किन शिक्षा, कस्तो शिक्षा

नेपालको शिक्षा अहिलेसम्मकै सबभन्दा अपरिमार्जित विषय बनेको छ । देशको कर्णधारका रूपमा चित्रण गरिएका युवा जमातको भविष्य नै अहिले सर्वाधिक संकटमा छ । अहिलेसम्म चल्दै आएको शिक्षाले नेपाली राष्ट्रिय चरित्रको निर्माण गर्न सकेको छैन । नेपाल देशको निर्माण जनताले गरेका हुन् कि पृथ्वीनारायण शाहको पौरखले ? राज्यको साँच्चै रूपान्तरण गर्ने हो भने सबभन्दा पहिले यही प्रश्नको जवाफ खोज्नुपर्दछ ।

गुड मर्निङ सर,
आइ एम फाइन सर, थ्यांक यू सर,
एन्जिला सर, थ्यांक यू सर,
ह्वाट क्यान आइ डु फर यू सर ?

यी केही यस्ता चालु अंग्रेजी वाक्य हुन् जो अहिले नेपालका ग्रामीण क्षेत्रका केटाकेटीले कण्ठ पारेका छन् । मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्म, मैदानदेखि डाँडासम्म खुलेका बोर्डिङ स्कूलहरूको सफलताको मानदण्ड यस्तै वाक्य बनेका छन् ।

करीब चार वर्षअघि नयाँ नेपालको भावी तस्वीरका बारे जनताको तहमा छलफल चलाउने सिलसिलामा धादिङ, सल्यानटार जाँदा आरुघाट बजारमा भेटिएका माइला कुमालकी छोरी एन्जिलासँग मेरो सामुन्ने कुराकानी गरेका थिए दृश्य–छायाकार रवि तुलाधरले । एन्जिलाले रविका प्रश्नको जवाफमा माथि उल्लेख गरिएका वाक्यहरूको प्रयोग गरेकी थिइन् । गाउँमा आएका नयाँ र शहरिया मानिससँग यसरी नै बोल्नुपर्दछ भनेर सिकाएका थिए उनका ‘सर÷म्याम’ हरूले । सामान्य हिसाबले प्रचलनमा आउने शिष्टाचारका एक दर्जन वाक्य कण्ठ थिए एन्जिलालाई । तर, सरले उनलाई उनको आफ्नै नामको अर्थ बताएका थिएनन् । रविले सोधे, “एन्जिला भनेको के हो नि ?” उनी एकैछिन अकमकाइन् र भनिन्, “थाहा छैन ।” स्कूल भर्ना गर्दा ‘जेठी’ बाट एन्जिला बनाउने उनका मामालाई पनि यो शब्दको अर्थ थाहा छैन । उनले काठमाडौंमा कतै सुनेका थिए यो नाम । राम्रो लाग्यो । टपक्क टिपेर ल्याए र आफ्नी भान्जीको नामका रूपमा सजाइदिए ।

एन्जिला शब्दको अर्थ त माइला कुमाललाई पनि थाहा छैन । तर उनी आफ्नो एक मात्र सन्तानले फरर्र अंग्रेजी बोलेको सुनेर गद्गद् थिए । उनले आफ्नो कथा सुनाउँदै भनेका थिए, “परिवार धनी नभए पनि गरीब नै त होइन । हामी सल्यानटारका एकमाने कुमाल हौं । आफ्नै परिस्थितिले गर्दा आफूले पढ्न पाइएन । घर–व्यवहारमा अल्झ्निु परिहाल्यो । बिहे गरियो । छोरी जन्मेपछि यसलाई हुर्काउने–पढाउनेमा लागियो । तीनै वर्षको उमेरमा (धादिङ) वेसी सदरमुकाममा मामाघरमा राखेर बोर्डिङ स्कूल पठाएको । अहिले दशकी भई । अंग्रेजी सुनिहाल्नु भो, भुटुटुटु बोल्ने भएकी छ । काठमाडौं पठाउन पाए कति पढ्थी होला !”
केही समयअघि सुदूरपश्चिमको दिपायलमा, कांग्रेसका नेता भक्तबहादुर बलायरको डेरा नजिक पनि यस्तै अनुभव भएको थियो । दिपायल बजारका अधिकांश जागरुक अभिभावकले आफ्ना केटाकेटीलाई स्थानीय बोर्डिङ स्कूलमा भर्ना गरेका थिए । सात कक्षामा पढ्ने एघार वर्षको अंकित पन्त रविले अंग्रेजीमा सोेधेका प्रश्नहरूको जवाफ दिंदै थियो, गुड आफ्टरनून सर, थ्यांक यू सर, ह्वाट क्यान आइ डू फर यू सर ?

अनुभव मध्य–पश्चिमको दैलेख र जुम्लामा पनि समान थिए– यस सर, थ्यांक यू सर, ह्वाट क्यान आइ डु फर यू सर ?
पूर्वाञ्चलको संखुवासभाको अनुभव अलिकति फरक थियो । पूर्वी नेपालकै प्रसिद्ध तुम्लिङटारमा स्थानीय बोर्डिङ स्कूलका एक जना शिक्षक बताउँदै थिए, “खोइ सर, शिक्षाका बारेमा के बताउनु र ? हामी दिङ्लामा पढेर हुर्किएका पुस्ता प¥यौं । यतातिर दार्जीलिङतिरको हावा अलि बढी नै चलेको छ । केटाकेटीलाई अंग्रेजी पढाउन उता इलाम, दार्जीलिङतिरका मास्टरहरू ल्याइन्छन् । हाम्रो यो ठाउँमा ती मास्टर लामो समय त बस्दैनन् । तैपनि, तिनबाट स्थानीय शिक्षकले केही सिक्दछन् । त्यसैले पनि यहाँको प्राइमरी लेभलको पढाइलाई अन्यत्रको तुलनामा राम्रै भन्नुपर्छ । अचेलका अभिभावकमा सन्तानलाई पढाएर ज्ञानी र विद्वान् बनाउनेभन्दा पनि व्यवसाय गरेर आर्थिक उन्नतिको ढोका उघार्न सक्षम बनाउने होड चलेकोे देखिन्छ । यसरी गाउँघरसम्म बोर्डिङ स्कूलको पहुँच पुग्ने कारण चाहिं अंग्रेजी भाषा नै हो । हाम्रा केटाकेटी अंग्रेजी भाषामा हामीभन्दा दक्ष नै होलान् । राम्रै बोल्दछन् । तर, यसको प्रयोग भने सामान्य पर्यटकीय सेवा र वैदेशिक रोजगारीमा भन्दा अन्यत्र होला जस्तो लाग्दैन ।”

हिजोआज, एकैप्रकारको युनिफर्ममा सजिएका, देख्दै गह्रुंगा लाग्ने हतियार बोकेर शहर, गाउँ र बस्तीहरूमा साँझ्–बिहान मार्च गरिरहेका सुरक्षाकर्मीहरूको जत्था देखिनु सामान्य भएको छ । ठीक यही हिसाबले, बिहानको समयमा राजमार्ग छेउछाउका अधिकांश बजार र बस्तीहरूमा रातो वा नीलो टाइ सहितको स्कूले युनिफर्ममा सजिएर सकी–नसकी चार–पाँच किलोका ‘वस्ता’ बोकेका स–साना केटाकेटीको अनुशासित लहर राजमार्गको यात्रा गर्ने कसैका लागि पनि सुखद् अनुभूति हो । यो दृश्यलाई देख्ने कसैले पनि नेपालमा शैक्षिक जागृति आएको सोच्नु अन्यथा होइन । नेपालमा पढ्ने र पढाउने विषयमा अभिभावक र छात्रछात्रामा सराहनीय जागरुकता आएको छ । तर, गुणात्मक हिसाबले शिक्षाको स्तर भने यो जागरुकता सुहाउँदो छैन । पूर्व–पश्चिम र उत्तर–दक्षिण नेपालका सबै स्कूलका सबै केटाकेटीले एकैप्रकारको शिष्टाचारपूर्ण अंग्रेजी भाषा बोल्नु शिक्षा अधिकारी र व्यवसायीहरूको दृष्टिमा उच्च शैक्षिक स्तर र एकरुपताको सूचक मानिएला । तर, यथार्थ यस्तो होइन । अलिकति गहिरिएर सोच्ने हो भने यसभित्रका अनेकन विसंगतिहरू छर्लङ्ग हुन्छन् । पहिलो त भाषा संवाद र संचारको माध्यम हो । यो नै शिक्षाको प्राथमिकता होइन । ‘भाषा’ आफैंमा शिक्षा त झ्नै होइन । दोस्रो, भाषालाई नै प्राथमिकता मान्ने हो भने पनि काठमाडौंका बोर्डिङ स्कूलहरूमा पढाइने अंग्रेजी भाषा र काठमाडौं बाहिर पढाइने अंग्रेजी भाषाका बीच ठूलो अन्तर छ ।

काठमाडौंका अधिकांश बोर्डिङ स्कूलहरूमा पढाइने अंग्रेजी भाषाले पक्कै पनि अन्तर्राष्ट्रिय मापदण्ड भेटेको नहोला । तर, दक्षिणएशियाको भाषाको स्तरका दृष्टिले अंग्रेजी भाषा शिक्षणमा खासै खोट देखिंदैन । कम्तीमा पनि, महङ्गा बोर्डिङ स्कूलमा पढेका केटाकेटीले शेक्सपियरका नाटकहरू बुझन नसक्लान्, तर उनीहरू माइक्रोसफ्टका बिल गेट्स र एप्पलका स्टीव जब्सका भाषा राम्रै बुझदछन् र बहुराष्ट्रिय चरित्र आत्मसात् गर्दै गएको राजधानी शहरमा सजिलै बिक्न सक्दछन् । तर, बाँकी नेपालको त कुरै नगरे भयो ।

पूर्वदेखि पश्चिमसम्म फैलिएका स्कूले केटाकेटीका वस्ता समान छन्, वस्ताभित्रका पुस्तक समान छन्, युनिफर्म समान छन् र बोल्ने भाषामा पनि ध्वनि बाहेक शब्दहरू समान छन् । तैपनि, उनीहरूका बीच केही पनि समान छैनन् । डोटी–बैतडीदेखि दैलेख–कालीकोटसम्मका छात्रछात्रा भारतको उत्तराखण्डतिरको शैक्षिक संस्कृतिबाट प्रभावित छन् भने सुर्खेत–नेपालगञ्जतिरका केटाकेटी अवधी हावाबाट । मध्य मधेशमा मिथिला संस्कृतिको वर्चस्व छ । काठमाडौंमा बनारसी शिक्षाको प्रभाव र प्रभुत्व कायम छ । नेपालको शैक्षिक संस्कृतिमा प्रभाव, वर्चस्व र प्रभुत्वको जे–जस्तो हैसियत कायम रहे पनि नेपाली अभिभावकको जागरुकता भने आफ्ना सन्तानले फरर्र अंग्रेजी बोल्नुसम्म मात्रै सीमित रहेको छ । अभिभावकहरू त्यसैमा दङ्ग छन् । त्यत्तिका लागि उनीहरूले आफ्नो जीवनभरको परिश्रम समर्पित गरेका छन् । सन्तानको भविष्य बोर्डिङ स्कूलका ‘दक्ष’ शिक्षकहरूको जिम्मा लगाएर उनीहरू ढुक्क छन् । त्यसभन्दा पर पनि उनीहरूको उत्तिकै दायित्व हुन्छ भन्ने ज्ञान उनीहरूलाई छैन । कसैले नेपाली अभिभावकहरूलाई यो बताएको पनि छैन ।

पछिल्लो जनआन्दोलन मार्फत नेपाली जनताले नेपालका लागि गणतान्त्रिक अवतार अंगीकार गरिसकेको अहिलेको समयमा धेरै विषयहरूको सम्यक् विश्लेषण र पुनर्परिभाषा आवश्यक भएको छ । हजारौं वर्षदेखि चलेको राजतन्त्रात्मक व्यवस्थाबाट गणतान्त्रिक व्यवस्थामा देशको रूपान्तरण दौरा, सुरुवाल, कोट र टोपीको राष्ट्रिय हैसियतलाई खारेज गरेपछि टुंगिने सहज विषय होइन । न त, विश्वव्यापी रूपमा मान्य गणतान्त्रिक शासनको परिभाषालाई संविधानको किताबमा लिपिबद्ध गर्ने वित्तिकै कानूनी हैसियत प्राप्त गरेर देशभरि लागू भइहाल्ने विषय नै हो रूपान्तरण । कुनै पनि देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरण यस्तो जटिल प्रक्रिया हो जसका एकएक पक्षलाई सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाको चर्को आगोमा राखेर जीवन्त विश्लेषण गर्नुपर्दछ । दुर्भाग्यवशः हामीकहाँ विश्लेषणको त्यस्तो परिपाटी छैन । ‘सुनी’ जान्ने अवस्थाबाट शुरू भएको हाम्रो ज्ञान यतिखेर ‘देखी’ जान्ने अवस्थामा अड्किएको छ । ‘गरी’ जान्ने र सबैका लागि उदाहरणीय बन्ने अवस्था कहिले आउने हो ? अहिले यसै भन्न सकिंदैन ।

विश्वव्यापी रूपमा नै रहेको राजनीतिक हस्तक्षेपको चर्को व्यूहभित्र नेपालको शिक्षा पनि नराम्रोसँग फँसेको छ । शिक्षामाथि आज जति पनि विवाद उठेका छन् ती सबैको मूल जरोमा राजनीति नै छ । ६३ वर्षअघि आधुनिकीकरणको प्रक्रिया शुरू भए पनि नेपाली राजनीतिका मुख्य पात्रहरूले शिक्षाका बारेमा एउटै राष्ट्रिय नीतिको निर्माण गर्न सकेका छैनन् । राजतन्त्र र उसको निरंकुशताका जमानामा शिक्षाको सम्पूर्ण पद्धति नियन्त्रण र निर्देशनका आधारमा चल्दथ्यो । २३ वर्षअघि बहुदलीय प्रजातान्त्रिक शासन शुुरू भएपछिका सरकारहरूले निर्देशनात्मक पद्धतिलाई कार्पेटभित्र लुकाए । उन्मूलन गर्न सकेनन् अथवा चाहेनन् । उन्मूलन हुनैपर्ने नियन्त्रणात्मक शिक्षा पद्धति अझ् बलियो भयो । स्तरीय, गुणात्मक, व्यावसायिक र उत्पादनमूलक जस्ता शब्दहरूको लफ्फाजीमा चुर्लुम्म डुबेका सरकारहरूले शिक्षालाई मोटो कर असूलीको स्रोतका रूपमा रहेको व्यापारको एउटा प्रमुख अंग बनाए । यसले देशमा विद्यमान रहेको सामाजिक असन्तुलन र हुने–नहुने बीचको खाडललाई अझ् विस्तार दियो । शिक्षाको गुणात्मक पक्ष त बेपत्ता भयो नै, व्यावसायिक पक्षमा पनि खासै निखार आएन । कुनै कीर्ति नै नकमाई, कुनै उल्लेख्य योगदान नै नदिई प्रचारकै भरमा मात्रै प्रसिद्धि कमाएका स्कूलहरूमा आफ्ना सन्तानलाई पढाएर आफ्नो हैसियत बढाउने नयाँ फेशन चल्यो देशमा । सीमित आम्दानीले धान्न नसक्ने खालको शिक्षा शुरू भएपछि यसले सीमित राष्ट्रिय स्रोतको दुरुपयोग असीमित हिसाबले बढाउनु स्वाभाविक थियो । यसपछि नै शासन–प्रशासनमा विद्यमान भ्रष्टाचारको आयतन ह्वात्तै बढ्यो । करोडौंको लगानीमा खुलेका शिक्षालयहरूमा लाखौं खर्च गरेर सन्तान पढाउनेहरूको ताँती नै लाग्यो । स्कूल जति खुले पनि विद्यार्थीको अभाव भएन । आधुनिक भनिएका ती तारे होटलमा आफ्ना सन्तानलाई पढाउनेहरूले लगानी अनुसारको प्रतिफल पाएनन् । शिक्षाका सकारात्मक परिणामहरू समाजका कुनै पनि क्षेत्रमा स्पष्ट परिलक्षित हुन सकेनन् । आजको दिनमा बेहिसाब अलपत्र परेका तन्नेरीहरूको बढ्दो संख्या नै नेपालको शैक्षिक बेथितिको स्पष्ट तस्वीर हुन् ।

नेपाली शिक्षाका विसंगत पक्षका बारे विज्ञ र विद्वान्हरूले टाउको दुखाइरहेका छन् । तर, कसैले पनि शिक्षा पद्धतिको विसंगत र विकृत पक्षको चूरो पत्ता लगाउन सकेका छैनन् । पत्ता लागे पनि स्पष्ट शब्दमा त्यसको उल्लेख गरेका छैनन् । ती विज्ञ र विद्वान्हरूको ध्येयमा शंका गर्नुपर्ने कुनै कारण छैन । सरकारले ती सबैलाई आफ्नो कथित शैक्षिक पद्धतिको विषम वृत्तभित्र उम्किनै नसकिने गरी समेटेको छ । ती विज्ञ र विद्वान्हरू सरकारका अघोषित सल्लाहकार र प्रतिपक्षी मात्रै हुन् । तिनैको अनुहार देखाएर सरकारले शिक्षा पद्धतिमा आपूm अर्थात् आफ्नो पार्टीको समय गुज्रिएर थाङ्निइसकेको कथित मान्यता सुहाउँदो संशोधन गरिरहेको हुन्छ । अहिलेसम्म यस्तै चलिरहेको छ ।

हिन्दू सामाजिक संगठन अन्तर्गत चलेको देशका रूपमा नेपाली शिक्षाको मूल जरो हिन्दू सांस्कृतिक पद्धति नै हो । यो मान्यता अनुसार जीवनका प्रत्येक क्षणमा मानिसले शिक्षासँग तादात्म्य राखेको हुन्छ । कुनै पनि व्यक्तिको आचार र व्यवहारले समाजमा महŒवपूर्ण प्रतिक्रिया उत्पन्न हुने गर्दछ । त्यस्तो प्रतिक्रियाको सकारात्मक परिणामका लागि उसलाई जीवनका प्रारम्भिक चरणमा नियमित तालिम दिइनुपर्दछ । यस्तो तालिमले उसलाई सामाजिक जीवनमा समाजप्रति समर्पित भएर लाग्न अभ्यस्त तुल्याउँछ । विद्वान्हरूले भनेका छन्, शिक्षाको पहिलो काम नै समाजमा यस्तो ज्ञान स्थापित र विकसित गर्नु हो जुन सामाजिक अस्तित्व र विकासका लागि अपरिहार्य हुन्छ । त्यसैले शिक्षा पद्धतिको निर्माण र विकास पनि त्यही आधारमा हुनुपर्दछ । शिक्षा पद्धतिले ज्ञानको संचार प्रवाहको अनुगमन गर्ने, त्यसलाई सामाजिक आवश्यकताका आधारमा नियमित गर्ने र व्यक्तिको व्यक्तित्व र जीवन पद्धति, अभिरुचि र आकांक्षाका आधारमा मौलाउने अवसर दिनुपर्दछ ।

हिन्दूहरूको संगठनात्मक शिक्षा पद्धतिमा शिक्षकको भूमिका महŒवपूर्ण रहेको हुन्छ । तर, हामी नेपालीले धर्म निरपेक्षता अपनाउनुभन्दा धेरै अघिदेखि नै शिक्षकको भूमिका न्यून तुल्याइसकेका छौं । आजको शिक्षक ज्ञानको स्रोत र संवाहक नभएर राजनीतिक संयन्त्रको एउटा यस्तो पुर्जा बन्न बाध्य पारिएको छ जो आफ्ना छात्रछात्रालाई विद्यादान गर्नै सक्दैन । हिन्दू वा इस्लाम वा क्रिश्चियन वा बौद्ध– कुनै पनि धार्मिक–सांस्कृतिक शैक्षिक संगठनले नअपनाएको वा निषेध गरेको व्यावसायिकता अहिलेको नेपालमा मौलाएको छ । अमेरिका वा भारतमा त्यहाँको आर्थिक विकासको वृद्धिदर र व्यक्तिको आयआर्जन क्षमताको आधारमा शिक्षा महँगो छैन । तर, एक अमेरिकी डलरलाई सय रुपैयाँ र एक सय भारतीय रुपैयाँलाई एक सय साठी रुपैयाँदेखि माथि खर्च गरेर किन्नुपर्ने अवस्थाका नेपालीका लागि शिक्षा महँगो हुनु कुनै पनि हालतमा अस्वाभाविक होइन ।

निश्चय पनि, आजको समयमा कोही पनि हिन्दू सामाजिक संगठन अनुरुप शिक्षा पद्धतिको पक्षमा उभिन सक्दैन । धार्मिक अथवा राजनीतिक संस्कृतिसँग जोडिएका कुनै पनि पद्धतिमा विषमता र विसंगत पक्ष त हुन्छन् नै । यसको अर्थ, त्यो पद्धतिले स्थापित गरेका उत्कृष्ट मूल्य र मान्यतालाई आहुति नदिई देशको सम्पूर्ण रूपान्तरण र आधुनिकीकरण सम्भव छैन भन्ने त हुँदै होइन ।

नेपालको शिक्षा अहिलेसम्मकै सबभन्दा बढी पीडित, अप्रशोधित र अपरिमार्जित विषय बनेको छ । देशको भविष्यका कर्णधारका रूपमा चित्रण गरिएका युवा जमातको राष्ट्रिय भविष्य नै अहिले सर्वाधिक संकटमा छ । अहिलेसम्म चल्दै आएको शिक्षाले नेपाली राष्ट्रिय चरित्रको निर्माण गर्न सकेको छैन । नेपाल देशको निर्माण जनताले गरेका हुन् कि पृथ्वीनारायण शाहको पौरखले ? राज्यको साँच्चै रूपान्तरण गर्ने हो भने सबभन्दा पहिले यही प्रश्नको जवाफ खोज्नुपर्दछ । इतिहासका विभेदहरूलाई केलाउने भन्दा पनि त्यसलाई आधुनिक राज्यको कसीमा राखेर पर्गेल्ने प्रयत्न गर्नु आजको अपरिहार्यता बनेको छ । देशको भौगोलिक विविधता अनुरूप संघीय संरचनामा सबभन्दा उपयोगी शिक्षा पद्धति के हुनुपर्दछ ? कांग्रेस र माओवादी– दुई राजनीतिक धारका दुई शक्तिका शैक्षिक अवधारणाको घर्षणपछि निस्किने वैचारिक निक्र्योललाई संगतिपूर्ण व्यावहारिक पद्धतिका रूपमा विकास नगरेसम्म शिक्षा क्षेत्रका समस्या कचल्टिई नै रहन्छन् । शिक्षाका बारेमा नेपालका माओवादीहरूको दृष्टिकोण संगतिपूर्ण छैन । न त, मध्यमार्गी धारको मानिने कांग्रेसले नै संगतिपूर्ण बाटो पहिल्याउन सकेको छ । संघीय गणतान्त्रिक नेपालको संरचनात्मक पद्धतिको संयोजन गर्दा शिक्षा पद्धतिमा समन्वयको बाटो पहिल्याउन सकिएन भने देश ध्वस्त हुन बेर लाग्दैन । कुनै पनि देश र समाजमा विद्रोह पहिलो स्थायी तत्वका रूपमा रहेको हुन्छ । माओवादी युद्धले अहिलेसम्मको कालखण्डमा विद्रोहको प्रतिनिधित्व ग¥यो । मानवीय विकासका क्रममा अपरिहार्य रूपमा बढ्दै जाने असन्तोषको स्थायी समाधान अहिलेका उपलब्धिले नै दिन्छन् भन्ने सोच्नु गलत हो । राजनीतिक रूपमा शैक्षिक क्षेत्र नै विद्रोहको संवाहक हो । त्यसैले पनि, संघीय गणतान्त्रिक नेपालको शिक्षालाई संवैधानिक रूपमा नै सम्बोधन गर्नु अहिलेको आवश्यकता हो ।

अहिलेको समय राजा वीरेन्द्रले लागू गरेका नयाँ शिक्षा नीतिका अपर्याप्तता वा पहिलो जन–आन्दोलनपछिका सरकारहरूको गलत नीतिको चर्चा मात्रको समय होइन । के भएन र केका लागि हामीले त्यति ठूलो आकारको आन्दोलन गरेका थियौं ?

अहिलेको चिन्तन यो परिवेशबाट बाहिर जान सक्दैन । शैक्षिक सामथ्र्य नभएको देशमा जतिसुकै ठूला क्रान्ति र परिवर्तनका घटना भए पनि ती दिगो हुन सक्दैनन् । राजनीतिक परिवर्तनको स्थायित्वका लागि गुणात्मक शिक्षाको अपरिहार्यता स्थापित सत्य हो । स्वतन्त्रतामा आधारित शिक्षाले मात्र जनताको जीवनलाई उद्देश्य र ध्येयपूर्ण बनाउन सक्दछ । स्वतन्त्र शिक्षाका चिन्तक पाउलो फ्रेरी भन्दछन्, स्वतन्त्र शिक्षाको अर्थ र उद्देश्य मानिसलाई आफ्ना विचारहरूमा छलफल गर्न लगाएर विश्व दृष्टिकोणको निर्माणमा आफ्नो पनि सहभागिता रहेको बोध गराउने हुनुपर्दछ । यथास्थितिवादीहरू यथास्थिति कायम राख्नका लागि जनतालाई विभाजित गर्ने गर्दछन् । विभाजित जनतामाथि शासन गर्नु सहज हुन्छ । शिक्षाले जहिल्यै पनि मानिसलाई यथास्थितिका विरुद्ध उत्पे्ररित गर्नुपर्दछ ।

पाउलो फ्रेरीको विश्लेषणको कसीमा हाम्रो अहिलेको शिक्षा पद्धतिको विश्लेषण गर्ने हो भने यो यथास्थितिवादी शासकहरूको परिभाषाभित्र पर्ने स्पष्ट हुन्छ । हाम्रो शिक्षा पद्धति शिक्षक मात्रै ज्ञानी, छात्र–छात्रा अज्ञानी भन्ने सूत्रबाट निर्देशित रहेको छ ।

शिक्षकहरू आफ्नो व्यावसायिक आधिकारिकताको आडमा सम्पूर्ण ज्ञानको आधिकारिकतालाई नै भ्रमित तुल्याएर छात्रछात्राको स्वतन्त्रताका विरुद्ध प्रयोग गर्दछन् । यो परिपाटी रहेसम्म नेपालको शिक्षा कहिल्यै उन्नतिको बाटोमा लाग्न सक्दैन ।

हाम्रो तत्कालको प्राथमिकता अहिलेको नेपालको शिक्षालाई यथास्थितिको विषम वृत्तबाट बाहिर ल्याएर देशका कर्णधारहरूलाई यस सर, नो सर, थ्यांक यू सर मार्काको शिक्षाबाट बाहिर निकाली खुला र स्तरीय शिक्षाको बाटोमा हिंडाउनु हो । “ह्वाट क्यान आइ डू फर यू सर ?” होइन, “ह्वाट क्यान वी डू फर आवर नेपाल ?” भन्ने चुनौती लिन सक्ने छात्रछात्राको निर्माण संघीय गणतन्त्र नेपालको शैक्षिक कार्यसूची हुनुपर्दछ । शिक्षा समग्र उत्पीडनबाट मुक्तिका लागि हुनुपर्दछ । रूपान्तरणको प्रक्रियामा यथार्थको धरातलमा उपस्थित विषयगत विचारको महŒवलाई इन्कार गर्नु संकीर्णता हो । यो संकीर्णता बौद्धिक र नागरिकहरूको सक्रियताले मात्रै तोड्न सक्दछ ।

र, अन्त्यमा
गन्तव्यको किटान नहुनु नेपाली शिक्षाको सबैभन्दा ठूलो त्रासदी हो । हामी कहाँका लागि हिंडेका हौं ? हामीलाई नै थाहा छैन । आज हामीकहाँ पढेलेखेका उच्च शिक्षित मानिसको खाँचो छैन । अघिल्लो पुस्ताको तुलनामा, शैक्षिक हिसाबले व्यवसायमा पोख्त नयाँ पुस्ताका सदस्यहरूको संख्या दिनहुँ बढ्दो छ । दुर्भाग्य, यो पुस्ता पनि शिक्षाको बृहत्तर उद्देश्य र विश्वव्यापी परिभाषाभित्र समेटिन सकेको छैन । नेपाली अभिभावकहरू आफ्ना सन्तानलाई प्रशस्त धन आर्जन गर्ने पेशामा प्रवेश गराउन चाहन्छन् । धनको प्रभुत्वले शिक्षाको ज्ञान पक्षलाई ओझ्ेलमा पारेको उनीहरूले पत्तै पाएका छैनन् । शिक्षा नीतिका सरकारी निर्माताहरूले पनि नेपालको शैक्षिक आवश्यकतालाई निक्र्योल गर्न सकेका छैनन् । जबकि शिक्षाको उद्देश्य मानिसलाई कुशल व्यवसायी बनाउनु मात्रै होइन, कुशल नागरिक बनाउनु हो । एउटा कुशल व्यवसायी बनाउन जति सजिलो छ, एउटा असल नागरिक बनाउन त्यत्तिकै कठिन छ । व्यवसायीहरू दक्ष जनशक्ति हुन् । उनीहरूको अभावमा विकासको आधारभूमिमा कुनै कुराको निर्माण गर्न सकिंदैन । देश विकासका आधारहरू तयार गर्नुभन्दा पहिले कस्तो बनाउने देश ? यसको निर्णय गर्नु अपरिहार्य हुन्छ । त्यसैले पनि एउटा शिक्षित नागरिक दार्शनिक र चिन्तकको भूमिकामा देखिन सक्नुपर्छ ।

शिक्षाले व्यक्तिको कल्पनाशील स्वभावलाई तिखार्न सक्नुपर्छ । उसले आफ्नो र आफ्नो समयको मात्रै होइन भावी समयको समेत रेखाङ्कन गर्न सक्ने ल्याकत राख्नुपर्छ । हामीले विभिन्न व्यवसाय र पेशाका हजारौं योग्य व्यक्तिको निर्माण गरिसक्यौं ।

तर, ती योग्य व्यक्तिहरूमा अन्तरर्निहित दार्शनिक चिन्तक, विश्लेषक, आलोचकका गुणहरूलाई तिखार्न सकेनौं । शिक्षाका आदर्शहरूलाई राजनीतिका आवश्यकता र स्वार्थले थिच्यो । त्यसैको प्रतिफल भोग्दैछौं हामी । आजको शिक्षा सम्पन्न भएर पनि अपूर्ण छ । देशमा योग्य मानिसहरूको खाँचो छैन । तर सुयोग्य र सुशिक्षित मानिसहरूको ठूलो अभाव छ । शिक्षाको मूल नीतिमा जबसम्म विविधताको संयोजन गरिंदैन, जबसम्म शिक्षाको आत्मालाई शिक्षाको मूल नीतिमा स्थापित गरिंदैन तबसम्म देश उँभो लाग्न सक्दैन ।

commercial commercial commercial commercial