धेरै पढाइ कि सार्थक सिकाइ ?

हाम्रा शिक्षकहरू पनि सबै अयोग्य छैनन् । विद्यार्थीको भविष्यको चिन्ताले कम पिरोलेको हो, पेसागत प्रतिबद्धता अलिकति नपुगेकै हो । बरु कम पढाऔँ तर सार्थक र दीगो ज्ञान हुने गरी पढाऔँ ।

डा. तुलसीप्रसाद थपलियाको लेख ‘हाम्रा निजी स्कूल र जीवन्त सिकाइ’ (शिक्षक मङ्सिर, २०७१) ले शुरू गरेको घोकाइ र सिकाइ सम्बन्धी बहस अगि बढाउन म आफ्ना केही विचार अगि सार्दै छु ।

गएको वर्षायाममा बेलायतमा बसोबास भएका मेरो नजिकको एक परिवारका सबै सदस्य नेपाल आएका थिए । परिवारमा उहीँको स्कूलमा कक्षा दुईमा पढ्ने करीब सात वर्षकी बालिका जोसिका बेलबासे पनि थिइन् । मैले जोसिकालाई ससाना प्रश्नहरू सोधेर उनको ज्ञान जाँच्न थालेँ । उनी जानेका कुरा निकै आत्मविश्वासका साथ बताउँथिन्, नजानेका कुरामा ‘सरी’ भन्थिन् । एक दिन कुरैकुरामा उनले मलाई भनिन्— “ठूलो ड्याडी, You know Switzerland is a landlocked country. मैले सोधेँ, Landlocked country भनेको के हो ?” उनले मैले जत्तिकै राम्रो परिभाषा दिँदै भनिन्, “like Nepal”. मलाई स्विट्जरल्यान्ड भूपरिवेष्ठित मुलुकु भनेको सही हो÷होइनभन्दा पनि landlocked country को उदाहरणसहित दिइएको परिभाषाले अवाक् बनायो । खाना खाने बेलामा सागसब्जीका फाइदा, तिनमा पाइने तŒवका बारेमा कुरा गर्थिन् । एक दिन उनले आफ्नो विद्यालयको वेबसाइट खोलेर ‘किचन गार्डन’ को फोटो देखाइन् । त्यो देखाएर उनले मलाई ‘सिड’ कसरी ‘जर्मिनेट’ हुन्छ भन्दै पढाइन् ।

हामी नेपालमा बढी मात्रामा विषयवस्तु पढाउन रुचाउँछौँ, गुणात्मक सिकाइमा ध्यान दिँदैनौँ । दुई कक्षाको विद्यार्थीलाई १७–१८ का गुणन कण्ठस्थ गराउँछौँ तर गुणनको अर्थ स्पष्ट पार्न सक्तैनौँ । पाहुनाका सामु बच्चाले १७ को पहाडा खरर भनेर सुनायो भने मक्ख पर्छौं तर १७ लाई चारपल्ट जोड्यो भने कति हुन्छ ? भनेर सोध्दा उत्तर आउँदैन । बोटबिरुवालाई पानी किन चाहिन्छ ? भनेर सोधे विद्यार्थीले परीक्षामा उत्तर लेख्छन् तर आफ्नै आँगनको गमलामा पानी नपाएर सुकेको पूmलप्रति उसको ध्यान जाँदैन । हामीले उसलाई डो¥याएर त्यहाँसम्म पु¥याउन सकेनौँ । एउटा सानो बालकले टुक्रा पारिएको रोटीमध्ये ठूलो टुक्रा र सानो टुक्राको पहिचान गर्न सक्छ र ठूलो टुक्रा आपूmले नपाए झ्गडा गर्छ । तर हामी आधा र एक चौथाइमध्ये कुन भिन्न ठूलो हुन्छ भनेर सिकाउन सङ्घर्षरत छौँ । हामीले धेरै पढाए राम्रो हुन्छ भन्ने बुझयौँ तर सार्थक सिकाइ भरपर्दो हुन्छ भन्ने बिर्सियौँ । त्रुटि समग्रमा यहीँनेर छ ।

पाँच कक्षाका विद्यार्थीले सिक्नुपर्ने कुरा तीन वा चार कक्षाको उमेर समूहका केटाकेटीलाई बलपूर्वक पढाउँदैमा ठूलो भइँदैन, त्यस्तो शिक्षा गुणस्तरीय शिक्षाको दर्जामा पनि पर्दैन । हामी सिकाइ उपलब्धिको सही मापन नै गर्दैनौँ । प्राथमिक तहको पाठ्यक्रमलाई शिक्षकले पुनर्संरचना गरेर आफ्नै पाठ्यक्रम, पाठयोजना, शिक्षण क्रियाकलापहरू तयार गर्नुपर्छ । ती योजना र क्रियाकलापहरू कक्षामा लगी प्रयोग गरेर जाँच्नुपर्छ । विद्यार्थीको तह र सिक्ने क्षमताको पहिचान गरेर मात्रै शिक्षण अगाडि बढ्नुपर्छ । सिद्धान्ततः हामी सबै यो कुरा जान्दछौँ तर गर्दैनौँ । शिक्षकले चाहे जे पनि सम्भव छ, अपवादलाई छोडेर ।

बेलायतका चौबिस हजारभन्दा बढी विद्यालयमध्ये करिब ९३ प्रतिशत सरकारी विद्यालय छन्, जसमा शुल्क तिर्नु पर्दैन र ती अब्बल पनि छन् । त्यहाँ कार्यरत सबै शिक्षक शिक्षणमा निपुण हुन्छन्, विद्यार्थीको सीप र रुचिको पहिचान गर्न सिपालु हुन्छन् ।

विद्यार्थीको भविष्यप्रति इमानदार, पेसाप्रति निष्ठावान् एवम् प्रतिबद्ध र परिश्रमी हुन्छन् । हाम्रा शिक्षकहरू पनि सबै अयोग्य छैनन् । विद्यार्थीको भविष्यको चिन्ताले कम पिरोलेको हो, पेसागत प्रतिबद्धता अलिकति नपुगेकै हो । त्यस्तै विद्यालयमा आवश्यक पर्ने पूर्वाधारको कमी र उचित शैक्षिक वातावरणको अभावले पनि उनीहरूको इच्छाशक्ति खुम्च्याइदिएको हो ।

सकिन्छ भने प्रशस्त पढाऔँ, सकिन्न भने बरु कम पढाऔँ तर सार्थक र दिगो ज्ञान हुने गरी पढाऔँ । विद्यार्थीको सिकाइ उपलब्धिको सही मापन बेगर स्तरोन्नति गर्न हामी बढी उदार भएका छौँ । जानोस् कि नजानोस्, कक्षोन्नति भएकै छ । अनि माथि पुगेर समस्यै समस्या । प्राथमिक शिक्षा नै जग हो, हामी जगमै खलबलिएका छौँ । अपाच्य हुने गरी धेरै कोच्याउनुभन्दा स्वस्थकर शिक्षा र सार्थक सिकाइ नै उपलब्धिमूलक होला ।

(लेखक ललितपुरस्थित लिटिल एन्जल्स स्कूलका प्रिन्सिपल हुन् ।)

commercial commercial commercial commercial