विद्यार्थी किन भाग्छन् ?

१ देखि १० कक्षासम्म लगभग हजार विद्यार्थीको नामांकन छ तर उपस्थिति आधजति मात्र । त्यसमा पनि भाग्नेहरू एक चौथाइ । अनि अन्तिम घण्टीसम्म विद्यार्थीको संख्या शिक्षकभन्दा पनि कम हुने हो कि भन्ने डर लाग्न थालेको छ !

रामभरोस कापडि ‘भ्रमर’

एउटा उच्च मावि । साढे एक बजे टिफिनको घण्टी बज्छ । विद्यार्थीहरू हल्ला गर्दै कक्षाकोठाबाट बाहिर निस्कन्छन् । यतिसम्म त ठीकै छ । तर त्यसमध्ये २५ प्रतिशतभन्दा बढीको हातमा पुस्तकको झेला पनि हुन्छ । अर्थात् उनीहरू घर जाने तरखरमा छन् । प्रअ कराउँदै मूल ढोकासम्म दगुर्छन् । हातमा लट्ठी लिएर विद्यार्थीलाई मूल ढोका बाहिर जानबाट रोक्नु उनको दैनिकी जस्तै भएको छ । ढोकामा पियन पनि उभिरहेको हुन्छ । तर उसलाई टेर्ने भए विद्यार्थीको के अर्थ !

यो दृश्य एउटा मात्र सामुदायिक विद्यालयको होइन । यस भेगका प्रायः विद्यालय यस रोगबाट ग्रसित छन् । विद्यार्थीहरू टिफिन समयमै घर जाने चलनै भएको छ ।

एउटा उच्च माविमा १ देखि १० कक्षासम्म लगभग हजार विद्यार्थीको नामांकन छ तर उपस्थिति आधाजति मात्र । त्यसमा पनि भाग्नेहरू थप एक चौथाइ । अनि अन्तिम घण्टीसम्म विद्यार्थीको संख्या शिक्षकभन्दा पनि कम हुने हो कि भन्ने डर लाग्न थालेको छ !

वास्तवमा यो अवस्थाको कारण के होला ? लगभग १५ वर्षपछि व्यवस्थापन समितिको अध्यक्ष भएर तेस्रो पटक विद्यालय प्रवेश गर्दा सबैभन्दा घतलाग्दो र जिज्ञासाको यही प्रश्न मेरो मनमा घन्किरहेको छ । आखिर विद्यार्थीहरू किन भाग्छन् ? शिक्षकहरू पढाउँदै छौ भन्छन् । प्रअ अनुशासनमै राखेको छु भन्छन् । तब पनि टिफिनमा भाग्ने र कक्षामा आउँदै नआउने खेल किन भइरहेछ ?

म स्वयं अध्यक्ष भएको विद्यालय पनि टिफिनमा विद्यार्थी पलायनबाट उत्तिकै पीडित छ । प्रअ, शिक्षक र अभिभावक समेतलाई अनुरोध गर्दैछु— विद्यार्थीहरूलाई कक्षामा रोक्न के गर्नुपर्ला ! त्यसका लागि केही काम मैले प्रारम्भ गरेको छु । प्रतिफल आउन बाँकी छ ।

मलाई लाग्यो, कतै विद्यालयमा शिक्षकहरूद्वारा पढाइमा कमीकमजोरी हुने गरेकाले पनि विद्यार्थीको आकर्षण घटेको हो कि !

त्यसैले शिक्षकहरूलाई आफ्नो कक्षामा समयमै जानुपर्ने, विद्यालय पनि ठीक समयमा पुग्नुपर्ने जस्ता निर्णय गरें । त्यसपछि विद्यालयमा अतिरिक्त क्रियाकलापको अभाव देखें । केही छँदै थिएन । एक जना रुचि राख्ने शिक्षककै जिम्मा दिएर अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदका सामग्री खरिद गर्न लगाएको छु । विद्यार्थीहरू खेलकुदमा लागिरहुन् भन्ने चाहना छ । त्यस्तै सांस्कृतिक कार्यक्रम आयोजना गरी भाग लिन लगाएको  छु । उनीहरूलाई पुरस्कृत गरी प्रशंसा पत्र पनि बाँडिएको छ । मैले नियमित रूपमा शिक्षक साथीहरूलाई वादविवाद प्रतियोगिता, संगीत प्रतियोगिता, लेख प्रतियोगिता जस्ता प्रतिस्पर्धात्मक क्रियाकलाप गराउन र पुरस्कृत गर्न पनि कार्यक्रम बनाउन भनेको छु ।

यति गर्दागर्दै अनुपस्थित रहने विद्यार्थीका अभिभावकलाई व्यक्तिगत रूपमा सम्पर्क गरी विद्यार्थीको गुनासो सुनाउने कार्यक्रम पनि छ । तथ्यांकहरू केलाउँदा के फेला परेको छ भने अनुपस्थित रहने विद्यार्थीहरूमा पाँच कक्षाभन्दा माथिका बढी छन् । समान्यतः साना केटाकेटीहरूलाई कक्षामा रोक्न कठिन हुन्छ तर यहाँ उल्टो देखें । त्यसले पनि खेलकूद र सांस्कृतिक क्रियाकलापबाट स्थिति सुध्रन सक्छ भन्ने मेरो विश्वास हो ।

सरकारी छात्रवृत्ति साह्रै हचुवा तालले वितरण हुने गरेको मेरो बुझइ छ । ९–१० कक्षामा जेहेनदारलाई र तलका कक्षामा दलित तथा सर्व वर्गका छात्राहरूलाई छात्रवृत्ति दिने गरिन्छ । छात्रवृत्ति दिने हल्ला भएपछि कक्षामा उपस्थित मनग्यै हुन्छ । त्यसपछि पातलिँदै डेस्क, बेञ्च मात्र बँच्न पुग्ने अवस्था आउँछ । यस्तो प्रवृत्तिलाई हतोत्साहित गर्नै पर्छ । यसपालि सार्वजनिक कार्यक्रम गरेर छात्रवृत्ति वितरण गर्दा मैले प्रस्ट रूपमा दुई कुरा राखेको छु :
१.    कक्षामा खास प्रतिशतभन्दा कम उपस्थित हुने विद्यार्थीलाई छात्रवृत्ति नदिने;
२.    शिक्षकहरू विद्यार्थीको उपस्थितिप्रति सचेत बन्नुपर्छ । अनुपस्थित विद्यार्थीको अभिलेख व्यवस्थापन समितिलाई पनि उपलब्ध गराइनुपर्छ ।

मैले शैक्षणिक आकर्षण पनि थप्न खोजेको छु :
१.    कक्षामा सबैभन्दा बढी उपस्थित हुने छात्रछात्रालाई प्रोत्साहनस्वरूप थप पुरस्कृत गरिनेछ ।
२.    आफ्नो कक्षामा विद्यार्थीहरूलाई अधिकतम उपस्थित गराउने वर्ग शिक्षकहरूलाई पनि पुरस्कृत गरिनेछ ।
मलाई लाग्छ, यसले छात्रछात्रा र अभिभावक वर्गमा पनि अवश्य प्रभाव पार्नेछ । त्यस्तै खेलकूद र सांस्कृतिक गतिविधिप्रति नियमित कार्यक्रम सञ्चालन गरी पारितोषिकको व्यवस्था भइरहँदा त्यसले विद्यार्थीलाई आकर्षित गर्न सक्ने सम्भावना बढ्छ ।

विद्यार्थीहरूलाई कक्षामा रोक्न आधुनिक प्रविधिबाट शिक्षा दिनु पनि जरुरी छ । त्यसनिम्ति विज्ञानका सामग्री चाहिन्छ । दक्ष शिक्षकहरूको आवश्यकता पर्छ, त्यसको आपूर्ति हुनुपर्छ । टिफिन समयमा वा शुक्रवार शैक्षिक जानकारी दिने लघु फिल्म, डकुमेन्ट्री, लोकनृत्य, लोकसंगीतका दृश्यहरू देखाइने कार्यक्रमहरू राख्न सकिन्छ । यसले ज्ञानवृद्धि मात्रै होइन, विद्यार्थीहरूलाई विद्यालयप्रति लगाव बढ्नेछ । यद्यपि यो खर्चिलो साधन हो तर शिक्षा कार्यालयहरूले यस्ता कार्यक्रमका लागि रकम उपलब्ध गराउन सक्नुपर्छ ।

विद्यालयको शैक्षिक स्तर सुधार्न र विद्यार्थीहरूलाई पठनप्रति आकर्षित गर्न हामीले आगामी सत्रदेखि लागू गर्न लागेका उपर्युक्त योजनाहरू बाहिरी सहायता प्राप्त भएन नै भने पनि आफ्नै स्रोत र साधनबाट सञ्चालन गर्ने अठोट रहेको छ ।

शैक्षिक अराजकताको कुरा गरौं भने यस प्रकारका कार्यक्रम ल्याई शैक्षिक स्तर सुधार्न चाहने विद्यालयमा डेढ वर्षदेखि खाली रहेको माध्यमिक राहत कोटाका शिक्षकहरू जिल्ला शिक्षा कार्यालय धनुषाले पूर्ति गर्न सकेको छैन । त्यसैले स्थानीय स्रोत जुटाई विद्यार्थीहरूलाई पढाउने काम भइरहेको छ ।

पढाइ र सिकाइ विद्यालयको वातावरणमा पनि भर पर्छ । उहिले शिक्षक ‘गुरु’ हुन्थे । अहिले शिक्षक मित्र र प्रेमी हुन थालेका छन् । परिणाम शिक्षाको खस्कँदो स्तर र निरन्तर विवाद तथा तनावको अवस्था । अर्कोतिर राजनीतिक चलखेलले पनि शिक्षण पेशालाई प्रभावित गरेको छ । पढाइप्रति कम, र राजनीतिप्रति बढी ध्यान जाँदा विद्यार्थीहरूको प्राथमिक समस्या पनि समाधान हुन सक्तैन । सामुदायिक विद्यालयहरू छोराछोरीलाई जागिर खुवाउने थलो मात्र होइनन्, बिहेका लागि सहज हुने माध्यम पनि हुँदै गएका छन् ।

छोरीले पढ्नुपर्छ । पैसा हुनेले निजीमा पढाउँछन् भने पैसा नहुनेले आफ्नै गाउँमा छोरी पढाउन चाहन्छन्, कमसेकम एसएलसीसम्म । बिहेमा यसले दहेज त कम गर्दैन, बरु बिहे सहज बनाउँछ । छोरालाई दहेज र घर दुवै पढाइपछि प्राप्त हुने आशा अभिभावकहरूमा देखिन्छ । यो धेरैमा हुन्छ, सबैमा होइन । जो आफ्ना सन्तानलाई भविष्यका लागि पढाउँछन् । तिनका सन्तान विद्यालयबाट भाग्दैनन् । उनीहरू नियमित पढ्छन् । ज्ञान बढाउँछन्, शिक्षकप्रति सम्मान व्यक्त गर्छन् ।

यता आएर दलित छात्रछात्राहरू पनि प्रशस्त पढ्न थालेका छन् । यो कुरा छात्रवृत्ति वितरण गर्दा मैले स्वयं महसुस गरेको छु ।

व्यवस्थापन समितिको चुनाव वा मनोनयन विद्यालयको अवश्यकता अनुसार हुन सके विद्यार्थीहरूको समस्या समाधानका साथै विद्यालयबाट भाग्ने वा छोड्ने विद्यार्थीहरूलाई नियन्त्रण गर्न अवश्य सकिन्छ । यसमा जिल्ला शिक्षा कार्यालयको सक्रियता र इमानदार सहयोग पनि जरुरी छ  । तर के यस्तो होला त !

अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, श्री उच्च मावि बघचौरा, धनुषा

commercial commercial commercial commercial