प्रतिवेदन लेखन: परियोजना कार्य, घटना अध्ययन र कार्यमूलक अनुसन्धानको प्रतिवेदन तयार पार्ने विधि र नमूना

कार्यान्वयनको चरणमा रहेको विद्यालय क्षेत्र सुधार योजना (२०६६–२०७२) ले नेपालका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकलाई पेशागत क्षमता विकास तालिम (Teachers' Professional Development, TPD) दिने नीतिगत व्यवस्था गरे अनुसार शैक्षिक जनशक्ति विकास केन्द्रले देशभरि त्यस्तो तालिम संचालन गर्दै आएको छ । यो तालिमको संरचना (Modality) अनुसार एक पटकमा १० दिनको टीपीडी मोड्युल सञ्चालन गरिन्छ । ती १० दिनमध्ये पाँच दिन टीपीडी हबमा तालिम कार्यशाला (Face to face mode), तीन दिन स्वाध्ययन अभ्यास (Self-study Exercise) र दुई दिन शैक्षणिक परामर्श (Instrucional Counseling) कार्य पर्दछन् । उपर्युक्त तीन दिनको स्वाध्ययन अभ्यासलाई २० देखि ३० दिन मानेर शिक्षकहरूले शिक्षण पेशासँग सम्बन्धित अनुसन्धानमूलक कार्यहरू सम्पन्न गर्नुपर्ने हुन्छ ।

टीपीडी तालिममा सहभागी शिक्षकले सम्पन्न गर्नुपर्ने अनुसन्धानमूलक कार्यहरूमध्ये परियोजना कार्य (Project Work), घटना अध्ययन (Case Study) र कार्यमूलक अनुसन्धान (Action Research) मुख्य हुन् । प्रत्येक सहभागी शिक्षकले प्रत्येक मोड्युलमा कम्तीमा दुई ओटा अनुसन्धानमूलक कार्य गरी सोको प्रतिवेदन दुई दिनको शैक्षणिक परामर्श खण्डमा पेश गर्नुपर्दछ । यस बाहेक सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूले बढुवा प्रयोजनको लागि कार्य सम्पादन मूल्यांकन फारम भर्दा शिक्षण कार्यसँग सम्बन्धित अनुसन्धानको विवरण उल्लेख गर्नुपर्ने प्रावधान छ । त्यसको पूर्णाङ्क ५ रहेको छ । त्यस्तै शिक्षक सेवा आयोगद्वारा सञ्चालन गरिने लिखित परीक्षाहरूमा पनि घटना अध्ययन र कार्यमूलक अनुसन्धान सम्बन्धी प्रश्नहरू सोधिने प्रचलन छ । यसरी शिक्षा क्षेत्रमा प्रवेश गरेका र प्रवेश गर्न चाहने व्यक्तिहरूका लागि विविध परिवेशमा अनुसन्धानमूलक कार्यहरूको औचित्य झल्किन्छ ।

अनुसन्धान कार्य सजिलो भने छैन । यो समस्यासँग सम्बन्धित, व्यवस्थित, गहन, प्रमाणयुक्त र तथ्यपूर्ण हुनुपर्छ । अनुसन्धान कसरी गर्ने र अनुसन्धानको प्रतिवेदन (Research Report) कुन ढाँचामा लेख्ने भन्ने समस्या प्रायः शिक्षकहरूलाई पर्ने गर्छ । विभिन्न विश्वविद्यालयहरूले स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहमा गरिने अनुसन्धान कार्यका आ–आफ्नै ढाँचा विकास गरेका छन् । त्यस्ता ढाँचा शिक्षकहरूको निम्ति टीपीडी तालिम र अन्य प्रसंगमा समेत अक्षरशः अनुसरण गर्नु व्यावहारिक हुँदैन । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना व्यावहारिक समस्या, तालिम कार्यशालामा व्यक्त प्रतिक्रिया र समय पावन्दीका आधारमा अनुसन्धानमूलक कार्यको प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ । यस्तो प्रतिवेदन संक्षिप्त र सरल दुवै हुनुपर्छ । यस लेखमा टीपीडी तालिम लिइरहनुभएका आधारभूत तहका शिक्षकलाई थोरै भए पनि प्रतिवेदन लेखनमा सहयोग पुगोस् भन्ने अपेक्षा राखी परियोजना कार्य, घटना अध्ययन र कार्यमूलक अनुसन्धानका प्रतिवेदनका एक–एक ओटा नमूना प्रस्तुत गरिएको छः

परियोजना कार्य (Project Work)

परियोजना कार्यको शीर्षकः कक्षा ४ को गणित विषयको विद्यार्थी उपलब्धि विश्लेषण
१. उद्देश्यः वार्षिक परीक्षाको नतीजाको आधारमा कक्षा ४ को गणित विषयको औसत प्राप्ताङ्क, उत्तीर्ण तथा अनुत्तीर्ण प्रतिशत, छात्र तथा छात्रा उत्तीर्ण प्रतिशत, औसत प्राप्ताङ्कभन्दा माथि र तलका विद्यार्थी संख्या, सर्वोत्कृष्ट प्राप्ताङ्क ल्याउने छात्र तथा छात्रा र न्यून प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू पत्ता लगाउनु ।

२. प्रतिफलः यस उपलब्धि विश्लेषणबाट कक्षा ४ का विद्यार्थीहरूको गणित विषयमा सिकाइस्तर पत्ता लगाउन सकिने र सोको आधारमा भावी शैक्षणिक रणनीति तय गरी विषयगत उपलब्धि अभिवृद्धि गर्न सघाउ पुग्ने ।

३. प्रयोग गरिएका सामग्रीहरूः मार्क लेजर, फुलिस्केप, रुलर, क्यालकुलेटर ।

५. परियोजना कार्यबाट सिकिएका ज्ञान, सीप, दक्षता तथा बानीः विद्यालयभित्रै व्यक्तिगत रूपमा सञ्चालन गरिएको यस परियोजना कार्यबाट विद्यार्थीले खास विषयमा प्राप्त गरेको परीक्षाको प्राप्ताङ्कको औसत उपलब्धि र उत्तीर्ण प्रतिशत गणना गर्ने तथ्यांकशास्त्रीय सीप र दक्षता हासिल गरियो । (विद्यार्थीको नामावली, प्राप्ताङ्क, औसत अंक, उत्तीर्ण प्रतिशत र अन्य विवरण अनुसूचीमा राखिन्छ) ।

६. परियोजना कार्यबाट सिकिएका कुराहरूको व्यावहारिक जीवनमा प्रयोगः यस परियोजना कार्यबाट गरिएको विद्यार्थी उपलब्धि विश्लेषणका आधारमा शिक्षकले कुनै पनि विषयका विद्यार्थीको वर्तमान सिकाइस्तर विश्लेषण गरी आगामी शैक्षिक सत्रमा उपयुक्त कदम चाल्न, नयाँ शैक्षणिक रणनीति अपनाउन र न्यून सिकाइ स्तर भएका विद्यार्थीलाई उपचारात्मक शिक्षण गर्न सक्नेछन् ।

७. निष्कर्षः (क) शैक्षिक सत्र २०६९, वार्षिक परीक्षा, कक्षा ४, गणित विषय, २५ पूर्णाङ्कको नतिजा विश्लेषण गर्दा परीक्षामा सामेल विद्यार्थी २०, उत्तीर्ण १४.(७०%), छात्र उत्तीर्ण ५ (३५.७१%), छात्रा उत्तीर्ण ९ (६४.२९%), औसत प्राप्ताङ्क ११.०५, औसतभन्दा माथि ८ र तल १२, उच्चतम अंक छात्रको २२ र छात्राको २३, न्यून अङ्क ल्याउने ६ देखिए । सारै न्यून अंक ल्याउने विद्यार्थीहरूलाई विशेष उपचारात्मक शिक्षण गर्नुपर्ने देखियो ।

(ख) परियोजना कार्यले शिक्षकमा तथ्यांकशास्त्रीय तरिकाले विद्यार्थीको उपलब्धि विश्लेषण गर्ने सीप विकास गरी विषयगत उपलब्धिको यथार्थ अवस्थाको जानकारी गराई आगामी शैक्षणिक रणनीति तय गर्न सघाउ पुग्ने रहेछ ।

अध्ययनकर्ताः ‘क’ ....., शिक्षक
संलग्न संस्थाः ‘ख’ विद्यालय, झापा
प्रतिवेदन तयारी मितिः २०६९ चैत २८

घटना अध्ययन (Case Study)

शीर्षकः विद्यार्थी उपस्थिति अनियमित हुने कारणहरू (घटना अध्ययन)

१. अध्ययनको पृष्ठभूमि
‘विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित भए उसको सिकाइ स्तर उच्च हुन्छ र अनियमित भए सिकाइ स्तर न्यून हुन्छ’ भन्ने एउटा सामान्य तथ्य हो । यसै सन्दर्भमा झापा जिल्लाको दूधे स्रोत केन्द्र अन्तर्गत पर्ने ‘क’ विद्यालयको शैक्षिक सत्र २०७० को वैशाखदेखि मङ्सीरसम्मको कक्षा ८ को विद्यार्थी उपस्थिति बही अवलोकन गर्दा जम्मा १३० दिन विद्यालय खुलेकोमा २०% विद्यार्थीको उपस्थिति ६० दिनभन्दा कम देखिएकोले सो समस्याको कारण खोजी गर्न यो अध्ययन गरिएको थियो ।

२. अध्ययनको उद्देश्य
(क) विद्यार्थी कक्षामा नियमित उपस्थित नहुनुका कारणहरूको खोजी गर्नु,
(ख) उपस्थिति नियमित नभएका विद्यार्थीलाई नियमित गराउने उपायहरू सुझाउनु ।

३. अध्ययनको औचित्य
उपस्थिति नियमित नभएका विद्यार्थीको सिकाइ स्तर कमजोर देखिएकोले अनियमित हुनुका कारण पत्ता लगाई समस्या न्यूनीकरणका लागि सम्बन्धित विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विषय शिक्षकहरूलाई समेत आवश्यक सुझाव दिन यो अध्ययन गरिएको थियो ।

४. अध्ययनको सीमा
उपस्थिति ६० दिनभन्दा कम भएका विद्यार्थीहरूमध्ये पनि उद्देश्यपूर्ण नमूना छनोट गरी उपस्थिति र सिकाइ स्तर अति न्यून रहेका विद्यार्थी ६ जना (छात्र ३, छात्रा ३), कक्षा ८ मा पढाउने शिक्षक तीन जना, सम्बन्धित विद्यार्थीका अभिभावक ६ जना, घनिष्ठ/छिमेकी सहपाठी विद्यार्थी ६ जना र प्रधानाध्यापकलाई तथ्यांक र सूचना संकलनका लागि उत्तरदाताका रूपमा छनोट गरिएको थियो ।

५. तथ्यांक संकलन विधि
विद्यार्थी उपस्थिति बहीबाट उपस्थिति दिन र त्रैमासिक तथा अर्धवार्षिक परीक्षाको मार्क लेजरबाट नतीजा टिपोट गरियो । सम्बन्धित विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई प्रश्नावली भराइयो । सहपाठी विद्यार्थीहरू र अभिभावकसँग अन्तर्वार्ता लिइयो । सम्बद्ध विद्यार्थीका घर घरमा पुगी घरायसी वातावरणको अवलोकन गरी फारममा सूचनाहरू टिपोट गरियो । (प्रश्नावली र अवलोकन फारमको नमूना अनुसूचीमा राखिन्छ)

६. अध्ययनका साधनहरूः
(क) प्रश्नावली (ख) अन्तर्वार्ता (ग) अवलोकन फाराम

७। तथ्यांकको प्रस्तुतीकरण र विश्लेषण

(क) विद्यार्थीको उपस्थिति विवरण
(तालिका १)

तालिका १ मा उल्लिखित ८ महीनाको कुल हाजिरी रेकर्ड अनुसार कक्षा ८ को उच्चतम हाजिरी १२८ दिन भएकोमा अध्ययनमा सामेल विद्यार्थीहरूको हाजिरी उच्चतम हाजिरीको तुलनामा ७८ दिन वा सोभन्दा बढी दिनले फरक परेको देखियो ।

(ख) विद्यार्थीको सम्पूर्ण विषयको औसत उपलब्धि
(तालिका २)

तालिका २ अध्ययन गर्दा प्रथम त्रैमासिक परीक्षाको सम्पूर्ण विषयको कुल पूर्णाङ्क ७० को ३२% अंक २२.४ र अर्धवार्षिक परीक्षाको कुल पूर्णाङ्क २१० को ३२% अंक ६७.२ भएकाले ६ जना विद्यार्थीकै औसत उपलब्धि ३२% अंकभन्दा कम रहेको देखियो ।

८. समस्याको स्थापना
अध्ययनमा सामेल विद्यार्थीहरूको उपस्थिति कक्षाकै उच्चतम उपस्थिति दिनको तुलनामा ज्यादै न्यून छ । न्यून वा अनियमित उपस्थितिको नकारात्मक प्रभाव उनीहरूको सिकाइस्तरमा परेको छ । त्यसैले ती विद्यार्थीहरूको सिकाइ स्तर न्यून हुनुमा अनियमित उपस्थित नै मूल कारण हो ।

९. समस्याका कारण
उत्तरदाताहरूको प्रतिक्रिया र अवलोकनका आधारमा समग्रमा विद्यार्थीहरूको उपस्थिति नियमित नहुनाका कारणहरू निम्न बमोजिम छन्ः

  •    विद्यार्थीको घरायसी वातावरण सिकाइ अनुकूल नहुनु
  •    आमा÷बाबु नभएका कारण घरको व्यवहार सम्हाल्ने बाध्यता हुनु
  •    आफ्नो घर बाहेक अन्यत्र नातेदारकहाँ बसी अध्ययन गर्नाले उचित अभिभावकत्व नपाउनु
  •    बारम्बार बिरामी पर्नु
  •    खराब साथीको संगत भई धूमपान र मद्यपानको दुव्र्यसनमा लाग्नु
  •    कक्षामा चाहिने सिकाइ सामग्रीहरू (कापी, ग्राफ, ज्यामिति बक्स) जुटाउन नसक्नु
  •    अभिभावकले समयमै विद्यालय युनिफर्म व्यवस्था नगरिदिनु
  •    कक्षामा पढाइएको कुरा बुझन नसकी विद्यार्थीमा विद्यालयप्रति नैराश्यता आउनु
  •    बालमैत्री शिक्षण हुन नसक्नु र शिक्षकले विद्यार्थीको स्तर र भावना बुझन नसक्नु
  •    सम्बन्धित अभिभावकहरूलाई विद्यालयमा बोलाउँदा पनि नआउनु
  •    गरीबी तथा चेतनाको कमी
  •     विद्युत् लोडसेडिङ हुँदा राति वैकल्पिक बत्तीको व्यवस्था नहुनु ।

१०. प्राप्ति
अध्ययनमा सामेल ६ विद्यार्थीमध्ये दुई जनाको आमाबाबु नभएका कारण आफैंले पारिवारिक व्यवहार चलाउनुपर्ने बाध्यता रहेको, दुई जना नातेदारकहाँ बसी अध्ययन गर्दै रहेको, एक जना बारम्बार बिरामी पर्ने गरेको र एक जना खराब साथीको संगतमा लागि धूमपान र मद्यपानको कुलतमा फसेको पाइयो । उपर्युक्त कारण बाहेक विद्यालयमा नियमित उपस्थिति नहुने अन्य कारणहरूमा अभिभावकहरूबाट विद्यार्थीको पढाइप्रति खासै चासो नलिइएको, पढ्ने घरायसी वातावरण राम्रो नभएको, कक्षामा चाहिने सिकाइ सामग्रीहरू जुटाउन नसकेको, शिक्षकले अभिभावकलाई परामर्श दिन चाहँदा पनि अभिभावक विद्यालय नआएका, विद्यार्थीलाई पढाइप्रति रुचि कम रहेको पाइयो ।

११. निष्कर्ष
विद्यालयमा विद्यार्थी नियमित उपस्थित नहुने प्रमुख कारण घरायसी पारिवारिक वातावरण अनुकूल नहुनु, अभिभावकले छोराछोरीको क्रियाकलाप अनुगमन नगर्नु र विद्यालयले समस्याग्रस्त विद्यार्थी पहिचान गरी विशेष शैक्षिक कार्यक्रम र शिक्षण–सिकाइ क्रियाकलापहरू सञ्चालन गर्न नसक्नु हो ।

१२. सुझाव
प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल चलाई समस्याग्रस्त विद्यार्थी रहेका समुदाय पहिचान गरी त्यहाँ शैक्षिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पारित गर्नुपर्छ र घरदैलो भ्रमण आयोजना गरी विव्यस, अभिभावक र शिक्षकहरूले संयुक्त रूपमा सो कार्यक्रम कार्यान्वयन गर्नुपर्छ ।

शिक्षक स्टाफ बैठकमा विद्यालयका सबै कक्षामा रहेका अनियमित विद्यार्थीहरूको सूची तयार गरी सम्बन्धित अभिभावकहरूलाई अनिवार्य विद्यालयमा उपस्थित गराएर अनियमितताका कारणहरू सोधपुछ गर्ने, पृष्ठभूमि बुझने लक्षित समूह सघन छलफल (FGD) सञ्चालन गर्नुपर्छ र समस्या समाधानका लागि उपयुक्त परामर्श प्रदान गर्नुपर्छ ।

कक्षाकोठामा शिक्षकहरूले नयाँ नयाँ शिक्षण विधिहरू अपनाई शिक्षण–सिकाइ क्रियाकलाप रोचक र उपलब्धिमूलक बनाउनुपर्छ । कार्यमूलक अनुसन्धान गर्दै सिकाइमा सुधार ल्याउनुपर्छ ।

अध्ययनकर्ताः ‘क’ .............., शिक्षक
संलग्न संस्थाः ‘ख’ विद्यालय, झपा
प्रतिवेदन तयारी मितिः २०७० पुस ५

कार्यमूलक अनुसन्धान

अनुसन्धान कार्यको शीर्षकः कक्षा ४ मा कोण शिक्षण
१. अनुसन्धान गरिएको समस्याको कथनः कक्षा ४ को गणित विषयमा ज्यामिति पाठमा कोण शिक्षण गर्दा ८० प्रतिशत विद्यार्थीले प्रोट्राक्टरद्वारा कोणको सही नाप लिन र कोण खिच्न नसकेको पाइयो । कक्षा कार्य अवलोकन र ‘प्रि–टेष्ट’ द्वारा उक्त कुरा पुष्टि गरियो ।

२. अनुसन्धानको उद्देश्यः कक्षा ४ का विद्यार्थीमा कोण मापन र रचना सीप अभिवृद्धि गरी १०० प्रतिशत सक्षमता हासिल गराउने ।

३. समस्याका कारणः
(क) विद्यार्थीमा पर्याप्त अभ्यासको कमी
(ख) हरेक विद्यार्थीले ज्यामिति औजार बक्स कक्षामा नल्याउनु ।
(ग) शिक्षकद्वारा कोण मापन र रचनाको सजिलो शिक्षण विधि नअपनाइनु ।

४. समस्या समाधानका लागि अपनाइएको कार्य योजनाः
“विद्यार्थीमा पर्याप्त अभ्यासको कमी” कारणलाई प्रमुख आधार बनाई समस्या समाधानका लागि अपनाइएको हस्तक्षेपकारी प्रयत्न (Intervention) को कार्य योजना निम्न बमोजिम प्रस्तुत गरिएको छः
(क) २०७० मंसीर १५ र १६ गते कक्षाकोठामा “विद्यार्थीलाई साना–साना समूहमा विभाजन गरी वैयक्तिक शिक्षण” प्रयत्न कार्यान्वयन ।
(ख) २०७० मंसीर १७ गते सिकाइ उपलब्धि लेखाजोखाका लागि ‘प्रि–टेष्ट’ सञ्चालन ।

५. कार्य प्रक्रिया
(क) विद्यार्थीलाई ५÷५ जनाको ६ समूहमा विभाजन गरियो । प्रत्येकमा एक जना जान्ने विद्यार्थीलाई समूह नेताको रूपमा समावेश गरियो ।
(ख) प्रत्येक समूहमा शिक्षक आफैं पुगी कोणमाथि प्रोट्राक्टर राख्ने, डिग्रीको अंक हेर्ने र कोण खिच्ने तरिका देखाइयो ।
(ग) प्रत्येक समूहमा एक–एक ओटा न्यून कोण र अधिक कोण कापीमा खिची शिक्षककै सामु प्रत्येक विद्यार्थीलाई नाप्न लगाइयो । समूह नेतालाई अरूको सहयोगको जिम्मा दिइयो । समूह नेता मार्फत अन्य विद्यार्थीलाई व्यक्तिगत रूपमा कोणहरू खिची नाप्ने अभ्यास गराइयो ।

(घ) दोस्रो दिन पुनः प्रत्येक समूहमा एक एक ओटा न्यून र अधिक कोण दिई नाप्न लगाइयो । अवलोकन मार्फत सिकाइ प्रगतिको लेखाजोखा गरियो । सिक्न नसकेका विद्यार्थीलाई पुनः पृष्ठपोषण दिइयो ।
(ङ) बोर्डमा ९०, ६०, १२०, ४५, १०५, १३५, ५७, १२२ र १८० डिग्रीका कोणहरू बनाई विद्यार्थीलाई प्रोट्राक्टरको सहायताले कापीमा त्यस्तै कोण खिच्न लगाइयो । प्रत्येक समूहमा शिक्षक र समूह नेता मार्फत सिकाइ प्रगति अनुगमन गरियो ।
(च) सिकाइ उपलब्धि मूल्यांकनका लागि प्रश्नपत्र उपलब्ध गराई ‘पोष्ट–टेष्ट’ (Post-test) सञ्चालन गरियो । (प्रश्नपत्रको नमूना अनुसूचीमा राखिन्छ)

६. अनुसन्धानका प्राप्ति
(क) १० पूर्णाङ्कको ‘प्रि–टेष्ट’ र ‘पोष्ट–टेष्ट’ को औसत प्राप्ताङ्क क्रमशः ३.५ र ८.९ आएको हुँदा सिकाइमा सुधार भयो तर १००% लक्ष्य हासिल भएन । (विद्यार्थीको नामावली र प्राप्ताङ्क अनुसूचीमा छ)
(ख) ‘प्रि–टेष्ट’ मा (०–६०%) प्राप्ताङ्क ल्याउने विद्यार्थी २८, (६१–८०%) प्राप्ताङ्क ल्याउने २ र (८१–१००%) प्राप्ताङ्क ल्याउने शून्य भएकामा ‘पोष्ट–टेष्ट’ मा क्रमशः १, १० र १९ जना भयो ।

७. अनुसन्धानको प्रतिबिम्बन
कक्षा ४ को गणित विषयको ज्यामिति पाठ अन्तर्गत कोण नाप्ने र खिच्ने उद्देश्य सीप र प्रयोग तह भएकाले विद्यार्थीहरूमा साना–साना समूह विभाजन गरी वैयक्तिक शिक्षण मार्फत पर्याप्त अभ्यास गराइएमा सिकाइ स्तर सुधार गर्न सकिने रहेछ । यसरी नै अन्य प्रयोगात्मक र सीपमूलक पाठहरूमा यही प्रक्रियाद्वारा क्रियाकलाप गराइएमा विद्यार्थीको सिकाइस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने यो अध्ययनको निष्कर्ष हो ।

८. प्राप्त अनुभवलाई कार्यान्वयनका लागि पुनः कार्ययोजनाः कम्पासद्वारा कोण खिच्ने पाठमा पनि यही प्रक्रियाद्वारा शिक्षण गर्ने निधो गरियो ।

अनुसन्धानकर्ताको नामः ‘क’ ...., शिक्षक
संलग्न संस्थाः ‘ख’ विद्यालय, झपा
प्रतिवेदन तयारी मितिः २०७० मंसीर १९

परियोजना कार्य (Project-Work), घटना अध्ययन (Case-Study) र कार्यमूलक अनुसन्धान (Action-Research) का उपर्युक्त ढाँचाहरू बाहेक अरू ढाँचा पनि हुन सक्छन् । प्रस्तुत तथ्यांकहरू उदाहरणका लागि काल्पनिक रूपमा राखी तथ्यांकशास्त्रीय विधिद्वारा नै गणना गरिएका छन् । उपर्युक्त ढाँचाहरू नयाँ नभएर टीपीडी तालिमहरूमै विकास गरिएका हुन् । शिक्षाविद्, प्राध्यापक, शिक्षकहरूबाट रचनात्मक सुझव प्राप्त गर्ने अपेक्षा राखेर प्रतिवेदनका यी नमूनाहरू पस्किने काम भएको छ । “विद्यालयमा कार्यमूलक अनुसन्धान कसरी सञ्चालन गर्न सकिन्छ ?” भन्ने विषयवस्तु राखी शैक्षिक बहस चलाउनु सामुदायिक विद्यालयका शिक्षकहरूका लागि आवश्यक देखिन्छ ।  

रोस्टर, दूधे स्रोतकेन्द्र, झापा
श्री बाल निकुञ्ज उमावि, सतासीधाम–८, झापा

 

 

commercial commercial commercial commercial