अब ‘स्कूलिङ’ लाई ‘एजुकेसन’ मुखी बनाउने दिशामा अघि बढौं

शिक्षक  मासिकको असोज अङ्क (२०७०) मा ‘स्कूलिङ कि एजुकेसन’ शीर्षकमा मेरा विचार प्रकाशित भएपछि मैले नसोचेको प्रतिक्रिया पाएँ । यो पत्रिका यति धेरै पढिन्छ र यति धेरै प्रतिक्रिया आउलान् भन्ने मैले कल्पना नै गरेको थिइनँ । मलाई थुप्रै एसएमएस, फोन र इमेल आए । अधिकांशले मैले अघिसारेका विचार र तर्कहरूमा साम्यता राखेर प्रतिक्रिया दिए भने केहीले विनम्रतापूर्वक विमति पनि जनाए । केही साता पहिले जिल्ला शिक्षा कार्यालय ताप्लेजुङको भवन उद्घाटनमा पुग्दा त्यहाँ दुरदराजदेखि आएका शिक्षक मित्रहरूले मेरो उक्त आलेख पढेको जानकारी मात्र दिएनन्, तदनुरुप शिक्षा नीति र कार्यक्रममा परिमार्जन गर्न समेत सुझए । यति दुर्गममा पनि शिक्षक पत्रिका सहज रूपमा पुग्दो रहेछ ! यसबाट यो पत्रिका नेपालभरि कति लोकप्रिय र प्रभावकारी रहेछ भन्ने अनुमान गर्न सकिन्छ । तर यो आलेख चाहिं शिक्षक मा ‘स्कूलिङ कि एजुकेसन’ बहसमा उठाइएका सवालमाथि केन्द्रित हुनेछ ।

आत्मैदेखि लागेको एउटा कुरा शुरूमै भनिहालूँ– शिक्षक र शिक्षाकर्मी मित्रहरूको यति गहिरो ज्ञान, समझ्दारीले मलाई धेरै प्रभावित तुल्यायो । आम संसारभर नै ‘स्कूलिङ कि एजुकेसन’ भन्ने बहस जारी छ । झन्  गाउँघर, दुरदराजमा बसेर अनि शिक्षा मन्त्रालयका हामी कर्मचारीहरूले जस्तो देश विदेशको एक्स्पोजर नपाए पनि आत्मचिन्तन र अनुभवको समिश्रणले यति गहिराइमा शिक्षक मित्रहरू पुग्नुभएको अनुभूत गर्दा साँच्चै चकित भएको छु । शिक्षा मन्त्रालयमा कार्यरत हामी अधिकांश कर्मचारी ठान्थ्यौं— हाम्रा शिक्षक धेरै चिन्तनशील छैनन् । यस बहसले कम्तीमा मेरो भ्रम टुटाएको छ । शिक्षकलाई हेर्ने मेरो सोच पहिले भन्दा फराकिलो भएको छ । शिक्षा प्रशासनमा बस्ने हामीहरूले शिक्षकप्रतिको दृष्टिकोणलाई अझै परिष्कार र परिवर्तन गर्नुपर्ने रहेछ भन्ने आभास भएको छ । बहस मार्फत शिक्षक मित्रहरूले यो विषयवस्तुको स्वामित्व ग्रहण गर्नुभएको देख्दा नेपालमा शिक्षामा रूपान्तरणको वातावरण इतिहासमै सबैभन्दा बढी परिपक्व बनेको महसूस भएको छ ।

अब एकछिन शिक्षक/शिक्षाकर्मी मित्रहरूले बहस मार्फत उठान गर्नुभएकोे विषयवस्तुतिर लागौं । मेरो बुझाइमा ‘स्कूलिङ र एजुकेसन’ एकै होइनन् । एकहदसम्म एजुकेसनलाई ‘होल’ र स्कूलिङलाई त्यसको ‘पार्ट’ को रूपमा लिन पनि सकिन्छ । स्कूलिङले संकुचित अवधारणालाई प्रतिनिधित्व गर्छ भने एजुकेसनले बृहत् अवधारणालाई । स्कूलिङ सही र गलत हुन सक्छ तर एजुकेसन गलत हुनसक्दैन । वास्तवमा स्कूलिङ सही र गलत दुई किसिमका हुन्छन् । सही स्कूलिङ त्यो हो, जसले एजुकेसनको व्यापक उद्देश्य र अभिप्रायलाई हासिल गर्न मद्दत गर्दछ । मानिसमा मानवीय भावना, प्रेम, करुणा, दया आविर्भाव गराउँछ, सहभावलाई संरक्षण गर्छ, सहअस्तित्वलाई प्रवद्र्धन गर्छ भने त्यो एजुकेसन हो । होइन, व्यक्तिवाद र अहंकारलाई केन्द्रमा राख्छ, आफ्नो हितलाई मात्र सबैथोक ठान्छ, आफ्नो आकांक्षा पूर्तिका लागि समाजको अहित गर्न पनि पछि पर्दैन भने त्यो गलत स्कूलिङकै परिणाम हो । मानव सभ्यतालाई आजको भन्दा पनि नयाँ उचाइमा पुर्‍याउन सफल भयो भने त्यसलाई एजुकेसनको देन मान्नुपर्छ, सभ्यता झन् संकटग्रस्त हुँदै गयो भने गलत स्कूलिङको परिणाम मान्नुपर्छ ।

त्यसैले, एजुकेसन र स्कूलिङ बीचको खाडललाई कसरी पुर्ने र स्कूलिङलाई एजुकेसनको पूरकको रूपमा कसरी स्थापित गर्ने भन्ने नै आजको प्रमुख सवाल हो । यदि हामीले एजुकेसनको उद्देश्य पूरा गराउने गरी स्कूलिङलाई पूरक बनाउन सकेनौं भने नेपाली समाजले भविष्यमा झ्न् ठूलो र गहिरो सामाजिक सङ्कटको सामना गर्नुपर्नेछ । हामी तावाबाट उम्केर भुङ्ग्रोमा पर्नेछौं । आज स्कूलिङको जुन दिशा छ, त्यो गलत छ । किनभने यो एजुकेसनको पर्यायवाची बन्न सकेन । बरु विपरीत बन्न गयो । स्कूलिङको अभिप्राय र उद्देश्य नै एजुकेसनको बृहत्तर सोच र ध्येयलाई साकार तुल्याउने हुनुपर्दछ । त्यस विपरीत होइन । तर मैले यो बहसको आरम्भमा भने जस्तो एजुकेसनको दिशा एउटा छ स्कूलिङले अर्कै दिशा पक्रिरहेको छ । त्यसैले त संसारभर आज यसबारेमा गम्भीर तवरले चिन्ता प्रकट भइरहेको हो ।

हो, हामी स्कूलिङको युगमा छौं । एउटा बच्चा जन्मेको चार वर्ष पछि बाल विकास केन्द्र जान्छ, ६ वर्षभित्र कक्षा १ मा जान्छ । एवंरीतले १५/१६ वर्षको उमेरमा १० कक्षा पार गर्दछ । हाम्रै देशमा उमेर पुगेका ९५ प्रतिशत भन्दा बढी बालबालिका विद्यालय जान थालिसकेका छन् । विद्यालयलाई छाडेर बच्चाको शिक्षाको परिकल्पना समेत गर्न सकिन्न भने निःसन्देह हामी स्कूलिङको युगमा छौं । हामीले स्कूलिङको विकल्प खोजेको पनि होइन । हाम्रा बालबालिकासित एक्काइसौं शताब्दीको युगमा राम्रोसित जिउन सक्ने बानीब्यहोरा (अभिवृत्ति), सीप र ज्ञान हुनुपर्दछ । त्यसमा दुईमत छैन । स्कूलिङ त्यसैका लागि हो । तर व्यक्तिमा ज्ञान र क्षमता धेरै राम्रो भएर पनि के गर्नु– यदि उसले आफ्नो ज्ञान र क्षमता आम मानिसको अहितमा प्रयोग गर्छ भने । व्यक्तिविशेषको अहं तुष्टीकरणको लागि सिंगो समाजको अहित गर्ने कुरा किमार्थ एजुकेसन हुनसक्दैन ।

तर हाम्रो ‘स्कूलिङ’ ‘एजुकेसन’ प्राप्तिको मार्गमा हिंडिरहेको छ त ? हामीलाई यही प्रश्नले बेस्सरी घोचिरहेकाले नै यसरी विचार विमर्श, चिन्तन र आत्मसमीक्षा गर्नु परेको हो । हामीलाई यसले कहाँ कहाँ कसरी समस्या र संकटमा पारेको छ भन्ने केही बुँदा मैले अवधारणा राख्ने क्रममा यसअघि– (हे.शिक्षक असोज २०७०) नै प्रकाश पार्ने चेष्टा गरिसकेको छु । आज हामीले हाम्रो समाजमा मानवीय मूल्यहरूको क्षणीकरण हुँदै जान थालेको नजिकबाट देखिरहेका छौं । भौतिक रूपमा सुविधा, सुख र समृद्धि पहिले भन्दा कता हो कता बढिरहेको छ । त्यसले मानिसमा सन्तुष्टि, आनन्द, सुख बढ्नुपर्ने हो । तर अधिकांश मानिसको मनमा हिजोभन्दा झन् दुःख बढिरहेको देखिन्छ । यदि हामीले एजुकेसन प्राप्त गरेको हो भने जस्तै कठिन परिस्थितिमा पनि जीवनवादी हुनुपर्ने, खुशी र हाँसो खोज्न जानेको हुनुपर्ने हो । तर किन पढेलेखेका मानिसहरू नै बढी आत्महत्या गर्न अग्रसर हुन्छन् ? बरु निरक्षर र गरीबीमा पिल्सिएको मानिस जीवनवादी भेटिन्छ, तर राम्रो औपचारिक शिक्षा र अवसर पाएका मानिसहरूमा निराशा बढ्दै गएको छ । उनीहरूमा जीवनबाटै पलायन हुने सोच पैदा हुनुमा हाम्रो स्कूलिङको पो हात छ कि !

शिक्षाको एउटा ध्येय हो, बालबालिकामा अन्तरनिहित प्रतिभा र क्षमताको प्रस्फुटन गराउनु । हाम्रो पाठ्यक्रमको एक नम्बरको उद्देश्य पनि यही हो । तर के हाम्रा बालबालिकामा अन्तरनिहित प्रतिभा र क्षमतालाई उजागर र पूर्ण रूपेण विकास गराउन हाम्रो स्कूलिङ सफल त छ भने हामीले सन्तोष मान्ने ठाउँ छ, हैन भने हामीले आफूलाई रूपान्तरण गरेर अघि बढ्नै पर्छ; हाम्रो स्कूलिङमा सुधार हुनै पर्छ । त्यस्तै, बालबालिकासित अनन्त जिज्ञासा हुन्छन् । जिज्ञासाले नै मानव सभ्यतालाई ढुंगे युगबाट रूपान्तरण गर्दै आजको कम्प्युटरको युगसम्म ल्याएको हो । तर हाम्रा शिक्षालयले बालबालिकालाई उनीहरूको जिज्ञासाको पछिलाग्ने वातावरण कति दिन सकेका छन् ? बच्चाको जिज्ञासा र चासो एउटा छ, तर हामी उसलाई अक्सर चासो कम भएको कुरा पढाइरहेका हुन्छौं । बच्चा त सृजनकार हो, एक्सप्लोरर हो । ऊ हरबखत नवीन कुराको खोजमा हिंडिरहेको हुन्छ । यसो गर्दा के होला, उसो गर्दा के होला भनेर ऊ प्रयोग, परीक्षण र अनुभव गर्न अनवरत रूपमा तम्सिरहेको हुन्छ । तर हामीले कक्षामा उसलाई न सृजनकार र एक्सप्लोररका रूपमा स्वीकार गरेका छौं न त यथोचित स्थान दिनसकेका छौं ।

आजसम्म हामीले हाम्रो चाहना बमोजिम बच्चाले काम गरे भने त्यसलाई मान्यता दिने गरेका छौं । तर बच्चाले आफ्नो सोचले कुनै नयाँ काम गर्‍यो, नवीन सृष्टि गर्‍यो भने हामी त्यसलाई व्यर्थमा समय खेर फाल्यो भनेर उल्टै गाली गर्न पछिपर्दैनौं । बच्चा त परिकल्पनाको खानी नै हो । ऊसित दिनमा १० वटा नयाँ परिकल्पना आउन सक्छन् । ऊ मनमा हरबखत आफ्नै परिकल्पना कसरी साकार तुल्याउने भनेर सोचिरहेको हुन्छ । त्यसैमा दत्तचित्त भएर लागिरहेको हुन्छ । प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले भनेका थिए, Imazination is better than knowldge । अर्थात् ज्ञान भन्दा परिकल्पना नै श्रेष्ठ छ । मनुष्यको परिकल्पना शक्तिले नै मानव समाज यहाँसम्म आइपुगेको हो । त्यसैले स्कूलको एउटा महत्वपूर्ण काम हो, बच्चाको परिकल्पना शक्तिलाई फराकिलो पार्नु । तर हाम्रा स्कूलमा त्यस्तो न्यूनतम वातावरण पनि बच्चालाई दिन सकिरहेका छैनौं । विद्यालय मात्र होइन, हाम्रो नीति निर्माणको तह पनि सही मानेमा विद्यार्थीकेन्द्रित हुन सकिरहेको छैन । यो आजको तीतो यथार्थ हो ।

बहसमा केही मित्रले स्कूलिङको आवश्यकता र खाँचोमा जोड दिनुभएको छ । त्यसमा मेरो विमति छैन । तर हामी स्पष्ट हुनै पर्ने कुरा हो, एजुकेसन विनाको स्कूलिङ केका लागि ? के स्कूलिङको अभीष्ट एजुकेसन भन्दा अरू केही हुन सक्छ ? सक्दैन । यसर्थ, मलाई लाग्छ, शिक्षा क्षेत्रमा कार्यरत हामी सबै जना यस कुरामा सहमत नै छौं । संसारभरका शिक्षाशास्त्रीहरू र चिन्तकहरूको पनि यसमा असहमति छैन ।

हामीमध्ये धेरैलाई लाग्न सक्छ, आज हामीले चर्चा गरिरहेको एजुकेसन को अवधारणा पश्चिमको आधुनिक शिक्षाशास्त्रबाट आएको हो । हामी यस मामिलामा निकै पछि रहेछौं कि क्या हो भन्ने भान पर्न पनि सक्छ । तर यथार्थ त्यस्तो होइन । पश्चिम भन्दा अघि नै पूर्व एजुकेसन को बृहत्तर सोचको निकट थियो । पूर्वीय चिन्तनले परा विद्या र अपरा विद्या भनी मनुष्यले हासिल गर्ने विद्यालाई दुई भागमा बाँडेको थियो । ‘परा’ भन्नाले बाहिरको विद्या (Outward looking) र ‘अपरा’ भन्नाले आत्मचिन्तन केन्द्रित (Inward looking) भन्ने अर्थ लाग्छ । अपरा विद्या आध्यात्मिक प्रतीत हुन्छ । पूर्वीय दर्शनले प्रकृति र पुरुषको पनि चर्चा गरेको छ । प्रकृति भनेको अस्तित्व रहेछ र यससित सम्बन्धित रहेछ परा विद्या । पुरुष भनेको चेतना रहेछ, जुन अपरा विद्यासित सम्बन्धित रहेछ । पूर्वीय परम्पराले यी दुवै विद्यालाई सन्तुलित र समायोजित गरेर अघि बढाएको रहेछ ।

विद्याले मनुष्यलाई मुक्ति (Liberate) दिन्छ । “सा विद्याया विमुक्तये ।” अर्थात् विद्याले मनुष्यलाई सबै किसिमका राग र बन्धनबाट मुक्त गर्दछ । स्वतन्त्र रूपमा विचरण गर्ने आधार दिन्छ । तर त्यसको विपरीत अविद्याले चाहिं मनुष्यलाई बन्धनमै राख्छ, कुण्ठित तुल्याउँछ । अविद्याले मनुष्यलाई मोह र बन्धनको माखेसाङ्लोमा घुमाइराख्छ । यसरी हेर्दा, हाम्रो स्कूलिङ ले जानी नजानी अविद्यातिर उन्मुख गराएको प्रष्टै देखिन्छ ।

तर जब भारतमा ब्रिटिश साम्राज्य पस्यो, त्यसपछि भने पूर्वीय शिक्षा पाखा लगाउन थालियो । भारतलाई कसरी ब्रिटिश साम्राज्यको अधीनस्थ गर्न सकिन्छ भन्ने बारेमा भारत भ्रमण गरेर सन् १८३५ मा ब्रिटिश सांसद् लर्ड मेकालेले एक प्रतिवेदन दिए । भारतीयहरूलाई ब्रिटिश साम्राज्यवादको कसरी अनुकूल बनाउने भन्ने कुरालाई केन्द्रमा राखेर शिक्षालाई रणनीतिक अस्त्र बनाउन थालियो । तदनुरुप, वेद र उपनिषद् र पुराणहरू होइन, पश्चिमका आधुनिक किताबहरू पढ्यौं भने मात्र गतिलो मान्छे हुन्छौं भन्ने मनोविज्ञान भारतीय समाजमा तयार पार्न थालियो । ‘इन्डियन विल रिमने वीथ ब्लड एण्ड कलर बट दे वील वी कन्र्भर्टेड इनटु इङलिश टेस्ट’ भनेर ब्रिटिशहरूले उसबखत नै घोषणा गरेका थिए । उनीहरूको भनाइको आशय थियो, भारतीयहरूको रगत र रंग त फेर्न आवश्यक छैन तर उनीहरूको दिमागमा अंग्रेजी स्वाद हालिनेछ । सोचमा अंग्रेज ठूलो, परम्परामा अंग्रेज ठूलो, भाषामा अंग्रेजी ठूलो । तदनुरुप ब्रिटिश शासकहरूले स्कूलिङको त्यस्तो ढाँचा बनाउन अग्रसर भए जसले त्यस्तो सोच र चिन्तन स्कूल÷कलेज जाने भारतीयहरूको मस्तिष्कमा भर्न सकियोस् । परिणाम स्वरुप भारतमा पूर्वीय शिक्षा संकटकमा पर्‍यो । जसको दुष्प्रभावबाट हामी पनि अछुतो रहन सकेनौं ।

हो, हाम्रो गुरुकुल परम्परा शिष्य प्रधान नभएर गुरुप्रधान नै थियो । त्यो शिष्य र सिकाइ प्रधान बन्न सकेको थिएन । गुरु अवश्य पनि प्रेरक र सहजकर्ता हुन् । तर पूर्वीय परम्परामा एउटा भूल भयो । यहाँ गुरुलाई सबैथोक मान्न थालियो । त्यसले कालान्तरमा पूर्वीय शिक्षालाई ठूलो क्षति पुर्‍यायो । तर के पनि कटु यथार्थ हो भने, गुरुकुलले मात्र होइन, आधुनिकताका नाममा हामीले अंगीकार गरेको पश्चिमी शिक्षामा पनि शिक्षक नै सर्वेसर्वा बनाइएका छन् । शिक्षक नै सर्वेसर्वा स्कूलिङको लागि मात्र मानिन्छ । कम्प्युटरमा सफ्टवेयर हाले जसरी विद्यार्थीमा ज्ञानको निर्माण शिक्षकले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई स्वीकार गरेको छ । अझ् आजको शिक्षाले त हाम्रो मौलिक र ‘इन्डिजिनियस’ ज्ञानलाई मान्यता दिएन, पश्चिमबाट आयातीत कुरा मात्र ठीक भन्ने सोचको विस्तार मात्र गरिदियो । विद्यार्थी केन्द्रित नभए पनि गुरुकुल परम्परा समाजको बृहत्तर हित, मानवीयता, समग्रता, मोक्ष आदिबाट निर्देशित थियो । ती सब कुराहरू हाम्रो समाजको हज्जारौं वर्षको प्रयोग, परीक्षण र चिन्तनमा आधारित थिए । तर आज न हाम्रो ज्ञान बाँडियो, न सिकाउने तरिका नै विद्यार्थीमुखी भयो । हामीले त दुवै कुरा गुमायौं ।

यो त ऐतिहासिक सन्दर्भ भयो । अब हामीले यही ऐतिहासिक सन्दर्भको जगमा उभिएर हाम्रो आफ्नै सामाजिक यथार्थसित तालमेल मिलाएर एजुकेसनलाई अघि बढाउनु आवश्यक छ । त्यसनिम्ति एउटा पुनर्जागरणको खाँचो छ । स्कूलिङ र एजुकेसनको विश्वव्यापी बहसको प्रस्थान विन्दु यही हो । नेपालले पनि अब विश्वव्यापी बहसको हिस्सा बन्न आरम्भ गरेको छ ।

यो बहस आगामी धेरै वर्षसम्म हाम्रो समाजमा जारी रहने छ । हामीले यो बहसलाई नयाँ उचाइमा पुर्‍याउनुछ । त्यसका लागि हामीले धेरै काम गर्नुछ । यथार्थमा मौलिक, ठोस र रचनात्मक कार्यहरू नगरिकन त बहस नयाँ उचाइमा कहिल्यै पनि पुग्दैन । त्यसैले हामीले आ–आफ्नो क्षेत्र र तहबाट नेपालको शिक्षामा अर्थपूर्ण योगदान पुर्‍याउने सानै भए पनि योगदान गर्नुपरेको छ ।

हामी मिलेर नेपालको शिक्षामा ठोस र अर्थपूर्ण रूपान्तरणको सुरुआत गरौं । यस सन्दर्भमा थप एउटा कुरा पनि भनिहालूँ, यस बहसमा सहभागी शिक्षक मित्रहरूले अगाडिको दिनहरूका लागि ठोस र मौलिक सुझवलाई ग्रहण गरी आगामी दिनका नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्न मेरोतर्फबाट सततः प्रयास रहनेछ ।

अन्त्यमा, मलाई यो अवधारणा नेपाली शिक्षकहरूसमक्ष राख्ने महत्वपूर्ण अवसर दिएर र त्यसलाई राष्ट्रिय बहसको रूपमा उठान गरिदिएर शिक्षक मासिकले मलाई र पाठकहरूलाई मात्र होइन, नेपालको शिक्षा क्षेत्रलाई समेत ठूलो गुन लगाएको छ । त्यसनिम्ति शिक्षक मासिक परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु ।

(अवस्थी शिक्षा विभागका महानिर्देशक हुन्)


commercial commercial commercial commercial