शिक्षाको धावनमार्ग कता गयो ?

दार्चुला जिल्लाको हुनैनाथ गाविस यस क्षेत्रको सबैभन्दा सानो गाविस हो । अन्य गाविसको तुलनामा यसको भू–भाग र जनसंख्या दुवै थोरै छ । तर गरीबी र अशिक्षा भने धेरै छ । वि.सं. २०३८÷३९ तिर शंकरपुर गाविसबाट छुट्टिएको यस गाविसमा २०४७ सालसम्म श्री खान प्रावि, ऐरिछाना, श्री हुनैनाथ प्रावि, चन्दनपुर, श्री हुनैनाथ प्रावि, बेलुकोट, श्री रानीशिखर प्रावि, गोठ्यूडी तथा श्री वालीचन प्रावि, चडेखान समेत पाँच प्रावि मात्रै थिए । यहाँका बालबालिकाले निमावि र मावि कक्षाको पढाइको लागि तीन÷चार घन्टा हिंड्नुपर्ने बाध्यता थियो । उक्त कठिनाइको सामना गर्न नसक्ने बालबालिका ती टाढाका विद्यालयमा भर्ना हुन नै जाँदैनथे भने भर्ना भएका विद्यार्थी पनि धेरै दिन विद्यालयमा टिक्दैनथे । फलस्वरुप करीब १० प्रतिशत बालबालिका मात्र निमावि तहसम्म पढ्थे भने मावि कक्षासम्म पढ्ने विद्यार्थी दुई प्रतिशत जति थिए ।

२०६० को दशकमा राजनीतिक दल, बुद्धिजीवी, शिक्षा प्रेमी, शिक्षक, विद्यार्थी, अभिभावक आदिको संयुक्त प्रयासबाट यस गाविसमा शिक्षामा लगानी गर्ने प्रतिबद्धताको प्रस्ताव पारित गरियो । फलस्वरुप २०७१ सालको शैक्षिक सत्रमा आइपुग्दा प्रस्तावित मावि र निमाविको संख्या बढिरहेको छ । हाल श्री खान मावि, ऐरिछाना र श्री हुनैनाथ मावि, चन्दनपुर (यी दुवै विद्यालयका निमावि तह र मावि तह निजी स्रोतमा) संचालित छन् भने श्री वालीचन निमावि, चडेखान र श्री हुनैनाथ निमावि, बेलुकोट (यी दुवै विद्यालयका निमावि तह निजी स्रोतमा) संचालित छन्, यस्तै श्री रानीशिखर प्रावि गोठ्यूडी सरकारी स्रोतमा र श्री दीपज्योति प्रावि देवधुरा निजी स्रोतमा संचालित छ ।

यस गाविसभित्र तीन महीनादेखि ६ महीनासम्म मात्रै खान पुग्ने परिवार संख्या अधिक छ । भाँडाकुँडा तथा गाईबाख्रा बेचेर भए पनि समुदायका मानिसहरूले जेनतेन एक पटकको सहयोग रकम त विद्यालयलाई दिए, त्यसपछिका दिनहरूमा भने विद्यालयलाई त्यस्तो सहयोग दिने हिम्मत गरेनन् । अब उक्त व्ययभार कहाँ गई बिसाउने ? दुई चार वर्ष गाविसले निजी स्रोतका १८ जना शिक्षकको व्ययभार वहन गरेको थियो । जसमा प्राविस्तरका शिक्षकहरूलाई रु.१५०० देखि रु.२५०० का दरले पारिश्रमिक दिइँदै थियो भने अबका वर्षहरूमा उक्त रकम गाविसबाट पाउन गाह्रो भइरहेको छ । अबका दिनमा निजी स्रोतमा नियुक्त भएका शिक्षकहरूको उक्त न्यून पारिश्रमिक पनि उधारो भइरहेको छ ।

यस सन्दर्भमा म चाहिं आफ्नै विद्यालयको वेदना प्रस्तुत गर्ने अनुमति चाहन्छु । २०४७ सालमा कक्षा १ संचालन गर्ने अनुमति पाएदेखि वर्षैपिच्छे अपग्रेडिङ हुँदै कक्षा २, ३, ४ र ५ सम्म संचालित यो विद्यालय २०६५ सम्म यथावत् रह्यो भने २०६६ सालमा अपग्रेटिङको अनुमति पाई कक्षा ६ र वर्षैपिच्छे ७ र ८ गरी २०६८ सालमा कक्षा १ देखि ८ सम्म संचालित विद्यालयको रूपमा स्थापित भयो । २०७१ सालसम्म यस विद्यालयबाट कक्षा ८ उत्तीर्ण हुने विद्यार्थीको तीन समूह गइसक्यो । विकट भौगोलिक वातावरणले हरेक वर्ष यस विद्यालयमा निमावि कक्षामा अध्ययन गर्ने विद्यार्थी संख्या ४० देखि ४५ जनासम्म रहेको छ । २०६६ सालमा कक्षा ६ को अनुमति पाएदेखि २०७१ सम्म आइपुग्दा नेपाल सरकारबाट कुनै किसिमको शिक्षक दरबन्दी सिर्जना गरिएको छैन । खेतबारीमा उचित मल, पानी, औषधि तथा गोडमेल केही नगर्ने किसानहरूले राम्रो फसल भिœयाउने सुनौलो सपना देखे झ्ैं भएन र यो ? तैपनि भोकै पेट भए पनि पेटमुनि पटुकी बाँधेर हाम्रा शिक्षकहरू पढाइरहेका छन् ।

मेरै विद्यालयमा पनि स्थायी, अस्थायी, राहत, करार, निजी स्रोत, सहयोगी कार्यकर्ता जस्ता अनेकथरी शिक्षक छन् । एकथरी खान नपाउने, अर्का भोकै, एकथरी पोशाक पाउने, अर्का नपाउने । विद्यालय खोल्ने अनुमति दिने तर शिक्षक दरबन्दी नदिने, विद्यालयमा पढाउने व्यवस्था नमिलाउने, नतीजा राम्रो खोज्ने । एकथरी शिक्षकलाई मात्र तालीम दिने, अन्यलाई आकाशको फल आँखा तरी मर गर्ने । जहाँ शिक्षक दरबन्दी खाली छ– १७ वर्षसम्म खाली छ । जहाँ सुविधा छ, त्यहाँ काजमा ७ वर्षसम्म ५÷५ जना शिक्षक छन् । राजनीतिक आस्थाको आधारमा सरुवा, बढुवा तथा काखा–पाखा गर्ने, झेले विद्यालय र खेताला शिक्षक यही ठूलाबडाको आडमा जन्मिए तापनि कुनै कार्वाही नहुने । राम्रो नखोज्ने, हाम्रो खोज्ने; यस देशको शिक्षाको वास्तविक धरातल कता गएको छ ? शिक्षाको धावन मार्ग कता गयो ?

प्रअ, श्री वालीचन निमावि, चडेखान पासादेउ, हुनैनाथ–७, दार्चुला

commercial commercial commercial commercial