हाँस–खेल नै उपचार

भूकम्पले मानिसक पीडा झ्ेलिरहेका बालबालिकालाई सामान्य अवस्थामा फर्काउन हाँस–खेल र रचनात्मक क्रियाकलाप उपयोगी हुन्छन् । उनीहरूलाई सकेसम्म उही उमेर समूहका साथीसँगीसँग बस्न–खेल्न दिनुपर्छ ।

ललितपुरको आदर्श सौल माविको दशौँ कक्षाकी छात्रा दीपा तामाङले १२ वैशाखको भूकम्पमा आफ्नी मिल्ने साथी गुमाइन् । सो घटनापछि दीपा राम्रोसँग सुत्न सकेकी छैनन् । भूकम्पपछि विद्यालयमै आश्रय लिइरहेकी दीपा एक साता बिरामी नै परिन् ।

भूकम्पका कारण ८ जना शिक्षक र १७० जना बालबालिकाको मृत्यु भएको नुवाकोटका बालबालिकाहरूको अवस्था अझ् कमजोर छ भन्ने कुरा तथ्यांकले नै बताएको छ । १२ वैशाखको भूकम्प र त्यसपछिका पराकम्पनहरूका कारण सातो गएका बालबालिकाको मनलाई वैशाख २९ गतेको  दोस्रो ठूलो भूकम्पले अझ् कमजोर र त्रसित पारेको छ । भूकम्प भोगेका बालबालिकामा राति सुत्न नसक्ने, खान मन नगर्र्ने, एकोहोरिने, टाउको दुख्ने र एक्लै बस्न डराउने जस्ता समस्या देखिएका छन् ।

पहिलो भूकम्पका कारण सरकारले १५ दिनका लागि बन्द गरेका विद्यालयहरू वैशाख २९ गतेको भुइँचालो पछि अर्को १५ दिनका लागि बन्द भएका छन् । अर्थात्, उनीहरू थ्प केही साताका लागि विद्यालय गएर साथीभाइसँग खेल्ने र आफूले भोगेको पीडा सुनाउने अवसरबाट वञ्चित भएका छन् । भूकम्पले गरेको विनाशका नकारात्मक असरका समाचार र दृश्यले नकारात्मक असर परेको बालमस्तिष्कलाई आफ्नै घर, टोलछिमेकका घर र विद्यालयमा पुगेको क्षति र वीभत्स दृश्यले अझ् बिचलित पारेको छ ।

बालबालिकालाई सामान्य अवस्थामा ल्याएर पढाइमा तत्काल फर्काउन मनोसामाजिक परामर्श चाहिने मनोविद् एवं त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभागका उपप्राध्यापक खेम भट्ट बताउँछन् । “भूकम्पले असर पारेका सबै नानीहरूलाई चाँडै काउन्सिलिङ गर्न आवश्यक छ”, उनले भने, “४ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई यस्ता घटनाले अझ् गहिरो असर पार्न सक्छ । त्यसकारण समयमै मनोसामाजिक परामर्श दिएर बालबालिकालाई सामान्य अवस्थामा फर्काउनु जरूरी छ ।”
तर शिक्षा विभागका निर्देशक खगेन्द्रप्रसाद नेपाल भने शिक्षकलाई तालीम दिएपछि मात्रै विद्यार्थीलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन सकिने बताउँछन् ।

‘मनोसामाजिक परामर्श’ भनेर नै कुनै कार्यक्रम शुरू हुन नसके पनि केही विद्यालयले बालबालिकालाई आपसमा घुलमिल गराउने रमाइलो वातावरण दिएर भूकम्पको त्रासदी कम गराउने क्रियाकलाप शुरू गरेका छन् । तीन जना बालबालिकाको ज्यान गएको र पूरै बस्ती खण्डहर भएको ललितपुरको खोकना र बुङ्मतिमा विद्यालयहरूले आफ्नै पहलमा बालबालिकालाई काउन्सिलिङ शुरू गरेका छन् । २२ वैशाखमा स्रोतकेन्द्र स्तरीय प्रअहरूको बैठकपछि ज्ञानोदय स्कूलमा १० दिनसम्म रमाइलो गतिविधिका साथै भूकम्प आउँदा के गर्ने र कसरी बच्ने आदिबारे ज्ञान दिन शुरू गरेको छ । भारतको नयाँ दिल्लीबाट आएका अस्मिता थिएटरका कलाकारले भूकम्पको पीडा खेपिरहेका बालबालिकालाई हँसाउने गरेका छन् । सामुदायिक र संस्थागत विद्यालयका २ देखि १५ वर्षका १०० सय जना बालबालिकाहरूले त्यहाँ रचनात्मक र रमाइला क्रियाकलापमा रमाउने मौका पाएका छन् । ज्ञानोदय स्कूलका प्रिन्सिपल राजु गुरुङ अरू विद्यालयमा पनि यस्ता काम गर्न सके त्यसले बालमनोविज्ञानमा सकारात्मक असर पर्ने धारणा राख्छन् । बुङ्मतिस्थित पिस गार्डेनमा कक्षा ६ मा अध्ययनरत श्रीमन महर्जनले फरक फरक साथीसँग घुलमिल भई रमाइला गतिविधिमा भाग लिँदा भूकम्प बिर्सन सजिलो भएको बताउँछिन् । भूकम्पले बिचल्ली पारेपछि काठमाडौँको टुँलिखेलमा परिवारसँगै पालमा बसिरहेका बालबालिकालाई विभिन्न संघसंस्थाले खेल्ने, चित्र बनाउने र अन्य रचनात्मक क्रियाकलापमा संलग्न गराउने पनि गरेका छन् ।

भूकम्पबाट घाइते भई अस्पतालमा भर्ना भएका नानीहरूको शरीरिक पीडा उपचारबाट कम हुन्छ । तर मनको पीडा र डर भने कायम हुन्छ । राजधानीका ठूला अस्पतालमा भर्ना भएका घाइतेमध्ये अधिकांश बालबालिका छन् । त्यहाँ १८ जना बालबालिकालाई उपचारका साथै मनोसामाजिक परामर्श पनि दिइएको पाटन अस्पतालका प्रशासन अधिकृत लीलाराज पौड्यालले बताउँछन् ।

भूकम्पका कारण महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका ७ सय ८९ जना घाइतेमध्ये ८५ जना बालबालिका छन्, जसले कुनै परामर्श सेवा पाउन सकेका छैनन् । तर राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका ११ सय बिरामीमध्ये ८४ जना बालबालिकालाई उपचारपछि मनोपरामर्श दिइएको सोही अस्पतालकी स्टाफ नर्स विशाल उपाध्याय बताउँछिन् । ७

गोविन्द लुइँटेल

commercial commercial commercial commercial