महामारीको भुँवरीमा विद्यालय संचालनका सुरक्षा–शर्त

विद्यालय बन्द र यसको प्रभाव

मार्च १८, २०२० का दिन नेपाल सरकारले कोभिड–१९ महामारीलाई सम्बोधन गर्ने क्रममा सबै शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय ग¥यो । यो अन्तर्राष्ट्रिय जगतमा भइरहेको विद्यालय बन्द गर्ने अभियानकै निरन्तरता थियो । युनेस्कोका अनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको छ । यसमध्ये ११ प्रतिशत पूर्वप्राथमिक तह, २८ प्रतिशत प्राथमिक तह, ३९ प्रतिशत माध्यमिक तह र ५ प्रतिशत उच्च तहका विद्यार्थीहरू छन् ।

संसारभर कोभिड–१९ बाट संक्रमितको संख्या १ करोडको हाराहारीमा पुग्दा झण्डै ५ लाखको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को पहिलो प्रमाणित केस जनवरी १३, २०२० मा चीनको वुहान शहरबाट फर्केका एक नेपाली विद्यार्थीमा देखा परेको थियो । त्यसपश्चात् संक्रमणका घटनाहरू विस्तारै बढ्न थाले र जुन २३, २०२० मा यसको संख्या १० हजार माथि पुग्यो भने २४ जनाले मृत्युवरण गरे । यो महामारीले नेपालमा शैक्षिक क्षेत्रलगायत मानवजीवनका सबै पक्षलाई नराम्ररी प्रभावित पारेको छ ।

विज्ञहरूका अनुसार जति लामो समयसम्म विद्यालयहरू बन्द हुन्छन्, विद्यार्थीमा त्यति नै धेरै विद्यालय छाड्ने प्रवृत्ति र मनोसामाजिक समस्याहरू देखिन्छन् । महामारीभन्दा विद्यालय बन्द भएका कारणले बालबालिकाहरू बढी प्रभावित हुन्छन् । वास्तवमा महामारीका कारण बालबालिकाको सिकाइमा अत्यन्तै चिन्ताजनक असरहरू देखिन थालेको पाइन्छ । युनेस्को, युनिसेफ, विश्व बैंक र विश्व खाद्य कार्यक्रमका अनुसार कक्षागत सिकाइका अवसरहरूमा आएको अवरोधले बालबालिकाको सिक्ने क्षमतामा गम्भीर प्रभाव पार्न सक्छ ।

नेपालका शहरी क्षेत्रका धेरैजसो विद्यालयले सूचना प्रविधिमार्फत् दूरशिक्षाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । तर धेरैजसो विद्यार्थीहरू सामाजिक–आर्थिक बाधाहरूले गर्दा यसको पहुँचबाट टाढै छन् । सूचना प्रविधिको उपयोग गरेर शिक्षालाई निरन्तरता दिनु एउटा विकल्प हुन सक्छ, तर नेपालको सन्दर्भमा यसले तत्कालै सबैको पहुँचमा पुग्ने मूलधारको स्वरूप लिन सक्दैन । नेपालका शहरी र ग्रामीण क्षेत्रबीच एउटा ठूलो ‘डिजिटल’ विभेद विद्यमान छ । यसैगरी लामो समयसम्म विद्यालयहरू बन्द रहिरहने हो भने विद्यार्थीमा नियमित विद्यालय जाने रूचि हराउन सक्नेछ र गरीब तथा सिमान्तकृत विद्यार्थीले विद्यालय छाड्ने समस्या पनि देखिने छ ।

विद्यालय पुनः सुचारु गर्ने बहस

नेपालमा तत्कालीन समयमा संक्रमण रोक्नका लागि विद्यालय बन्द गर्ने नीतिलाई बुद्धिमानीपूर्ण कदम ठानिएको थियो । तर हाल आएर यो नीतिलाई निरन्तरता दिने वा यतिकैमा रोक्ने भन्ने कुरामा विभिन्न प्रश्नहरू उब्जिएका छन् । मे २८, २०२० (१५ जेठ २०७७)मा निजी शैक्षिक संस्थाहरूको प्रतिनिधि संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोभिड–१९ महामारीकै बीचमा पनि विद्यालय खोल्नका लागि अनुरोध गरेको थियो । ‘पठन–पाठनलाई सहज बनाई विद्यार्थीको सिकाइ क्रियाकलापलाई समयअनुकूल अगाडि बढाउन, गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान पु¥याइरहेका निजी विद्यालय लगायतका संस्थाहरूलाई जोगाउन, निजी विद्यालयमा कार्यरत दुई लाखभन्दा बढी शिक्षक–कर्मचारीको रोजगारीलाई क्षति हुन नदिन र कोभिड–१९ को कारणले अर्थतन्त्र नै धराशायी हुन लागेको बेलामा अभिभावकहरूलाई पनि राहत महसूस गराउन’भन्दै विभिन्न सातवटा संस्थाहरूको साझा ठम्याइलाई सो संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गर्दै १० वटा माग प्रस्तुत गरिएको थियो ।

तर, त्यसको दुई दिनपछि १० विद्यार्थी संगठनले संयुक्त प्रेस वक्तव्य जारी गरेर निजी विद्यालयका सञ्चालकहरूले २०७७ जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गरी पठनपाठन गर्ने भन्ने विषयप्रति उनीहरूको गम्भीर ध्यानाकर्षण भएको र सैद्धान्तिक रूपमा सबै विद्यार्थीहरूको पठनपाठनलाई छिट्टै शुरू गर्नुपर्ने कुरामा उनीहरू सचेत र जिम्मेवार भएर पहल गरिरहेको तर कोभिड–१९ का कारण विद्यार्थीहरूको जीवन प्रयोगशाला हुन सक्ने कुरामा सबैपक्ष जिम्मेवार हुनुपर्नेमा निजी विद्यालयका सञ्चालकहरूले रकम असुल्ने नियतका साथ गर्ने यस्ता कुनै पनि कार्यको विरोध एवं निन्दा गर्दै सो कार्य नगर्न चेतावनी समेत दिएका थिए ।

त्यसपछि निजी विद्यालयसँग संवद्ध दुई संगठनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयलाई विद्यार्थी भर्ना गर्न नदिने र विद्यालय पनि खोल्न नदिएर पेलेर जाने नीति अघि बढाएकाले देशैभरिका निजी विद्यालयको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका थिए । यसले अब नेपालमा विद्यालयहरू कहिले देखि खुल्ने र कसरी खोल्ने भन्ने विषयमा एउटा बहस नै सिर्जना गरेको छ । अर्कोतर्फ चिकित्साकर्मी र जनस्वास्थ्यविद् भने बन्दाबन्दी खोलेपछिको सम्भावित महामारीको गम्भीरताबाट चिन्तित छन् ।

नेपाली मिडियामा सुरक्षा उपायहरू प्रयोग गरेर विद्यालयहरू खोल्नका लागि आवाज उठेको छ । संस्थागत विद्यालय संगठनहरूले पनि विद्यालय खोल्न माग गरिरहेका छन् । यद्यपि, यो अनुसन्धानको विषय हो कि विद्यालय सञ्चालक र सरोकारवालाले आवश्यक सावधानी र तयारीहरू गरेर उनीहरूको विद्यालयहरू पुनः शुरू गर्न माग गरिरहेका छन् वा आफ्नो लगानी उठाउने मात्रै सोच बनाएका छन् ? विशेषगरी विद्यालय पुनः सुचारु गर्न निजी विद्यालयले नै बढी चासो र अग्रता देखाउनु, तर सार्वजनिक विद्यालयका सरोकारवाला मौन रहनुले जनमानसमा यस्तो शंका उब्जनु स्वाभाविक मान्न सकिन्छ । अधिकांश अभिभावक आफ्ना बालबालिकाको स्वास्थ्यप्रति बढी संवेदनशील देखिएका छन् भने विद्यालय खोल्ने–नखोल्ने वादविवादले झनै चिन्तित बनेका छन् ।

कोभिड–१९ कै बीच विद्यालय पुनः सुचारु गरिएका केही सफल उदाहरण

कोरिया, चीन, डेनमार्क, नर्वे, सिंगापुर र ताइवान जस्ता केही देशले कोभिड–१९ कै बीच मार्च–अप्रिल २०२० देखि विद्यालयहरू फेरि खोल्न थालेका छन् । शारीरिक दूरी प्रविधिका साथ सावधानीपूर्वक स्वच्छता, सरसफाइ र क्वारेन्टाइनको प्रयोगले विद्यालयमा कोभिड–१९ को विस्तारलाई कम गर्न सकिन्छ भनेर देखाउँछन् । यी देशको सन्दर्भमा विद्यालयहरू खोल्दा यस्ता स्वास्थ्य र सुरक्षा दिशानिर्देशहरू र सामाजिक दूरी रणनीति प्रयोग गरियो जुन सफलतापूर्वक लागू भएको थियो ।

चीन कोभिड–१९ महामारीको उत्पत्ति भएको देश हो । महामारी शुरू भएपश्चात् जनवरी २०२० मा चिनियाँ नयाँ वर्षको बिदाका लागि अधिकांश विद्यालयहरू बन्द भए । तर, मार्चको अन्त्यतिर विद्यालयले स्तरीय सुरक्षा सावधानी अपनाउन सक्ने र अधिकारीहरूले जोखिम न्यून छ भनेर निर्धारण गरेमा विद्यालयहरूलाई खोल्ने अनुमति दिन थालियो । सुरुवातमा माथिल्लो तहको प्रवेश परीक्षाको तयारी गर्नका लागि भनेर मिडिल र हाइस्कूलका विद्यार्थीहरूका लागि विद्यालय खोलियो ।

डेनमार्क महामारी पश्चात् विद्यालय पुनः शुरू गर्ने पहिलो युरोपेली देश हो, जसले अप्रिल १५ सम्ममा विद्यालय खोल्न अनुमति दिएको थियो । विद्यालय पुनः खोल्ने पहिलो चरणमा त्यहाँ १२ वर्ष मुनिका बच्चाहरू मात्र स्कूलमा फर्के, जबकि ठूला बच्चाहरू घरमा दूर शिक्षा हासिल गरे ।

सिंगापुरका स्कूलहरू कोभिड–१९ प्रसारको समयमा खुला नै रहे, पछि अप्रिल ८ मा आंशिक बन्दाबन्दी भएपश्चात् घरमा आधारित शिक्षामा स्विच गरेपछि मात्र विद्यालयहरू बन्द भए । विद्यार्थीहरू यो रोगको प्रसारको स्रोत नभएको जस्ता देखिए किनभने विद्यालय उमेरका बच्चाहरूमा आठ वटा मात्र ज्ञात संक्रमणहरू भेटिए, जसमध्ये कुनै पनि विद्यालयसँग सम्बन्धित थिएनन् । सिंगापुरमा जुन २ देखि प्राथमिक र माध्यमिक तहका सीमित कक्षाहरू केही सुरक्षा मापदण्डका साथ साप्ताहिक तालिका निर्माण गरेर वैकल्पिक रुपमा सञ्चालनमा ल्याइयो ।

ताइवानले २००९ ताका एचवानएनवान इन्फ्लुएन्जा महामारीको समयमा प्रयोग गरेकै रणनीति प्रयोग गर्दै कोभिड–१९ को प्रसारलाई राष्ट्रिय नीतिहरू मार्फत विद्यालय बन्द नगरी प्रभावकारी रूपमा नियन्त्रण ग¥यो । ताइवानले राष्ट्रिय रूपमै बन्दाबन्दी गर्नुको सट्टा अस्थायी रूपमा स्थानीय संक्रमण दर तथा विद्यालयभित्रको स्वास्थ्य र सुरक्षा प्रबन्धको आधारमा मात्र स्थानीय कक्षा वा विद्यालय बन्द गर्ने कार्य ग¥यो ।

नर्वेले अप्रिल २० मा कम संक्रमण दर भएका क्षेत्रहरूमा दिवा स्याहार र पूर्वप्राथमिक विद्यालयहरू र अप्रिल २७ मा कक्षा १ देखि ४ (उमेर ६–११) खोल्नको लागि अनुमति दियो । कक्षा ५–१० मा भने दूर शिक्षालाई निरन्तरता दियो ।

त्यसैगरी, २२ वटा युरोपेली देशहरूमा विद्यालयहरू पुनः खोलेका कारण बच्चाहरू, अभिभावक वा कर्मचारीबीच कोरोना भाइरस संक्रमणमा कुनै उल्लेखनीय वृद्धि भएको पाइएको छैन ।

फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, जापान, अस्ट्रेलिया र अन्य ठाउँमा पनि स्कूलहरू फेरि शुरू हुन थालेका छन् ।  बच्चाहरूमा कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना २००३ मा फैलिएको गम्भीर तीब्र श्वास–प्रश्वास सिन्ड्रोम (सार्स) महामारीको संक्रमण जस्तो नभई कममात्र हुन्छ भनेर नयाँ प्रमाणहरू आएका छन् । तर शिक्षक र अन्य कर्मचारीहरूको सुरक्षाको लागि पर्याप्त परीक्षण र प्रमाणमा आधारित सुरक्षा सावधानीहरू अपनाउन भने आवश्यक छ ।

यस्ता उदाहरणले यी कसरी पुनः विद्यालय सञ्चालन गर्न र विद्यार्थी, शिक्षक, कर्मचारी र परिवारहरूको स्वास्थ्यलाई पनि सुरक्षित राख्न सकिन्छ भन्ने अन्तरदृष्टि प्रदान गर्दछन् । युनेस्को, युनिसेफ, विश्व बैंक, र विश्व खाद्य कार्यक्रमले विद्यालयहरू फेरि खोल्नका लागि संयुक्त दिशानिर्देश फ्रेमवर्कको विकास गरेका छन् ।

विद्यालय पुनः खुला गरिएका केही देशहरूको असफल प्रयास

फिलिपिन्सका केटाकेटीहरू कोभिड–१९ विरुद्ध खोप उपलब्ध नभएसम्म विद्यालय जान नपाउने भएका छन् । विद्यार्थीको स्वास्थ्यसँग कुनै खेलवाड नगर्न कोभिड–१९ को भ्याक्सिन फेला नपरेसम्म इन्टरनेट, रेडियो, टेलिभिजन र मोडुलर सिकाइमार्फत दूर शिक्षाका कार्यक्रम सञ्चालन गरिने कुरा फिलिपिन्सका राष्ट्रपति र शिक्षामन्त्रीले स्पष्ट पारिसकेका छन् ।

फिलिपिन्सले विद्यालय तत्काल नखोल्ने निर्णय गरेता पनि केही देशहरूले भने विद्यालय पुनः सञ्चालन गरेपछि फेरि बन्द गर्नु परेको छ । विद्यालय पुनः खुला गरेपछि केही देशहरूमा पुनः संक्रमण बढेको र जनस्वास्थ्यमा सरुवा रोगको निरन्तरताको जोखिम बढेको भनेर आलोचना समेत भएका छन् । फ्रान्सका केही विद्यालयहरू सुचारु गर्नासाथ विद्यार्थी तथा कर्मचारीको कोभिड–१९ परीक्षण गर्दा नतिजा सकारात्मक आएकाले एक हप्तामैं बन्द गर्नु परेको थियो ।

त्यसैगरी इजरायलले पूर्णरूपमा विद्यालयहरू खोलेको दुई हप्तापछि एकाएक एउटा विद्यालयमा १३० जना संक्रमित विद्यार्थी र कर्मचारी भेटिएसँगै दर्जनौं विद्यालयहरू बन्द गर्न बाध्य भएको थियो ।

दक्षिण कोरियाले भाइरसको फैलावट रोक्नका लागि सामाजिक दूरी र रोकथामका उपायहरू अपनाउँदै विद्यालय खोल्ने क्रम मे २०, २०२० बाट शुरू गरेको थियो । तर सयौं विद्यालयहरू उनीहरूको समुदायमा उच्च संक्रमण दरका कारण केही दिनमैं फेरि बन्द भएका थिए ।

बच्चाहरूमा कोभिड–१९ का प्रायः केसहरू हल्का हुन्छन् । तर अध्ययनहरूका सुझावलाई मनन गर्दा बच्चाहरूले यो भाइरसलाई एक–अर्कामा र संवेदनशील वयस्कहरूमा सार्न ठूलो भूमिका खेल्न सक्छन् । बालबालिका स्वभावले नै चन्चल हुने भएकाले विद्यालयभित्र एक–आपसमा संक्रमण सार्ने प्रबल संभावना हुन्छ । यसले संक्रमणको अत्यासलाग्दो श्रृंखला सृजना गर्दछ । त्यसैले, विद्यालय लामो समयसम्म बन्द राख्ने हो भने कोरोना भाइरसको विस्तार रोक्न समेत मद्दत गर्दछ भन्ने तर्क पनि गरिन्छ ।

अबको बाटोः सुरक्षा तयारी सहित विद्यालय संचालन

नेपालमा विद्यालय बन्द गर्ने कुरा त राज्यको निर्णयबाट सजिलै भयो । तर यसलाई खोल्ने कुरा साह्रै कठिन मोडमा पुगेको छ । विद्यालय बन्द हुँदा नेपालमा संक्रमितको संख्या अत्यन्तै कम थियो, तर अहिले १० हजारमाथि संक्रमित देखिंदा निजीस्तरमा विद्यालय खोल्नुपर्ने माग बढेको छ ।

एकातर्फ संक्रमितको संख्या बढ्दै जानु, अर्कोतर्फ कुनै पनि कारणले विद्यालय लामो समय बन्द हुँदा नेपालजस्ता विकासोन्मुख राष्ट्रका विद्यार्थीमा नकारात्मक असर बढी पर्ने तथ्यले गर्दा विद्यालय कहिले र कसरी पुनः सुचारु गर्ने भन्ने विषयमा निर्णय लिनु वास्तवमै चुनौतीपूर्ण छ । धेरै अन्तर्राष्ट्रिय अनुभवले विद्यालय लामो समय बन्द गर्नु बुद्धिमानी देखिंदैन । विपन्न, सुविधाविहीन, सिमान्तकृत र बसाइँ सरेका परिवारका बालबालिकामा विद्यालय छाड्ने उच्च जोखिम सिर्जना हुन्छ ।

अन्तर्राष्ट्रिय अनुभवहरूलाई विश्लेषण गर्दा विद्यालय बन्द राख्नुभन्दा पुनः सुचारु गर्दाका सकारात्मक पक्ष बलिया देखिन्छन् । तथापि विद्यालय पुनः सुचारु गर्ने समय निर्धारण गर्दा त्यसका लाभका साथै सम्बन्धित जोखिमहरूका बारेमा शिक्षा, स्वास्थ्य तथा आर्थिक–सामाजिक क्षेत्रसहित विभिन्न स्रोतबाट प्राप्त सूचनाको विश्लेषणका आधारमा बालबालिकाको सर्वोपरि हित तथा जनस्वास्थ्य अवस्थालाई केन्द्रबिन्दुमा राख्नु पर्ने हुन्छ । नेपालमा सामुदायिक विद्यालयमा क्वारेन्टिन राख्ने र निजी विद्यालय खुला गर्ने हो भने सामाजिक रूपमा चरम विभेदलाई निमन्त्रण गर्नेछ । त्यसैले बालबालिकाका अधिकार र सामाजिक न्यायको दृष्टिकोणबाट सबै विद्यालयलाई स्थानीय संक्रमणको अवस्था मूल्यांकन गरी क्रमशः खोल्दै जानुपर्छ । क्वारेन्टिन राखिएका सामुदायिक विद्यालयबाट क्वारेन्टिन अन्यत्र सारी विद्यालयमा निसंक्रमण कार्य शुरू गर्नुपर्छ, अन्यथा यसले पछि बालबालिकाको मनमा त्रास उत्पन्न गर्नेछ ।

अन्तर्राष्ट्रिय अनुभवका आधारमा निम्नलिखित न्यूनतम मापदण्डलाई पूरा गरेर वा गर्ने गरी मात्र नेपालमा विद्यालय पुनः खुला गर्ने नीति लिनु पर्दछ ।

सरसफाइः सर्वप्रथम विद्यालय निसंक्रमण गर्नुपर्छ । विद्यालय हाताभित्र नियमित फोहर÷मैलाको उचित विसर्जन गर्ने, हरेक दिन विद्यालयलाई किटाणुरहित तुल्याउने, आवतजावत बढी हुने स्थानहरूलाई प्रत्येक दुई घण्टामा सरसफाइ गर्ने, सरसफाइ कर्मचारीलाई आवश्यक पर्ने सुरक्षात्मक सामग्रीहरू उपलब्ध गराउने लगायतका कामहरू गर्नु पर्दछ ।

स्वास्थ्य जाँचः कतिपय देशमा पिसिआर परीक्षणको नतिजा देखाएर मात्र विद्यालयभित्र प्रवेश दिने नियम बनेको छ, जो नेपाली सन्दर्भमा व्यावहारिक देखिंदैन । यसको सट्टा विद्यालयभित्र प्रवेश गर्ने विद्यार्थी एवं शिक्षक–कर्मचारीलाई विद्यालयको गेटमै तापक्रम नापेर मात्र प्रवेश दिने व्यवस्था गर्नु पर्दछ । यसका लागि सबै विद्यालयलाई तापक्रम नाप्ने थर्मल गन अनुदानमा प्रदान गर्नु पर्दछ ।

स्वच्छताः संक्रमण नहोस् भन्ने हेतुले हरेक विद्यालयले आफ्ना विद्यार्थी र शिक्षकलाई मास्क प्रयोग अनिवार्य गर्नु पर्दछ । सबैलाई कम्तीमा कपडाको मास्क राज्य वा स्थानीय तहले निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ । त्यसैगरी बारम्बार हात धुनका लागि ठाउँ–ठाउँमा हातधुने स्थानहरू निर्माण गरिनु पर्दछ । आफ्ना विद्यालयहरूलाई स्थानीय सरकारले आवश्यक स्वच्छता सामग्री उपलब्ध गराउनु पर्दछ ।

भौतिक दूरीः भौतिक दूरी कायम गर्नका लागि कक्षाकोठामा डेस्क–बेन्चहरू छरेर राख्न सकिन्छ र कक्षाकोठाभित्र नभई बाहिरी स्थान जस्तै— खेल मैदान, चौर, मञ्च, सभाहल आदिलाई प्राथमिकता दिन सकिन्छ । संक्रमणको जोखिम रहुन्जेल विद्यार्थीलाई एकल बसाइको व्यवस्था मिलाउनु राम्रो हुन्छ ।

कक्षाको आकारः केही देशहरूमा कक्षाको आकारलाई घटाएर आधा बनाइएको छ भने केही देशहरूमा तहगत रूपमा कक्षाको आकार कति हुने भन्ने कुरा नीतिमै तोकिएको छ । जस्तै नर्वेमा कक्षा–१ देखि ४ सम्म १५ जना र कक्षा–५ देखि ७ सम्म २० जनासम्म मात्र राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी डेनमार्कमा कम्तीमा दुई मिटरको दूरीमा बस्ने व्यवस्था मिलाइएको छ । नेपालमा कक्षा आकारलाई आधा घटाउनुपर्ने आवश्यकता छ । यसका लागि केही समय हरेक दिन जोर–बिजोर रोल नम्बर अनुसार मात्र विद्यार्थीलाई विद्यालयभित्र प्रवेश दिन सकिन्छ ।

विद्यालयभित्र आवागमनः विद्यालयभित्र प्रवेश गर्ने द्वार एकभन्दा बढी छन् भने सबैको प्रयोग गर्नु पर्दछ ।  कक्षाकोठाभित्र प्रवेश गर्नका लागि पनि निश्चित बाटो बनाइनु पर्दछ । यो प्रक्रिया बिदा भएपश्चात् पनि अपनाउनु पर्दछ । निश्चित समयसम्म विद्यार्थीको परिवारका कुनै पनि सदस्यलाई विद्यालयभित्र प्रवेश दिनु हुँदैन ।

खाजाः घरबाट ल्याइएको खाजालाई नै प्रोत्साहन गर्नुपर्दछ । विद्यालयको क्यान्टिन प्रयोग गर्ने हो वा विद्यालयले नै दिवा खाजा उपलब्ध गराउने हो भने फरक–फरक समयमा भौतिक दूरीका साथ खाजा खाने व्यवस्था मिलाउनु पर्दछ । खाजा आदान–प्रदान गर्ने कार्यलाई यस्तो समयमा निरुत्साहित गर्नु पर्दछ । खाजा खानुभन्दा अगाडि साबुन–पानीले हात धुनु अनिवार्य गरेर अनुगमन समेत गर्नु पर्दछ ।

खेलकुद तथा मनोरञ्जनः सबै प्रकारका सामूहिक खेलकुद र मनोरञ्जनका गतिविधिलाई निषेध गर्नु पर्दछ । भौतिक सम्पर्क नहुने खालका मनोरञ्जनात्मक गतिविधिहरू जस्तै— गीत गाउने, नाँच्ने, चित्र बनाउने, कथा सुनाउने, चुट्किला भन्ने, आदि गराउन सकिन्छ ।

यातायातः विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सकभर हिँडेरै वा निजी सवारीसाधनमा विद्यालय आउने–जाने व्यवस्था गर्नु पर्दछ । विद्यालयका यातायातका साधनहरू प्रयोग गर्ने हो भने भौतिक दूरीसहित थोरै विद्यार्थी मात्रै बोक्ने व्यवस्था मिलाउनु पर्दछ । यस्ता सवारीसाधनहरूमा प्रत्येक दिन विद्यार्थी बोक्नुभन्दा अगाडि र विद्यार्थी बोकी सके पश्चात् किटाणुरहित पार्ने व्यवस्था मिलाउनु पर्दछ ।

अन्त्यमा, पर्याप्त तयारी बिना विद्यालय खोल्ने हो भने ठूलै दुर्घटना निम्तिन सक्छ । तसर्थ केही मानक सुरक्षा प्रबन्ध गरेर मात्रै विद्यालय पुनः सञ्चालनमा ल्याउनु पर्दछ । विद्यालयको निसंक्रमण, विद्यालयभित्र सामूहिक गतिविधि र भेलामा निषेध, विद्यालय खोल्ने तथा बन्द गर्ने समयमा विविधता, विभिन्न उमेर समूहका बालबालिकाहरूका लागि खाजा खाने फरक–फरक समय, खुला स्थानमा कक्षा, विद्यार्थी संख्या कम गर्न फरक–फरक समयतालिका निर्माण, ठाउँ–ठाउँमा पर्याप्त मात्रामा सफा पानी, साबुन र अन्य सरसफाइका सामग्रीहरूको व्यवस्थापन र मास्कको प्रयोगमा अनिवार्यता जस्ता विषयमा नीति/निर्माण र तयारी गरी विद्यालय पुनः खुला गर्नेतर्फ अग्रसर हुनु पर्दछ ।

उप–प्राध्यापक, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय

commercial commercial commercial commercial