने अभिभावक प्रशस्त भेटिन्छन् भने वास्तविक रूपमा विद्यालय विकासका लागि आफ्नो स्वार्थ रहित भूमिका प्रदर्शन गर्ने अभिभावकहरू कमै भेटिन्छन् । अभिभावकहरू सबै स्वजागृत नहुन सक्छन् ।

विद्यालय विकासमा आफ्नो भूमिका सबैले थाहा नपाएका हुन सक्छन् । त्यसकारण अभिभावक परिचालनका लागि विद्यालयको अगुवाइमा केही जागृतिमूलक क्रियाकलापहरू गर्नु जरूरी देखिन्छ ।

विद्यालयले अभिभावक परिचालन गर्ने कार्यक्रम बनाउनु अघि अभिभावक को हुन् ? विद्यालयबाट उनीहरू के चाहन्छन् ? र, विद्यालय विकासमा उनीहरूको प्रष्ट भूमिका के हुन सक्छ भन्ने विषयमा आफू प्रष्ट हुने र अभिभावकलाई प्रष्ट पार्ने काम गर्नु जरूरी हुन्छ ।


जस्तासुकै अभिभावक पनि आफ्ना बच्चाको राम्रो भविष्य चाहन्छन् । औपचारिक शिक्षा नभए पनि उनीहरूसँग प्रकृतिप्रदत्त चेतना अवश्य हुन्छ । आफ्ना बच्चा पढ्ने विद्यालय अरूभन्दा राम्रो होस्; शिक्षकहरू नियमित कक्षामा आउन्, उनीहरू सिपालु र सहयोगी होऊन् भन्ने चाहन्छन् । अर्थात्, आफ्ना बच्चाको सफलता र राम्रो चाहने स्वभाव सबै अभिभावकमा हुन्छ । अभिभावकको यही विरासतलाई विद्यालयले उपयोग गर्न सक्नुपर्दछ ।

जस्तोसुकै अभिभावक पनि आफ्ना बच्चाको राम्रो भविष्य चाहन्छन् । उनीहरू विद्यार्थीले राम्रो प्रतिफल, सिकाइ उपलब्धि वा परीक्षाफल हासिल गरेको हेर्न चाहन्छन् । औपचारिक शिक्षा, डिग्री वा विशेष तालीम नभए पनि उनीहरूसँग प्राकृतिक–मानवीय चेतना अवश्य हुन्छ । उनीहरू विद्यालयमा शिक्षकहरू नियमित होऊन्, उम्दा र सिपालु होऊन्, सहयोगी र मिजासिला होऊन् भन्ने चाहन्छन् । आफ्ना बच्चा पढ्ने विद्यालय अरू विद्यालय भन्दा राम्रो होस् र यसको नाम वा ख्याति चलोस् भन्ने चाहन्छन् । व्यक्तिगत स्वभाव जस्तोसुकै भए पनि आफ्ना बच्चालाई केन्द्रमा राखेर उसको सफलता र राम्रो चाहने स्वभाव सबै अभिभावकमा हुन्छ । अभिभावकको यही विरासतलाई विद्यालयले उपयोग गर्न सक्नुपर्दछ ।

अभिभावकले विद्यालयका लागि गर्न सक्ने सकारात्मक भूमिकाको दायरा सीमित छैन । कतिपय विद्यालयमा गरिएको अनुभवका आधारमा अभिभावकका केही भूमिकालाई यसरी उल्लेख गर्न सकिन्छः

  • विद्यालयका लागि सुपरीवेक्षक, निरीक्षक र निगरानीकर्ताको रूपमा काम गर्ने
  • बालबालिकाका लागि प्रगतिका मानकको रूपमा काम गर्ने
  • विद्यालय समय र क्षेत्र बाहिर शिक्षकको रूपमा काम गर्ने
  • विद्यालयलाई आवश्यक पर्ने विभिन्न सहयोग उपलब्ध गराउने
  • शिक्षकका लागि आत्मविश्वास बढाउने उत्प्रेरकको काम गर्ने
  • विद्यालयको दीर्घकालीन सोचाइ र रणनीति (vision) र (Stragegy) अनुसार चल्न सक्ने सारथिको रूपमा काम गर्ने
  • आफ्नो दृष्टिकोण र योजना (vision) अनुरुप विद्यालयलाई हिंडाउन सक्ने नेताको रूपमा काम गर्ने
  • संरक्षकको रूपमा काम गर्ने
  • पृष्ठपोषकको रूपमा काम गर्ने
  • सकारात्मक परिवर्तन र विकासका लागि दबाब समूहको रूपमा काम गर्ने
  • स्थानीय पाठ्यक्रमका लागि डिजाइनकर्ताको रूपमा काम गर्ने
  • स्थानीय पाठ्यक्रम जस्ता कतिपय सान्दर्भिक विषवस्तुका लागि महत्वपूर्ण स्रोतव्यक्तिको रूपमा काम गर्ने
  • सबैभन्दा ठूलो समन्वयकर्ताको रूपमा काम गर्ने
  • विद्यालयको असली स्वामित्ववालाको रूपमा रहने
  • संस्कृति र परम्पराको जिउँदो र खुला उदाहरणको रूपमा काम गर्ने ।
  • विद्यालयमा आवश्यक नीति निर्माण गर्न प्रमुख भूमिका खेल्ने
  • सबैखाले स्रोतको जोहो र परिचालनमा भूमिका खेल्ने आदि ।

यस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अभिभावकहरू विद्यालय वरिपरि हुँदाहुँदै पनि विद्यालयहरूले अपेक्षित नतीजा हासिल गर्न सकिरहेका छैनन् । जुन विद्यालयले उपर्युक्त भूमिका सहित अभिभावकहरूको साथ–संगत पाएका छन् तिनका विद्यालय राम्रा भएका छन्, जसले पाएका छैनन् तिनका विद्यालय बिग्रिएका छन् र बिग्रिंदैछन् । त्यसकारण उचित भूमिका सहित अभिभावकहरूको परिचालन विद्यालयहरूका लागि अवसर र चुनौती दुवै रूपमा देखिएको छ ।

विद्यालयमा अभिभावकको भूमिका सुनिश्चित गर्न कानूनी रूपमै पनि कतिपय प्रावधानहरू राखिएका छन् । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन, सामाजिक परीक्षणको अनिवार्य व्यवस्था, विद्यालय सुधार योजना निर्माण र त्यसमा आधारित खर्च प्रणाली आदि केही उदाहरणहरू हुन् । यी प्रावधानले मात्रै विद्यालयका लागि अभिभावकको परिचालन वान्छनीय तहमा हुन सकेन । यही नै अहिलेको मूल समस्या हो । यही समस्यालाई चिर्दै विद्यालयको समग्र उन्नति, प्रगति र समृद्धिका लागि अभिभावक परिचालन गर्न देहायका उपायहरू सहायक हुन सक्छन्:

  • बालबालिकासँग एक दिन कार्यक्रम
  • विद्यालयका लागि मिनेट दान
  • आज मेरो पालो
  • अभिभावक दिवस
  • वर्णानुक्रम पद्धतिबाट विद्यालय निरीक्षण
  • मसान्त मन्थन कार्यक्रम
  • Beyond School कार्यक्रम
  • म सक्छु घोषणा कार्यक्रम
  • बिहेमा ‘विद्यालय विकास चार’
  • विद्यालय अभिभावक फोनिङ कार्यक्रम
  • जन्म दिनमा बिरुवा कार्यक्रम आदि ।

यी क्रियाकलापहरू कुनै शिक्षाविद्द्वारा प्रतिपादित होइनन्, न त कुनै पश्चिमी किताबबाट साभार गरिएका हुन् । यी स्थानीय विद्यालय तथा समुदाय तहमा भोगेका अनुभव र सिकेका पाठका आधारमा प्रतिपादित गरिएका हुन् ।

यस्ता थुप्रै क्रियाकलापका अभ्यासबाट रुकुम जस्तो दुर्गम जिल्लाका कतिपय विद्यालयहरू नाटकीय रूपमा राम्रा भएका छन् । विद्यालय व्यवस्थापन समितिबाट आवश्यक कार्यविधि निर्माण गरी अभ्यास गर्न सके यस्ता रैथाने उपायहरू देशैभरिका विद्यालयहरूका लागि मार्गदर्शक बन्न सक्दछन् । खाँचो केवल जागरुपता र क्रियाशीलताको छ ।

विद्यालय निरीक्षक, जिल्ला शिक्षा कार्यालय, रुकुम

शिक्षक  मासिक, २०७० असोज अंकमा प्रकाशित । 

commercial commercial commercial commercial