व्यवस्थित भद्रगोल अर्थात् परियोजनामा आधारित सिकाइ

मैले पढाउने कक्षामा कोही बाहिरी मान्छे पस्यो भने ऊ ‘के तालको क्लास हो यो’ भनेर छक्क पर्न सक्छ । कक्षामा विद्यार्थी झ्ुन्ड–झ्ुन्डमा बसेर कुराकानी गरिरहेका या स्वच्छन्द भएर इशारा गरिरहेका, हल्लिरहेका हुन्छन् । उनीहरू कसैसँग नसोधिकन कक्षाबाट बाहिर जाने र आउने गरिरहेका हुन्छन् । सँगैका साथी या अरूहरूलाई ‘डिस्टर्व’ होला कि भन्नेतिर ध्यानै नदिइकन फोनमा कसैसँग निर्धक्क कुरा गरिरहेका हुन्छन् ।

यस्तो कोलाहल र अस्तव्यस्तताका बीचमा एकखालको अमनचयन भने हुन्छ र त्यहाँ केही फलदायी काम पनि भइरहेको हुन्छ । विद्यार्थीले इल विसेल (Elie Wiesel’s) को होलोकोस्ट सम्बन्धी संस्मरणात्मक पुस्तक ‘नाइट’ का आधारमा कविता लेखिसकेपछि मैले उनीहरूलाई कविता एकदमै राम्रा छन् र यी कविता अरूलाई पनि देखाउनुपर्छ भनें । मैले ती कविता राखेर इबुक अथवा वेबसाइट बनाउने सल्लाह पनि दिएँ । उनीहरूले इबुक र वेबसाइट दुवै बनाउने भए ।

मैले एकै खालका रुचि र प्रतिभा भएका विद्यार्थीलाई एउटा समूहमा राखिदिएपछि उनीहरूले वेबसाइट बनाउने आफ्नो काम शुरू गरे । कसैले केही लेखे र सम्पादन गरे । कसैले फोटोशपको उपयोग गरेर कलात्मक सामग्री तयार गरे । कसैले कविता वाचनको स्वर र दृश्य रेकर्ड गरे । कसैले कविता अपलोड गरे र वेबसाइटको व्यवस्थापन मिलाए । एउटा समूहले सेल फोनको उपयोग गरी यो सम्पूर्ण कामको रेकर्ड राख्यो जुन प्रचार अभियानको पहिलो चरण थियो ।

र, यही हो परियोजनामा आधारित सिकाइ (Project Based Learning) । शिक्षा क्षेत्रमा आजभोलि यसका बारेमा धेरै चर्चा हुने गर्छ ।

शिक्षा विषयको प्रमुख ब्लग एडुटोपिया (edutopia) ले परियोजनामा आधारित सिकाइ (पीबीएल) लाई ‘अध्यापन सम्बन्धी गतिशील अवधारणा’ भनेको छ “जसमा विद्यार्थीले वास्तविक समस्या र चुनौतीको सामना गर्छन् ।” विकिपिडियाका अनुसार पीबीएल “कागजपत्रको उपयोग गर्ने, रटन्ते र शिक्षकमुखी पढाइको विकल्प” हो ।

छोटकरीमा भन्नुपर्दा, परियोजनामा आधारित सिकाइ (पीबीएल) भनेको काम गर्दै सिक्दै गर्ने तरीका हो जसलाई सुकरात (Socrates) र जोन डिबे (John Dewey) जस्ता शिक्षा क्षेत्रका नामूद व्यक्तित्वले अघि बढाएका थिए । यो पद्धतिले विद्यार्थी र शिक्षकको परम्परागत भूमिकालाई फेरिदिन्छ र सिक्ने मानिसलाई नेतृत्वदायी भूमिका दिलाउँछ ।

एक जना शिक्षक हेइडी बुल्लोकले परियोजनामा आधारित सिकाइ अपनाउने शिक्षकको भूमिकालाई यसरी परिभाषित गरेका छन्, “जसले परियोजना सम्पन्न गर्न वा समस्या समाधान गर्न चाहिने सामग्री उपलब्ध गराएर वा सामग्री लिन मद्दत गरेर, सामूहिक कामको रेखदेख गरेर र विद्यार्थीलाई मेटाकोग्निटिभ (metacognitive) प्रक्रिया (समस्या समाधान, सहकार्य, सञ्चार, चिन्तन÷मनन र आफ्नो मूल्यांकन) बाट सिकाएर सिकाइ सरल बनाउँछ ।”

बुल्लोक अगाडि भन्छन्, “समूहमा रहेका विद्यार्थीले आपसमा काम कसरी बाँड्ने भन्ने कुरा आफैं निर्धारण गर्छन्, आफ्नो कामको मूल्यांकन कसरी गर्नुपर्छ भन्ने विषयमा शिक्षकसँग कुराकानी गर्छन्, प्रगति मापनका लागि मापदण्ड र ती मापदण्डमा पुग्ने समय तालिका निर्धारण गर्छन् अनि उनीहरूले तयार गरेका सामग्री वा सम्पन्न गरेको परियोजनाको समीक्षा गर्नका लागि विशेषज्ञसँग सम्पर्क गर्छन् ।”

विद्यार्थीले त्यतिवेला वास्तविक प्रगति गर्छन् जब उनीहरूले नेतृत्वदायी भूमिका लिन्छन् र शिक्षक चाहिं त्यस काममा सघाउँदै दर्शकको भूमिकामा रहन्छन् ।

जेनिफर विलियम्सले भनेका छन्, “पीबीएल पद्धतिको कक्षामा विद्यार्थीलाई के गर्ने वा कसरी गर्ने भन्ने सबै कुरा विस्तारमा बताइँदैन । यसले गर्दा उनीहरू सिर्जनशील हुन स्वतन्त्र हुन्छन् । आफ्नो परियोजना सम्पन्न गर्ने प्रयास गर्दा उनीहरूले समस्या समाधान गर्न दृढतापूर्वक काम गर्नुपर्छ । परियोजना सम्पन्न गर्न चाहिने जानकारी, विधि र सीप तिनले स्वाभाविक रूपमै सिक्छन् ।” परियोजनामा आधारित सिकाइ विधि अपनाउँदा विद्यार्थीले निश्चित सीप मात्र होइन अरू कुरा पनि सिक्छन् ।

“आफ्नो काम निपुणतापूर्वक गरेर मूल्यांकनका लागि आधिकारिक व्यक्तिसमक्ष पेश गर्दा उनीहरूमा आफ्नो कामप्रति लगाव बढ्छ । उनीहरूको आत्मविश्वास र अनुभव पनि बढ्छ”, विलियम्सले भनेका छन् । प्राथमिक तहकी शिक्षक डेनिज डानोसले आफ्ना विद्यार्थीले यस्तै काम गरेको पाएकी छिन् । “विद्यार्थीलाई उनीहरूले गरेको काम उनीहरूले चाहे जसरी प्रस्तुत गर्न दिइएकाले उनीहरू आफ्नो परियोजनाप्रति गौरवान्वित भए । स्वतन्त्रता दिएपछि उनीहरूको दिमाग सिर्जनशील बन्छ । परियोजनाको नेतृत्व विद्यार्थी आफैंले गर्ने भएकाले उनीहरूमा आत्मविश्वास पनि बढ्छ”, डानोसले भनिन् ।    

विद्यार्थीले यसलाई अझ् सरल तरीकाले व्यक्त गरेका छन् । विद्यार्थी अबी विलियम्सका अनुसार परियोजनामा आधारित सिकाइ (पीबीएल) ले गर्दा उनले बढी कुरा सिकेकी छिन् । उनी भन्छिन्, “परियोजना मार्फत सिकेका कुरा मलाई भनेको कुराभन्दा राम्रोसँग दिमागमा बस्छन् ।”

शिक्षक र विद्यार्थीले परियोजनामा आधारित सिकाइलाई राम्रो ठाने पनि परम्परागत तरीका छाडेर यो विधि अपनाउने काम सबैका लागि सजिलो भने छैन । शिक्षक ट्रिना हेन्ड्रिक्स विद्यार्थीले परियोजनाको काम थाल्दा आफूले सिकेको पाठ यसरी सम्झ्न्छिन्, “मलाई विद्यार्थीले योजनाको चरणमा धेरै समय बेकारमा खर्च गरे जस्तो लाग्थ्यो किनभने त्यस वेला उनीहरू त्यति व्यस्त भएजस्तो लाग्दैनथ्यो । तर विस्तारै मैले के सिकें भने योजना बनाउने वेलामा पर्याप्त समय दिएको खण्डमा परिणाम राम्रो आउँछ । सोच्न र योजना बनाउन उनीहरूलाई समय चाहिने रहेछ”, उनले भनिन् ।

परियोजनामा आधारित सिकाइ परम्परागत विधिभन्दा फरक देखिने मात्रै होइन, फरक अनुभव पनि गरिन्छ । विद्यार्थीले नेतृत्व लिएर काम गर्दा उनीहरूले के थाहा पाउँछन् भने काम गर्दै जाँदा योजना अनुसार काम हुँदैन । यस्ता अवरोधबाट पनि उनीहरूले पाठ सिक्नुपर्छ । बुल्लोक भन्छन्, “विद्यार्थीले गल्ती गर्छन् । यस्तै गल्तीबाट उनीहरूले गहिरोसँग सिक्ने अवसर पाउँछन् ।” परियोजनामा आधारित सिकाइले विद्यार्थीलाई गहिरो गरी सिक्न मद्दत गर्छ । विद्यार्थी क्यामरुन म्यकथर्नले भनिन्, “यसो (परियोजनामा आधारित सिकाइ) गर्दा हामी बढी मात्रामा संलग्न हुन्छौं र हामीले यसप्रति बढी ध्यान दिन्छौं र यो काम बढी चाखलाग्दो हुन्छ । आफूले सिकेको कुरा व्यवहारमा कसरी लागू हुन्छ भन्ने कुरा थाहा हुन्छ । यो एकदमै राम्रो कुरा हो ।”

परियोजनामा आधारित सिकाइ एक्काइसौं शताब्दीका लागि अत्यावश्यक चार वटा सीप—समीक्षात्मक चिन्तन, सञ्चार, सहकार्य र सिर्जनशीलता—(Four C’s of 21st Century Skills – Critical Thinking, Communication, Collaboration, and Creativity) सिकाउनका लागि शिक्षकसँग नभई नहुने साधन÷औजार हो । परियोजनामा आधारित सिकाइले आफ्नो सीप कसरी बढाएको छ भन्ने कुरा विद्यार्थीले ख्याल नगर्न सक्छन् तर आफ्नो सीप बढ्दैछ भन्ने कुरा भने उनीहरूलाई थाहा हुन्छ ।

विद्यार्थी लौरेन टुलीलाई परियोजनामा आधारित सिकाइका लक्ष्य के हुन् भन्ने कुरा स्पष्टसँग थाहा छ । “मेरो विचारमा यो (परियोजनामा आधारित सिकाइ) गजबको कुरा हो । यसले हामीलाई हामी ठूलो भएपछि गर्नुपर्ने कामबारे व्यावहारिक अनुभव प्रदान गर्छ । हामीले अरूसँग मिलेर काम गर्न र आफ्ना विचार र सोचाइ अरूलाई बताउन सिक्नुपर्छ । यसले हामीलाई काम गर्न बढी प्रोत्साहन पनि दिन्छ किनभने हामी सबैजना साझ लक्ष्य हासिल गर्न काम गरिरहेका हुन्छौं । विषयसँग सम्बन्धित र वास्तविक अवस्थासँग जोडिएको परियोजना चलाउनु एकदमै मजाको काम हो । यसो गर्दा विद्यार्थी पछि गएर उनीहरूले गर्नुपर्ने काममा सफल हुन सक्छन् जुन मेरो विचारमा एकदमै महŒवपूर्ण कुरा हो ।”

भाषान्तरः मोहन मैनाली
साभारः ट्रान्सिल्वानिया टाइम्स, ३१ मार्च २०१४

commercial commercial commercial commercial