स्कूल पुनर्संरचनाको अवसर

यसपालिका दुई ठूला भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिलाई एकैछिन बिर्सने हो भने यसले शिक्षा मन्त्रालयलाई विद्यालयको समग्र पुनर्संरचना गर्ने ठूलो अवसर दिएको छ । आउँदा दिनमा एकै ठाउँमा रहेका धेरै स्कूल आपसमा गाभ्ने, स्कूल नभएका ठाउँमा सार्ने, कमजोर भौगोलिक अवस्थामा रहेका स्कूल सुरक्षित स्थानमा लैजाने, अनावश्यक स्कूललाई गाभेर सबै दृष्टिले सबल र सुरक्षित स्कूल बनाउने जस्ता काम गर्न सहज भएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर १२ वैशाख २०७२ (पूर्वान्न ११ः५६ बजे) मा गएको ७.६ म्याग्निच्युड र २९ वैशाख (अपराह्न १२ः५७ बजे) मा सिन्धुपाल्चोकको कोदारीमा गएको ७.३ म्याग्निच्युडका भूकम्पले बाग्मती अञ्चलका धेरै जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । देशले विनाशकारी भूकम्पको सामना नगरेको धेरै वर्ष भएका कारण यी भूकम्पले देशको मुटु नै हल्लाएको हो । जनमानसमा ठूलो त्रासदी सिर्जना गरेको छ । तथापि यी भूकम्प धेरै ठूला चाहिँ होइनन् । भूकम्पविद्हरूले ८ म्याग्निच्युडभन्दा बढीको भूकम्पलाई मात्र महाभूकम्प मान्ने गरेका छन् ।

शिक्षाको धरहरा ढल्यो
गोरखा भूकम्पले काठमाडौँको चिनारीका रूपमा रहेको नौतले धरहरा त ढाल्यो नै, नेपालको शैक्षिक इतिहासको प्रारम्भविन्दु दरबार हाइस्कूललाई पनि तहसनहस पारेको छ । उक्त विद्यालय भवनको अघिल्लो भाग र कक्षाकोठाहरू भत्किएर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

दरबार हाइस्कूल नामक भवनले १९१० मा खोलिएको, अहिले भानु मावि भनिने विद्यालय र १९३४ सालमा खोलिएको संस्कृत माविलाई छहारी दिएको थियो । तर भूकम्पका कारण भानु र संस्कृत माविमा पढिरहेका करीव ४०० बालबालिकालाई कक्षाकोठामा फर्काउन नसकिने स्थिति सिर्जना गरेको छ । शिक्षा मन्त्रालयले १५ जेठ २०७२ देखि विपत्मा शिक्षा पढाउने भन्दै सबै स्कूल सञ्चालन गर्ने निर्देशन दिएको छ । सामान्य अवस्था रहेमा १५ जेठदेखि धेरै विद्यालय खुल्छन् । भूकम्प प्रभावित कतिपय स्कूलहरूले विद्यालय परिसर वा खाली स्थानमा कक्षा सञ्चालन गर्न सके पनि दरबार हाइस्कूललाई भने त्यस्तो सुविधा उपलब्ध छैन । स्कूल परिसर भत्किाएको पर्खालले पुरिएको छ भने विद्यालय वरपर खुला ठाउँ छैन ।

भत्किएको विद्यालयमा भेटिएका संस्कृत माविका प्रअ बद्रीप्रसाद दाहालले भने— “केही समयका लागि संस्कृत माविको पठनपाठन तीनधारा पाठशालामा सञ्चालन गर्न सकिन्छ कि भन्ने लागेको छ । यहाँ त बालबालिका आउनै डराउँछन्, अनि कसरी पढाउने ?”

देशको पहिलो स्कूल भएकाले दरबार हाइस्कूलको आकृति जस्ताको जस्तै राखेर पुनर्निर्माण गरिए राम्रो हुन्छ भन्ने दाहालको राय छ । भन्छन्, “साधारण स्कूल त जताततै छन् । दरबार हाइस्कूललाई छात्रवास सहितको राष्ट्रिय संस्कृत विद्यालयको रूपमा विकसित गर्दा यसको महŒव बढ्न सक्छ । पुरानै तरीकाले सञ्चालन गर्नका लागि भने दरबार हाइस्कूलमा थप लगानी गर्नुको औचित्य छैन ।”

कतै स्कूलै स्कूल, कतै शून्य स्कूल  
दरबार हाइस्कूलबाट पाँच–सात मिनेट पैदल दूरीमा प्रभात मावि नघल, शान्तिशिक्षा मन्दिर मावि ठहिटी, कान्तिईश्वरी राज्यलक्ष्मी मावि प्याफल, शान्तिनिकुञ्ज मावि भगवतीबारी र त्यौड मावि रहेका छन् । प्रभात मावि नघलका प्रअ राजेश्वरमान श्रेष्ठ भन्छन्— “एउटै क्षेत्रमा यति धेरै स्कूल भएकाले विद्यार्थी संख्या घट्दै गएको छ, भवन लगायतका भौतिक पूर्वाधार पनि सुरक्षित छैनन् । स्कूललाई आवश्यक पर्ने खेलमैदानको पनि अभाव छ । ?”

शान्तिशिक्षा मन्दिर उमावि ठहिटी वरिपरि एक दर्जनभन्दा बढी स्कूल छन् । कन्यामन्दिर उमावि र कृष्णमन्दिर प्रावि त जोडिएकै छन् । भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको काठमाडौँमा जथाभावी स्कूल खोलिएकाले यस्तो बेहाल भएको हो ।

सरकारी विद्यालय खोल्ने बेलामा ढंग नपु¥याइएका दृष्टान्त अरू पनि धेरै छन् ।  गुह्येश्वरी नजिकै गुह्येश्वरी उमावि, शारदा उमावि र बालपीठ प्रावि गरी तीनवटा स्कूल छन् । यी स्कूलबीचको दूरी पाँच मिनेटभन्दा बढी छैन । ‘पाँच मिनेटको दूरीमा तीनवटा स्कूल किन चाहियो ?’ भन्ने प्रश्नको चितबुझदो जवाफ शायद स्कूल खोल्नेसँग पनि छैन । यी तीन स्कूल नजिकै बतीसपुतलीमा मंगलादेवी मावि छ भने त्यसको नजिकै सिफलमा बालव्यवसायी मावि छ ।

चाबहिल–जोरपाटी सडकको दक्षिणपूर्वी खण्डको घना बस्तीमा श्रम उमावि टुसाल बाहेक कुनै सरकारी विद्यालय छैन । तर, चुच्चेपाटीको जनकल्याण उमावि नजिक चारवटा हाइस्कूल छन् । महेन्द्र बौद्ध उमावि, बालउद्धार उमावि, नवजागृति उमावि र जनकल्याण उमावि बीचको दूरी पाँच मिनेटभन्दा बढी छैन । उता कपनगुम्बा छेउको ग्रामशिक्षा मावि पुग्न गोपीकृष्ण सिनेमा हलबाट तीन किलोमिटर यात्रा गर्नुपर्छ । विमा समिति छेउको सुकुम्बासी टोलमा भर्खरै खोलिएको पाथीभरा प्राविलाई छाड्ने हो भने कपन र सरस्वतीनगरको घना बस्तीमा सरकारी स्कूलको अस्तित्व छैन । महेन्द्रबौद्ध उमावि स्रोतकेन्द्रका स्रोतव्यक्ति रामनारायण साह भन्छन्— “सरकारी विद्यालयबीचको भौगोलिक दूरीको यस्तो असन्तुलनलाई अब नयाँ ढंगले पुनर्संरचना नगरी हुँदैन । कतै स्कूलै नहुने, कतै धेरै स्कूल हुने स्थिति बदल्नुपर्छ ।”

मध्यबानेश्वरको रत्नराज्य उमावि बाहेक पुरानो बानेश्वर, नयाँ बानेश्वर, मीनभवन, बुद्धनगर, मैतीदेवी, अनामनगर लगायतका ठूला बस्तीमा सार्वजनिक विद्यालय छैनन् । यता डिल्लीबजार र नक्सालमा चाहिँ एकै ठाउँमा धेरै वटा स्कूल छन् । नन्दी मावि नक्साल नजिकै पाँचवटा स्कूल छन् । नक्सालमा नन्दी मावि, नन्दी रात्रि मावि, बहिरा बालक उमावि, आदर्श निमावि र टंगाल उमाविको दूरी अत्यन्तै छोटो छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार काठमाडौँमा पूर्वप्राविदेखि उमाविसम्म ५५५ वटा सरकारी स्कूल छन् भने १०७८ वटा निजी स्कूल छन् । भौतिक पूर्वाधारका दृष्टिले सरकारीभन्दा निजी स्कूल झ्न् कमजोर छन् । तीमध्ये अधिकांशमा सुरक्षित भवन, गतिलो कक्षाकोठा, खेलमैदान आदिको न्यूनतम पूर्वाधार पनि छैन । यस पटकको भूकम्पको अनुभवबाट सिकेर सरकारले अलि कडा मापदण्ड अपनाउने हो भने कतिपय नाफामुखी विद्यालय विस्थापित हुन सक्छन् । यदि निजी स्कूल विविध कारणले बन्द भए वा चलेनन् भने नागरिकलाई शिक्षा दिने दायित्व सरकारको हुन्छ । अहिले नाफा कमाउन शहरमा मोमो पसल जसरी खुलेका निजी स्कूलका कारण सरकारी विद्यालयको स्तर, औचित्य र आवश्यकता धमिलिएको भए पनि सरकारी शिक्षा÷विद्यालयको विकल्प निजी स्कूल कदापि हुन सक्दैनन् ।

भूकम्प प्रतिरोधी भवन र फराकिलो खेल मैदान भएका विद्यालय शिक्षक र बालबालिकाका लागि मात्र होइन, अभिभावक र समाजका लागि पनि उतिकै उपयोगी हुन्छन् । १२ र २९ वैशाखका भूकम्पले काठमाडौँ जस्ता ठूला शहरमा खाली चौर, खेल मैदान, बलिया स्कूल तथा सार्वजनिक भवनहरूको औचित्य अरू बलियो गरी स्थापित गरेको छ । त्यसैले उचित र आवश्यक स्थानमा सुरक्षित स्कूल भवन तथा खेलमैदान तयार गर्ने काममा अब शिक्षा मन्त्रालयसँगै अभिभावक पनि अग्रसर हुन जरूरी छ ।

स्कूलको भौगोलिक दूरी गाउँ–शहर दुवैतिर असन्तुलित छ । कुन ठाउँमा कस्तो स्कूल खोल्ने भन्ने स्पष्ट नीतिविना समुदायले माग गर्नेबित्तिकै धमाधम स्कूल सञ्चालन गर्ने अनुमति दिएका कारण वर्षेनी छात्रछात्रा घट्दै गए पनि स्कूलको संख्या भने घटेको छैन, बढेको छ । ललितपुरको पाटन, पुल्चोक, मंलगबजार आदि क्षेत्रमा धेरै वटा सरकारी स्कूल छन् । पाटनढोका नजिकको पाटन उमावि, छात्रछात्रा नभएर रित्तिँदै गएको श्रीशान्ति प्रावि र श्रीचण्डी माविको दूरी तीनदेखि पाँच सय मिटरभन्दा बढी छैन । आदर्श सरल र चण्डी उमावि नजिकै रहेको तथा दुवैमा छात्रछात्रा कम भएका कारण यसै वर्ष जिशिका ललितपुरले यी दुई स्कूललाई गाभेको छ । यी दुई स्कूलमा बंगलामुखीको कुम्भेश्वर निमाविलाई गाभेर एउटै बनाउने काम बाँकी नै छ ।

ललितपुरकै थैना वरपरका बालविद्याश्रम प्रावि, मीननाथ निमावि र यशोधरा माविबीचको दूरी पनि धेरै छैन । पुल्चोकको मदनस्मारक उमावि, त्रिपद्म उमावि, स्वतन्त्र शिक्षा सदन प्रावि पनि ५ मिनेटको दूरीमा छन् । त्रिपद्मको पर्खाल भूकम्पले पूरै ढलेको छ । शनिवार परेका कारण १२ वैशाखको भूकम्पले त्रिपद्मका बालबालिकालाई कुनै क्षति पु¥याएको छैन । तर, विद्यालय सञ्चालनको बेला भूकम्प गएको भए उक्त पर्खालका आडमा शीतल खोज्न, खेल्न र खाजा खान झ्ुम्मिने धेरै बालबालिकाको ज्यान जोखिममा पर्ने थियो ।

लगनखेलको आसपासमा पनि चाहिनेभन्दा बढी सरकारी स्कूल खोलिएका छन् । कृषि उदय प्रावि, श्रमिक बालविज्ञान, प्रभात उमावि, श्रमजीत किशोर तथा नमुना मच्छिन्द्र उमाविको दूरी टाढा छैन ।

शहरमा हिजोको आवश्यकता अनुसार वा जथाभावी खोलिएका विद्यालयहरू आर्थिक भार, भूकम्पीय दृष्टिले जोखिमपूर्ण त छँदै छन्, त्यसभन्दा बढी भौगोलिक दूरीका हिसाबले पनि सान्दर्भिक हुन छाडेका छन् । २४ वैशाख २०७२ मा पाटन उमावि अगुवा स्रोतकेन्द्रमा आयोजित स्रोतकेन्द्र स्तरीय प्रअहरूको बैठकका सहभागी केही प्रअले पनि आफ्नो स्कूल भूकम्पीय जोखिम र भौगोलिक दृष्टिले उपयुक्त नभएको धारणा राखे । तिनले भूकम्पपछिको पुनर्निर्माण गर्नुअघि अब विद्यालय कहाँ, कसरी कायम राख्ने वा बनाउने भन्नेबारेमा नीतिगत र कार्यक्रमिक योजना जरूरी रहेको निचोड प्रस्तुत गरेका छन् । बैठकमा सहभागी श्रमिक शान्ति उमावि च्यासलका प्रअ उद्धवहरि अधिकारीले भने— “जनसंख्या अनुसार  कुन ठाउँमा कति स्कूल चाहिन्छन् भन्ने किटान गरी समग्र विद्यालय पुनर्संरचना गर्नुपर्छ ।”

सुरक्षित स्कूल
भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको एक अध्ययनले काठमाडौँ, भक्तपुर र ललितपुरका ८८० वटा स्कूल उच्च जोखिममा रहेको देखाएको छ, तीमध्ये २८० लाई भत्काएर फेरि बनाउनुपर्ने र बाँकीलाई भूकम्प खप्न सक्ने बनाउनुपर्ने खाँचो छ । स्कूल सुरक्षित नभएकै कारण शिक्षा विभागले उपत्यकाका सरकारी स्कूलका २८५ वटा भवनलाई भूकम्प खप्न सक्ने बनाउन डिजाइन गरेको छ भने अहिलेसम्म १६९ वटा स्कूल भवन भूकम्प खप्न सक्ने बनाइएका छन् । भूकम्पीय सुरक्षा कार्यक्रम अन्तर्गत रेक्ट्रोफिटिङ गरिएका उपत्यकाका कुनै पनि भवनमा यसपालिका भूकम्पले क्षति पु¥याएको छैन । उपत्यका बाहिरका २३ जिल्लाका १६० वटा विद्यालय भवनलाई भूकम्प सहन सक्ने बनाउन डिजाइन गरिएको छ भने केहीमा सोअनुसार निर्माण कार्य शुरू भएको छ । शिक्षा मन्त्रालयले २०६८ सालमा स्वीकृत गरेको गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालयको राष्ट्रिय प्रारूपमा पनि विद्यालय भवन बलियो र भूकम्प प्रतिरोधी हुनुपर्ने व्यवस्था गरिएको थियो । तर ५० प्रतिशतभन्दा बढी स्कूलले यो मापदण्ड पूरा गरेका छैनन् ।  

भूकम्पको असर
शिक्षा विभागले १२ वैशाखको भूकम्पले बाग्मतीका आठ सहित गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, ओखलढुंगा र रामेछाप आदि जम्मा १४ जिल्लाका विद्यालयमा सबैभन्दा बढी क्षति पुगेको ठहर गरेको छ । शिक्षा मन्त्रालयका डिज्यास्टर फोकल पर्सन तथा शिक्षा विभागको भौतिक शाखा प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झ्प्परसिंह विश्वकर्माका अनुसार यी १४ जिल्लाका ३७८४ स्कूल प्रभावित भएका छन् भने ३० हजार कक्षाकोठामा क्षति पुगेका छ । भूकम्पबाट बढी प्रभावित १४ जिल्लाका २ हजार १ सय ७ वटा शौचालयमा क्षति भएको छ भने ८०८ वटा कम्पाउण्ड वाल भत्किएका छन् ।

१२०८ खानेपानी प्रभावित भएका छन् भने पाँचवटा जिशिकाको भवनमा क्षति भएको छ । भूकम्पबाट शिक्षा क्षेत्रको लगभग पाँच अर्ब बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ । २९ वैशाखको भूकम्पले कहाँ कति क्षति पुगेको छ भन्ने पूर्ण विवरण आउन बाँकी छ । तर, यो भूकम्पले पनि दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा थप क्षति पु¥याएको छ ।

देशभरका २८ हजार सार्वजनिक स्कूलका करीव ८५ हजार भवन छन् । यीमध्ये करीव ५० प्रतिशत भवनले भवन संहिता पालना गरेर निर्माण गरेका कारण ती तुलनात्मक रूपमा सुरक्षित मानिएका छन् भने बाँकी ५० प्रतिशत स्कूल भवन असुरक्षित छन् । धेरै विद्यालय भवन असुरक्षित भएकै कारण एक वर्षअघि शिक्षा मन्त्रलयले ‘भिजनरी स्ट्राटेजी अफ डिजास्टर रिस्क रिडक्सन अफ स्कूल इन नेपाल’ नामक रणनीति स्वीकृत गरी असुरक्षित स्कूल भवनलाई सुरक्षित तुल्याउने नीति लिएको छ । आउँदो १० वर्षभित्र सबै स्कूललाई विपत् थेग्ने गरी सुरक्षित तुल्याउन करीव ६० अर्ब रुपैयाँ लाग्ने अनुमान शिक्षा मन्त्रालयले गरेको छ ।

तथापि शिक्षा मन्त्रालयको ध्यान यति बेला भूकम्पबाट क्षति भएका विद्यालयको क्षति संकलन गर्ने, बन्द विद्यालय सञ्चालन गर्ने र अस्थायी सिकाइ केन्द्र निर्माणको काममा गएको छ । यो स्वाभाविक पनि हो । किनभने बालबालिकालाई जति सक्दो छिटो विद्यालयमा फर्काउन सकिन्छ, त्यति नै उनीहरूमाथि भूकम्पले पारेको मनोसामाजिक असर कम गर्न सहज हुन्छ । शिक्षा विभागले भूकम्पको बढी असर झ्ेलेका १४ जिल्लाका स्कूलको प्राविधिक परीक्षणपछि मात्र बालबालिकालाई कक्षामा राख्ने वा नराख्ने निर्णय गरिने जनाएको छ । जेठको पहिलो सातासम्म उपत्यकाका तीन र काभ्रेका निजी तथा सरकारी स्कूलको स्थिति जाँच्न विभागले ४६ जना इञ्जिनियरको टोली खटाएको छ । त्यस्तै भूकम्प पीडितका लागि ३ अर्बको राहत योजना पनि शिक्षा मन्त्रालयले स्वीकृत गरिसकेको छ । कक्षाकोठा भत्केर पठनपाठन शुरू गर्न नसक्ने विद्यालयहरूमा ६ हजार ३ सय अस्थायी सिकाइ केन्द्र निर्माणका लागि त्यसको डिजाइन स्वीकृत गरी कार्यान्वयन गर्न लागिएको छ । अस्थायी सिकाइ केन्द्रसँगै २ हजार शौचालय पनि निर्माण गरिने भएको छ ।

भूकम्पपछि स्कूल शिक्षालाई सुचारु गर्न थालिएका तात्कालिक कामपछि सरकारको ध्यान विद्यालयको पुनर्निर्माणमा केन्द्रित हुनेछ । तर, अब भत्केका वा भूकम्पले क्षति पुगेका स्कूल निर्माणका काममा लाग्नुअघि देशलाई कति स्कूल जरूरी छ भन्ने किटान गरी विद्यालयको समग्र पुनर्संरचना गर्न पनि उत्तिकै जरूरी छ । त्यसो गर्दा अहिले एकै ठाउँमा रहेका धेरै स्कूल बन्द गर्ने, कमजोर भौगोलिक अवस्थामा रहेका स्कूल सुरक्षित स्थानमा सार्ने, धेरै स्कूललाई गाभेर सुरक्षित स्कूलमा रूपान्तरण गर्ने जस्ता सर्वाधिक महŒवका काम गरिनु आवश्यक हुन्छ । त्यसैले यसपालिको भूकम्पले शिक्षा मन्त्रालयलाई स्कूल पुनर्संरचनाका लागि नयाँ तरीकाले सोच्न, नयाँ योजना, नीति तथा कार्यक्रम तय गरी शीघ्र र प्रभावकारी कार्यान्वयन अभियान थाल्ने अवसर दिएको छ । दुर्लभै पाइने यस्तो अवसरलाई सदुपयोग गरी आवश्यक संख्यामा गतिला, बलिया र सुरक्षित स्कूल बनाउनु शिक्षा मन्त्रालयको अबको गन्तव्य  बन्नुपर्छ । अहिलेको भूकम्पले शिक्षाका सरोकारवालाई सिकाएको महŒवपूर्ण पाठ यही हो ।

commercial commercial commercial commercial