विद्यार्थीको न्यून उपस्थिति जो आउँदैन उही दोषी !

विद्यार्थीलाई कक्षा चढाउन एक शैक्षिक सत्रमा कम्तीमा ७० प्रतिशत उपस्थिति आवश्यक मानिन्छ । तर धनुषाका केही आधारभूत विद्यालयमा आधाभन्दा बढी विद्यार्थीको उपस्थिति तोकिए भन्दा निकै कम पाइएको छ । १२ महीनाको हाजिरी रेकर्ड हेर्दा दश महीनासम्म यस्तो अवस्था देखिन्छ । सबैला नगरपालिकाको किरतपुरमा रहेको आधारभूत विद्यालयमा कक्षा ५ को विद्यार्थी संख्या ४२ छ । वैशाख र जेठपछि बाँकी दश महीनासम्म आधाभन्दा बढी विद्यार्थीको उपस्थिति ७० प्रतिशतभन्दा कम छ । साउन देखि फागुन अर्थात् ८ महीनासम्म आधाभन्दा बढी विद्यार्थीको उपस्थिति ५० प्रतिशत पनि नपुगेको स्थिति छ । जनकपुर उपमहानगरपालिकाको लोहनास्थित फुद्दिलाल राष्ट्रिय प्राविमा १९ चैतमा पुग्दा ७५ जना मात्र विद्यार्थी थिए । विद्यालयका प्रअ दिलीप कुमार यादवका अनुसार ईसीडी देखि कक्षा ५ सम्म नाम दर्ता गरिएका विद्यार्थीको संख्या २१९ छ । कक्षा ५ मा विद्यार्थी संख्या १८ छ । यो कक्षाका विद्यार्थीको वर्षभरिको उपस्थिति हेर्ने हो भने कहालीलाग्दो छ । जेठ देखि चैतसम्म अधिकांश विद्यार्थीको ७० प्रतिशत हाजिरी पुग्दैन । जेठमा ५, असार र कात्तिकमा ४, माघ र फागुनमा ३, असोज र पुसमा २, तथा मंसीर र चैतमा १ जना विद्यार्थीको मात्र हाजिरी ७० प्रतिशत वा सोभन्दा माथि छ । साउन देखि चैतसम्म आधाभन्दा बढीको उपस्थिति ५० प्रतिशतभन्दा थोरै छ । यस्तै धनुषाधाम नगरपालिकाको लक्ष्मीपुर स्थित आधारभूत विद्यालयमा कक्षा ६ मा विद्यार्थी संख्या ४० छ । भर्ना भएको महीना वैशाख र जेठसम्म राम्रै उपस्थिति भए पनि त्यसपछि का महीनामा भने पचास प्रतिशतभन्दा बढीको उपस्थिति घटेको छ । फागुनमा भने ३१ जना विद्यार्थीको हाजिरी ७० प्रतिशत पुगेको छ । यो विद्यालयमा २० चैत पुग्दा केही कक्षाका हाजिरी पुस्तिकामा १५ गतेसम्मको मात्र हाजिरी चढाइएको थियो । छुटेका दिनको हाजिरी कसरी लिने त ? प्रश्न सोध्नेबित्तिकै एक शिक्षक केही नबोली अफिसको कोठाबाट फुत्त बाहिर निस्किए । यसले हाजिरीको विश्वसनीयतामा पनि शंका गर्ने ठाउँ राख्छ । धनुषाधाम नगरपालिकाकैगोइयाहीस्थित जनता प्राथमिक विद्यालयमा २० चैतमा पुग्दा ५० जना विद्यार्थी उपस्थित थिए ।

त्यहाँ जम्मा विद्यार्थी संख्या चाहिं १०५ रहेको छ । कक्षा ४ को विद्यार्थी संख्या १६ छ । यीमध्ये आधा विद्यार्थीको मात्र ६ महीनासम्म उपस्थिति ७० प्रतिशत पुग्छ । यी सबै विद्यालयहरूमा शतप्रतिशत उपस्थित हुने विद्यार्थीको संख्या ज्यादै न्यून छ । यस्ता विद्यार्थी एकाध महीनामा दुई जनासम्म छन् ।

सिकाइ बर्बाद यी विद्यालयका विद्यार्थीको सिकाइस्तर त झनै निराशाजनक पाइन्छ । आधारभूत विद्यालय, सबैला नगरपालिकाको कक्षा ५ का २८ जना विद्यार्थीमध्ये कसैले पनि नेपालीमा आफ्नो विद्यालयको नाम शुद्ध लेख्न सकेनन् । आधारभूत विद्यालय लक्ष्मीपुरका कक्षा ४ मा उपस्थित १४ जना विद्यार्थीमध्ये दुई जनाले मात्र नेपाली र अंग्रेजीमा आफ्नो नाम लेख्न सके । ‘नियमित विद्यालय आउँदैनन्, त्यसैले विद्यार्थीको सिकाइस्तर कमजोर भएको हो’, सबै विद्यालयका शिक्षकहरूको जवाफ एउटै पाइन्छ । तर नियमित विद्यालय आउने र नआउनेको स्तर मा खासै फरक पाइँदैन । भौतिक अवस्था रराम्रो हुने र नहुने अनि शिक्षक अभाव भएका र नभएका विद्यालयको सिकाइ पनि लगभग उस्तै छ । आश्चर्यचाहिं के लाग्छ भने शिक्षक अपुग भएर सिकाइस्तर कमजोर भएको हो भनेर चाहिं कुनै शिक्षक भन्दैनन् । सबैले विद्यार्थीको न्यून उपस्थितिलाई नै मुख्य कमजोरी देखाउने गरेका छन् ।

सबभन्दा खट्किने कुरा , कक्षाकोठामा सिकाइका लागि विद्यार्थी उत्साहित हुने वातावरण नै देखि ंदैन । कतै शिक्षक कुर्सीमा बसिरहेको र विद्यार्थी आफैं पढिरहेका देखिन्छन् । कतै किताब पढेर विद्यार्थीलाई सुनाइरहेको देखिन्छ । वार्षिक परीक्षा आएकोले यस्तो हो कि सधैं यस्तै हो भन्दा एक छात्रा भन्छिन्, “धेरैजसो शिक्षक आफैं पढ भन्नुहुन्छ ।” कस्तोसम्म स्थिति पाइयो भने आधारभूत विद्यालय, किरतपुरमा एक अभिभावक कक्षा ८ को परीक्षा दिने नातिनीका लागि कुनगाइड रराम्रो हुन्छ भनेर शिक्षकहरूलाई सोध्दै थिए । फुद्दिलाल प्राथमिक विद्यालयको कक्षा ४ मा केही बेर रहँदा एक विद्यार्थीको ट्यूसन कापीमा आँखा परे । उनी क खग घ, वान टु थ्री सिक्दै रहेछन् ।

किन उपस्थिति कम भयो त ? आधारभूत विद्यालय, किरतपुरका प्रअ पवन कुमार महतोको भनाइमा अभिभावकमा चेतनाको कमीका कारण विद्यार्थी अनियमित हुन्छन् । उनी भन्छन्, “किताब र छात्रवृत्ति बाँड्ने बेलामा मात्र अभिभावक आउँछन् ।” आधारभूत विद्यालय लक्ष्मीपुरका शिक्षक विशेश्वर यादवको अनुभवमा नयाँ नयाँमा उत्साह हुन्छ, विद्यार्थी आउँछन् तर पुराना हुँदै गएपछि कम आउन थाल्छन् । फुद्दिलाल प्रावि, लोहनाका प्रअ दिलीप कुमार यादव अनियमितताको कारण गरीबी हो भन्छन् । उनको भनाइमा विद्यार्थीहरू १२ महीना खेतीपातीको काममा व्यस्त हुन्छन् । “तर परीक्षाका बेला आउँछन् । छात्रवृत्ति बाँड्ने बेलामा आउँछन् । उनीहरू छात्रवृत्तिलाई धेरै महत्व दिन्छन्”, प्रअ यादव भन्छन् । फुद्दिलाल प्राविबाट करीब दुई/तीन मिनेटको दूरीमा दलित समुदाय छ । १९ चैतमा त्यहाँ पुग्दा केही विद्यार्थी आँपको बगैंचामा खेल्दै थिए । केही घरमै थिए । विद्यालयमा टिफिन टाइम भएको थियो । किन स्कूल न गएको भन्दा कक्षा ४ की छात्रा कामिनी कुमारी महतोले भनिन्, “घाँस लिन गएकी थिएँ ।” कक्षा ४ कै रंजु कुमारी महरा आफ्नी आमा र काकीको झ्गडा भएको ले विद्यालय न गएकी रहिछन् । कक्षा ३ की एक छात्राले शुरूमा त “त्यतिकै” भनिन् । केही त कारण होला नि भनेर खोतल्दै जाँदा उनले “बिहान बाख्रालाई घाँस लिन गएकी थिएँ” भनिन् । घाँस ल्याइसकेपछि गएको भए हुन्थ्यो नि त ? फेरि सोधेपछि उनले भनिन्, “पेन्सिल छैन । लेखेन भने सरले लट्ठीले पिट्नुहुन्छ ।” कक्षा ५ मा पढ्ने उनका दाइ पनि त्यस दिन विद्यालय गएका थिएनन् । पोशाक फोहोर भएको ले उनी न गएका रहेछन् । “फोहोर लगाएर गयो भने सरले लट्ठीले पिट्नुहुन्छ”, उनले भने । उनीहरूकी आमा अनितादेवी

महराको छोराछोरी पढून् भन्ने चाहना त छ तर यसरी छोराछोरी घरमै बस्दा पनि विद्यालय जाऊ भनेर पठाउन सकेकी छैनन् । कहिलेकाहीं शिक्षक आउँछन् यहाँ ? जवाफमा अनिता देवी भन्छिन्, “अहिलेसम्म त कोही पनि आएका छैनन् । एक पटक अभिभावक बैठकमा भने गएकी छु ।” आधारभूत विद्यालय, किरतपुरका कक्षा ५ का एक छात्र पनि पोशाक च्यातिएकोले केही दिन विद्यालय नआएका रहेछन् । भएको एक जोर लुगा फाटेछ । “बुवाले नयाँ किनिदिएपछि आएको हुँ । नलगाई आयो भने सरले पिट्नुहुन्छ”, उनले भने । केही विद्यार्थीले घरमा या मामाघरमा पूजा हुँदा र खेतीपातीको बेला सघाउनुपर्दा पनि विद्यालय नआउने गरेको बताए । यसै विद्यालयमा कम उपस्थित हुने मध्येकी कक्षा १ की विद्यार्थीलाई कारण सोध्दा शिक्षक विभा कुमारी सिंह आफैं कारण उल्लेख गर्छिन्, “जुन दिनका लागि गृह कार्य दिएको हुन्छु, पिट्छ भन्ने डरले आउँदैन ।” पढेन भने उनले पिट्ने गरेको अरू बालबालिकाले बताए । घरको काम, अभिभावकको कमजोर आर्थिक अवस्था र अशिक्षाका कारण मात्र विद्यार्थी अनुपस्थित भएका छैनन्; शिक्षकबाट पिटाइ खानुपर्ने डर पनि त्यतिकै छँदैछ । विद्यालय जाऊँ जाऊँ लाग्ने र पूरै समय पढाइ सिकाइ हुने वातावरण पनि छैन । केही विद्यार्थी त महींनौसम्म लगातार नआएको अवस्था छ । तर न त उनीहरूको नाम काटिएको छ न त उनीहरूलाई विद्यालयमा ल्याउन कुनै पहल नै गरिएको छ । उनीहरूलाई नियमित गराउन कुनै सार्थक पहल र प्रयास नै गरिएको छैन ।

 सहबैला नगरपालिकाका मेयर विजयशंकरप्रसाद साह भन्छन्, “विद्यालयहरूलाई विद्यार्थी संख्या जिल्ला शिक्षा कार्यालयलाई देखाउन मात्र मतलब छ । उपस्थितिको मतलब छैन । केटाकेटीहरू आफ्नो र आमाबुबाको नाम लेख्न जान्दैनन् । यस्तो पढाइ के काम ?” अभिभावकलाई प्रेरित गर्न विद्यालयलाई चाहिएको जस्तोसुकै सहयोग गर्न उनी तयार छन् । शिक्षक व्यवस्थापनका लागि आफ्नो नगरपालिकाभित्र दरबन्दी मिलान गर्ने उनको प्रतिबद्धता छ । धनुषाधाम नगरपालिका वडा नं ३ का अध्यक्ष राजकिशोर साहको बुझइमा विद्याथ

अनुपस्थित हुनुमा दोष अभिभावकको पनि हो । “तर सबभन्दा ठूलो दायित्व प्रधानाध्यापकको हो । विद्यार्थी आउँछन् कि आउँदैनन् उसलाई चासो हुनुपर्छ”, उनी भन्छन् । धनुषाकै रराम्रो मानिने संकटमोचन माविका प्रअ बलराम साह भन्छन्, “हराम्रो विद्यालयमा पनि यो समस्या नभएको होइन । तर पूरै समय कक्षा चल्ने र पढाइ हुने हो भने समस्या हल हुँदै जान्छ ।” देशभरिका प्रायः सबै सामुदायिक विद्यालयमा कमजोर आर्थिक अवस्था भएकै र कम पढेलेखेका वा नपढेका अभिभावकका केटाकेटी पढ्छन् । तर अहिले धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर रराम्रो छ । पढाइलेखाइ स्तरीय छ । ती विद्यालय पनि कुनै बेला विद्यार्थी नियमित नहुने समस्याबाट गुज्रेका हुन् । तर तिनले अभिभावक र विद्यार्थीलाई दोष लाएर होइन विद्यालयभित्रै के कमजोरी छ भन्ने पहिल्याएर त्यसलाई सुधारे । अभिभावकसम्म पुगेर हुन्छ कि उनीहरूलाई विद्यालयमा बोलाएर हुन्छ भेटघाट गरे । विशेष गरी त्यहाँका प्रधानाध्यापकहरूले योजना बनाएर काम गर्दा शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय र विभिन्न संघसंस्थाको साथ पाएर तिनले सफलता हात पारेका हुन् । साँच्चै नै काम गर्ने हो भने शतप्रतिशत नतिजा एकैचोटि हात नलाग्ला तर यो समस्या घटाउँदै जान भने अवश्य सकिन्छ ।

२०७५ वैशाख अंकमा प्रकाशित । 

commercial commercial commercial commercial