वैकल्पिक सिकाइमा विद्यार्थीको न्यून सहभागिता

शिक्षा मन्त्रालयले जेठ २०७७ मा जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’ असार १ गतेदेखि कार्यान्वयनमा लगेपछि ठाउँ–ठाउँमा सिकाइ सहजीकरण कार्यक्रम भइरहेका छन् । तर यस्ता कार्यक्रममा सामुदायिक विद्यालयका सबै विद्यार्थीको सहभागिता हुनसकेको छैन ।

काठमाडौं महानगरपालिकाले कक्षा–१ देखि १० सम्मका विद्यार्थीका लागि आफ्नै रेडियो (मेट्रो एफएम) मा  कार्यक्रम शुरू गरेको छ । तर काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका धेरै विद्यार्थी लकडाउनपछि आ–आफ्नो घर गएका छन् । प्रअहरूको भनाइमा आधाभन्दा बढी विद्यार्थी अहिले काठमाडौं बाहिर छन् । यहाँ भएका विद्यार्थीमध्ये पनि सबैले रेडियो कार्यक्रम सुनेका छैनन् ।

“एक त धेरै बाहिर छन् । यहीं भएका विद्यार्थीमध्ये पनि आधाले मात्र रेडियो सुनेका छन् । काठमाडौंको सबै ठाउँमा त्यो रेडियो सुनिंदैन भन्ने गुनासो पनि आएको छ । विद्यार्थीको सहभागिता सुनिश्चित गर्न सकिएन । नसुन्ने विद्यार्थीहरू पछिपर्लान् कि ? झन् विभेद पो हुने हो कि ?” सरस्वती निकेतन मावि, टेकु, काठमाडौंकी प्रअ रविना महर्जन भन्छिन् । उनी कक्षा–१ देखि ६ सम्मको रेडियो कार्यक्रमकी संयोजक समेत हुन् । उनका अनुसार उनको विद्यालयका ५९७ विद्यार्थीमध्ये अहिलेसम्म १९० जना विद्यार्थीले मात्र नाम लेखाएर पाठ्यपुस्तक लगेका छन् ।

रेडियो कार्यक्रम सबै विद्यार्थीले सुन्न नसकेकोमा नीलबाराही माविकी प्रअ डा. जानुका नेपाललाई पनि चिन्ता लागेको छ । “सबैको घरमा रेडियो छैन । र, सबैको मोबाइलमा रेडियो सुन्न मिल्दैन”, विद्यार्थीले रेडियो नसुन्नुको कारण उनी यसरी प्रष्ट्याउँछिन् । प्रअ नेपाल थप्छिन्, “४५ प्रतिशत जति विद्यार्थीले नाम लेखाइ किताब लगेका छन् । बाँकी विद्यार्थी काठमाडौंबाहिर छन् ।”

काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका कतिपय विद्यार्थीको गुनासो पनि रेडियो राम्ररी नटिप्ने भन्ने नै छ । जनकल्याण मावि, महाँकालकी कक्षा–९ की छात्रा करूणा तामाङ भन्छिन्, “म बस्ने बौद्ध एरियामा मेट्रो एफएम सुनिंदैन । महाँकालमा बस्ने साथीकहाँ पनि टिप्दैन रे !” जनकल्याण माविले अनलाइन शिक्षा पनि शुरू गरेकोले त्यसमा भने उनी सहभागी हुने गर्छिन् । घरमा इन्टरनेट नभएकोले उनी साथीको घर जान्छिन् । कहिले आफन्तको घर गएर युट्युबबाट सामग्री डाउनलोड गर्छिन् । तर टीभीमा भने कार्यक्रम नहेरेको उनले सुनाइन् । स्कूलका शिक्षकहरूबाट उनले टीभी कार्यक्रम, रेडियो कार्यक्रम र युट्युबबारे जानकारी पाएकी हुन् । “यस्तो वेला शिक्षकहरूले हाम्रो लागि धेरै गर्नुभएको छ । तर, गाउँ जाने साथीहरूको त पढाइ नै छुट्यो”, उनले भनिन् ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको रेडियो कार्यक्रममा प्रस्तुतिको तयारी गर्दै जनकल्याण मावि, महाँकालकी प्रअ कुमारी कमला राई (दायाँ) र चम्पा भुजेल खड्का ।

पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थी सुमन राइदास विशालनगर बस्छन् । उनलाई चाहिं रेडियो कार्यक्रम सुन्न अल्छी लाग्दोरहेछ । उनी भन्छन्, “झ्यारझ्यार आउँछ । अनि सुन्न अल्छी लाग्छ । कहिले स्कूल खुल्ला जस्तो भएको छ ।”

मेट्रो एफएम सुनिने क्षेत्रका विद्यार्थीले कार्यक्रम सुन्ने र नसुन्ने कारण घरका सदस्यमा पनि भर परेको पाइन्छ । सरस्वती निकेतनका विद्यार्थी अनिल श्रेष्ठ बस्ने टेकु क्षेत्रमा रेडियो राम्ररी सुनिन्छ । उनी जसको घरमा बसेका छन्, त्यहाँ उनलाई कार्यक्रम सुन्न प्रेरित गरेको पाइयो । “म कार्यक्रम सुन्छु । तर कापीमा नोट टिप्न सकिंदैन । रेडियो अलि असजिलो हुँदोरहेछ । कक्षाकोठामा पढाएको जस्तो चाहिं हुँदैन रहेछ”, कक्षा–८ का विद्यार्थी अनिलले भने ।

कति विद्यार्थी र तिनका अभिभावकलाई त कार्यक्रमबारे जानकारी नरहेको पाइयो । कन्यामन्दिर माविकी विद्यार्थी निशा श्रेष्ठ (कक्षा–६) लाई रेडियो कार्यक्रमबारे थाहा छैन । यसै विद्यालयकी कक्षा–३ की छात्रा दीपशिखा विककी आमा संगीता विकलाई पनि कार्यक्रमबारे केही थाहा छैन । रेडियो र टीभी कार्यक्रमहरूबारे जानकारी गराउँदा उनले भनिन्, “टीभी छैन । मोबाइल साधारण छ । यसमा रेडियो सुन्न मिल्दैन । म आफू पढेकी छैन । छोरीको पढाइमा सहयोग गर्न सक्दिनँ । तर स्कूलबाट ल्याएको किताब चाहिं पढ भन्छु ।”

यसरी वैकल्पिक प्रणालीबाट धेरै विद्यार्थी सिकाइमा छुटेपछि कतिपय प्रअहरूलाई भौतिक दूरी कायम गरेर विद्यालय खोल्न पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । प्रअ नेपाल भन्छिन्, “पढाउन पाए हुन्थ्यो जस्तो लागिसक्यो । विद्यार्थीको माया लाग्छ । हामी आफैं पैसा संकलन गरेर विद्यार्थीलाई मास्क दिन्छौं । स्कूलमा स्यानिटाइजरको व्यवस्था मिलाउँछौं । तर केही भयो भने आक्षेप लाग्ला कि भन्ने डर छ ।”

काठमाडौं महानगरपालिकाले रेडियो कार्यक्रम शुरू गरे पनि उपत्यकाका कतिपय स्थानीय तहले अहिलेसम्म कुनै कार्यक्रम शुरू गरेका छैनन् । त्यसैले केही स्कूलले आफैं प्रयास शुरू गरेका छन् । कागेश्वरी मनहरा नगरपालिकामा रहेको सिद्धिगणेश माविले फेसबूक मेसेन्जर ग्रुप (तहगत) बनाएको छ । कक्षा–८ की विद्यार्थी रूजी थापा भन्छिन्, “कक्षा ६–८ को हाम्रो समूहमा शिक्षकहरूले विभिन्न सामग्री हालिदिने र त्यसको आधारमा गृहकार्य दिनुहुन्छ । जस्तो राष्ट्रिय विभूति, सात प्रदेशको बारेमा भिडियो हाल्नुहुन्छ । अनि हामीले गृहकार्य तयार गरी बुझाउनुपर्छ । सबै साथीको घरमा इन्टरनेट नभएकोले कतिले यसबाट सिक्न पाएका छैनन् ।”

विव्यस अध्यक्ष राजकुमार थापा यस्तो सुविधा नहुने विद्यार्थीको घर–घर शिक्षक पुग्ने गरेको बताउँछन् । “८० प्रतिशत स्थानीय विद्यार्थी छन् । बाँकी आफ्नो जिल्लामा छन् । टाढाका शिक्षकहरू आउन सक्ने स्थिति छैन । स्थानीय शिक्षक घर–घर पुग्नुभएको छ । यो आइडिया शिक्षकहरूकै हो ।”

यस्तै गोदावरी नगरपालिकास्थित पथप्रदर्शकमा विद्यालयले पनि आफ्नै प्रयासमा कक्षा–९ र १० का विद्यार्थीका लागि मात्र अनलाइन कक्षा शुरू गरेको छ ।  आदर्श आजाद मावि भक्तपुरले पनि कक्षा–६ देखि अनलाइन शिक्षा शुरू गरेको छ । “शुरूमा कक्षा ९–१० मा अनलाइन शिक्षा चलाउँदा २० प्रतिशत विद्यार्थी मात्र सहभागी हुने गरेकोमा अहिले ४५ प्रतिशतसम्म सहभागी भएका छन् ।” शिक्षक शिवराम बोहाजु भन्छन्, “सबै विद्यार्थीसँग मोबाइल र इनटरनेट छैन । कतिका आमाबाबुले मोबाइल काममा लान्छन् । केही नगर्नुभन्दा यति भए पनि प्रयास गरेको हो ।”

अनलाइन शिक्षाका लागि आवश्यक इन्टरनेट तथा डिभाइस नभएपछि र कति विद्यार्थी गाउँ गएकाले गुल्मीको सदरमुकामस्थित सिद्धबाबा माविले पनि मावि तहका लागि शुरू गरेको अनलाइन शिक्षा प्रभावकारी नभएको पायो । र टोल टोलमा शिक्षा शुरू गर्‍यो । “शिक्षकको समूह पालैसँग टोल टोलमा पुगी १०/१५ जना विद्यार्थीमाझ गरिएको यो कार्यक्रम सकारात्मक र प्रभावकारी देखियो । गाउँ गएका केही विद्यार्थी पनि आए । तर अझै पनि कतिपय विद्यार्थी गाउँमा छन्” प्रअ डोरविक्रम श्रीषले भने ।


लामो समयदेखि पठनपाठन अवरुद्ध भएपछि जोड दिइएको वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणमा विद्यार्थीको कम सहभागिता सबभन्दा ठूलो चुनौती देखिएको छ । सहभागिता कम हुनुमा दुई कारण छन् । एक त थुप्रै स्थानीय तह र विद्यालयले कार्यक्रम नै शुरू गर्न सकेका छैनन् । यसकारण यस्ता ठाउँका विद्यार्थीले सिकाइमा सहभागी हुने अवसर नै पाएका छैनन् । अर्को, कुनै न कुनै कार्यक्रम भएका ठाउँमा पनि सबै विद्यार्थीको सहभागिता हुनसकेकोे छैन । 

तर सम्बन्धित स्थानीय तह रेसुंगा नगरपालिकाले यो कार्यक्रम स्थगन गर्न लगाएपछि यो कार्यक्रम बन्द भएको छ । “टोल समुदायमा विद्यार्थी जम्मा गरी शिक्षकहरू गएर पढाउँदा अभिभावकमा त्रास देखियो । त्यसैले बन्द गरिएको हो” भन्छन् भर्खरै सरुवा भएर गएका शिक्षा शाखा प्रमुख विष्णु ज्ञवाली ।

रेसुंगा नगरपालिकाले असार १४ बाट  कक्षा ४–५, ६–८ र ९–१० का विद्यार्थीका रेडियो कार्यक्रम शुरू गरेको छ । तहगत रूपमा पाठ्यक्रमको सिकाइ उपलब्धि हासिल हुने गरी कार्यक्रम शुरू गरिएको हो । शिक्षा शाखा प्रमुख ज्ञवालीका अनुसार कक्षा–४ भन्दा तलका विद्यार्थीका लागि सिकाइ सामग्री घर–घरमा पुर्‍याइने तयारी भइरहेको छ ।

रेसुंगा नगरपालिकाले स्थगित गराए पनि समुदायमा–टोलमा शिक्षक पुगेर पढाउने कार्यक्रम विभिन्न जिल्लामा विद्यालयले चलाइरहेका छन् । अहिलेको अवस्थामा टोल–समुदायमा कार्यक्रम चलाउँदा जोखिम पनि छ । किनकि कतिपय ठाउँमा त भौतिक दूरी बेवास्ता गरिएको पाइएको छ । विद्यार्थी मास्क नलगाई बसेको पाइएको छ । कोरोना संक्रमित संख्या बढ्दै गइरहेको र पर्याप्त टेस्ट नभएकाले निम्तन सक्ने जोखिमबारे स्थानीय तह र विद्यालय सचेत हुन जरूरी छ । यस सम्बन्धमा एउटा मापदण्ड बनाउन आवश्यक देखिन्छ ।

तर स्थानीय तहले केही नगरेपछि विद्यालयहरू यस्तो कार्यक्रम गर्न लागिपरेका छन् । जनप्रेम मावि, बाग्लुङले पनि यस्तो कार्यक्रम चलाइरहेको छ । यस्ताखाले कार्यक्रममा पनि सबै विद्यार्थी सहभागी हुनसकेका छैनन् । देउराली मावि, बर्दिबास, महोत्तरीका प्रअ इन्द्र लामा शिक्षकको समूह बनाएर हप्ताको दुई दिन टोल–टोलमा शिक्षा कार्यक्रम शुरू गरिएको बताउँछन् । उनको भनाइमा कतै सामुदायिक भवन, कतै चौतारी प्रयोग गरिएको छ । प्रअ लामा भन्छन्, “कतिपय अभिभावकले डराई डराई केटाकेटी पठाएका छन् । विद्यार्थी टाढा टाढा पनि छन् । विद्यालय नजिकका टोलमा मात्र शिक्षक जान संभव देखिएको छ । सबैलाई समेट्न सक्ने स्थिति चाहिं भएन ।”

निष्क्रिय स्थानीय तह

‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७’ अनुसार स्थानीय तहले आवश्यकता अनुसार सिकाइ केन्द्र स्थापना गर्न सहजीकरण गर्ने, सिकाइ सहजीकरण कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने/गराउने, शिक्षकलाई सिकाइ सहजकर्ताका रूपमा परिचालन गर्ने जिम्मेवारी स्थानीय तहको हो । तर थुप्रै स्थानीय तह निष्क्रिय जस्तै छन् । उनीहरूले अहिलेसम्म उल्लेखनीय काम गरेको पाइँदैन । शिक्षा मन्त्रीले असारको आधामा सिकाइ सहजीकरण कार्यक्रमको मूल्यांकन गर्ने बताइरहँदा कति स्थानीय तहले त विद्यार्थीको पहुँच सम्बन्धी तथ्यांक पनि संकलन गरिसकेको छैन ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाका शिक्षा अधिकारीका अनुसार पालिकाका सामुदायिक विद्यालयका विद्यार्थीको रेडियो, टीभी केमा पहुँच छ, यसै सम्बन्धमा तथ्यांक संकलन गर्ने काम भइरहेको छ । भक्तपुर नगरपालिकाले पनि यस्तै तथ्यांक संकलन गर्ने काम गरिरहेको छ । काठमाडौं उपत्यका नजिकैको जिल्ला काभ्रेको पनौती नपाका १४ वटा सामुदायिक विद्यालयमा काम गरिरहेको संस्था ग्रामीण सामुदायिक संगठन नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाका अनुसार पालिकाबाट वैकल्पिक सिकाइ सहजीकरणका लागि के गर्ने भन्ने सम्बन्धमा केही निर्णय भएको छैन । “हामीले बुझ्दा वडा–२, ३ र ४ का तामाङ बस्तीका धेरै विद्यार्थीका घरमा रेडियो, टीभी र मोबाइल नै नरहेको पाइयो । अभिभावकहरूसँग भेट्दा टोल–टोलमा शिक्षक पठाइदिए हुन्थ्यो भन्ने माग छ । शिक्षकहरू घरमै हुनुहुन्छ । हामी स्थानीय तहसँग छलफल गर्नेछौं”, थापा भन्छन् ।

सर्लाहीको लालबन्दी नगरपालिकाले पनि अहिलेसम्म केही गरेको छैन । वडा–५ का अध्यक्ष मोहनहरि भण्डारी भन्छन्, “पाठ्यपुस्तक बाँड्ने बाहेक केही काम भएको छैन । पालिका आफैंले पनि केही गरेको छैन । सामुदायिक विद्यालयले पनि केही गरेका छैनन् । केही निजी विद्यालयले भने अनलाइन शिक्षा चलाएका छन् ।”


अहिलेको अवस्थामा टोल–समुदायमा कार्यक्रम चलाउँदा जोखिम पनि छ । किनकि कतिपय ठाउँमा त भौतिक दूरी बेवास्ता गरिएको, विद्यार्थी मास्क नलगाई बसेको पाइएको छ । कोरोना संक्रमित संख्या बढ्दै गइरहेको र पर्याप्त टेस्ट नभएकाले निम्तन सक्ने जोखिमबारे स्थानीय तह र विद्यालय सचेत हुन जरूरी छ ।

यस्तै सप्तरीको राजविराज नगरपालिकाले पनि केही कार्यक्रम शुरू नगरेको यही पालिकास्थित राजदेवी मावि, सप्तरीका शिक्षक भगवती चौधरीले बताएका छन् । “स्कूलहरूमा क्वारेन्टाइन भएकाले पनि केही गर्न नसकिएको अवस्था हो” उनले भने । निजगढ नगरपालिका, बारास्थित नेपाल राष्ट्रिय मावि, बाराका प्रअ नवलकिशोर साहका अनुसार विद्यलायले किताब बाँडिसकेको छ । पालिकामा बसेको प्रअहरूको बैठकमा रेडियो कार्यक्रम शुरू गर्ने सम्बन्धमा छलफल शुरू भएको छ ।

यसरी कतिपय ठाउँमा स्थानीय तह र विद्यालयले वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणका लागि शुरूआत नै गरेका छैनन् । केही स्थानीय तह तथा विद्यालयले केही न केही प्रयास गरिरहेका छन् । शिक्षक तालिम, सिकाइका सामग्री तयारी गर्ने र विद्यार्थीमाझ पुर्‍याउने प्रयासमा जुटेका छन् । अभिभावक विद्यार्थीलाई टीभी रेडियो कार्यक्रमको बारेमा जानकारी गराउनेदेखि समय–समयमा टेलिफोन सम्पर्क गर्ने गरेका छन् । अहिलेको अवस्थामा यो प्रशंसनीय काम हो ।

तर लामो समयदेखि पठनपाठन अवरुद्ध भएपछि जोड दिइएको वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणमा विद्यार्थीको कम सहभागिता सबभन्दा ठूलो चुनौती देखिएको छ । सहभागिता कम हुनुमा दुई कारण छन् । एक त थुप्रै स्थानीय तह र विद्यालयले कार्यक्रम नै शुरू गर्न सकेका छैनन् । यसकारण यस्ता ठाउँका विद्यार्थीले सिकाइमा सहभागी हुने अवसर नै पाएका छैनन् । अर्को, कुनै न कुनै कार्यक्रम भएका ठाउँमा पनि सबै विद्यार्थीको सहभागिता हुनसकेकोे छैन । किनकि अहिलेको अवस्थामा उपयुक्त देखिएको दूर तथा खुला शिक्षाका लागि आवश्यक सामग्री मोबाइल, कम्प्युटर, रेडियो, टीभी अनि इन्टरनेटमा उनीहरूको पहुँच छैन । र, सबै ठाउँमा शिक्षक समुदायसम्म पुगेर सिकाउन सक्ने अवस्था छैन ।

अहिले प्रारम्भिक बाल विकास उमेर समूहका बालबालिकाको सिकाइ पनि पूरै ओझेलमा छ । विद्यालयमा भर्ना नखुलेको कारणले पनि यो उमेर समूहका बालबालिका कहाँ कति छन् ? न त स्थानीय तहलाई थाहा छ न विद्यालयलाई । सबै अभिभावक घरमा सिकाउन सक्ने अवस्थाका छैनन् । कक्षा–१ देखि १० सम्म लक्षित कार्यक्रम मात्र छन् । यी पनि अहिले सिकाइमा छुटेका छन् । सिकाइमा छुटेका साना ठूला सबै विद्यार्थीका लागि आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण तयार गर्न के गर्न सकिन्छ ? यसका लागि स्थानीय संघसंस्था, विज्ञ, प्रदेश वा संघबाट के सहयोग चाहिन्छ ? यसतर्फ सम्बन्धित स्थानीय तह र विद्यालयले तत्काल कदम चालिहाल्नुपर्छ । नभए अहिले छुटेका विद्यार्थी स्थिति सामान्य भएपश्चात सिकाइमा झन् पछि पर्नेछन् ।

commercial commercial commercial commercial