अनिताको ‘उत्कृष्ट शिक्षक’ बन्ने लक्ष्य

नेपालगञ्ज कारकादोकी अनिता पुन (२३) ले शिक्षक सेवा आयोगको जाँचमा बाँके जिल्लाको प्राविमा खुल्लातर्फबाट एकनम्बरमा नाम निकालेकी छिन् । प्रावि तहका ८६ पदका लागि ३ हजार २०४ जना प्रतिस्पर्धी थिए ।

रुकुमको खलङ्गास्थित बाल कल्याण माविबाट एसएलसी गरेकी अनिता हाल नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा एमएड गर्दैछिन् । खुल्ला, महिला र जनजाति तीनवटै समूहको लिखित परीक्षामा उनको नाम एकनम्बरमा निस्किएको थियो । उनले घर नजिकैको विद्यालय रोजेकी छन् । विषयवस्तुको ज्ञान, मिहिनेत र आत्मविश्वासका कारण आफू सफल भएको अनिताको अनुभव छ । आमा पनि शिक्षक भएका कारण आफू पनि शिक्षण पेशामा आउन चाहेको अनिताको कथन छ । उनी परीक्षामा समय व्यवस्थापनको ठूलो महत्व हुने बताउँछिन् । उनले कति नम्बरको प्रश्नको उत्तर लेख्नका लागि कति समय दिनुपर्छ भन्ने हिसाब गरेर समयको व्यवस्थापन गरेकी थिइन् ।

अनिताले राम्रो पढाउने शिक्षक छात्रछात्रा र समाजकै प्रेरणा र आदर्श बन्न सक्छन् भन्ने बुझेकी छन् । अभिभावक, सहकर्मी शिक्षक र स्कूलले समन्वय र सहयोग  गरेमा राम्रो पढाउनमा कुनै कठिनाइ हुँदैन भन्ने उनको धारणा छ ।


“सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजीलाई कठिन विषय ठान्छन् । तर, अंग्रेजी गाह्रो विषय भने होइन । हरेक दिन सुत्ने बेला १० देखि २० वटा नयाँ अंग्रेजी शब्दको अर्थ याद गरे अंग्रेजी सिक्न सजिलो हुन्छ ।”

अब शिक्षक अफसाना
प्रायः घर बाहिर ननिक्लिने भनिएका मुस्लिम समुदायका शिक्षित महिला तथा युवतीहरूले पनि यसपालि स्थायी शिक्षक हुने अवसर पाएका छन् । नेपालगञ्जकी अफसाना अन्सारी (३३) ले निमाविको अंग्रेजी शिक्षकमा महिला कोटामा एक नम्बरमा नाम निकालेकी छिन् । एक सीटका लागि भएको छनोट परीक्षामा सयौं महिलालाई पछि पारेर उनले सफलता पाएकी हुन् ।

अफसाना आफ्नो बुबा पनि माविको अंग्रेजी शिक्षक भएको बताउँछिन् । “मैले पनि अंग्रेजी विषय नै पढें र अंग्रेजीकै स्थायी शिक्षक हुने अवसर पाएँ” अफसानाले भनिन् । उनको पदस्थापन महेन्द्र उमाविमा हुने भएको छ ।

नेपालगञ्जको महेन्द्र माविबाट एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेकी अफसानाले एमएडसम्मको पढाइ पनि नेपालगन्जमै गरेकी हुन् । पढाइसँगै शिक्षण पेशा अपनाउँदै आएकी अफसानासँग नेपालगञ्जको महेन्द्र उमाविमा निजी स्रोतमा ५ वर्ष र अस्थायी शिक्षकको रूपमा ६ वर्ष काम गरेको अनुभव छ । “सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी अंग्रेजीलाई कठिन विषय ठान्छन् । तर, अंग्रेजी गाह्रो विषय भने होइन । हरेक दिन सुत्ने बेला १० देखि २० वटा नयाँ अंग्रेजी शब्दको अर्थ याद गरे अंग्रेजी सिक्न सजिलो हुन्छ” भन्दै अफसाना थप्छिन्, “स्थायी भएकी छु, अब कोही पनि छात्रछात्रा अंग्रेजीमा असफल नहुने गरी पढाउँछु ।”  

नेपालगञ्ज

commercial commercial commercial commercial