मियोको यो हाल !

एउटा नेपाली शिक्षक जब पढाउन थाल्छ तब आफू चाहिं पढ्न छाड्छ । कस्तो बिडम्बना ? खाली घैंटोबाट सार्दा के आउला ! जीवनमा शत्रु र मित्र स्थायी हुँदैनन् । शिक्षा र शिक्षकका पनि कोही स्थायी शत्रु र मित्र छैनन् । रह्यो सामुदायिक विद्यालयको पठनपाठन किन सुध्रिन सकेन, स्तरीय हुन सकेन ? यसमा कमजोरी कसको ? बढी जिम्मेवार को ? यसैमा हामी घोत्लिनु जरूरी छ । शिक्षकको चोरऔंलो व्यवस्थापन समिति, शिक्षा नीति, अभिभावक र विद्यार्थीतिर ठडिन्छ । अभिभावकको चोसो शिक्षकतिर फर्किन्छ । विद्यालय व्यवस्थापन समितिको धारेहात आफूले भने जस्तो सहयोग नगर्ने शिक्षा कार्यालय, शिक्षक र अभिभावकतिर फर्काइन्छ । विद्यार्थीको गुनासो शिक्षक र अभिभावकसँग रहन्छ ।

आखिर चोरऔंलो, चोसो, धारेहात र गुनासोको एउटै अचूक ओखती के ?
सामुदायिक विद्यालयको नतीजा वा उपलब्धि सोचे अनुरुप नआउनुको हदैसम्मको कारण शिक्षक नै हुन् भनेर भन्न कुनै अप्ठ्यारो मान्नुपर्दैन । कारण दैनिक ६ घण्टा विद्यार्थीसँग शिक्षक नै हुने गर्दछन् । विद्यार्थीको व्यवहार, क्षमता, सीप, रुचि, अवसर र योग्यताको गहिरो विश्लेषण शिक्षकले नै गर्ने अवसर प्राप्त गर्दछन् ।

विद्यार्थीलाई आफूले जानेको ज्ञान दिन कसले रोकेको छ शिक्षकलाई ? के शिक्षकले शैक्षिक सामग्री, तालीम पाएका छैनन् ? अभिभावकले विद्यार्थी पठाइ दिएका छैनन् विद्यालयमा, किताब कापी दिएका छैनन् उनीहरूलाई ? विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई कुन पक्षमा असहयोग गरेको छ ? पढाइमा ? समयमा ? सहकार्यमा ? सहमतिमा ?

सामुदायिक विद्यालयको नतीजा राम्रो नआउनुमा शिक्षकले विद्यार्थीलाई सिकाइप्रति अभिप्रेरित नगरिकन अध्यापन गर्नु पनि हो । यसो गर्नु भनेको चिसो फलामलाई हिर्काएर कुनै औजार बनाउँछु भन्नु जस्तै हो ।

हाम्रा सामुदायिक विद्यालयमा पढाउने कतिपय शिक्षकहरू प्रायः बेढङ्गका छन् । उनीहरूले किताबको कुरा एकोहोरो भन्छन् मात्र । विद्यार्थीलाई प्रेरित गर्नु कुन चराको नाम हो थाहा छैन उनीहरूलाई ।

शिक्षकहरू तालीमप्राप्त भए । लिनुपर्ने तालीम कुनै बाँकी छैन । तालीमका प्रमाणपत्र एक थैला भए तर आफू रित्ता घैला ।
अनि दोष कसलाई दिने ? कसलाई चोरऔंलो ठड्याउने ? शिक्षकहरू अध्ययनशील कम भए । दोषी अरू हुँदै होइनन् कसरी भन्न सकिन्छ र ? छन् तर बढी शिक्षक नै हुन् ।

हामी शिक्षकहरू अरूलाई दोषी देखाउन सिपालु छौं, कुरा गर्न हामीलाई कसैले जित्न सक्दैनन् । तर हामी शिक्षकले बुझनै पर्छ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू निश्चित समयका लागि मात्र हुन् । उनीहरू स्वयम्सेवक हुन् । उनीहरू दैनिक विद्यालय आउन सक्दैनन् र आएर पनि सदाका लागि विद्यालय सुधार्न सक्दैनन् । विद्यालयको स्थायी पदाधिकारी भनेका शिक्षक नै हुन् । शिक्षकको लगनशीलता, सक्रियता, चासो र चिन्ताको विषयवस्तु विद्यार्थी नै बन्नुपर्छ । उनीहरूको सक्रियता, लगनशीलता र चासो भनेकै विद्यालयको नतीजासँग सम्बन्धित हुने गर्दछ । विद्यालयको नतीजा र उपलब्धि राम्रो र उल्लेखनीय भएर आउनका लागि शिक्षकको दिव्यदृष्टि विद्यार्थी माथि नै हुनुपर्छ । अरू पक्ष त सहयोगी मात्र हुन् । शिक्षकका सहयोगी हात नै राम्रो नतीजाका लागि प्रेरक हुने गर्दछन् ।

आज कक्षाकोठामा पढाइ हुन्न । त्यसको दोष शिक्षा नीति निर्मातालाई, अभिभावकलाई, विव्यसलाई, विद्यार्थीलाई वा अरू कसैलाई दिने ? विद्यार्थी पास हुन सकेनन्, कि म पास हुन सकिनँ ? यसको जवाफ शिक्षकले खोज्नुपर्ने वेला आएको छ । विद्यार्थीलाई दोषी देखाएर छिनभरलाई गोडामुनि न्यानो होला तर स्थायी न्यानोपन हुन सक्दैन ।

विद्यालय शिक्षा प्रणालीमा शिक्षक मियो हो । उनका वरिपरि विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र शिक्षासँग सरोकार राख्ने सबै घुमिरहेका हुन्छन् । मियो नै ठीक नभए के राम्रो दाइँ लाग्ला ?

दोभान उच्च मावि

commercial commercial commercial commercial