पाठ्यपुस्तक विना पनि सम्भव हुन्छ सिकाइ

हाम्रो प्राथमिक कक्षा पूर्ण रूपमा पाठ्यपुस्तकमुक्त छन् । शिक्षकहरूले पाठ्यक्रमको उद्देश्य अनुरूप बृहत्तर अवधारणा प्रत्येक एकाइमा पत्ता लगाउँछन् र पाठहरू त्यही अवधारणाको सेरोफेरोमा निर्माण गर्छन् । सकेसम्म विद्यार्थीलाई उनीहरूको दैनिक जीवन, समाज र वातावरणसँग सम्बन्धित गरी अन्तरक्रिया गर्न लगाइन्छ । प्रश्नबाट शुरू भएको पाठ प्रश्नको उत्तर खोजबिन गरी एउटा निष्कर्षमा पुर्‍याएर मात्र टुंगिन्छ ।

आफ्नै सन्दर्भ
मैले कक्षा एकदेखि दशसम्म अध्ययन गरेको विद्यालय घर नजिकै थियो । मेरो विद्यालय प्रवेश दाजुसँगै भयो । कारण थियो मलाई दाइसँग विद्यालय पठाएपछि घरमा धरालो चाहिएन । म शिशु कक्षामा र दाइ कक्षा एकमा भर्ना गरिनुभयो । शिशु कक्षामा पढाइ र लेखाइमा राम्रो गर्ने बच्चालाई सीधै कक्षा दुईमा चढाइन्थ्यो । मेरो हकमा पनि त्यसै भयो । कक्षा दुईमा म आफ्नै दाइको सहपाठी हुन पुगें । त्यतिवेला शिशुकक्षा र एक कक्षामा पाठ्यपुस्तक भन्ने थिएन । दाजुभाइ एउटै कक्षामा भएकोले हामीसँग संयुक्त रूपमा एक सेट किताब थिए । स्कूल जाँदा आधा किताब दाइले बोक्नुहुन्थ्यो, आधा मैले । त्यही आधा पाठ्यपुस्तक बोक्दाबोक्दै मेरो मस्तिष्कमा एउटा जिज्ञासा जन्मियो— विद्यालय जाँदा पाठ्यपुस्तक नै किन चाहिन्छ ? आधा पाठ्यपुस्तक बोक्नुको पीडाले त्यतिवेला जन्माएको जिज्ञासाले मलाई आजसम्म पनि छाडेको छैन । अन्तरात्मामा त्यतिवेलै पढ्न, ज्ञान निर्माण गर्न, सीप सिक्न, अवधारणा बुझन किन पाठ्यपुस्तक नै चाहियो त भन्ने प्रश्न उठेको थियो । तर मेरो त्यस्तो जिज्ञासा शान्त पार्न न त मेरा शिक्षकहरूले पहल गर्ने वातावरण थियो न त क्षमता नै । शिक्षकहरूका निम्ति पनि पाठ्यपुस्तकमा भएका चिजहरूको कर्मकाण्डीय कार्य बाहेक अरू कल्पना बाहिरको चिज थियो । त्यसवेलाको शिक्षण पद्धति भनेको वाचन र पाठ पद्धति नै हो ।

म जति कक्षा चढ्दै गएँ त्यति त्यति पाठ्यपुस्तकप्रति वितृष्णा जाग्दै गयो । मलाई सानैमा लाग्थ्यो– यदि किताब पढेर ज्ञानी भइन्छ भने त्यही किताब मात्र पढ्न किन विद्यालय जानु पर्‍यो ? घरमा नै पढे भएन र ? विद्यालय जाने भनेकै पढ्न जाने हो भन्ने आम बुझाइ थियो र अहिले पनि छ । म विद्यालयमा छँदा पनि पाठ्यपुस्तक सहजै पाइँदैनथ्यो । मनमा लाग्थ्यो, विना पाठ्यपुस्तक शिक्षकहरूले किन पढाउन सक्नु हुन्न ?

आई.एड् पढ्न क्याम्पसमा भर्ना भएपछि पाठ्यपुस्तकबाट मुक्ति त मिल्यो तर लेक्चररको नोटमा भर पर्नुपर्‍यो । त्यसपछि संज्ञानको क्षेत्र यति संकुचित भयो कि रचनात्मक चिन्तन र महत्वपूर्ण सोचको कुनै स्थान रहेन । न त समस्या समाधानका सीप विकास गर्ने वातावरण नै रह्यो । कलेजको कक्षामा शिक्षकले भनेका कुराको अनुलेखन बाहेक खासै केही हुँदैनथ्यो । कक्षामा लेक्चररले भनेका कुरा उनकै रफ्तारमा कापीमा उतार्ने गर्दा दुई वटा सीपको राम्रै विकास भयो— द्रुत र सुन्दर हस्तलेखन । यी सीपले परीक्षामा प्रश्नको उत्तर आफूले जाने जति लेख्न र समय सीमाभित्र सक्न मद्दत गरे ।

बी.एड्. पढ्न काठमाडौं आएपछि म नीलगिरि स्कूल; पकनाजोलमा पढाउन थालें । त्यो विद्यालयले पाठ्यपुस्तकको प्रयोग सम्बन्धमा मेरो जिज्ञासा मेटाउन र सोको खोजी गर्न एउटा ठूलो प्रयोगशाला उपलब्ध गराइदियो । त्यो स्कूलमा मैले कक्षा ९ र १० मा सामाजिक शिक्षा पढाउनुपथ्र्यो । मैले त्यसनिम्ति ती कक्षाका निम्ति तोकिएका पाठ्यपुस्तकको प्रयोग गरिनँ, तिनलाई सन्दर्भ सामग्रीको रूपमा आफूले चाहिं उपयोग गरें । कुनै पनि विद्यार्थीलाई ती किताब प्रत्यक्ष किन्न पनि लगाइनँ । यसले अभिभावकहरूमा एकप्रकारको हलचल पैदा गरायो । विना किताब कसरी एसएलसी दिने भन्ने प्रश्न खडा गरियो । तर विद्यार्थी र म आफैं भने यस कुरामा ढुक्क थियौं । र, परिणाम पनि हाम्रो पक्षमा आयो । सबै विद्यार्थी समग्रमा ६० प्रतिशतभन्दा बढी नम्बर ल्याएर एसएलसी उत्तीर्ण भए । यसले मलाई ठूलो नैतिक बल दियो । यसरी विना पाठ्यपुस्तक, पाठ्यक्रमको आधारमा कक्षामा शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन सकिन्छ र त्यसले विद्यार्थीमा रचनात्मक चिन्तन, महत्वपूर्ण सोच र समस्या समाधान सीप जस्ता कुराहरू विकास गर्न योगदान दिन्छ भन्ने कुरा व्यवहारतः पुष्टि गरियो ।

मेरो मनमा एउटा खुल्दुली भने पछिसम्म पनि रहिरहेको थियो । आजभन्दा १५ वर्षअघि विना पाठ्यपुस्तक कक्षा ९ र १० को सामाजिक शिक्षा शिक्षण गर्दा मेरा विद्यार्थीले के पाए के गुमाए ? यसले उनीहरूको जीवनमा के प्रभाव पार्‍यो त ? समयक्रममा भेटिएका त्यतिवेलाका विद्यार्थीसँग मैले यो प्रश्न दोहोर्‍याइरहें । त्यसमा उनीहरूको प्रत्युत्तर यस्तो थियोः “कम भन्दा कम पाठ्यपुस्तक प्रयोग गर्‍यो भने त्यसले सिकाइलाई बढी क्रियाशील बनाउने रहेछ । अरूको विचारसँग आफ्नो विचार कति समान छ; कति फरक छ भत्रे कुरा सहजै थाहा पाउन सकिने रहेछ । सूचना र तथ्य भन्दा पनि सिकाइ महत्वपूर्ण हुने रहेछ ।”

न्यूयोर्कबाट एड्भान्स मास्टर्स डिग्री (एड.एम) अध्ययन सकेर ९ वर्षअघि युलेन्स स्कूलमा प्रधानाध्यापकको रूपमा काम शुरू गरेपछि मैले सबै कक्षाकोठालाई पाठ्यपुस्तकमुक्त बनाउने निधो गरें । यसको सुरुआत कक्षा एकबाट गर्‍यौं र अहिले आएर कक्षा ५ सम्म पुर्‍याएका छौं । पाठ्यपुस्तकमुक्त कक्षा सम्भव छ र अबका दिनमा अपरिहार्य पनि छ भन्ने कुरामा हाम्रो विश्वास र प्रतिबद्धता अरू बढेको छ । हाम्रो विद्यालयको अवलोकनमा आउने शिक्षक/अभिभावकहरूलाई बेलाबखतमा भन्ने गरेको पनि छु– जुन दिन हामी विद्यालयको सबै कक्षालाई पाठ्यपुस्तकमुक्त गराउन सक्नेछौं, त्यो दिन मात्र हाम्रो विद्यालय साँच्चै देखाउन लायकको हुनेछ । मलाई पाठ्यपुस्तकमुक्त कक्षा सम्भव छ भनेर स्थापित गर्न करीब तीनदशक लाग्यो । अब पनि हामीले यसलाई मनन् गरी केही महत्वपूर्ण कदम आजै नथाल्ने हो भने हामी अन्य देशको तुलनामा धेरै पछि पर्नेछौं ।

आज हाम्रो सिङ्गो शैक्षिक प्रणाली परीक्षा केन्द्रित छ भने परीक्षा चाहिं पाठ्यक्रम भन्दा पनि पाठ्यपुस्तक केन्द्रित छ । त्यसैले यसलाई समायोजन गरी अगाडि बढाउने चुनौती निकै ठूलो छ । पाठ्यपुस्तक भन्दा बाहिरबाट प्रश्न सोधेको बहानामा हाम्रा विश्वविद्यालयका विभागहरू जलेका, परीक्षा रद्द भएका र प्रश्नपत्र च्यातिएका घटना हाम्रा लागि नौला छैनन् ।


हाम्रो सिङ्गो शैक्षिक प्रणाली परीक्षा केन्द्रित छ भने परीक्षा चाहिं पाठ्यक्रम भन्दा पनि पाठ्यपुस्तक केन्द्रित छ । त्यसैले यसलाई समायोजन गरी अगाडि बढाउने चुनौती निकै ठूलो छ । पाठ्यपुस्तक भन्दा बाहिरबाट प्रश्न सोधेको बहानामा हाम्रा विश्वविद्यालयका विभागहरू जलेका, परीक्षा रद्द भएका र प्रश्नपत्र च्यातिएका घटना हाम्रा लागि नौला छैनन् । 

पाठ्यपुस्तकमुक्त कक्षाको सैद्धान्तिक पक्ष
सिकाइको स्वामित्व र अपनत्व कसले लिने ? शिक्षकले लिने कि विद्यार्थीले ? पाठ्यक्रम निर्माताले लिने कि पाठ्यपुस्तक लेखकले ? यही प्रश्नको सेरोफेरोमा पाठ्यपुस्तकमुक्त कक्षाको अवधारणा लुकेको छ । यदि सिकाइको स्वामित्व विद्यार्थीले लिने हो भने कक्षाकोठामा पाठ्यपुस्तकहरू ज्ञान निर्माण, सीप सिकाइ र अवधारणा बुझाइका सहायक सामग्री बन्नुपर्छ ।

पाठ्यपुस्तक निर्देशित शिक्षण सिकाइ क्रियाकलाप भयो भने विद्यार्थीमा ज्ञान निर्माण गर्ने भन्दा पनि अरूद्वारा निर्माण गरिएका ज्ञानहरूको सँगालो पढ्ने, आफूद्वारा परिभाषित र व्याख्या गरिएको संकल्पना (Concept) बुझने भन्दा पनि अरूद्वारा परिभाषित र व्याख्या गरिएको संकल्पना घोक्ने बानीको विकास हुन्छ । शिक्षा क्षेत्रका मानिसले पाठ्यपुस्तकलाई सिकाइको एक मात्र मुख्य सामग्रीको रूपमा बुझिंदा  समस्या उत्पन्न भएको हो ।

पाठ्यपुस्तकको मूूल मन्त्र भनेकै एउटा वस्तु सबैतिर फिट हुनु हो । तर विद्यार्थी भिन्नभिन्न प्रकारले सिक्छन् । केही विद्यार्थी सुनेर सिक्नेवाला छन् त केही हेरेर । केही विद्यार्थी चलेर सिक्नेवाला छन् त केही छोएर । कसैको शब्दमा राम्रो दक्षता हुन्छ भने कसैको अंकमा दक्षता हुन्छ । कसैको अन्तर वैयक्तिक सीप राम्रो हुन्छ भने कसैको स्व–वैयक्तिक सीप राम्रो हुन्छ । कसैले क्षेत्र भ्रमण अध्ययनबाट सिक्छन् भने केही संगीतको साथमा । यस्तो विविधताले भरिपूर्ण कक्षाकोठामा कसरी काम गर्न सक्छ एउटा शैली र सोचाइमा लेखिएको पाठ्यपुस्तकले ?

कक्षामा सबै विद्यार्थीको स्तर पनि एउटै हुँदैन । सबैले उही अनुभव हासिल गरेका पनि हुन्नन् । सबैको ज्ञान निर्माण गर्ने र सीप सिक्ने गति पनि एउटै हुँदैन । अनि कसरी पाठ्यपुस्तकले यी सबै समस्याको समाधान गर्छ त ? त्यसैले यसमा विश्वास राख्नु भनेको सिटामोलले सबै रोगको उपचार गर्छु भत्रु मात्र हो । सिटामोलले टाउको दुःखेको बिरामीलाई त ठीक पार्ला तर अन्य रोगको ओखती त्यो हुनै सक्दैन ।

शिक्षण सिकाइ सम्बन्धी विद्यमान समस्याको समाधान भनेको एउटा मात्र विधि, एउटा मात्र शैक्षिक सामग्री, एउटा मात्र क्रियाकलाप, एउटा मात्र तरीकाको सट्टा एउटै कक्षामा, एउटै समयमा बहु–विधि, बहु–सामग्री र बहु–क्रियाकलाप प्रयोग गरी शिक्षण गर्नु हो ।

एक्काइसौं शताब्दीको नागरिक बन्न विद्यार्थीमा विकास गर्नुपर्ने सीप र दक्षता हामीले प्रयोग गर्ने पाठ्यपुस्तकबाट सम्भव छैन ।

हेरौं, हाम्रो कुन कक्षाको कुन पाठ्यपुस्तकले विद्यार्थीमा सूचना र तथ्यहरू विश्लेषण गरी सही माध्यमद्वारा सञ्चार गर्ने सीप सिकाउँछ ? कुन चाहिं पाठ्यपुस्तकले जानकारीको संश्लेषण, विश्लेषण र निष्कर्ष निकाल्ने सीपको विकास गराउँछ ? आफूभन्दा भिन्न, विचार/क्षमता/सोच/रहनसहन/आनीबानी भएका व्यक्तिहरूसँग मिलेर काम गर्ने सीप हामीले सिकाउनै थालेको छैनौं । हामीले त पाठ्यपुस्तकमा भएका सूचना÷जानकारी÷तथ्य सम्झ्न मात्र सिकाएका छौं । विद्यार्थीलाई जिज्ञासु र उत्सुक बनाउन सिकाएका छैनौं । माछा मारेर ख्वायौं, माछा पार्ने सीप चाहिं सिकाएनौं । त्यसको ज्ञान निर्माण गर्न लगाएनौं ।

यसरी हामीले २१औं शताब्दीको नागरिक बन्न चाहिने आधारभूत ज्ञान र सीप नै सिकाउन बाँकी छ भने पाठ्यपुस्तकलाई सहायक सामग्री बनाउन किन ढिलाइ गर्ने ?

पाठ्यपुस्तकले विद्यार्थीको पढाइ, सिकाइमा रुचि जगाउन सकेको छैन । हाम्रा पाठ्यपुस्तक दिक्क लाग्दा छन्— पढ्न बस्यो कि निद्रा लाग्ने । २०४१ सालमा मैले कक्षा ८ मा पढेका पाठ्यपुस्तक ३० वर्षपछि २०७१ सालमा मेरो छोराले कक्षा ८ मा पढ्नुपर्ने पाठ्यपुस्तकसँग तुलना गरेर हेर्दा आधारभूत रूपमा केही फरक छैन । यसैबाट थाहा हुन्छ पाठ्यपुस्तकको ज्वरो हाम्रो शैक्षिक भूमिमा कति गहिरो रूपमा गडेर बसेको छ । ३० वर्षसम्म पनि खासै परिवर्तन गर्नु नपर्ने त्यस्तो के चिज रहेको छ हाम्रो पाठ्यपुस्तकमा ? खाली सूचना र तथ्य हेरफेर बाहेक विषयको प्रस्तुति र अभ्यास हेर्‍यौं भने केही पनि फरक छैन ।

पाठ्यक्रम र पाठ्यपुस्तक
पाठ्यपुस्तकलाई सूचना र तथ्यहरूको एक मात्रै स्रोतको रूपमा परिभाषित गर्ने गरिएको छ । मानौं पाठ्यपुस्तक भएन भने कक्षामा केही हुँदैन । हाम्रो बुझइ यही हो । हाम्रा शिक्षकहरूको बुझाइ यही र समग्र शिक्षा मन्त्रालयको पनि बुझाइ यही हो । तर यसरी पाठ्यपुस्तकलार्ई एकल स्रोतको रूपमा प्रयोग गरिंदा विद्यार्थीले कुनै पनि धारणाको एकतर्फी परिप्रेक्ष्य मात्र पढ्ने मौका पाउँछन् । यहाँ अन्तरक्रिया भन्ने चिज हुँदैन । कुनै पनि सूचना, तथ्य र धारणाको बहु–आयामिक विश्लेषण थाहा पाउन पाठ्यपुस्तकको साथमा अन्य पढाइ सामग्री सँगै प्रयोग गर्नु जरूरी हुन्छ । अन्यथा विद्यार्थीमा रचनात्मक चिन्तन र महत्वपूर्ण सोच, समस्या समाधान सीप विकास हुन सक्दैन ।

पाठ्यपुस्तक विद्यार्थीको पढाइको स्तर, तह र रुचि अनुसार पनि लेखिएका छैनन् । विद्यार्थीमा प्रश्नको सही उत्तर खोज्ने बाहेक अरू कामको लागि पढ्ने बानीको विकास भएको छैन । बजारमा ‘ओल्ड इज गोल्ड’ र अनुमानित प्रश्नहरूको सँगालो धेरै बिक्नुको कारण यही हो । हाम्रा पाठ्यपुस्तक यस्ता छन्– हामीलाई सोधिने सबै प्रश्नका उत्तरहरू सहजै पाइन्छन् । किनकि पाठ्यपुस्तकमा सूचना र तथ्य राख्ने अनि जाँचमा त्यही सोधिने हो । यसले विद्यार्थीमा खोजी गर्ने, समस्या समाधान गर्ने भन्दा पनि सही उत्तर मात्र खोज्ने बानीको विकास गराइरहेको छ । हामी शिक्षक चाहिं तिनको टाउकोमा ‘रेडिमेड’ उत्तर हाल्ने काममै सीमित भइरहेका छौं ।

हाम्रा पाठ्यपुस्तक आफ्नो भूगोल र वातावरण, विद्यार्थीको रुचि र क्षमता तथा स्थानीय परिवेश अनुसार पाठ्यपुस्तक परिवर्तन गर्न, सच्याउन, असान्दर्भिक पाठ्यसामग्री हटाउन अधिकार दिइएको छैन । पाठ्यपुस्तक कत्तिको प्रभावकारी भयो ? यसले कहाँ कहाँ व्यवधान खडा गर्‍यो ? कहाँ कहाँ पाठ्यक्रमले निर्देशन दिएको कुरा पूरा भयो ? कहाँ कहाँ पूरा भएन ? भनेर अनुसन्धान गरिएको छैन । एक पटक किताब लेखेपछि कम्तीमा १० वर्ष ढुक्क हुने अवस्था हामीकहाँ छ । यो पनि हाम्रो कमजोरी हो ।


पाठ्यपुस्तकले हामी शिक्षकलार्ई पनि अल्छी बनाइरहेको छ । हामीले १० वर्ष पुरानो शिक्षक र भर्खर सेवा प्रवेश गरेको शिक्षकको सीप तुलना गर्‍यौं भने खासै फरक पाउँदैनौं । हो, १० वर्ष पुरानो शिक्षकलाई किताबको कुन पेजमा के छ भन्ने कुरा थाहा हुन्छ, नयाँलाई हुँदैन । फरक यत्ति हो ।

हाम्रो पाठ्यपुस्तकको अर्को कमजोरी भनेको वास्तविकतालाई उपेक्षा गर्ने हो । हामी गणितमा क्षेत्रफल सिकाउँछौं तर एउटा कोठामा कार्पेट राख्नु पर्‍यो भने कति मिटर कार्पेट चाहिन्छ भनेर हाम्रा विद्यार्थीलार्ई थाहा हुँदैन । हामी नाफा–नोक्सान सिकाउँछौं तर हाम्रा विद्यार्थीलाई कति पैसा ब्याङ्कमा राख्यो भने वर्षमा कति आम्दानी हुन्छ भन्ने कुरा ब्याङ्कको कर्मचारीले भनेपछि मात्र थाहा हुन्छ । हामी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने कुरा सिकाउँछौं तर नियमित नुहाउन, हातखुट्टाका नङ काट्न, हात धोएर खाना खान आफ्ना अभिभावकले कर गरेपछि मात्र हाम्रा विद्यार्थी तयार हुन्छन् । हामी आफ्नो छरछिमेक सफा राख्नुपर्छ भनेर सिकाउँछौं । हाम्रा विद्यार्थी बस्ने कोठा उनीहरूका बा–आमाले सफा नगरेसम्म सफा नहुने कुरा सुन्न पाउँछौं । यी त केवल उदारण मात्र हुन् । यस्ता कैयन् कुरा छन् जुन हाम्रा विद्यार्थी लेख्न सक्छन् तर गर्न सक्दैनन् । हाम्रो पाठ्यक्रम; पाठ्यपुस्तक र व्यवहारमा मेल नखाएको यो एउटा महत्वपूर्ण क्षेत्र हो ।  

पाठ्यपुस्तकले हामी शिक्षकलार्ई पनि अल्छी बनाइरहेको छ । हामीले १० वर्ष पुरानो शिक्षक र भर्खर सेवा प्रवेश गरेको शिक्षकको सीप तुलना गर्‍यौं भने खासै फरक पाउँदैनौं । हो, १० वर्ष पुरानो शिक्षकलाई किताबको कुन पेजमा के छ भन्ने कुरा थाहा हुन्छ, नयाँलाई हुँदैन । फरक यत्ति हो । १० वर्ष पुरानो शिक्षकले किताबको पाठ्यसामग्री विद्यार्थीको रुचि अनुसार छ कि छैन तथा यसले पाठ्यक्रमको उद्देश्य हासिल गर्‍यो कि गरेन भनेर वास्तै गरेको हुँदैन । यसरी पकाएर राखेको खाना पस्केर दिने बाटोबाट नै खाना पकाउने सीप विकास हुन्छ भन्नु र आशा राख्नु व्यर्थ छ । त्यसकारण पकाएको खाना पस्कने हैन खाना पकाउन सिकाऔं; अनि मात्र हाम्रा शिक्षक दक्ष हुन्छन् ।

हाम्रो विद्यालयको अनुभव
युलेन्स स्कूलले पाठ्यपुस्तकलाई मुख्य हैन सहायक सामग्रीको रूपमा प्रयोग गरिरहेको छ । मुख्य वस्तु भनेको पाठ्यक्रम नै हो । यदि शिक्षक तालिमप्राप्त छन्, विषयवस्तुमा दक्ष छन् भने पाठ्यपुस्तक चाहिन्छ भन्ने छैन । अहिलेको प्रविधिको जमानामा हाम्रा पाठ्यपुस्तक भन्दा कैयौं गुणा स्तरीय र उमेर सुहाउँदा सामग्री बजारमा उपलब्ध छन् । हामी विद्यार्थीलाई कक्षाकोठा र पाठ्यपुस्तक— यी दुई चिजबाट केही हदसम्म भए पनि बाहिर निकाल्न चाहन्छौं । जब विद्यार्थी कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित रहन्छन्, उनीहरूले निर्माण गर्ने ज्ञान र सीप पनि त्यही भित्र मात्र सीमित हुन्छ । अझ् खासमा भन्ने हो भने यसले विद्यार्थीलाई कहीं पुर्‍याउँदैन । यसको सुरुआत हामीले प्राथमिक कक्षाबाट गर्‍यौं । हाम्रो प्राथमिक कक्षा पूर्ण रूपमा पाठ्यपुस्तकमुक्त छन् । हाम्रा शिक्षकहरूले नेपाल सरकारद्वारा उपलब्ध गराइएको पाठ्यक्रम प्रयोग गर्छन् । पाठ्यक्रमको उद्देश्य अनुरूप बृहत्तर अवधारणा प्रत्येक एकाइ र पाठमा पत्ता लगाइन्छ र पाठहरू त्यही अवधारणाको सेरोफेरोमा निर्माण गरिन्छ । सकेसम्म विद्यार्थीलाई उनीहरूको दैनिक जीवन, समाज र वातावरणसँग सम्बन्धित गरी अन्तरक्रिया गर्न लगाइन्छ ।

प्रश्नबाट शुरू भएको पाठ प्रश्नको उत्तर खोजबिन गरी एउटा निष्कर्षमा पुर्‍याएर मात्र टुंगिन्छ । कक्षाको वातावरण विद्यार्थी विद्यार्थी बीचमा आमनेसामने बातचित गर्न मिल्ने गरी कक्षाकोठाको बसाइ व्यवस्था मिलाइएको हुन्छ ।

हामी चाहन्छौं हामीले अपनाएको तरीका पूरै विद्यालय तहमा लागू गर्न सकियोस् । तर सो कुरा हामीले चाहेर पनि र हामीसित क्षमता भएर पनि गर्न सकिरहेका छैनौं । कक्षा छ र सात भन्दा माथि यो कुरा अब सम्भव नहोला जस्तो छ । किनकि जिल्ला शिक्षा कार्यालयले लिने कक्षा ८ को जिल्लास्तरीय परीक्षा पूर्णतः पाठ्यपुस्तक केन्द्रित हुने गर्छ । परिणामतः हामीले पनि पाठ्यपुस्तक नै अक्षरशः घोकाउनुपर्ने हुन्छ । यो परीक्षा पनि पाठ्यक्रम केन्द्रित बनाउन सक्दा मात्र माथिल्ला कक्षालाई पनि पाठ्यपुस्तकमुक्त तुल्याउन सम्भव हुनेथियो ।


एक्काइसौं शताब्दीको नागरिक बन्न विद्यार्थीमा विकास गर्नुपर्ने सीप र दक्षता हामीले प्रयोग गर्ने पाठ्यपुस्तकबाट सम्भव छैन । हेरौं, हाम्रो कुन कक्षाको कुन पाठ्यपुस्तकले विद्यार्थीमा सूचना र तथ्यहरू विश्लेषण गरी सही माध्यमद्वारा सञ्चार गर्ने सीप सिकाउँछ ? कुन चाहिं पाठ्यपुस्तकले जानकारीको संश्लेषण, विश्लेषण र निष्कर्ष निकाल्ने सीपको विकास गराउँछ ?

कक्षाकोठालाई पाठ्यपुस्तक मुक्त बनाउने कार्य आफैंमा त्यति सहज भने छैन । यसनिम्ति सबैभन्दा पहिला शिक्षकहरू दक्ष हुनै पर्छ । उनीहरू तालिमप्राप्त हुनै पर्छ । शिक्षकले आफूले चाहेको चिज पुस्तकालयबाट; इन्टरनेटमा सजिलै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउनुपर्दछ । त्यसभन्दा ठूलो कुरो, शिक्षकले तयारीको लागि, प्रशस्त समय पाउनु पर्‍यो । मूल्याङ्कन पनि पाठ्यक्रम केन्द्रित प्रणाली अनुसार गर्नु पर्‍यो । अभिभावक शिक्षा पनि उत्तिकै जरूरी छ । हामीले पाठ्यपुस्तक हटाएका प्रत्येक कक्षामा अन्तरक्रियात्मक डिजिटल बोर्ड जडान गर्‍यौं । कक्षाकोठालाई इन्टरनेटको दुनियाँसँग जोड्यौं । विद्यालय क्षेत्रभरि द्रुत गतिको इन्टरनेट समेत जडान गरियो । शिक्षकहरूलाई पाठ्यक्रम केन्द्रित शिक्षण गर्ने तालिम दियौं र यस्तो तालिमलाई निरन्तर र नियमित प्रक्रिया अन्तर्गत राख्यौं । प्राथमिक तहका मूल विषय अध्यापन गर्ने शिक्षकहरूको दैनिक कार्यभार प्रति दिन दुई पिरियड मात्र हुने गरी मिलायौं जसले गर्दा उहाँहरूलाई सामग्री खोज्न, निर्माण गर्न पर्याप्त समय उपलब्ध हुन सकोस् ।

अब विस्तारै हरेक कक्षाकोठामै पुस्तकालय हुनुपर्छ भत्रे विचार झङ्गिदैछ । ‘एउटा स्कूलमा एउटा पुस्तकालय’ को परम्परागत अवधारणा असान्दर्भिक लाग्न थालेको छ । यदि यसो गर्न सकियो भने विद्यार्थी र शिक्षकहरूलाई आवश्यक पर्ने सबै पाठ्यसामग्री कक्षाकोठाभित्रै उपलब्ध हुनेछन् । यसबाट विद्यालयको शिक्षण–सिकाइ क्रियाकलापलाई पूर्णतः पाठ्यक्रम केन्द्रित तुल्याई पाठ्यपुस्तकहरूलाई सहायक या सन्दर्भ सामग्रीमा बदल्ने हाम्रो प्रयत्नमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ ।

(लामिछाने युलेन्स स्कूल, खुमलटार, ललितपुरका प्रअ हुन् ।)

शिक्षक  मासिक, २०७१ जेठ अंकमा प्रकाशित । 



 

commercial commercial commercial commercial