मनोलोक

“सर ! घर चटक्कै छाडेर काममा जानु परेको छ । बुढा सासु–ससुरा, कलिला बालबच्चा, श्रीमान् छन् घरमा । माइतमा बाआमा, दाजुभाइ । आफ्नो आइसोलेसन वार्डको ड्यूटी, इन्फेक्टिभ केस आइदियो भने फेरि कति दिनको क्वारेन्टाइन हुने हो, पत्तो छैन । फेरि लक्षण विनाका केस थपिइरहेका छन्, आफैंलाई नै सरिसक्यो कि पत्तै नहुने । घरै गइहाल्न पनि डरै छ... कस्तो आपत ! नर्सको धर्म, कामको माया मार्न पनि सकिन्नँ, आफ्नो ड्यूटी  नै छाडेर भाग्न पनि त भएन... !”

गत साता कोरोना प्रकोपको सन्दर्भमा नर्सहरूको मनोस्वास्थ्य  विषयमा सञ्चालित वेभिनारकी सहभागी एक नर्सका भावना हुन् यी । स्वास्थ्यकर्मीहरूमध्ये पनि सधैं सबैभन्दा अगाडि (फ्रन्टलाइन) खटिनुपर्ने नर्सको मनस्थिति छर्लङ्ग्याउँछ यो अभिव्यक्तिले । घरभित्र नारी, बुहारी, छोरी, श्रीमती अनि आमाका रूपमा बाँडिनुपर्ने तिनले कार्यस्थलमा पनि उपचारकर्ता, सेविका, परिचारिका अनि शिक्षकका रूपमा समेत कयौं जिम्मेवारी बोक्नु पर्दछ । घर छोडेर आएपछि परिवारका सदस्यहरूको सेवा–टहल कसरी भयो होला भन्ने चिन्ता एक ठाउँमा छ भने ‘आफूले हेरेका बिरामीमा इन्फेक्सन छ/छैन, भएमा तिनले अरूलाई सार्न सक्लान्–नसक्लान्, आफैंलाई नै नजानिंदो तवरमा सरिहाल्यो भने के गर्ने ?’ जस्ता तनाव !

त्यस्तै, ‘बन्दाबन्दीको समयमा कार्यस्थलमा आइपुग्ने कसरी ? कार्यालयले उपलब्ध गराएको सवारीमा संक्रमण हुन सक्ला–नसक्ला ? कार्यस्थलमा भरपर्दा सुरक्षा कवचहरू छन्/छैनन् ? खाने–पिउने, बस्ने–सुत्ने, सरसफाई, सञ्चार–सम्पर्कका सुविधाहरू कस्ता होलान् ?’ अनि, ‘यसरी खटिएर काम गरेपछि पनि आफ्नो संस्थाले तलबभत्ता अनि बिदा आदिका सुविधाहरूमा न्याय गर्न सक्ला–नसक्ला ?’ अझै, अस्पतालमा काम गरेकोमा छिमेकी र घरबेटीहरूले गर्ने तिरस्कार अनि लोकलज्जा जस्ता नेपाली समाजका मौलिक समस्याहरू त आफ्ना ठाउँमा छँदै नै छन् ।

नर्सहरू कुनै पनि स्वास्थ्य संस्थाका प्रतिनिधि पात्र हुन् । तिनकै दाँजोमा नभए तापनि अन्य चिकित्सक–स्वास्थ्यकर्मी, ल्याबकर्मी, सरसफाइकर्मी अनि सामाजिक कार्यकर्ताहरू, अस्पतालमै शिक्षण सेवामा कार्यरत शिक्षकवर्ग, प्रशासनिक कर्मचारीहरू, सबै नै यतिबेला तनावमा छन् ।

त्यस्तै किसिमको तनावमय पीडा पोखेकी थिइन् एक महिला शिक्षकले हटलाइन नम्बर  मा फोन गरेर । मसँग नियमित स्वास्थ्य परामर्शमा रहेकी ती शिक्षकको वर्तमान समयको मनस्थिति ‘परिवारजनको स्वास्थ्य, बालबालिकाको पढाइ, आफूले दुःख गरी–गरी चलाइरहेको अनलाइन कक्षाहरूको सार्थकता, अनि आफ्नो जागिरको भविष्य र आर्थिक स्थिति’ कै वरिपरी घुमेको पाएँ मैले ।

दिन दुगुना, रात चौगुना गरेर नेपालमै पनि कोरोना संक्रमित ७ हजारबाट उकालो लागिसके । संक्रमितको विश्वव्यापी तथ्यांक छिट्टै करोड छुने दिशातर्फ उन्मुख छ । नेपालको मृत्युदर छिमेकी मुलुक या विश्वस्तरमै जस्तो नआकासिए तापनि समय क्रममा बढ्दै नजाला भन्न सकिन्न । तर हाम्रो ध्यान भने अझै पनि संक्रमितहरू, त्यसमाथि पनि तिनका शारीरिक लक्षणहरूकै उपचार एवं रोकथामतिर मात्रै सीमित रहेको छ, त्यसभन्दा बाहिर जान सकेका छैन । संक्रमितको उपचार कार्यमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संलग्न अस्पतालकर्मी अनि संक्रमितहरूकै पनि मनोसामाजिक पक्षतिर अझै पनि हामीले ध्यान दिन सकेका छैनौं ।

तर; भौतिक दुरी कायम राख्ने, संक्रमण दरलाई नियन्त्रण गर्ने अथवा समुदायमा संक्रमण फैलन नदिने उद्देश्यका साथ भइरहेको तीन महीनादेखिको बन्दाबन्दी अनि अहिले बढ्दै गइरहेको संक्रमणले गर्दा पनि कोरोना–कालको मनोसामाजिक चित्र डरलाग्दो नै हुने सम्भावना देखा परिरहेको छ । मनोसामाजिक समस्याहरूको सबैभन्दा वियोगान्त रूप ‘आत्महत्या’का समाचारहरू निरन्तर आउन थालेका छन् । प्रहरीकै तथ्यांकले पनि विगत दुई महीनायता दैनिक १६–१७ को संख्यामा आत्महत्या भइरहेको जनाएको छ ।

मानसिक रोगहरूको यकिन तथ्यांक आउने समय भइसकेको छैन । अझै कोरोना कहर व्यापक नै रहेको छ संसारभर नै, थुप्रै मुलुकहरूमा बन्दाबन्दी कायम नै छन् । तर मानसिक समस्याहरूको द्योतकका रूपमा क्वारेन्टाइन या आइसोलेसन  मा रहेका बिरामी/सम्भावित संक्रमितहरूको मानसिक स्वास्थ्यको अध्ययन गर्ने प्रयासहरू भने भइ नै रहेका छन् । स्वास्थ्यकर्मीहरूकै मानसिक स्वास्थ्यलाई नै विषय बनाएर गरिएका अध्ययनहरू त झनै छैनन् । तर, लेखको प्रारम्भमा उल्लेख गरिएको शब्दचित्रले नै यो समस्याले स्वास्थ्यकर्मीहरूलाई कति गहिरो रूपमा गाँजेको छ अथवा गाँज्न सक्दछ भन्ने प्रष्ट पारेको छ ।

भर्खरै प्रकाशित भएका अन्तर्राष्ट्रिय अध्ययनहरूले कोरोना कालमा क्वारेन्टाइन मा रहेका व्यक्तिहरूमा अत्यधिक आवेग, किंकर्तव्यविमुढता, तनावजन्य समस्या, अनिदोपन, चिन्ता, एङ्गजाइटी जस्ता मनोवैज्ञानिक समस्याहरूको प्रधान्यता देखाएका छन् । कोरोना भाइरसकै कारण पहिले–पहिले भएका सार्स, मर्स  जस्ता रोगहरूसँग पनि यस्तै–यस्तै मानसिक समस्याहरू नै जोडिएर रहेको पाइएको थियो । त्यस्तै, तनाव घटाउने नाममा व्यक्तिहरूले गर्ने मद्यपान, धुम्रपान अनि निद्राका औषधिको अत्यधिक प्रयोग, घरघरै हुने ग्रार्हस्थ हिंसा, समाजमा भइरहेका यौनजन्य हिंसा, अनि आपराधिक क्रियाकलापहरूमा भएको बढोत्तरी आदि समस्याहरूले नेपाललाई समेत अछुतो राख्न नसकेको हालसालैका छापाका समाचारहरूले नै दर्शाएका छन् ।

मुख्यतया क्वारेन्टाइनमा रहने व्यक्तिहरूमा देखिएका मानसिक समस्यामा तनावका विविध स्रोतसँग सम्बन्धित रहने गरेको अध्ययनहरूमा देखिएको छ । जस्तै, लामो समय पारिवारिक सम्पर्कबाट बाहिर क्वारेन्टाइन स्थलका चार भित्ताभित्र रहन बाध्य हुनु, संक्रमण हुने वा अरूलाई सर्ने डर, दिक्दारीपन, आलस्य, खाना, पानी, लुगा, बासस्थान जस्ता आधारभूत आवश्यकताहरूको परिपूर्ति नहुनु, रोगका बारेमा यथेष्ट जानकारी नहुनु, आर्थिक हानी, लोकलज्जा आदि ।

ती अध्ययनहरूका निचोडका रूपमा मानसिक स्वास्थ्यको संबद्र्धनका लागि क्वारेन्टाइन अवधि चाहिएभन्दा लामो नबनाउन, क्वारेन्टाइन मा राख्नुपर्ने यथेष्ट कारणहरूका बारेमा खुलस्त छलफल चलाउन, आधारभूत आवश्यकताहरूको परिपूर्तिको व्यवस्था मिलाउन अनि सञ्चार (इन्टरनेट, वाइफाइ, मोबाइल) एवं मनोरञ्जन (टीभी, रेडियो, पत्रपत्रिका, आन्तरिक खेलकूद) को राम्रो प्रबन्ध गर्न सुझाइएको छ ।

मनोसामाजिक समस्या लिई परामर्शमा आएका अथवा अलि जटिल मानसिक समस्या हुन सक्नेहरूलाई के गर्ने त मनोचिकित्साकर्मीहरूले ? सर्वप्रथम कोरोनाका सम्बन्धमा छापामा आएका समाचारहरूको तथ्यलाई राम्ररी केलाउनु आवश्यक हुन्छ । किनभने सबै समाचार सत्य नहुन पनि सक्छन् । आम मानिसहरूलाई ‘कोरोना लाग्दैमा मरिने होइन’भनी सकारात्मक पक्षतिर डोर्‍याउने प्रयास गर्नु पर्दछ । विश्व इतिहासको उदाहरण दिएर तिनलाई ‘पहिले–पहिलेका थुप्रै महामारी पनि अन्त्य भएका थिए, कोरोना पनि त्यसरी नै अन्त्य हुन्छ’ भन्ने ढाडस दिलाउनु पर्दछ । त्यस्तै, कोरोनासँगै सुरक्षित भएर बाँच्नैपर्ने विवशता भएको हुँदा त्यसबाट भाग्ने नभई सुरक्षित भएर जिउने जीवनशैलीका बारेमा चेतना दिनु पर्दछ । तनाव भगाउनका लागि भन्दै व्यक्तिले अपनाउन सक्ने अस्वस्थकर जीवनशैली (मद्यपान, धुम्रपान)बाट टाढा रहनुपर्ने, बरू योग, ध्यान, व्यायाम जस्ता स्वस्थकर उपायहरू सिकाउनु पर्दछ । बालबालिका, वृद्धवृद्धा, गर्भवती आदिको विशेष हेरचाहको आवश्यकतामा जोड दिइनु पर्दछ । माथि चर्चा गरिएका नर्स तथा महिला शिक्षकलाई मैले पनि यस्तै–यस्तै सुझाव दिएको थिएँ ।

आफ्नो मनस्थितिमा आउने उतार–चढावका बारेमा साथीभाई अनि सहकर्मीसँग छलफल र भावना साटासाट गर्नु पनि एक किसिमको मनोवैज्ञानिक उपचार नै हो । प्रत्यक्ष भेटघाट सम्भव नहुने अवस्थामा सामाजिक सञ्जालका विविध रूप (भाइवर, मेसेन्जर, जूम आदि) अत्यन्तै प्रभावकारी हुन्छन् । ज्यादा समस्या परेमा विशेषज्ञहरूसँगै मनोविमर्श गर्नुपर्छ । त्यसका लागि पनि सामाजिक सञ्जाल या दूर उपचार विधिहरू प्रचलित भइसकेका छन् । आवश्यक परेमा निद्राका लागि अनि तनाव निवारणका लागि छोटो समयका औषधिहरू चलाउन सकिन्छ । स्वास्थ्यकर्मीहरू आफैंलाई वा बिरामीहरूलाई आइपर्न सक्ने मनोसामाजिक समस्याहरूको निवारण प्रक्रियाहरूका बारेमा अभिमुखीकरण गराउनु पर्दछ ।

कोरोना तत्कालै हामीबाट टाढा नजाने प्रष्ट भइसक्यो । त्यसैले यस्तो घडीमा मानसिक स्वास्थ्यलाई नजरअन्दाज गरिनु हुँदैन । कोरोनाको महामारी सकिएपछि पनि यसको ‘बाई–प्रोडक्ट’ का रूपमा उत्पन्न मनोसामाजिक समस्याहरूले धेरै पछिसम्म पनि हामीलाई सताई रहन सक्छन्, यसका परकम्पहरूले पछ्याई रहन सक्दछन् । त्यसैले यसतर्फ समयमै सचेत होऊँ !

commercial commercial commercial commercial