पानी कहाँबाट आउँछ ? कुरैकुरामा वर्षा–चक्रको ज्ञान

प्राथमिक कक्षाका विद्यार्थीको दिमाग निकै कलिलो हुन्छ । उनीहरूले पढ्न नै राम्ररी जानिसकेका हुँदैनन्, तर तिनलाई पढाउनुपर्ने किताबमा थुप्रै कुरा भरिएको हुन्छ । विद्यार्थीलाई सबै कुरामा रुचि होस् नहोस्, शिक्षकले पूरै किताब पढाएर सिध्याउनै पर्छ । यस्तो वेला के गर्ने ? हरेक कुरा मनोरञ्जक तरीकाले कसरी पढाउने ? हरेक कुरा पढाउँदा उनीहरूलाई कसरी सक्रिय बनाउने ?

थुप्रै शिक्षक साथीहरूलाई जस्तै मलाई पनि यस्ता प्रश्नले चुनौती दिइरहन्छन् । त्यसैले, सकेसम्म हरेक पाठलाई आफ्नै किसिमले मनोरञ्जक र त्यसमा विद्यार्थीलाई सक्रिय बनाउने प्रयास गर्छु । एक दिन मैले वर्षाको चक्र ९चबष्ल अथअभि० बारे पढाउनु थियो । सोचें– कसरी पढाउने होला ? अनि विचार गरें– पहिले ह्वाइट बोर्डमा वर्षा चक्रको चित्र बनाउँछु । पानी, बाफ बन्ने प्रक्रिया, बादल अनि वर्षा । वाणको चिन्हले तिनको क्रम निर्धारित गर्छु अनि ‘हेर भाइबहिनी हो...’ भनेर पढाउन थाल्छु ।

फेरि लाग्यो, तर यसरी पढाउँदा विद्यार्थीको भूमिकाका लागि के बच्छ ? म चित्र बनाउँछु, तिनले हेर्छन् । म व्याख्या गर्छु, तिनले सुन्छन् । ‘बुझयौ त ?’ भनेर सोध्छु, ‘बुझयौं मिस’ भन्छन्– चाहे बुझ्ेका हुन् अथवा नहुन् । मिसले पढाएको र किताबमा लेखेको भएपछि कुरो ठीकै होला भन्ने ठान्छन् । पढाइ सिद्धिन्छ । तर यसो गर्दा उनीहरूले सोच्ने, प्रश्न गर्ने, तर्क गर्ने, जवाफ खोज्ने केही गर्न पाउँदैनन् । पूरै निष्क्रिय हुन्छन् । मैले नै प्रश्न गरें भने पनि एक–दुई जना बाहेक अरूले जवाफ दिंदैनन् । यो पनि पढाइ भयो त ?
यस्तो लागेपछि मैले अर्कै तरीकाले वर्षा–चक्र पढाउने प्रयास गरें । मेरो त्यही अनुभव तपाईंका सामु प्रस्तुत गर्दैछु । यो ठीक भयो कि बेठीक मलाई थाहा छैन । पढेर तपाईं नै भन्नोस्– मेरो प्रयास कस्तो रह्यो ?

कक्षामा पुगेर पढाउन ‘शुरू’ गर्नुभन्दा अघि मैले भनें– “कस्तो तिर्खा लाग्यो; मलाई कसैले पानी ख्वाओ न !”
विद्यार्थीहरू ‘म ल्याउँछु, म ल्याउँछु’ भनेर जम्जमाए ।
मैले भनें– “जसले ल्याए पनि हुन्छ । प्रीति, तिमी गएर ल्याऊ ।”
प्रीति पानी लिन गइन् । म चूपचाप बसें । म चूप लागेपछि केटाकेटी आपसमा कुरा गर्न थाले ।
प्रीति पानी लिएर आइपुगिन् । मैले भनें– “ए, ल्यायौ ? कहाँबाट ल्याऔ यो पानी ?”
प्रीति– “ट्युबवेलबाट ।”
म– “नढाँटी भन, कहाँबाट ल्याऔ ?”
प्रीति– “साँच्चै भनेको मिस । ट्युबवेलबाट ल्याएको ।”
म– “फेरि झ्ूटो बोल्यौ ?”
यति वेला सबै विद्यार्थी अलमल परेर मलाई हेरिरहेका थिए । शायद हिजोअस्ति जसले ल्याएको पानी पनि केही नभनी खाने मिसलाई आज के भएछ भनेर सोच्तैथिए ।
प्रीति– “विद्या कसम, मिस । ट्युबवेलबाट ल्याएको ।”
म– “ल, ठीक छ । त्यसो भए ट्युबवेलमा पानी कहाँबाट आयो त ?”
प्रीतिले जवाफ दिनुभन्दा अघि नै बच्चाहरू कराउन थाले– “म भन्छु, म भन्छु ।”
म– “पख, पख । एक जनाले भन । अमित, तिमी भन ।”
अमित– “मिस, ट्युबवेलमा भुइँमुनिबाट पानी आउँछ ।”
म– “पक्का ?”
सबै विद्यार्थी– “पक्का, भुइँमुनिबाट आउँछ ।”
म– “कसरी आउँछ त ?”
रजत– “मिस, हामीले ट्युबवेल चलाएपछि भुइँमुनिको पानी माथि आउँछ ।”
सन्दीप– “त्यसो होइन मिस, म भनौं ?”
म– “ल, भन ।”
सन्दीप– “एउटा लामो पाइप भुइँमा गाडेको हुन्छ । अनि त्यसको माथि धारो आउने ठाउँ बनाएको हुन्छ । ट्युबवेलको डण्डी दुई–चार पल्ट चलाएपछि भुइँभित्रको पानी लामो पाइपबाट माथि आउँछ । अनि धाराबाट खस्छ, मिस ।”
म– “यो त तिमीले जमीनमुनिको पानी कसरी माथि आउँछ पो भन्यौ । मैले त पानी कहाँबाट आउँछ भनेर पो सोधेको ।”
सबै विद्यार्थी– “पानी भुइँमुनिबाटै आउँछ, मिस ।”
म– “तर भुइँमुनि चाहिं कहाँबाट आउँछ नि ?”
भरत– “भुइँमुनि पानी जम्मा भइराखेको हुन्छ, मिस ।”
म– “हो र ? कसरी जम्मा हुन्छ ?”
मेनका– “आकाशबाट पानी परेपछि विस्तारै भुइँमुनि पुग्छ र त्यहाँ जम्मा हुन्छ, मिस ।”
म– “एकदम ठीक भन्यौ । त्यसो भए जमीनमुनिको पानी कहाँबाट आयो त ?”
सबै– “माथिबाट ।”
म– “माथिबाट अरे ? आकाशबाट ?”
सबै जना हानथाप गर्दै– “होइन, बादलबाट ।”
म– “अरे, तिमीहरू त बादल जस्तै गर्जिन पो थाल्यौ । पानी नपार्नु नि !” (सबै जना हाँस्न थाल्छन् ।)
म– “पानी बादलबाट आउँछ; पक्का होइन त ?”
विमला– “हो मिस । बर्खाको वेला कताकताबाट आकाशमा बादल आउँछन् र पानी वर्षाउँछन् ।”
म– “ठीक छ । तर भन त, बादलले पानी कहाँबाट ल्याउँदा होलान् ?” (सबै जना चूप हुन्छन् ।)
म– “बादलले पनि त कहीं न कहींबाट पानी ल्याउँदा होलान् नि ?”
सुमन– “मिस, म भन्छु नि ! बादलले भगवानबाट पानी ल्याउँछन् होला । हजूरआमाले भन्नुभएको, भगवानले नै पानी पार्नुहुन्छ अरे !”
म– “हरे, ... भगवानका त थुप्रै काम हुन्छन् नि ! भगवानसँग एक–एक वटा बादललाई पानी बाँड्ने फुर्सत कहाँ हुन्छ र ? अनि विचार गर त, भगवानले पानी पार्ने भए कहीं धेरै कहीं थोरै किन पार्नुहुन्थ्यो ? सबै ठाउँमा बराबरी पार्नुहुन्थ्यो नि ! होइन र ?”
गणेश– “हो त मिस । सबै ठाउँमा बराबरी पानी कहाँ पर्छ र ? कहीं बाढी आउँछ, अनि कहीं चाहिं सुक्खा नै हुन्छ । अस्ति नै हामीकहाँ बाढी आयो अनि हाम्रो मामाघरमा चाहिं पानी नपरेर सुक्खा भयो । भगवानले पानी पार्ने भए त सबैतिर बराबरी पारिहाल्नुहुन्थ्यो नि, होइन त मिस ?”
म– “त्यसो भए भन न त, बादलले कहाँबाट पानी ल्याउँछ ?”
उमा– “तपाईं नै भन्नोस् न मिस, बादलले पानी कहाँबाट ल्याउँछ ।”
सबै– “हो, हो । तपाईं नै भन्नोस् न मिस ।”
म– “ठीक छ । म भन्छु । तर पहिले तिमीहरू भन, तिमीहरूले पानी उम्लेको देखेका छौ कि छैनौ ?”
सबै– “देखेका छौं, मिस ।”
म– “त्यसबाट बाफ निस्कन्छ, होइन ?”
सबै– “हो मिस ।”
म– “त्यसो भए, बाफमाथि हात राख्यो भने के हुन्छ ?”
दिनेश– “तातो हुन्छ ।”
अरू सबै– “पानीले भिज्छ, मिस ।”
म– “उम्लेको पानीलाई बिर्कोले छोपेर एकछिन पछि बिर्को निकाल्यो भने के हुन्छ ?”
अनिता– “बिर्कोमा पानीका थोपा टाँसिएको हुन्छ, मिस ।”
म– “कुरा बुझयौ त ?”
सबै– “बुझ्ेनौं मिस ।”
म– “पानी पनि त आकाशबाट यसैगरी पर्छ नि !”
सबै विद्यार्थी अलमल्ल परेका थिए । मैले कुरा बुझउने प्रयास गरें– “पहिले पानी तात्छ, अनि बाफ बन्छ, बाफ उडेर मास्तिर जान्छ । छोपिदियो भने बाफ बिर्कोमा जम्मा हुन्छ अनि चीसो भएपछि पानी हुन्छ ।”
सञ्जु– “पानी पनि आकाशबाट यसैगरी पर्छ त ?”
म– “हो त । पानी पनि आकाशबाट यसैगरी वर्षिन्छ ।... यसो विचार गर त, गर्मीका वेला जमीनको पानी किन सुक्छ ?”
सबै– “गर्मी भएर ।”
म– “हो । गर्मी भएपछि पानी तात्छ अनि बाफ बनेर उड्छ । माथि आकाशमा पुग्छ अनि बादल बन्छ । त्यसपछि वर्षा हुन्छ ।”
रवि– “त्यसो भए गर्मी हुने बित्तिकै बाफ माथि गएर, बादल बनेर किन पानी वर्षिंदैन त ? किन थुप्रै दिन गर्मी भइरहन्छ त ?”
म– “ठीक भन्यौ । यो काम त्यति छिटो हुँदैन । विस्तारै हुन्छ । गर्मीले पानी तात्दै गएपछि विस्तारै बाफ बन्छ । थुप्रै थुप्रै बाफ विस्तारै माथि पुगेपछि बादलको रूप लिन्छ । बादललाई पनि हावाले यता र उता हिंडाइरहन्छन् ।...”
अनन्त– “तर, बादलमा पानी भएपछि त वर्षिहाल्नुपर्ने नि ! किन बादल आए पनि कहिलेकाहीं पानी वर्षिंदैन त ?”
म– “हेर, सबै बादलमा पानी हुँदैन । बादल अनेक किसिमका हुन्छन् । कति बादल त धूलो आदिबाट बनेका हुन्छन् । पानी भएका पनि सजिलै वर्षिंदैनन् । जब थुप्रै बादल एक ठाउँमा भेला हुन्छन्, त्यसवेला पानीका थोपा ठूला हुन थाल्छन् । जब ती थोपा निकै ठूला भएर आकाशमा अडिन नसक्ने गरी गह्रौं हुन्छन् अनि बल्ल वर्षिन थाल्छन् ।”
सबै– “अनि पानी पर्न थाल्छ । होइन त मिस ?”
म– “हो, हो ।”
(बादल बन्ने र त्यसबाट वर्षा हुने कारक अवश्य पनि धेरै र जटिल छन् । मैले चार कक्षाका विद्यार्थीलाई यो प्रक्रिया अत्यन्त सरलीकृत रूपमा सम्झउने प्रयास गरेकी थिएँ । शुरूमा यति बुझ्े भने पछि थप कुरा बुझदै जान्छन् भन्ने मलाई लागेको थियो ।)
म– “अब बुझयौ त, पानी कहाँबाट आउँदो रहेछ ?”
केही बच्चाहरू– “अलि अलि बुझयौं, मिस ।” (अरू बच्चा चूप थिए ।)
म– “किन अलि अलि मात्रै त ?”
विमला– “के भने नि मिस, बादलबाट पानी परेर वर्षा भयो, पानी तल आयो, भुइँमा जम्मा भयो, त्यही पनि बाफ बनेर उड्यो र आकाशमा पुग्यो । अनि बादल बन्यो, फेरि वर्षा भएर तल भुइँमा आयो... भनेपछि पानी तल र माथि घुमिरहन्छ त ?”
म– “हो त, पानी यसैगरी घुमिरहन्छ नि ! यसलाई वर्षाको चक्र भन्छन् । के भन्छन् ?”
सबै– “वर्षाको चक्र, मिस ।”
म– “अब त बुझयौ ?”
सबै– “बुझयौं, मिस ।”
म– “त्यसो भए तिमीहरू यो वर्षाको चक्रको चित्र बनाउन सक्छौ ? जमीनको पानी कसरी बाफ भयो, कसरी माथि गयो, कसरी बादल भयो, कसरी वर्षियो– यो सबै ?”
सबै– “सक्छौं, मिस ।”
म– “ल, बनाएर देखाऊ त !”
त्यसपछि जम्मै विद्यार्थी बडो उल्लास र उत्साहका साथ, चित्र बनाउन थाले– जुन चित्र ह्वाइट बोर्डमा बनाउँछु भनेर शुरुमा मैले सोचेकी थिएँ !

(साभारः शैक्षणिक सन्दर्भ, अंक ५१)
भाषान्तरः शरच्चन्द्र वस्ती

commercial commercial commercial commercial