हामी सरकारका गोठाला !

जसका बाबु–आमाका खुट्टामा चप्पल र आङमा सद्दे कपडा छैनन् । बिहान–बेलुका पनि अड्कलेर खानु छ । त्यो पनि नून र खुर्सानीको धूलोसँग ढिंडो र आँटो । त्यस्तो पारिवारिक पृष्ठभूमिमा जकडिएर रहेका अबोध बालबच्चालाई फकाएर वा जबर्जस्ती विद्यालयमा भर्ना गराउनुपर्ने अवस्थाका हामी शिक्षकले उनीहरूलाई कत्तिको स्तरीय शिक्षा दिउँला ? त्यो कल्पना गर्न पनि अप्ठेरो छ । त्यसमाथि हामी सरकारका गोठाला हौं– कति वेला के गर भन्ने हो ? कहिले कता जा भन्ने हो– डरैडरमा तड्पिएर उनीहरूको सुरक्षा दिइरहेका हुन्छौं ।

हामी आफ्नो जागीरको लागि भए पनि नूनको सोझे ठानेर १० बजे विद्यालयमा उपस्थित भएकै हुन्छौं । एउटै बाबु–आमाका पनि सन्तान थरीथरीका भने जस्तै हाम्रो यस विद्यालयका बाबुनानीहरू पनि बहुरूपी देखिन्छन् । के गर्ने उनीहरूको रेखदेख र शिक्षा–दीक्षा दिनु आफ्नो दैनिकी नै भएपछि मनभित्र जे–जस्ता दर्दनाक पीडा भए पनि हिस्स हाँसेर उनीहरूका अगाडि ठूलो मान्छे बन्नु परेको छ । उनीहरूको मनोभावना बुझनु त कता हो कता उल्टै विद्यार्थीलाई नै थर्काउँछौं– ‘यति सजिलो कुरा पनि बुझदैनस् ?’ ‘मलाई त दिक्कै लागिसक्यो, जति सिकाए पनि जस्ताको तस्तै’, ‘तँलाई गधा’, ‘भाते’, ‘कुकुर’, ‘बाँदर’ जस्ता क्रूर अमानवीय भाव व्यक्त गर्छौं । के असल शिक्षकले गर्ने व्यवहार यस्तै हो त ? होइन, त्यो थाहा हुँदाहुँदै पनि त्यस कार्यथलोमा प्रवेश गर्ने वित्तिकै आकस्मिक रूपमा त्यस्ता कु–शब्दहरू लाइन लागेर आउँदारहेछन् । अब म कसरी बनूँ असल शिक्षक ? कसरी दिऊँ स्तरीय शिक्षा ? भन्न त सजिलै छ– शिक्षकले जाँगर नलगाएर हो, अभिभावक सचेत नभएर हो, शिक्षकमा विषयवस्तुको ज्ञान नभएर हो, शिक्षक शैक्षिक सामग्री दैनिक रूपमा प्रयोग गर्दैनन् । उनीहरूलाई घरको कामले थाकेर आराम गर्ने थलो विद्यालय हो, जे भने पनि भन्नुहोस् ती सबै भन्न सुहाउँदो नै छ ।

तर... सबै शिक्षक उस्तै हुन्छन् र ? आफ्ना–आफ्ना हेराइ र सोचाइमा निर्भर छन् । कोही परिवार पाल्नका लागि हाजिर, कोही समय कटाउनका लागि हाजिर, कोही शासक वा प्रशासक बन्नका लाग हाजिर, कोही नेता बन्नका लागि हाजिर, कोही सेवक बन्नका लागि, कोही शोषित बन्नका लागि, कोही धेरै संस्थाका मालिक बन्नका लागि, कोही शिक्षक रूपी मूर्ति बन्नका लागि, कोही आफन्तका पदपूर्तिका लागि, कोही शिक्षक हुँ भनी लगाउने फुर्तीका लागि विद्यालयमा हाजिर त जसरी भए पनि भएकै त छ नि !

के उसले आफ्नो मन लागे अनुरूप विद्यालयलाई प्रयोग गर्न नपाउने ? यदि पाउने हो भने सबैले समान रूपमा प्रयोग र सुविधा उपभोग गर्न पाउनु प¥यो । होइन पाइँदैन भने यस्ता नकारात्मक सोचाइमा रहेका शिक्षकले स्तरीय शिक्षा कदापि दिन सक्दैनन् । कुन शिक्षक असल छ कुन खराब छ ? कुन शिक्षकले आफ्नो शिक्षण कार्य निरन्तर रूपमा दिएको छ ? कुन शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ ? कस्ता शिक्षकलाई दण्ड र कस्ता शिक्षकलाई पुरस्कृत गर्नुपर्ने हो– सो कुराको सही मूल्यांकन नभएर नै आज दक्ष र योग्य शिक्षक अपमानित हुनु परेको छ ।

फेरि खराब विचार, आचरण भएका शिक्षक पनि जिशिअ, विनि, स्रोतव्यक्ति र विव्यस अध्यक्षलाई तेल–बेसार लगाएको भरमा प्रमोशन हुनु, काज पाउनु, अनेकौं प्रकारका तालिममा भाग लिन र भत्ता खान पाउनु, जहाँ भन्यो त्यहीं आजको भोलि सरुवा भएर जान पाउनु । यस्ता अवसर सबैले विना भेदभाव प्राप्त गर्नुप¥यो । होइन भने कसैलाई काखा र कसैलाई पाखा गर्नु अपराधै ठहरिन्छ । शिक्षा मन्त्रालय, क्षेशिनि, जिशिका, गाउँ शिक्षा समिति जुनसुकै विभागको नाम लिए तापनि कोही कसैले माखो मार्न सक्छ जस्तो लाग्दैन । अर्कातर्फ शिक्षक पनि कोही निजी, कोही राहत शिशु शिक्षक, स्थायी, अस्थायी अनेकौं थरीका किन बनाउनु प¥यो ? यस्ता विभेदयुक्त शिक्षक रहेसम्म नेपाल सरकारले खोजेको स्तरीय शिक्षाको नारा एकादेशको कथा हुनेछ । त्यसको अन्त्य आवश्यक छ ।

राप्रावि, रामराज्यपुर, माडी कल्याणपुर–२ चितवन

commercial commercial commercial commercial