बालबालिकालाई कस्ता किताब, किन ?

कोरियाली मूलकी अमेरिकी लेखक लिन्डा सु पार्क  किशोरकिशोरीका लागि किताब लेख्छिन् । बालसाहित्य सम्बन्धी आफ्नो एउटा वक्तव्यमा उनले प्रश्न गरेकी छिन्, “के बालसाहित्यले संसारमा परिवर्त न ल्याउँछ  ?”

सभ्यताको प्रारम्भदेखि नै लिखित वा अलिखित साहित्य मानव चेतना र सभ्यताको संवाहक भएको छ । किताब त्यही साहित्यको लिखितरूप हो । कागजको आविष्कार र छापाखानाको विकास भएपछि किताबको प्रसार द्रुतगतिमा भयो र कालान्तरमा किताबको पढाइ सिकाइको अभिन्न, सम्भवतः सबभन्दा प्रभावकारी अङ्ग हुनपुग्यो । हामी सबै किताबका बारेमा राम्रा कुरा सोच्छौं । किताबलाई ज्ञानको वाहक र साधन ठान्छौं । किताब पढ्नुपर्छ भन्छौं । पढ्छौं पनि । किताबलाई गोडाले छोयो भने टिपेर ढोग्छौं पनि । तर हामी वर्षमा कति किताब पढ्छौं ? आफू र आफ्ना बालबालिकाका लागि कति पैसाका किताब किन्छौं ? ती किताब कहाँ किन्छौं ? हाम्रा नजिकका शहरबजारमा किताब पसल कति छन् ? फेशन चलेका लुगा रोजीछाडी किन्न पाइने ठाउँमा किताब पसल किन नभएका वा ज्यादै कम भएका ? हामीले नै किताब नखोजेर नकिनेर पो हो कि ? हामी किताब किन्नकै लागि भनेर वर्षमा कति पटक किताब पसलमा पुग्छौं ? चाहिएका किताब कसरी छान्छौं ? हामीले बालबालिकाका लागि वर्षभरिमा किनिदिने मिठाई, खेलौना र झिल्केमिल्के कपडा र किताबको मूल्यमा कति अन्तर होला ? के हामीले आफ्ना बालबालिकालाई किताबको रहर गर्न, किताबको जतन गर्न र आफूसित भएका किताबका बारेमा गर्व गर्न सिकाएका छौं ?

यी बग्रेल्ती प्रश्नको जवाफ कसैले कसैलाई दिनुपर्दैन, तर हामी सिकाउने पेशामा भए पनि वा सिक्न पठाउने भए पनि (वा दुवै भए पनि ) यी प्रश्नबाट नभागौं । यी प्रश्नको आलोकमा सोचौं, के हामीले किताबलाई यथोचित प्राथमिकता दिएका छौं ?

हामीले किताबलाई पाउनुपर्ने जति प्राथमिकता दिएका छौं भने राम्रो कुरा हो, छैनौं भने अब हामीले अलिकति गम्भीर हुनैपर्छ, किनभने यो युग ज्ञान र सूचनाको युग हो र नपढिकन अघि बढ्न सकिने ठाउँ दिन प्रतिदिन साँघुरिंदै गइरहेका छन् । सानो स्वरमा ‘अब इलेक्ट्रोनिक उपकरणहरूको युग आयो, किताबहरूको जमाना गयो’ भन्ने मान्छे पनि नभएका होइनन् । तर त्यो कुरा सही होइन । किताबको रूप फेरिएला, ढाँचा फेरिएला, लेखन–प्रकाशनको प्रविधि र माध्यम फेरिएला, तर अक्षरमा लेखिएका शब्द, अर्थात् लिखित र प्रकाशित सामग्री र मानव सभ्यताका बीचको सम्बन्ध आउने सयौं वर्षसम्म फेरिंदैन । हामी आफू, आफ्ना सन्तान र आफ्ना विद्यार्थीलाई युगानुकूल बनाउन चाहन्छौं भने किताबहरूसितको सम्बन्धलाई बलियो बनाउनै पर्छ र त्यसको थालनी उनीहरूले अक्षर नचिन्दैदेखि गर्नुपर्छ ।

राम्रो कुरा हो, बालसाहित्यको लेखन बढेको छ । तालीमहरू पनि उपलब्ध छन् । इन्टरनेटले हामीलाई सूचना, ज्ञान र तालीमको समेत सुविधा दिएको छ । डिजाइन, चित्राङ्कन, मुद्रण, प्रकाशन– सबै क्षेत्रमा युगान्तकारी अन्तरहरू आएका छन् । तर पनि लाग्छ, बालसाहित्य लेख्दा, त्यसका बारेमा सोच्दा, कुरा गर्दा, किताब किन्दा– सबै प्रसंगमा हामीले एउटा सानो, तर ज्यादै महत्वपूर्ण कुरा छुटाइरहेका छौं, त्यो हो; आफ्नो बालापनको सम्झना !

संक्षेपमा भन्दा, हामीलाई केटाकेटी छँदा जेजस्ता कुरा मन पर्थे, हाम्रा बालबालिकालाई पनि त्यस्तै कुरा मन पर्छन्; हामी जेमा रमाउँथ्यौं, उनीहरू पनि त्यस्तै कुरा मा रमाउँछन् र हामी जे पढ्न–हेर्न मन गथ्र्यौं, हाम्रा बालबालिका पनि त्यस्तैत्यस्तै कुरा पढ्न हेर्न–मन पराउँछन् । यसो भन्दा कसैलाई लाग्न पनि सक्छ, पुरानो समय र अहिलेको समयको कसरी तुलना हुन सक्छ ? हामी हुर्केको परिवेश र अहिलेको परिवेशमा आकाश जमीनको अन्तर छ । हामी किताब पनि सितिमिति पढ्न नपाउने युगका र अहिले बामे सर्न थाल्नुअघि मोबाइल खेलाउन जान्ने अहिलेका बालबालिकाका अभिरुचि कसरी उस्तै हुन सक्छन् र ?

हो, आवरणमा धेरै कुरा फेरिएका छन्, तर आधारभूत मानवीय संवेदना, भावना र मूल्यहरू फेरिएका छैनन् । पूर्वीय साहित्यशास्त्रमा वर्णन गरिएका नवरस (शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त) उनै हुन् तिनले मान्छेका मनमा पैदा गर्ने भाव उनै हुन् । छट्टु स्यालको कथा शहरमा हुर्केका र कहिल्यै स्याल नै नदेखेका बालबालिकालाई पनि उति नै मनपर्छ, जति कहिल्यै जहाज र समुद्र नदेखेका बालबालिकालाई गुलिभरको वा रबिन्सन क्रुसोको कथा मनपर्छ । संसारका सबै बालबालिकालाई आफूले बुझने गरी सरलतापूर्वक भनिएका, पहिले नसुनेका/नपढेका, नौला कुरा मन पर्छन् । प्रस्तुतिकरण राम्रो छ भने उनीहरू सामग्रीकै माध्यमबाट नयाँ भाषा पनि सजिलै सिक्न सक्छन् ।

बालबालिकालाई हँसाउने र रमाइला कुरा मात्र होइन, ठूलालाई जस्तै संवेदनशील र रुवाउने कथा पनि मन पर्छन् । यो कुरा लेख्दा म निकै सानैमा सुनेको र पछि रुँदै पढेको ‘शिशिर वसन्तको कथा’ (बोधविक्रम अधिकारी द्वारा सङ्कलित ‘नेपाली दन्त्यकथा’ को एउटा कथा) वा माधव घिमिरेको गौरी वा मुनामदन सम्झ्रिहेको छु ।

मुनामदनमा बिरामी मदनलाई लिन भोटे राँको बालेर गएको ठाउँका बारेमा मेरो बालमस्तिष्कले कल्पना गरेको ठाउँ मनमा अझैसम्म जीवित छ । ‘नेपाली दन्त्यकथा’ का राज कुमार दिक्पालले आफूलाई बलि दिन तयार परेको साधुलाई काटेको मन्दिर मेरा मनमा झलझली छ र कथाका सत्तलसिंह राजा पुगेको सुनसान नगरका उसबेला कल्पनामा आएका रित्ता घरहरू पनि अहिलेसम्म पनि उस्तै छन् ।

त्यस्ता सानै छँदा कल्पना गरिएका कुरा तपाईं हामी सबैका मनमा छन् । अर्थात्, बालबालिकालाई रोचक कुरा भए पुग्छ, रराम्रोसित भनिएको वा लेखिएका सामग्री भए हुन्छ । सानामा सुने–पढेका ‘बालसाहित्य’ नभनिएका कुरा पनि हामीलाई अहिलेसम्म मन परे जस्तै हो आजका बालबालिकालाई पनि । उनीहरू ‘बालसाहित्य’ का नाममा आउने जे–पायो–त्यही होइन, मनपर्दा कथा र चाखलाग्दा सामग्री मात्र मन पराउँछन् ।


मुख्य कुरा हो बालबालिकाले पढ्न पाउनु, पढाइका बारेमा चर्चा–परिचर्चा हुनु, अर्काले पढेका कुराका बारेमा सुन्न पाउनु र आफूले पढेका कुरा सुनाउन पाउनु । जति सानो उमेरदेखि पढ्न थाल्छन्, उनीहरूले त्यति नै धेरै र राम्रोसित किताब पढ्न सक्छन् । 

बालबालिकाका मनमा पनि ठूलाका मनमा जस्तै (सम्भवतः अझ् कोमल र संवेदनशील) नवरसका तारहरू हुन्छन् र तिनलाई तरङ्गित पार्ने सामग्री, खास गरी कथा, कविता (वा चित्रकथा वा फिल्म) नै उनीहरूलाई मन पर्छन् । सिद्धान्तकारहरू बालसाहित्यमा हिंसा वा मृत्यु हुनुहुँदैन भन्छन्, तर बालककालदेखि पुराण र दन्त्यकथा जस्ता ‘वयस्क साहित्य’ सुनेर हुर्किएका हामीजस्ता व्यक्तिहरूका लागि ती सिद्धान्तका कुरा गौण र चाखलाग्दा कुरा महत्वपूर्ण हुन्छन् । कृष्णले जन्मनासाथ पूतनालाई दूध चुसेर मारिदिएको कथा नसुन्ने कमै होलान् । कृष्ण मात्र होइन, प्रायः सबै हिन्दू देवी–देवताले मन नपरेका र आफ्नो विरोध गर्ने, आफूलाई वा आफूले मन पराएका व्यक्तिलाई अप्ठ्यारो पार्नेहरूलाई पटापट मारेका कथा हामी सबैजसोले सुनेका छौं ।

सिद्धान्ततः ती बालबालिकाका लागि उपयुक्त पढ्ने वा सुन्ने सामग्री होइनन् । तर अहिले निकैगोडेर विचार गर्दा पनि त्यस्तो ‘हिंसापूर्ण साहित्य’ ले आफूमा कुनै नकारात्मकता भरेको म पाउँदिनँ । धेरैलाई मलाई जस्तै लाग्दो हो । अनि म बालसाहित्यको परिभाषामा नै अल्मलिन पुग्छु । “सानामा धेरै पुराणहरू सुनेकाले ममा हिंस्रक भावनाको विकास भयो” भन्ने खालका बयान मैले अहिलेसम्म कतै पनि पढ्नु परेको छैन । मुख्य कुरा हो बालबालिकाले पढ्न पाउनु, पढ्नेहरूको संगत पाउनु, पढाइका बारेमा चर्चा– परिचर्चा हुनु, अर्काले पढेका कुरा का बारेमा सुन्न पाउनु र आफूले पढेका कुरा सुनाउन पाउनु । जति सानो उमेर देखि पढ्न थाल्छन्, उनीहरूले त्यति नै धेरै र राम्रोसित किताब पढ्न सक्छन् ।

पढाइले उनीहरूको संवेदनालाई कोमल र जागृत गराउँछ, क्रमिकरूपले, थाहै नपाई, सजिलोसित जीवन र जगतका बारेमा धेरै कुरा सिकाउँछ । पढाइले उनीहरूको ज्ञानको परिधिलाई फराकिलो बनाइदिन्छ र भाषिक क्षमताको विकास गर्छ । रराम्रो, उनीहरूले रोचक, आफ्नै लागि लेखिएका चिल्ला कागजमा छापिएका र चित्रात्मक सामग्री पढ्न पाऊन् । त्यो नपाए आफ्ना लागि भनेर नलेखिएका भए पनि साहित्यिक सामग्री भए पनि पढ्न पाऊन् ।

प्रसिद्ध व्यक्तिहरूको जीवनी हेर्दा देखिन्छ, ठूलो काम गर्ने अधिकांश मानिसहरूले सानैदेखि पढ्न पाएका छन् । उनीहरूको व्यक्तिगत र सामाजिक जीवन पनि सफल छ । यो कुरा लाई गलत सावित गर्नका लागि केही उदाहरण दिन सकिएला, तर अधिकांश उदाहरणले यो भनाइलाई पुष्टि नै गर्छन् । बालबालिकालाई सफलताको बाटोमा हिंडाउनु छ भने किताबसित हिंडाउनुपर्छ । यस लेखको प्रारम्भमा प्रसंग आएकी लेखक लिन्डा सु पार्क को प्रश्नमा फर्कौं “के बालसाहित्यले संसारमा कुनै परिवर्तन ल्याउँछ ?” जवाफ उनैले दिएकी छिन्, “बालसाहित्यका किताबले संसारमा परिवर्तन ल्याउँदैनन् । तर ती किताबका पाठकले चाहिं संसारमा परिवर्तन ल्याउँछन् ।”

शिक्षक  मासिक, २०७५ वैशाख अंकमा प्रकाशित । 


commercial commercial commercial commercial