उदार कक्षोन्नतिः के हो, के होइन !

विद्यालय तहमा बालबालिकाको स्तर निर्धारण गर्दै शिक्षण सिकाइ सञ्चालन गर्न कक्षा (Class/Grade) को व्यवस्था गरिएको हुन्छ । बालबालिकाको उमेर सँगसँगै उनीहरूको शारीरिक, मानसिक एवं संवेगात्मक विकास हुँदै जान्छ । उनीहरूले आफ्नो परिवेश–वातावरण बुझेर सोही अनुरूपको आचरण र सिर्जना गर्ने कार्यलाई सँगसँगै अघि बढाएका हुन्छन् । बढ्दो उमेरसँगै विभिन्न स्रोतबाट सूचना प्राप्त गर्ने र त्यसलाई विश्लेषण गरेर प्रतिक्रिया दिने क्षमता पनि विकास हुँदै जान्छ । यही क्रममा बालबालिकाको सिकाइलार्ई भाषा, गणित, सामाजिक अध्ययन, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा आदिका माध्यमबाट अझ परिष्कृत र व्यवस्थित गर्ने हेतुले विद्यालय भर्ना गर्ने गरिन्छ ।


उदार कक्षोन्नति प्रणाली भनेको विद्यार्थीलाई स्वतः पास गराउने पद्धति होइन बरु यो त विद्यार्थीलाई प्रभावकारी सिकाइको अवसर प्रदान गर्दै जाने पद्धति हो । उदार कक्षोन्नति आफैंमा उत्कृष्ट पद्धति हो तर यस अवधारणाप्रतिको गलत बुझइ र गलत अभ्यासले गर्दा यो अवधारणामाथि प्रश्नचिह्न खडा भएको छ ।

विद्यालयमा शिक्षकले बालबालिकाको नियमित र आधारभूत सिकाइलाई निरन्तरता दिंदै समुदाय, राज्य र विश्व–परिवेशमा समायोजन हुन सक्ने गरी थप ज्ञान, सीप र धारणाको विकास गर्नुपर्ने हुन्छ । यसका निम्ति पाठ्यक्रमको व्यवस्था गरिएको हुन्छ । पाठ्यक्रमले कुन विषयवस्तु कुन कक्षामा सिकाउने र कति सिकाउने भन्ने कुराको मार्गदर्शन गर्दछ । सामान्यतया कुन विषयवस्तु कुन उमेरका बालबालिकालाई सिकाउन उपयुक्त हुन्छ भन्ने विचार गरेर कक्षागत सिकाइ उपलब्धि वा उद्देश्य तय गरिएको हुन्छ । कुनै विषयवस्तुलाई तल्लो कक्षादेखि माथिल्लो कक्षासम्म सिकाउनुपर्ने हुन्छ भने कुनै चाहिं खास उमेर समूहको कक्षामा मात्र सिकाउनुपर्ने हुन्छ । यसरी एउटै विद्यार्थीलाई एकै पटक सबै कुरा सिकाउन नसकिने हुनाले विद्यालयमा कक्षाको व्यवस्था गरिएको हुन्छ । सामान्यतया विद्यालयमा एउटा कक्षा एक वर्ष अवधिको हुन्छ । एक वर्षमा विद्यार्थीले आफू रहेको कक्षामा सिक्नुपर्ने न्यूनतम कुरा सिकेको निक्र्योल गरी माथिल्लो कक्षामा चढाउने गरिन्छ, जसलाई कक्षोन्नति (Upgrading) भनिन्छ । यसरी एउटाबाट अर्कोमा कक्षोन्नति गर्न सामान्यतया तीन प्रकारका पद्धति प्रयोग गरेको पाइन्छ:

क) मापदण्ड पद्धति (Measuring Fod System): यो पद्धति अनुसार कक्षा पार गर्नको लागि न्यूनतम सिकाइ भएको हुनुपर्ने गरी मापदण्ड वा उत्तीर्णाङ्क तोकिएको हुन्छ । यस्तो मापदण्ड पार गर्ने विद्यार्थीलाई ‘उत्तीर्ण’ भनी कक्षा चढाइन्छ र पार गर्न नसक्ने विद्यार्थीलाई पुनः त्यही कक्षामा एक वर्ष दोहो¥याउन लगाइन्छ । यो पद्धतिले तल्लो कक्षामा सिक्नुपर्ने कुरा नसिकी माथिल्लो कक्षामा सिक्न सक्दैनन् भन्ने मान्यता राखेको हुन्छ ।   

ख) स्वतः कक्षोन्नति प्रणाली (Auto Promotion System): यो पद्धति अनुसार खास उमेर समूहका लागि कक्षाको व्यवस्था गरिएको हुन्छ । उमेर बढ्दै जाँदा कक्षा पनि बढ्दै जान्छ । तोकिएको उमेर पार गरेपछि अथवा तोकिएको सिकाइ उपलब्धि हासिल गरेको सुनिश्चित भएपछि बालबालिकालाई स्वतः कक्षा चढाउने गरिन्छ । यस पद्धतिलाई परिष्कृत रूपमा प्रयोग गर्ने क्रममा बालबालिकाको बौद्धिक उमेर गणना गरी सोही आधारमा कक्षा निर्धारण गर्न पनि सकिन्छ । बालबालिकाको मूल्याङ्कन वार्षिक वा आवधिक रूपमा मात्र नगरी शिक्षण सिकाइकै क्रममा निरन्तर र निर्माणात्मक मूल्याङ्कन हु“दै जान्छ । यस पद्धतिमा बालबालिकाले आफ्नो रुचि र क्षमता अनुसार सिक्छन् भन्ने मान्यता राखिएको हुन्छ ।

ग) उदार कक्षोन्नति प्रणाली (Liberal Promotion System): यो पद्धतिमा बालबालिकालाई सामान्यतया एक वर्ष एउटा कक्षामा राखिन्छ । निरन्तर मूल्याङ्कन गर्दै लगेर एक वर्षपछि अक्षराङ्क पद्धति (letter Grading System) अनुसार विद्यार्थीको वर्गीकरण गरी सबैलाई कक्षोन्नति गरिन्छ । यो पद्धतिले ‘बालबालिका सिक्न सक्दैनन्’ भन्ने भन्दा पनि ‘तल्लो कक्षामा सिक्न नसकेको कुरा माथिल्लो कक्षामा पुगेर पनि सिक्न सक्छन्’ भन्ने मान्यता राख्दछ ।

उदार कक्षोन्नतिका विभिन्न परिभाषा पाइन्छन् । जस्तै,

  • बालबालिकालाई सामान्यतया तल्ला कक्षामा सिक्न नसकिएका कुराहरू माथिल्ला कक्षामा सिकाउने गरी कक्षा चढाउँदै लैजाने पद्धतिलाई उदार कक्षोन्नति भनिन्छ । –प्रयोगात्मक मूल्याङ्कन सामग्री सामाजिक अध्ययन, प्राथमिक तह (कक्षा १–५), २०६७
  • एक वर्ष कुनै कक्षामा अध्ययन गरेका विद्यार्थीलाई माथिल्लो कक्षामा सहजै चढाउने नीति उदार कक्षोन्नति नीति हो । यो निरन्तर मूल्याङ्कन पद्धतिमा आधारित हुन्छ । यसमा विद्यार्थी निश्चित दिन हाजिर हुनै पर्ने र केही न्यूनतम कुरा सिकेकै हुनुपर्ने शर्त लागू हुन्छन् । –विद्यालयस्तरीय मूल्याङ्कन सहयोगी पुस्तिका २०६६
  • यी भनाइले के प्रष्ट पार्दछन् भने उदार कक्षोन्नति भनेको विद्यार्थी भर्ना गर्दै कक्षा चढाउँदै जाने पद्धति होइन, बरु नजानेका वा सिकाइ स्तर कमजोर भएका बालबालिकालाई पनि सिकाएर कक्षा चढाउने पद्धति हो । बालबालिकाले तल्लो कक्षामा सिक्न नसकेको कुरालाई माथिल्लो कक्षामा गएपछि पनि शिक्षकले सिकाउनुपर्छ भन्ने कुरामा यस पद्धतिले जोड दिएको छ । यो निरन्तर मूल्याङ्कन पद्धति (Continuous Assessment System) को अभिन्न अंग हो ।
  • कक्षाकोठाको शिक्षण सिकाइ र मूल्याङ्कन गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो । जबसम्म शिक्षकले उदार कक्षोन्नतिलाई राम्रोस“ग बुझ्ेर प्रयोगमा ल्याउँदैनन् तबसम्म यस पद्धतिले सही परिणाम दिन सक्दैन । हाम्रा शिक्षकहरूले उदार कक्षोन्नतिलाई कसरी बुझेका छन् भन्ने सम्बन्धमा केही शिक्षकसँग गरिएको कुराकानी, शिक्षक तालिम र कक्षा अवलोकनका क्रममा शिक्षकहरूले दिएको अभिव्यक्ति एवम् प्रतिक्रियाका आधारमा उदार कक्षोन्नति सम्बन्धमा शिक्षकको बुझइ यस प्रकार रहेको देखिन्छ ।

क) सकारात्मक बुझाइ :

  • उदार कक्षोन्नति प्रणालीले बालबालिकालाई सिकाइमा अघि बढ्न मद्दत गर्दछ ।
  • हाम्रो देशमा उमेर अनुसारका कक्षा छैनन् । एकै उमेरका बालबालिकाको पनि बौद्धिक उमेर र शारीरिक उमेर फरक फरक हुन सक्छ । त्यसैले तल्लो कक्षामा कमजोर सिकाइ भएका बालबालिकाले पनि माथिल्लो कक्षामा गएर सो कुरा सिक्न सक्छन् । त्यसैले उनीहरूलाई रोक्नुहु“दैन ।
  • कलिला बालबालिकालाई ‘तिमी फेल भयौ’ भनी रोकिदिंदा उसको कलिलो मस्तिष्कमा आघात पर्न गई सिकाइको लागि अग्रसर नहुने र पछि पर्ने स्वभावको विकास हुन सक्छ ।
  • शारीरिक उमेरले ठूला भइसकेका बालबालिका अनुत्तीर्ण भएर आफ्ना भाइबहिनीसँग बसेर फेरि त्यही कक्षामा पढ्नु पर्दा उनीहरूमा लाज, हीनताबोध र असन्तुष्टि पैदा हुन सक्छ । उनीहरू झगडालु, कसैलाई नटेर्ने, साना भाइबहिनीलाई पिट्ने वा तर्साउने स्वभावका हुन सक्छन् । त्यसैले उनीहरूलाई एउटै कक्षामा नरोकी कक्षा चढाउँदै लैजानुपर्दछ ।

ख) नकारात्मक बुझाइ :

  • उदार कक्षोन्नति नपढे पनि पास हुने पद्धति हो ।
  • विद्यार्थीलाई फेल गर्नै नपाइने हुँदा पढ्दै नपढ्ने कमजोर विद्यार्थी पनि माथिल्लो कक्षामा पुग्छन् ।
  • विद्यार्थीहरू फेल हुने डरले अलिअलि भए पनि पढ्थे । उदार कक्षोन्नतिले नपढे पनि पास हुने व्यवस्था गरेकोले विद्यार्थीले पढ्नै छाडे ।
  • फेल नै गर्न नपाइने भएपछि शिक्षाको गुणस्तर खस्किहाल्छ नि !
  • तल्लो कक्षामा पास गराउँदै लगिन्छ, केही जानेको हुँदैन । ती विद्यार्थीहरू माथिल्लो कक्षाका लागि बोझ् भएका छन् ।
  • निमावि र मावि तहमा कक्षा छाड्ने र कक्षा दोहोर्‍याउने दर बढ्नुको मुख्य कारण प्रावि तहमा लागू भएको उदार कक्षोन्नति नै हो ।  

अधिकांश शिक्षकमा उदार कक्षोन्नतिका सम्बन्धमा यस्तै नकारात्मक धारणा रहेको पाइन्छ । यो पद्धति बालबालिकाको दृष्टिले भन्दा पनि शिक्षकका दृष्टिले समस्यामूलक भएको देखिन्छ । परम्परागत सिकाइ शैलीमा बानी परेका हाम्रा शिक्षकहरूलाई निरन्तर मूल्याङ्कनको अर्थ एवं महत्व बुझाउन र त्यसमा बानी पार्न धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।  

हुन त नेपालमा उदार कक्षोन्नति लागू भएको एक दशक पार भइसकेको छ । सरकारी स्तरबाट निरन्तर मूल्याङ्कन र उदार कक्षोन्नति सम्बन्धी नीति तथा कार्यक्रमहरू बनेर कार्यान्वयनमा पनि आइसकेको देखिन्छ । यहाँ केही उदाहरणहरू दिनु सान्दर्भिक हुनेछ ।

  • राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले निरन्तर मूल्याङ्कन पद्धतिलाई शिक्षण सिकाइ क्रियाकलापको अभिन्न अंगका रूपमा स्थापित गरी, उपचारात्मक प्रावधान राखी गुणस्तर निश्चित गरेर कक्षा ७ सम्म क्रमशः उदार कक्षोन्नति लागू गर्ने नीति लिएको छ ।
  • तीन वर्षीय अन्तरिम योजनाले गरेको व्यवस्था अनुसार चरणवद्ध रूपमा कक्षा ७ सम्म तोकिएको सिकाइ उपलव्धि सुनिश्चित गरी उदार कक्षोन्नति व्यवस्था लागू गर्ने र त्यसो गर्दा विद्यार्थीको उपलब्धिका आधारमा ग्रेडिङ गर्ने एवम् यसका लागि विद्यालयलाई आवश्यक सहयोग गर्ने नीति लिइएको छ ।
  • विद्यालय क्षेत्र सुधार कार्यक्रमले निरन्तर मूल्याङ्कन तथा उपचारात्मक सहयोग पद्धतिको कार्यान्वयन गर्ने नीति लिएको देखिन्छ ।  
  • आधारभूत शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) मा ‘निरन्तर मूल्याङ्कन पद्धतिका आधारमा कक्षोन्नति गरिनेछ । त्यसैले यस तहमा उत्तीर्णाङ्क नतोकिएको’ भन्ने उल्लेख गरिएको छ । विद्यालयमा अति कम उपस्थित भएका र न्यूनतम सिकाइ उपलब्धि हासिल नगरेका विद्यार्थीहरूका लागि पुनः सिक्ने अवसर दिने गरी सम्बन्धित शिक्षक, अभिभावक र प्रधानाध्यापकको निर्णयबाट कक्षोन्नति गर्न सकिने व्यवस्था गरिएको छ ।

यसरी आधारभूत तहमा निरन्तर मूल्याङ्कन र उदार कक्षोन्नति पद्धति लागू हुनसकेमा निम्नानुसारका उपलब्धिहरू हासिल हुने देखिन्छ :

  • बालबालिकाको कक्षा दोहोर्‍याउने र कक्षा छाड्ने दर घट्नेछ ।
  • वर्ष दिनसम्म भएको शैक्षिक र आर्थिक लगानीको क्षति घट्नेछ ।
  • विद्यालयमा बालबालिकाको टिकाउदर बढ्नेछ ।
  • विद्यालय र शिक्षकलाई बालबालिकाप्रति उत्तरदायी एवम् जिम्मेवार बनाउ“छ ।
  • अबोध बालबालिकाको सिक्ने अवसर गुम्नबाट बचाई समयको क्षति हुनबाट बचाउ“छ ।
  • बालबालिकालाई परीक्षाको त्रासबाट मुक्त गरी सिकाइप्रति अभिप्रेरित गराउँछ ।
  • निरन्तर र निर्माणात्मक मूल्याङ्कन पद्धतिका माध्यमबाट बालबालिकाको चौतर्फी विकासमा मद्दत पुग्छ ।
  • मूल्याङ्कन पद्धतिलाई शिक्षण सिकाइ प्रक्रियाकै अभिन्न अङ्गको रूपमा विकास गर्न सकिन्छ ।
  • बालबालिकामा आत्मविश्वास बढ्नेछ ।

यति धेरै उपलब्धि प्राप्त हुने यो पद्धतिलाई कार्यान्वयनमा ल्याउन सरकारी स्तरबाट विभिन्न प्रयासहरू भएको देखिन्छ । आधारभूत तहको पाठ्यक्रममा उदार कक्षोन्नतिको व्यवस्था गरिएको छ । जिल्ला शिक्षा कार्यालयहरूबाट निरन्तर मूल्यांकन सामग्रीहरू जस्तै, पोर्टफोलियो फाइल, फारम र लब्धाङ्कपत्रको नमूना तयार पारी वितरण समेत गरेको देखिन्छ । यस सम्बन्धमा स्रोत केन्द्र स्तरमा प्रधानाध्यापक र शिक्षकका लागि प्रबोधीकरण तालिमको समेत व्यवस्था भएको छ । स्रोतव्यक्ति र विद्यालयका लागि स्रोत सामग्रीहरूको व्यवस्था गरिएको पाइन्छ ।  

यति हुँदाहुँदै पनि देशका अधिकांश विद्यालयमा उदार कक्षोन्नति र निरन्तर मूल्याङ्कन पद्धतिले मूर्तरूप पाउन सकेको देखिंदैन । बरु यसको गलत प्रयोग वा गलत बुझाइले गर्दा बालबालिका आधारभूत कुरा सिक्दै नसिकी माथिल्लो कक्षामा पुग्ने र त्यहीं रोकिएर बस्नुपर्ने वा पढाइ नै छाड्नुपर्ने विडम्बनाको शिकार बन्न पुगेको देखिन्छ । यसो हुनुका कारणहरू केलाउँदा धेरैजसो विद्यालयमा व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकले उदार कक्षोन्नति प्रणालीलाई यसको मर्मअनुरुप बुझ्ेर अभ्यास गर्न सकेको देखिंदैन । आम शिक्षकले अझै पनि यस पद्धतिलाई अतिरिक्त बोझ्को रूपमा लिएको र आत्मसात् गर्न नसकेको अवस्था छ । सरकारी नीति कार्यान्वयनको नाममा निरन्तर मूल्याङ्कनविना नै सीधै कक्षा चढाउने गरेको देखिन्छ । कतिपय विद्यालयमा त अझै पनि प्राथमिक तहमा विद्यार्थी अनुत्तीर्ण भई कक्षा दोहोर्‍याएको अवस्था देख्न सकिन्छ ।   

चुनौती
यसरी हेर्दा अझै पनि उदार कक्षोन्नति र निरन्तर मूल्याङ्कन पद्धति कार्यान्वयनका सामु थुप्रै चुनौती रहेको देखिन्छ । तीमध्ये केहीलाई यहाँ प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ:

  • शिक्षकको जागरुकता र क्षमता नभएमा अन्यत्रबाट निरन्तर मूल्याङ्कन र उदार कक्षोन्नति कार्यान्वयन गर्न सकिंदैन । परम्परागत रटान (Chalk and Talk Class) पद्धतिमा हुर्केका शिक्षकलाई बालबालिकाको सूक्ष्म अध्ययन गर्दै सिकाउने यो पद्धतिमा अभ्यस्त गराउनु कठिन छ ।
  • धेरै विद्यार्थी भएको कक्षामा यो प्रणाली लागू गर्न गाह्रो हुन्छ किनकि एक जना शिक्षकले प्रत्येक बालबालिकाको सबै पक्षको विकास हुने गरी सिकाउन २० देखि २५ जनासम्मको कक्षा उपयुक्त हुन्छ । तर सरकारको प्रति शिक्षक ५० जना विद्यार्थी हुनुपर्ने नीति यससँग बाझ्ेको देखिन्छ ।
  • समुदायले निरन्तर मूल्याङ्कनको महत्व नबुझ्ेको अवस्थामा यो प्रणाली कार्यान्वयन गर्न गाह्रो हुन्छ । अहिलेको समुदाय आफ्नो बालबालिकाको अंक र श्रेणी बढेको हेर्न चाहन्छ । जुन घोकन्ते पद्धतिबाट नै छिटो प्राप्त हुन्छ । अभिभावक र समुदायको यो चाहनाले शिक्षकलाई परम्परागत पद्धतिमा नै बस्न दबाब सिर्जना गरेको देखिन्छ ।
  • सरकारी नीतिको कार्यान्वयन गर्ने नाउँमा शिक्षकले विद्यार्थीलाई न्यूनतम सिकाइ उपलब्धि हासिल हुने गरी पनि नसिकाएर सीधै कक्षा चढाउँदै जानाले यस पद्धतिमाथि नै प्रश्नचिन्ह खडा भएको छ भने माथिल्लो कक्षामा बोझ् थपिएको अवस्था छ ।

उपर्युक्त चुनौतीको सामना गर्दै निरन्तर मूल्याङ्कन तथा उदार कक्षोन्नति पद्धतिलाई सही रूपमा कार्यान्वयनमा ल्याउनु आजको आवश्यकता हो । आम शिक्षक र अभिभावक एवं सरोकारवालाहरूमा यस पद्धतिप्रति रहेको भ्रम र अस्पष्टताहरूलाई हटाई कार्य रूपमा उतार्न ढिला भइसकेको छ । यसबाट बालबालिका पीडित हुनुहुँदैन । शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै यसमा भएका कमी कमजोरीहरूको सुधार गर्नुपर्दछ । कानूनी प्रावधान बलियो बनाई कार्यान्वयनमा सरलता ल्याउनुपर्दछ । गरे पनि हुने, नगरे पनि हुने वा जे गरे पनि हुने अवस्थाको अन्त्य हुनु पर्दछ; किनकि यसमा लाखौं होनहार बालबालिकाको भविष्य जोडिएको छ । बालबालिका माथि भएको सानो त्रुटिले भविष्यमा देशलाई वर्षौं पछाडि धकेल्न सक्छ । यस्तो संवेदनशील कुरा राजनीतिक बहसको विषय बन्नुपर्दछ । दलहरूले आफ्ना दस्तावेजमा यस पद्धति कार्यान्वयनको प्रतिबद्धता जाहेर गर्नुपर्दछ ।

संस्थागत र सामुदायिक विद्यालय बीचको खाडलको अन्त्य गर्नुपर्दछ । सामुदायिक विद्यालयहरूलाई सुविधासम्पन्न र गुणस्तरयुक्त बनाई सरकारी वेतन बुझनेका बालबच्चा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउन बाध्य बनाउने वा आकर्षित गर्ने कानून निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्दछ ।

निष्कर्षमा भन्नु पर्दा उदार कक्षोन्नति प्रणाली भनेको विद्यार्थीलाई स्वतः पास गराउने पद्धति होइन बरु यो त विद्यार्थीलाई प्रभावकारी सिकाइको अवसर प्रदान गर्दै जाने पद्धति हो । उदार कक्षोन्नति आफैंमा उत्कृष्ट पद्धति हो तर यस अवधारणाप्रतिको गलत बुझइ र गलत अभ्यासले गर्दा यो अवधारणा माथि प्रश्नचिह्न खडा भएको हो ।

(स्रोत व्यक्ति, बज्रबाराही उमावि, चापागाउँ, ललितपुर)

commercial commercial commercial commercial