हाम्रो शिक्षा सन्दर्भमा डा. बु्रनरका विचार

सोभियत संघले अन्तरिक्षमा स्पुतनिक यान प्रक्षेपण गरेको र त्यसबाट अमेरिकामा हलचल मच्चिई शिक्षामा सुधारका निम्ति आफ्नो पाठ्यक्रम परिवर्तन गरेको सन्दर्भलाई जोडेर ‘शिक्षामा राजनीतिः नेपालको प्रमुख चुनौती’ शीर्षक दिएर मैले अघिल्लो वर्ष एउटा लेख लेखेको थिएँ । शिक्षक  मासिकको २०७० भदौ अंक पढेपछि त्यसरी अमेरिकाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको सिकाइ प्रक्रियामा धारणात्मक परिवर्तन ल्याउन गरिएको प्रयासका अगुवा डा. जेरोम बु्रनर रहेका र उनको पुस्तक ‘प्रोसेस अफ एजुकेशन’ मा विद्यार्थीमा पढाइप्रति कसरी रुचि जागृत गर्ने र त्यसका लागि कस्तो पाठ्यक्रम चाहिन्छ भन्ने सन्दर्भमा लेखिएका ८ वटा बुँदाहरू गहन रूपमा अध्ययन गर्ने अवसर प्राप्त गरें । यति हुँदा पनि यस विषयमा मेरो कलम चल्नेवाला थिएन तर अन्त्यमा सम्पादकद्वारा लेख्नका लागि गरिएको अनुरोधले मलाई उद्वेलित बनायो ।

खिया लागेको शिक्षण विधि
हामीले कक्षाकोठामा अनेक खाले शिक्षण विधिको प्रयोग गर्छौं । विधिको नाममा विषयवस्तु फराकिलो नपारी साँघुरो पार्छौं वा यो विधि पुरानो, आधुनिक विधिको प्रयोग भएन, यसमा सुधार गर्नुहोस् जस्ता टिप्पणी हाम्रा शैक्षिक परामर्शदाताबाट पाउँछौं । व्याख्यान विधिद्वारा नै शिक्षण गरिएको भएतापनि हामीले विषयवस्तुको गहनतालाई अझ् जटिल बनाइ हाम्रो स्वास्थ्यको निम्ति खाइएको खानाले विधि र प्रक्रिया नपुर्‍याएकोले कब्जियत सिर्जना गर्छौं । त्यसैले मलाई लाग्छ कुनै पनि विषयवस्तुका लागि यो अन्तिम वा विकल्परहित विधि छैन । एउटा विधि वा उपमाद्वारा र उदाहरणद्वारा सिकाउँदा कुनै विद्यार्थीलाई सहज लागेमा अर्कालाई दुर्बोध्य वा कठिन लाग्न सक्छ । यसर्थ विषयवस्तु अनुरूप नयाँ वा पुराना जे जस्ता भए पनि विद्यार्थीको उमेर र रुचिलाई सम्बोधन हुने गरी विधिको प्रयोग गर्नुपर्दछ ।

विद्यार्थीको आँखाबाट हेर
अपवादलाई अलग राख्दा आम विद्यार्थीलाई कक्षाकोठाकै वातावरणमा प्रभावकारी शिक्षण र विषय केन्द्रित गर्न सकिन्छ । किनकि उनीहरू सिक्नका लागि त्यहाँ मानसिक रूपमा तयार रहन्छन् । हामी शिक्षकले उनीहरूलाई आफूमा विद्यार्थी हुँदा हामीमा पनि केही उच्छृङ्खलता थियो, गल्ती गथ्र्यौं, केही विषय सजिला र रोचक लाग्थे भने कुनै विषय र सरको नाम सुन्नासाथ डर लाग्थ्यो भन्ने कोणबाट हेर्न सक्नुपर्छ । हामीले विद्यार्थीलाई उनीहरूको स्पन्दन छुने खालको भाषा प्रयोग गरेर सिकायौं भने अवश्य सिक्छन् । हामी अनुभवले सिक्ने शिक्षक हौं भने विद्यार्थी शिक्षकले कक्षाकोठामा गरेको अभिनयबाट सिक्ने हुन् । पहिलेको तुलनामा विद्यार्थीको ज्ञानको स्तर बढ्दैछ । त्यसैले हामीले आफ्ना जमानामा कक्षा ४ मा पुगेर पढेको ब्, द्य, ऋ, म् र ज्ञ, द्द, घ, द्ध आज हामी बेर्नाकालका विद्यार्थीलाई सिकाउँछौं । त्यसैले कुनै विषय सिकाउनको लागि कुनै फलानो कक्षा नै कुर्नुपर्ने होइन मात्र पढाइको विषयवस्तु र विधिलाई सरल सुगम ढङ्गले प्रस्तुत गर्ने कला मात्र जरूरी हो ।


डा. बु्रनरका अनुसार हाम्रा विद्यालयमा अनुमानलाई प्रायः दण्डनीय मानिन्छ तर अनुमान पनि सत्यताको नजिक हुन्छ । अनुमान गर्दै थप अगाडि बढेमा सही उत्तरमा पुग्छौं तर हामी शिक्षकले त्यसको उपयोग गर्दैनौं, अब यसो गरिनुहुँदैन ।

पुरस्कार र दण्ड दुवै खतरनाक
पुरस्कार र दण्डले सिकाइको भूमिकालाई प्रभाव पार्छ भन्ने मान्यताका आधारमा विद्यालयले यो विधिलाई अवलम्बन गरेको पाइन्छ । यसमा मेरो अनुभव के छ भने; कक्षामा राम्रो गर्ने विद्यार्थीलाई उत्प्रेरित गर्न र सिकाइलाई दिगो बनाउन भनेर उत्तर जान्ने विद्यार्थीलाई चकलेट दिने नियम बनाएँ । केही दिन यो कार्य सम्भव भयो तर के अनुभव गरें भने उस्तै उस्तै उत्तर दिएको विद्यार्थीलाई भन्दा ठ्याक्कै उत्तर मिलाएको विद्यार्थीलाई चकलेट दिंदा पछिल्लो विद्यार्थी हीनभावना, द्वेष, कुण्ठा जन्मिएको पाएँ । त्यसपछि चकलेटको सट्टा थपडी बजाउन लगाएँ । आफूले भन्दा केही बढी मिलाएकोमा आफ्नो साथीलाई थपडी बजाइदिन पनि अल्छी गरेको भेट्टाएँ । अनि उत्प्रेरणा र सबलीकरणका लागि बनेका सिकाइ सिद्धान्त निरर्थक बने जस्तो लाग्यो । वर्ष दिनमा एकचोटि पुरस्कार दिने; त्यो पनि नतीजा प्रकाशन भएको महीनौंपछि विद्यालयको वार्षिकोत्सवमा वितरण गरिएको पुरस्कारले कस्तो उत्प्रेरणा सिर्जना गर्ला ? शिक्षक मासिक साउन २०७० को अंकमा आलोपालो स्तम्भ अन्तर्गत सफलताका ६ खुट्किला शीर्षकको चेतन भगतको लेखमा लेखिएको छः ‘अभिप्रेरित हुनु भनेको नुहाए जस्तै हो । आज नुहाएर सधैंका निम्ति ज्यान चंगा हुँदैन । भोलि नुहाउनुपर्छ । पर्सि फेरि नुहाउनुपर्छ । अभिप्रेरणा पनि त्यस्तै हो ।’ यहाँ हामीले अभिप्रेरणालाई पुरस्कारको रूपमा लियौं भने के हाम्रो जस्तो सन्दर्भमा बारम्बार पुरस्कार सम्भव होला वा ‘ब्’ भन्ने विद्यार्थीलाई दिएको पुरस्कार उसकै नजिक पुगेको तर केही अंक नपुगी दोस्रो भएको विद्यार्थी ‘द्य’ लाई नदिंदा उसमा सिर्जिएको भावनाको अपेक्षा कस्तो होला ? पुरस्कारले उत्पन्न, उत्साह र दण्डको डरले गरेको मिहिनेत के सधैंका लागि अध्ययनशील बानीमा परिणत होला वा ती कुरा छुट्नासाथ यी पनि छुट्लान् ? यी उपायबाट केही सुधार आउला ? जतिवेला विद्यार्थी आफूले पढ्दा, लेख्दा वा क्रियाकलाप गर्दा सोही काममा आफूमा बिर्सन सक्दैन वा काममा आनन्दको अनुभूति गर्न सक्दैन त्यतिवेलासम्म सिकाइ दिगो हुँदैन ।

जोड रटाइमा होइन अन्तज्र्ञानमा
आजकल हामी शाब्दिक, घोकन्ते, परीक्षामुखी शिक्षणमा केन्द्रित छौं । सुगारटाइको विधिद्वारा कक्षा सञ्चालन हुन्छ । त्यसैले होला संस्थागत विद्यालयबाट विशिष्ट नतीजा प्राप्त गरेका भन्दा सामुदायिक विद्यालयबाट द्वितीय श्रेणीमा उत्तीर्ण गरेकाहरू कलेजको अध्ययनमा उम्दा रहेको । हामीले अन्तज्र्ञानलाई जोड दिंदैनौं । कुनै विषयवस्तुमाथि तर्क, वितर्क, चिन्तनमनन, वाद, प्रतिवाद गर्न प्रशस्त समय दिनुको अलावा छोटो विधि वा बाटो रोज्छौं । अन्तज्र्ञानात्मक सिकाइ समस्या केन्द्रित हुन्छ । विश्लेषणात्मक सोचको विकास गर्छ । त्यसैले विद्यार्थीमा सुखमा नफुर्किने र दुःखमा नआत्तिने गुणको विकास हुन्छ ।

न्तज्र्ञानात्मक सिकाइका लागि घोत्लिन समय र सामग्री प्रशस्त उपलब्ध गराउनुपर्दछ । विकल्प दिनुपर्छ र समाधान खोज्न लगाउनुपर्छ ।

अनुमानलाई प्रोत्साहन
हामीले विद्यार्थीहरूबाट सदा सही उत्तरको मात्र अपेक्षा राख्छौं । उनीहरूभित्रको अन्तज्र्ञान वा बौद्विकताको कम खोजी गर्छौं । विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न उनीहरूलाई शिक्षकले सुराक दिंदै अनुमानतिर र अन्त्यमा सही उत्तरतर्फ लैजाँदैनौं । जस्तै नेपालमा चिया खेती गरिने प्रमुख जिल्ला कुन हो ? भनी सोधिएको प्रश्नमा शिक्षकले यो नेपालको सुदूर पूर्वी भागमा पर्छ ।

सपछि पनि विद्यार्थीले सही उत्तर दिन नसकेमा मेची अञ्चलमा पर्छ भनी दिंदा वा विद्यार्थीले सुदूर पूर्वको कुनै जिल्लाको नाम भनेको खण्डमा त्यसबाट क्रमशः गर्दै इलाम जिल्ला पुर्‍याएर ठेगान लगाउँदैनौं । अथवा विद्यार्थीको अनुमानले झापा जिल्ला भनिएमा त्यसलाई पूरै बेठीक सम्झ्न्छौं । हामीले विद्यार्थीको अनुमानले झपा जिल्लामा चियाखेती गरिए तापनि सबभन्दा बढी खेती इलाममा गरिन्छ भनेर उसको बौद्विकतालाई साथ दिंदैनौं । डा. बु्रनरका अनुसार हाम्रा विद्यालयमा अनुमानलाई प्रायः दण्डनीय मानिन्छ तर अनुमान पनि सत्यताको नजिक हुन्छ । केही अगाडि बढेमा सही उत्तरमा पुग्छौं तर हामी शिक्षकले त्यसको उपयोग गर्दैनौं, अब यसो गरिनुहुँदैन ।

रुचि तात्कालिक र दीर्घकालीन ?
कुुनै विषयवस्तु, व्यक्ति, अवस्था वा क्रियाकलापप्रतिको चाहना वा झुकावलाई रुचि भनिन्छ । जसको प्रभाव स्वरूप ती तत्वहरूप्रतिको मन नपराउने, तटस्थ रहने वा मन पराउने प्रतिक्रिया व्यक्त हुन्छ । हामीले विद्यार्थीमा कविता, कथा सुनाएर, गीत गाएर हाँसठट्टा गरेर कक्षा शिक्षणको वातावरणमा तत्कालीन रुचि मात्र सिर्जना गर्दछौं । उनीहरूको दीर्घकालीन रुचि खोज्दैनौं । आफ्ना बाबुको रुचि अनुसार पारिजात डाक्टर बन्नुपथ्र्यो तर पारिजात आफ्नो रुचि अनुसार साहित्यकार बनिन् ।

चाल्र्स डार्विन पिताजीको रुचि अनुसार पादरी, सैनिक वा डाक्टर बन्नुपथ्र्यो तर आफ्नो मनभित्रको रुचि अनुसार उनी प्राणीशास्त्री बने । यी सम्पूर्ण कुरा उनीहरूमा भएको दीर्घकालीन रुचिले गर्दा हो । ‘ममी र ड्याडी’ को इच्छा पूरा गर्न विज्ञान पढ्ने विद्यार्थी न त डाक्टर हुन्छ न त जीवनमा खुशी बन्न सक्छ । एउटा जादू हेर्दैमा चटके बन्न खोज्ने इच्छा राख्ने छात्रा न त कसैले गीत गाएको सुनेर भावनामा बग्दैमा गायिका बन्न सक्छिन् । यी सबै कुराको प्राप्तिका लागि त आफूमा आन्तरिक इच्छाशक्ति, वातावरण र अवसर प्राप्त गर्नुपर्दछ । यसका लागि सम्बन्धित विषयको अध्ययनले ठूलो सहयोग गर्ला, धेरै मदत त व्यक्तिमा भएको दीर्घकालीन रुचिले निर्धारण गर्दछ ।

शिक्षक नै महत्वपूर्ण
शिक्षणका निम्ति सबैभन्दा महत्वपूर्ण पक्ष शिक्षक हो भन्ने बु्रनरको विचारप्रति म शतप्रतिशत सहमत छु । किनकि आजको स्रोत साधनयुक्त जमानामा नभई पौराणिक कालका गुरु वशिष्ट, द्रोणाचार्य, सन्दीपनीले पनि आफ्ना शिष्यलाई सम्बन्धित विषयमा दक्ष बनाएका थिए । त्यसैले शिक्षक सबभन्दा योग्य व्यक्ति छनोट गरिनुपर्दछ । अल्पकालीन, दीर्घकालीन, प्रवेशपूर्वको तालीम तथा पेशागत तालीमले शिक्षकको भुत्ते भएको विचारलाई तिखार्ने काम गर्दछ ।

शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ ।
शिक्षक दौडियो भने विद्यार्थी हिंड्छ ।
शिक्षक हिंड्योे भने विद्यार्थी बस्छ ।
शिक्षक बस्योे भने विद्यार्थी सुत्छ ।
शिक्षक सुत्योे भने विद्यार्थी मर्छ ।

– चिनीयाँ उखान
शिक्षकको भूमिका सर्वोपरि छ भन्ने कुरालाई माथिको उखानले पनि पुष्टि गर्दछ ।

पाठ्यक्रम शिक्षकका लागि     
पाठ्यक्रम शिक्षण सिकाइको मूल दस्तावेज हो । यसका उद्देश्य, शिक्षण सिकाइ प्रक्रिया, विधि, मूल्याङ्कन आदि जस्ता कुराहरूको फेहरिस्त सहितको विषयवस्तु, क्षेत्र, क्रम आदि निर्धारण गरिएको हुन्छ । डा. ब्रुनरले पनि आफ्ना विचारमा ‘पाठ्यक्रम सर्वप्रथम शिक्षककै निम्ति हुनुपर्छ’ भनेका छन् । यसबाट पनि पाठ्यक्रम विद्यार्थीका निम्ति हुँदैन भनिएको छैन तर यसको मूल आवश्यकता र अध्ययन शिक्षकले पूर्णरूपमा गर्नुपर्छ भनिएको हो । प्रथम कुरा सिकाउने व्यक्तिले सिकेमा, बुझेमा त्यो अप्रत्यक्ष रूपमा विद्यार्थीमा पुग्ने कुरा हो । त्यसकारण पाठ्यक्रम प्रथमतः शिक्षकका लागि नै हो ।

यसर्थ पढ्नु अर्थात् पढाइ भनेको ज्ञान र सीपको विकास गर्नु हो । कण्ठ गर्नु, रट्नु, परीक्षा पास गर्नु मात्र होइन । अर्थात् आफूमा आर्जित ज्ञान समयानुकूल परिवर्तन गरी समसामयिक सन्दर्भ अनुरूप जीवनलाई चलाउनु, एक अवस्थामा प्राप्त ज्ञान र सीपलाई आवश्यकता अनुरूप अन्य तहमा प्रयोग गर्नु, सोच्नु, चिन्तन मनन गर्नु र तर्क–वितर्कका आधारमा निष्कर्षमा पुग्नु र सीप परिचालन गर्नु सिकाइ अर्थात् पढाइ हो ।

हामीले शिक्षाका पुराना र स्थापित मूल्यमान्यतालाई पढ्दै सिक्दै आएकाले डा. ब्रुनरका विचार नूतन जस्ता लाग्छन् । एउटा अनुभवी शिक्षकले सिकाइका यी सिद्धान्तलाई आफ्नो अन्तरहृदयबाट अनुभूत गरिरहेका तर सिकाइका सिद्धान्तसँग केही फरक जस्ता विचारहरू देखिएकाले त्यसमा हामीले विमति राखी नेपाली शिक्षाको सन्दर्भमा चर्चा परिचर्चा नगरिएको होला तर अबको समय ब्रुनरका सिकाइ सिद्धान्तलाई पालना गर्नुपर्ने गरी आएको अनुभव हुन्छ ।

श्री भगवती नमूना उमावि, मिर्मी ढाव, स्याङ्जा

commercial commercial commercial commercial