बालबालिकामा कोरोना त्रास र व्यवस्थापन

बन्दाबन्दीअघि रमाई–रमाई प्रि–स्कूल जाने झापाकी ४ वर्षीया बालिका अब स्कूल खुलेपछि जाँदै नजाने भन्न थालेकी छिन् । घरमै बस्छु, स्कूल गयो भने कोरोना लाग्छ भन्छिन् । पहिले पढ्न लेख्न निकै मन पराउँथिन् । अहिले पढाइलेखाइमा उनलाई पटक्कै रुचि छैन ।

विश्वभरी धेरै मानिस संक्रमित भइरहँदा र धेरैको मृत्यु भइरहँदा बन्दाबन्दीभन्दा पहिले नै विद्यालयहरूमा कोरोनाको बारेमा कुरा हुन थालेको थियो । “शायद स्कूलमा त्यतिखेर शिक्षकबाट अनि ठूला विद्यार्थीबाट कोरोनाले पुर्‍याएको क्षति र अहिले रेडियो वा टिभीबाट समाचार सुनेर पो हो कि ? मेरी भदै निकै डराएकी छन्,” उनकी फुपू भन्छिन् ।

काठमाडौंका कक्षा–७ का एक विद्यार्थी पनि अब स्कूल खुलेपछि तुरुन्तै नजाने बताउँछन् । कोरोना संक्रमितको संख्या दिनदिनै बढेको र मान्छे मरेको समाचार सुनेर उनलाई अत्यन्तै डर लाग्न थालेको छ । “यस्तो समाचार सुन्दा मुटु बेस्सरी ढुकढुक गर्छ,” उनले भने, “स्कूल जाँदा अरुबाट मलाई पनि सर्न सक्छ । स्कूल खुलेपछि एक महीना जति हेर्छु । साथीहरूको अवस्था बुझ्छु अनि मात्र ‘डिसिजन’ गर्छु ।”

साना केटाकेटीमा कोरोनाका कारण बन्दाबन्दीपश्चात् स्कूल खुलेपछि जाने डर मात्र होइन, अरुखाले चिन्ता पनि देखिन थालेको छ । एक बालिकालाई राति निद्रा लाग्न छोड्यो । उनकी आमा पनि अति नै डराउन थालिन् । उनीहरू दुईजना मात्र घरमा थिए । आमा–छोरी रातभरी सुत्न नसकेपछि अहिले उनीहरूलाई आफन्तले आफ्नो घर लगेका छन् ।

अर्का एक ९ वर्षीय बालक आफ्नी आमालाई अब बच्चा नजन्माउनु है भन्न थालेका छन् । उनकी आमालाई लकडाउनका बेला छोरो एक्लै भएको देखेर छोरोलाई साथी चाहिँदो रहेछ भन्ने महशुस भयो । अर्को सन्तान भएपछि सुख–दुःखमा छोरोको साथी हुन्छ भन्ने उनलाई लाग्यो । “तिम्रो साथी हुन्छ, अर्को बच्चा पाउनुपर्‍यो है भनेको त हजुर नै मर्नुभयो भने के गर्ने, हुँदै हुँदैन भन्छ छोरो,” उनले भनिन् ।

कोरोना त्रासका कारण यसरी साना बालबालिकामा आफूलाई अनि आफ्ना अभिभावकलाई केही होला भन्ने चिन्ता, निद्रामा गडबडीजस्ता मनोसामाजिक समस्या देखिन थालेको छ ।

हामी अभिभावकहरू मोबाइल, टिभी र अन्य सञ्चार माध्यममा कोरोनाको बारेमा धेरै समाचार हेरिरहेका हुन्छौं । यसैबारेमा घरमा वा अरुसँग फोनमा बालबालिकाका अगाडि नै कुरा गरिरहेका हुन्छौं । ओहो ! यति संख्या पुगिसकेछ, लौ अब बर्बाद हुने भो भनेर आफैं पनि डराइरहेका हुन सक्छौं । र, यस्ताखाले हाम्रा कुराकानीले केटाकेटीमा त्रास पैदा गरिरहेको हुन सक्छ ।

“यति मरिसके, यति संख्या पुगिसक्यो भनेर बालबालिकालाई तर्साउनु हुँदैन । यति जना निको भइसके । घर गएर काम गर्न थालिसके । कोरोनाबाट सबैको मृत्यु हुँदैन भनेर सकारात्मक कुरा सुनाउनुपर्छ । उनीहरूले बुझ्नेगरी सतर्क र सचेत रहने तरिका सिकाउनुपर्छ,” मनोविद् चेतना लोकसम भन्छिन्, “अभिभावक आफैं आत्तिनु हुँदैन । अझ केटाकेटीको अगाडि त हुँदै हुँदैन । यसको असर केटाकेटीमा पर्छ । यो केही समयको समस्या मात्र हो । सधैं यस्तो हुँदैन । केही समयपछि जीवन सामान्य हुन्छ भन्ने कुरा अभिभावक आफूले पनि बुझ्नुपर्छ र केटाकेटीलाई पनि बुझाउनुपर्छ ।”

विद्यालयमा साथीहरूसँग भेटघाट अनि पठनपाठनमा बानी परेका बालबालिकाको दिनचर्या अहिले फरक भएको छ । उनीहरूले आफ्ना साथीहरूसँग नभेटेको र कुराकानी नगरेको धेरै भइसकेको छ । लामो समयदेखि बन्दाबन्दीमा बस्दा उनीहरूलाई अत्यास लागिसकेको छ । तर अहिले उनीहरू पूरै समय आमाबुबासँग बस्न पाएका छन् । यो केटाकेटी तथा अभिभावक दुवैका लागि एक–अर्कासँग नजिकिने अवसर पनि हो । आफ्ना केटाकेटीको मनमा के छ सुन्ने–बुझ्ने अवसर पनि हो अभिभावकका लागि । कुराकानी गरेर हुन्छ कि फकाएर मनका कुरा लेख्न लगाएर हुन्छ, उनीहरूको कुरा बुझ्न सकिन्छ । यसो गर्दा उनीहरूमा मनोसामाजिक असर परेको छ/छैन भनेर थाहा पाउन र सहयोग गर्न सकिन्छ ।

“बालबालिकामा मनोसामाजिक असर पर्न नदिन उनीहरूलाई चित्रकला, गायन, संगीत, नृत्य, कथावाचन वा रुचिका क्रियाकलापमा सहभागी गराउन सकिन्छ । उनीहरूलाई गर्न सक्ने जिम्मेवारी दिनुपर्छ । जस्तो; आफ्नो वरपर वा कोठा सरसफाइ गर्न लगाउन सकिन्छ,” मनोविद् लोकसमको सुझाव छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको एक सामग्रीअनुसार यदि संकटको समय लम्बिएमा बालबालिकामा अधिक तनाव, मानसिक स्वास्थ्य समस्या विकसित हुन सक्छ । उनीहरूको सोचाइ, स्मरण शक्ति, बानी व्यवहार, सिकाइ क्रियाकलाप, भावनात्मक अवस्थामा नकारात्मक असर पर्न सक्छ ।

बालबालिकामा मात्र होइन, अभिभावकमा समेत कोरोनाको त्रास छ । आफूलाई केही होला, आफ्ना केटाकेटी वा आफन्तलाई केही होला भन्ने डर छ । आफ्नो रोजगारी तथा व्यवसायको चिन्ता समेत छ । भोलि बन्दाबन्दी खुलेपछि पनि कतिपय अभिभावक केटाकेटीलाई स्कूल पठाउन तयार देखिंदैनन् । काठमाडौंकी एक अभिभावक सुशीला धिताल भन्छिन्, “यो वर्ष खेर गए पनि जाओस् । म त छोरोलाई स्कूल पठाउँदै पठाउँदिनँ । कहिले औषधि बन्ला जस्तो भइसकेको छ ।”

अब्बल नेपालकी निर्देशक मनोविद् विजया बिजुक्छेको भनाइमा, “अहिलेको विपतमा बालबालिकालाई धेरै डर लाग्नु, रिस उठ्नु, झर्को लाग्नु अनि ठूलाहरूमा समेत राति नसुत्ने, असाध्यै तनाव र थकान हुने, छटपटी बढ्ने, खानामा अरुचि हुने जस्ता व्यवहार देखिन थालेको छ । यो सामान्य हो । “तर, साना–ठूला सबैमा यस्ताखाले व्यवहार २ हप्तादेखि लगातार भइरहेको छ वा कम भएको छैन भने परामर्श लिनुपर्छ । नभए मानसिक स्वास्थ्यमा नै समस्या आउन सक्छ ।”

विभिन्न संघसंस्थाहरू तथा मनोविद्हरूले यस सम्बन्धमा अहिले नै निःशुल्क रूपमा सेवा दिइरहेका छन् । मनोविद्हरूका अनुसार असाध्यै डर लागेको वा तनाव भएका बेला आफ्नो मनको कुरा अरुलाई भन्ने वा यसो गर्न नसकिए कापी वा डायरीमा लेखेर व्यक्त गर्दा धेरै फाइदा हुन्छ । लेखिसकेपछि च्यातेर फाल्न पनि सकिन्छ । यस्तै शारीरिक व्यायाम र श्वास लिने/फाल्ने अभ्यास पनि अत्यन्तै उपयोगी हुन्छ । आफूलाई घरको काम वा रुचिका विभिन्न क्रियाकलापमा व्यस्त राखेर अभिभावकले आफ्नो तनाव व्यवस्थापन गर्न सक्छन् । आफू तनावरहित भएर आफ्ना केटाकेटीलाई सहयोग गर्न सक्छन् ।

बालबालिकाको स्वस्थ मनोसामाजिक अवस्था शिक्षकको अवस्थासँग पनि जोडिन्छ । केही समयपछि विद्यालय खुल्छन् नै । विस्तारै विद्यार्थीहरू विद्यालय जानेछन् । विद्यार्थीलाई आवश्यक सहयोग गर्न शिक्षक आफैं पनि भयरहित हुनुपर्छ । तनावरहित हुनुपर्छ । कोरोना महामारीको संकट कहिलेसम्म लम्बिन्छ, अन्यौल नै छ । शिक्षक आफैं पनि ढुक्क हुने अवस्था छैन । झापा जिल्लाको अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविकी शिक्षक सृजना रोक्का भन्छिन्, “आफ्नै बच्चाबच्ची जस्तो लाग्ने विद्यार्थीसँग धेरै घुलमिल हुन्थ्यौं । अब स्कूल जाँदा छुन पनि डर लाग्ने हो कि ? फेरि एउटै कक्षामा ६० जनाभन्दा बढी विद्यार्थी पनि छन् । भौतिक दूरी कसरी व्यवस्थापन गर्ने हो ?”


बन्दाबन्दी खुलेपछि पनि कतिपय अभिभावक केटाकेटीलाई स्कूल पठाउन तयार देखिंदैनन् । काठमाडौंकी एक अभिभावक सुशीला धिताल भन्छिन्, “यो वर्ष खेर गए पनि जाओस् । म त छोरोलाई स्कूल पठाउँदै पठाउँदिनँ । कहिले औषधि बन्ला जस्तो भइसकेको छ ।” 

कयौं विद्यालयमा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन् । कक्षाकोठा साँघुरा छन् । थुप्रै विद्यालयमा पर्याप्त शौचालय, पानीको अभाव छ । स्वास्थ्य जाँच तथा सरसफाइको राम्रो व्यवस्था छैन । कति स्कूललाई त क्वारेन्टाइनका लागि प्रयोग गरिएको छ । कक्षाकोठा, सरसफाइ, स्वास्थ्य जाँच, शौचालय, पानी, यातायात, खाजा–घर व्यवस्थापनका बारेमा अहिलेदेखि नै तयारी गर्‍यौं वा योजना बनायौं भने भोलि स्कूल खुल्दा ढुक्क हुने अवस्था आउँछ । अहिले विद्यार्थी, शिक्षक र अभिभावक सबैको चिन्ता र चासोसँग जोडिएको विषय हो यो ।

कतिपय बालबालिकाहरू मनोसामाजिक असर लिएर विद्यालय आएका हुन सक्छन् । उनीहरू आफैं पनि संक्रमित भएर निको भइसकेका हुन सक्छन् । परिवारमा कसैलाई भएको हुन सक्छ वा कोही आफन्तको कोरोनाका कारण मृत्यु भएको हुन सक्छ । असाध्यै प्रभावित जिल्ला वा क्षेत्रका बालबालिका हुन सक्छन् विद्यालयमा । यी र यस्ता कारणले विद्यालयमा उनीहरूलाई बेवास्ता वा हेला वा अन्य दुव्र्यवहार गरिन सक्छ । विभेद हुन सक्छ । उनीहरूमाथि प्रयोग गरिने भाषा अपमानजनक वा उनीहरूको मनमा चोट पुर्‍याउने खालको हुन सक्छ । कोरोना संक्रमणको जोखिम अझै केही समय रहने हुँदा बालबालिकाहरू संक्रमणको जोखिमका कारण निकै त्रसित भएका हुन सक्छन् । उनीहरूको मनमा अनेक जिज्ञासा हुन सक्छन् । प्रश्न हुन सक्छन् । कोरोना जोखिमका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्ने सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि उल्लेख गरिएको छ । अब विद्यालय खुल्दा बालबालिकाको मनोसामाजिक अवस्थाबारे विद्यालयहरूले विशेष ध्यान दिनु जरूरी छ ।

commercial commercial commercial commercial