कसले पढाइरहेछ तथ्याङ्कशास्त्र ?

त्रिविका थुप्रै क्याम्पसमा योग्यता पुगेका शिक्षक विना नै तथ्याङ्कशास्त्रका कक्षा सञ्चालित छन् । विशेषगरी व्यवस्थापन, गणित, जनसंख्या अध्ययन र अर्थशास्त्र विषय पढाउन नियुक्त शिक्षकले नै तथ्याङ्कशास्त्र पनि प्राध्यापन गरिरहेका छन् । यो विकृति त्रिविका सबैजसो क्याम्पसमा क्यान्सर जस्तै महामारीको रूपमा फैलिंदै गइरहेको छ ।

नेपालमा त्रिभुवन विश्वविद्यालयका विभिन्न संकाय तथा अध्ययन संस्थानहरूमा तथ्याङ्कशास्त्रको ‘भर्टिकल कोर्स’ र ‘इन्टिग्रेटेड कोर्ष’ गरी दुई प्रकारका पाठ्यक्रमहरू समावेश गरिएका छन् । विज्ञान तथा प्रविधि अध्ययन संस्थान र मानविकी तथा सामाजिक विज्ञान संकायतर्फ मुख्य अर्थात् ‘भर्टिकल कोर्स’ को रूपमा तथ्याङ्कशास्त्र विषयको पठनपाठन थुप्रै क्याम्पसहरूमा हुने गर्दछ भने स्नातकोत्तर तह र विद्यावारिधि तहको कार्यक्रम तथ्याङ्क केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौंमा सञ्चालित रहेको छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले तथ्याङ्कशास्त्रमा विशिष्टता सहितको उपाधि प्राप्त गर्दछन् ।

तथ्याङ्कशास्त्रको ‘इन्टिग्रेटेड कोर्स’ विभिन्न संकाय र अध्ययन संस्थानहरूको स्नातक र स्नातकोत्तर तहको कार्यक्रममा समावेश गरी पठनपाठन हुँदै आएको छ । यस व्यवस्था अनुसार व्यवस्थापन संकायका स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरू (जस्तैः बीबीएस, बीबीए, बीएचएम, बीटीटीएस, बीआईएम, एमबीएस, एमबीए, एमपीए आदि) मा तथ्याङ्कशास्त्रलाई अनिवार्य पाठ्यक्रमको रूपमा समावेश गरिएको छ । त्यस्तै मानविकी तथा सामाजिक विज्ञान संकायको स्नातक र स्नातकोत्तर तहका थुप्रै विषयहरू (जस्तैः जनसंख्या अध्ययन, समाजशास्त्र, ग्रामीण विकास आदि) मा पनि तथ्याङ्कशास्त्रको पाठ्यक्रम समावेश गरिएको छ ।

त्यस्तै शिक्षा संकायतर्फ पनि स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयहरू (जस्तैः गणित शिक्षा, जनसंख्या शिक्षा आदि) मा पनि तथ्याङ्कशास्त्रको पाठ्यक्रम समावेश भई पठनपाठन हुने गरेको छ । तर यस्ता कार्यक्रम अन्तर्गत अध्ययन गर्ने विद्यार्थीले तथ्याङ्कशास्त्रमा विशिष्टता हासिल गर्दैनन्; सामान्यतः ज्ञान मात्र पाउँछन् । यसबाहेक अन्य अध्ययन संस्थानहरू (जस्तैः विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वन, खाद्य प्रविधि) ले पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रमहरूमा तथ्याङ्कशास्त्रका पाठ्यक्रम समावेश गरी पठनपाठन गर्दै आएका छन् । त्रिविका विभिन्न अनुसन्धान केन्द्रहरूमा पनि तथ्याङ्कशास्त्रीहरू कार्यरत छन् ।

तथ्याङ्कशास्त्र अध्यापन गर्नको लागि त्रिविले न्यूनतम शैक्षिक योग्यता तथ्याङ्कशास्त्रमा स्नातकोत्तर उपाधि हुनुपर्ने प्रष्ट मापदण्ड निर्धारण गरेको छ र त्यही अनुरूप विषयगत दरबन्दी सिर्जना गरिएका छन् । यसको अतिरिक्त तथ्याङ्कशास्त्रको स्तरीय पाठ्यपुस्तक लेखन, पाठ्यक्रम निर्माण, प्रश्न–पत्र रचना, उत्तर–पुस्तिका परीक्षण, प्रयोगात्मक परीक्षा सञ्चालन आदि कार्यहरू तथ्याङ्कशास्त्रकै विशेषज्ञद्वारा हुनुपर्ने नियम छ । तर व्यवहारमा भने त्रिविका थुप्रै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा तथ्याङ्कशास्त्रको शिक्षक विना नै तथ्याङ्कशास्त्रका कक्षाहरू सञ्चालित छन् । विशेषगरी व्यवस्थापन, गणित, जनसंख्या अध्ययन र अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरी ती विषयहरू प्राध्यापन गर्नको लागि नियुक्त भएका शिक्षकहरूले त्रिविको प्रचलित कानूनी मान्यता, सिद्धान्त र मर्यादा विपरीत थुप्रै क्याम्पसमा तथ्याङ्कशास्त्र प्राध्यापन गरिरहेका छन् । यो विकृति त्रिविका विभिन्न आङ्गिक र सम्बन्धन प्राप्त सबैजसो क्याम्पसमा क्यान्सर जस्तै महामारीको रूपमा फैलिंदै गइरहेको छ ।

तथ्याङ्कशास्त्रका यस्ता नक्कली शिक्षकले विद्यार्थीमाझ् तथ्याङ्कशास्त्रीहरूद्वारा लिखित उपयोगी पुस्तकबारे कहिल्यै पनि चर्चा गर्दैनन् । स्तरीय पुस्तक पढाएमा विद्यार्थीहरूबाट जटिल प्रश्न सोधिने डरले उनीहरू ज्ञान र पाठ्यक्रमको दृष्टिकोणले उपयोगी नभए पनि गैर तथ्याङ्कशास्त्रीहरूद्वारा लिखित पुस्तकहरू किन्न सल्लाह दिन्छन् । पदोन्नतिको लागि त्रिवि सेवा आयोगको आवेदन भर्ने वेला तथ्याङ्कशास्त्रका नक्कली शिक्षकहरू व्यवहारमा तथ्याङ्कशास्त्र पढाइरहेको भए तापनि अनुभवपत्रमा आफूले उपाधि हासिल गरेकै विषय पढाइरहेको झ्ूटो विवरण प्रशासनसँग बनाउन लगाई पेश गर्ने गर्दछौं । यस्ता शिक्षकहरू तथ्याङ्कशास्त्रको उत्तरपुस्तिका, परीक्षा, गोष्ठी आदि कार्यमा अवसर प्राप्त गर्न उद्यत रहन्छन् । विश्वविद्यालयको कमजोर ऐन कानून तथा त्यसको कार्यान्वयनको अभावको कारण एकातिर तथ्याङ्कशास्त्र बाँदरको हातको खेलौना जस्तो बनेको छ भने अर्कोतिर गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि महँगो शुल्क दिएर पढिरहेका विद्यार्थीहरू त्यस्ता नक्कली शिक्षकहरूबाट निरन्तर ठगिंदै आएका छन् । विश्वविद्यालय तथा क्याम्पसहरूमा व्याप्त यस प्रकारको दण्डहीनताले तथ्याङ्कशास्त्रका मौलिक शिक्षकहरू छायामा पारिएका छन् ।

नेपालमा तथ्याङ्कशास्त्रका जनशक्ति नभएका होइनन् । त्रिवि लगायत अन्य विश्वविद्यालयहरूले तथ्याङ्कशास्त्रमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका दक्ष जनशक्तिहरू उत्पादन गर्दै आएका छन् । दक्ष जनशक्ति हुँदाहुँदै नक्कली शिक्षकबाट तथ्याङ्कशास्त्रको प्राध्यापन गर्नु÷गराउनु मुख हुँदाहुँदै नाकबाट खानु जस्तै होइन र ? आफूले उपाधि र विशिष्टता हासिल गरेको विषयमा प्राध्यापन गर्ने अवसर पाउनु र ज्ञानको विकास गर्नु गौरवपूर्ण कुरा हो । तर आफ्नो अथक् परिश्रमबाट प्राप्त गरेको उपाधिलाई बेवास्ता गरी तथ्याङ्कशास्त्रको प्राध्यापन गर्नु आफ्नै मौलिक विषयप्रतिको गद्दारी होइन र ? के यस प्रकारको बेथितिले नयाँ नेपालको परिकल्पना गर्न सकिन्छ ?

समग्रमा भन्नु पर्दा दक्ष जनशक्ति तथा नीति, नैतिकता र निष्ठाको बलियो जगमा स्थापित शिक्षण संस्थालाई गुणात्मक शिक्षाको आधारस्तम्भ मानिन्छ । तथ्याङ्कशास्त्रको सदुपयोग भएमा वरदान सावित हुन्छ र कुनै पनि समाज र देशको चौतर्फी विकास हुन्छ । विश्वमा थुप्रै देशहरूमा तथ्याङ्क मन्त्रालय गठन गरी ती देशहरूले तीव्र गतिले विकास गर्न सफल भएको उदाहरण हाम्रो सामु छ । यसको दुरुपयोग भएमा सम्पूर्ण विश्व ब्रह्माण्ड र मानव समाजको अहित हुन्छ । यसतर्फ सम्बन्धित सबैले वेलैमा चासो राख्नु आवश्यक छ ।

सह–प्राध्यापक, त्रिवि तथ्याङ्कशास्त्र

commercial commercial commercial commercial