संस्कृतका वर्णको नालीबेली

यस शृङ्खलाको प्रथम पाठ (शिक्षक वैशाख, २०७५) मा, संस्कृत भाषाको पृष्ठभूमि र पछिल्लो कालखण्डमा यो भाषाप्रति बढ्दै गएको लोकरुचिका सम्बन्धमा चर्चा गरियो । साथै, संस्कृतका वाक्यमा कर्ता, कर्म र क्रिया जता राखे पनि अर्थ एउटै निस्कने केही दृष्टान्त पनि प्रस्तुत गरिएको थियो ।

शृङ्खलाको यो दोस्रो पाठ मूलतः संस्कृतका वर्णको परिचय र प्रथमा विभक्तिको प्रयोगमा केन्द्रित रहेको छ ।

संस्कृत–वर्णमाला

वेदका ६ वटा अङ्गहरूमध्येको पहिलो अङ्ग शिक्षाशास्त्र हो । यसले वेदको र लौकिक संस्कृत भाषाको शुद्ध उच्चारण गर्न सिकाउँछ । संस्कृतमा प्रसिद्ध वर्णहरू तल लेखिए अनुसार छन्—

स्वर

अ आ इ ई उ ऊ ऋ ऋृ लृ लृृ (सामान्य स्वर)
ए ऐ (अइ्) ओ औ (अउ्) (सन्ध्यक्षर वा सन्ध्य स्वर)

व्यञ्जन

(स्पर्श—)                                                       (अन्तस्थ—)

क खग घ ङ                                                  य र ल व
च छ ज झ् ञ                                                  (ऊष्मा—)
ट ठ ड ढ ण                                                   श ष स ह
त थ द ध न                                                    (विशेष प्रकारका लिपि—)
प फ ब भ म                                                   क्ष (क्ष) ज्ञ (ज्ञ) त्र (त्र) ।

एक्लै पनि राम्ररी उच्चारण गर्न सकिने वर्णहरू स्वर भनिन्छन् । अ इ उ ऋ लृ ह्रस्व स्वर हुन् । यिनको उच्चारण छोटो समय लगाएर गरिन्छ । आ ई ऊ ऋृ लृृ दीर्घ स्वर हुन् । यिनको उच्चारण लामो समय अर्थात् ह्रस्वको भन्दा दोबर समय लगाएर गरिन्छ । ह्रस्व स्वर एक मात्राका र दीर्घ स्वर दुई मात्राका हुन्छन् । सन्ध्यक्षर पनि दुई मात्राका नै हुन्छन् । मात्रा भन्नाले अकार आदि स्वरको स्वाभाविकरूपले पूर्ण र सबैभन्दा छोटो रूपमा उच्चारण गरिएकोरूप अथवा त्यसका निम्ति लाग्ने समय भन्ने बुझन्छि । एउटै वर्णझै गरेर एकै प्रयत्नमा उच्चारण गरिने दुई स्वरको संयुक्त स्वरूपलाई सन्ध्यक्षर अथवा सन्ध्य स्वर भन्दछन् । जस्तै— ए ओ ऐ औ । नेपाली भाषाका ए र ओ भने सन्ध्य स्वर नभई एकै स्थानबाट उच्चारण गर्न सकिने सामान्य स्वर नै हुन् ।

व्यञ्जन वर्णहरूचाहिं स्वरको सहायता लिएर मात्र राम्ररी उच्चारण गर्न सकिन्छन् । व्यञ्जन आधा मात्राका हुन्छन् । स्वपूर्ववर्ती (आफूभन्दा अगाडि ) अकार वा अन्य स्वर वर्णसँग मिलेर मात्र व्यवहारमा आउन सक्ने वर्ण अयोगवाह हुन् । जस्तै—अंश, आंशिक, हिंसा इत्यादि शब्दमा अनुस्वार र प्रायः , हरिः , गुरुः इत्यादि शब्दमा विसर्ग अयोगवाह हुन् । अयोगवाह स्वतन्त्ररूपले उच्चारण गर्न सकिंदैनन् ।

जसको उच्चारण गर्दा करणले स्थानलाई राम्ररी छुन्छ त्यस्ता वर्ण स्पर्श भनिन्छन् । वर्ण उच्चारण गर्दा वर्णजनक वायु मुखभित्रका जुन स्थानमा ठोक्किएर जुन वर्णको उच्चारण हुन्छ त्यस स्थानलाई त्यस वर्णको उच्चारणस्थान वा स्थान भनिन्छ । मुखभित्रका कण्ठ, तालु, मूर्धा, दन्त इत्यादि वर्णका उच्चारणस्थान हुन् । वर्णोत्पत्तिका आधारभूत स्थानहरूमा वर्णजनक वायु ठोक्किने क्रिया पूरा गर्नमा अत्यन्त सहयोगी जे हुन्छ त्यसलाई चाहिं करण भन्दछन् । जिह्वाग्र (जिब्राको टुप्पो), जिह्वामध्य (जिब्राको मध्यभाग) इत्यादि वर्णका करण हुन् । कवर्ग देखि पवर्गसम्मका (क– देखि म–सम्मका) जम्मा पच्चिस वर्ण स्पर्श हुन् ।

जसको उच्चारण गर्दा स्थानलाई करणको छेउले अलिअलि मात्र छुन्छ त्यस्ता वर्ण अन्तस्थ भनिन्छन् । जस्तै— य र ल व ।

जसको उच्चारण गर्दा उच्चारणस्थानले र करणले पीडित वर्णजनक वायु सुसाउँछ र वर्णको स्व रूपमा त्यही सुसाहट प्रधान हुन्छ त्यो वर्णलाई ऊष्मा वा ऊष्मवर्ण भनिन्छ । श ष स ह ऊष्मवर्ण हुन् । हबाहेक उक्त तीन वर्णमध्ये तालु स्थानबाट उच्चरित हुने तालव्य श, मूर्धा स्थानबाट उच्चरित हुने मूर्धन्य ष तथा दन्त स्थानबाट उच्चरित हुने दन्त्य स भनिन्छन् । यिनको उच्चारणमा रहने विशेषता र भेद योग्य गुरुको प्रत्यक्ष उपदेशबाट राम्ररी बुझन सकिन्छ ।

परम्परागत नेपाली वर्णमालाका अन्त्यमा दिइने गरेका क्ष त्र ज्ञ वस्तुतः स्वतन्त्र वर्ण हैनन्, यी संयुक्त वर्णहरूलाई बुझाउने विशेष प्रकारका लिपि मात्र हुन् । यिनको बनोट यसप्रकार हुन्छ— क्+ष्+अ=क्ष, त्+र्+अ=त्र, ज्+ञ्+अ=ज्ञ । यी संयुक्त वर्णको स्वरूप अनुसार यिनलाई शब्दकोशमा राख्दा क्ष ज्ञ त्र यस क्रमले राख्नुपर्ने हुन्छ । त्यसैले वर्णमालामा पनि यही क्रम उचित देखिन्छ । शब्दकोशमा ‘क्लेश’ पछि क्षण, ‘जैमिनि’ पछि ज्ञान तथा ‘त्यागी’ पछि त्रपा इत्यादि प्रकारका शब्दहरू आउँछन् । श्र पनि लिपिविशेष मात्रै हो । तथापि यसलाई वर्णमालामा देखाउने गरिएको भने छैन । यसको संरचना यस्तो छ— श्+र्+अ=श्र ।

सामान्यतया अक्षर चिन्नु र उच्चारण गर्नु सरल कार्यजस्तो लागे पनि शिक्षाशास्त्र अनुसार कुनै पनि वर्णको स्थान, करण, प्रयत्न इत्यादिको ज्ञानसहित शुद्ध स्वरूप जान्नु कठिन कार्य हो । भाषाविद् मानिएका कतिपय व्यक्तिसमेत यसमा भ्रममा परिरहेका र वर्णविशेषको यथार्थ स्वरूप आकलन गर्न असमर्थ देखिन्छन् । पंच, पन्च र पञ्चमध्ये पञ्च मात्र शुद्ध हो, यसै गरी दंड दन्ड र दण्डमध्ये दण्ड मात्र सही हो

तर अनुस्वार, ञकार, णकार र नकारजस्ता कतिपय वर्णकोे सूक्ष्म स्वरूप र तिनको परस्पर उच्चारणगत भेदमा कतिपय भारतीय र नेपाली विज्ञहरू नै असावधान भइदिनाले अशुद्ध वर्णविन्यासको प्रयोग भइरहेको पनि देखिन्छ । कसैले त अं–अः लाई पनि भ्रमवश स्वर वर्ण भन्न पुगेका छन् । त्यसैले संस्कृत वर्ण र शब्द शुद्धसित उच्चारण गर्न र लेख्न योग्य गुरुबाट सर्वप्रथम ऋ ऋृ लृ लृृ अं अः ञ ण ब व श ष स क्ष ज्ञ इत्यादि वर्ण र अक्षरको यथार्थ स्वरूप बुझनु जरूरी छ । यस विषयको विस्तृत विवेचना ‘नेपाली वर्णो च्चारणशिक्षा’ नामको पुस्तकमा (शिवराज आचार्य, साझ प्रकाशन, २०३१) रराम्रोसँग गरिएको छ ।

प्रथमा विभक्तिको प्रयोग

नाम वा सर्वनाम वाक्यमा कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकका रूपमा प्रयुक्त हुन्छन् । नाम वा सर्वनाम बुझाउने शब्दसित जोडिने सु, औ, जस् इत्यादि प्रत्ययलाई विभक्ति भन्छन् । प्रथमा, द्वितीया तृतीया, चतुर्थी, पञ्चमी र सप्तमी विभक्तिले क्रमशः ती कारकलाई बुझउँछन् । षष्ठी विभक्तिले चाहिं सम्बन्ध बुझउँछ ।

प्रथमा विभक्तिको र क्रियापदको वाक्यमा प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुरा तलका उदाहरणबाट जान्न सकिन्छ । तलका नौथरी वाक्यको प्रयोग बुझेपछि अन्य वाक्यको प्रयोग बुझन सजिलो हुन्छ । तल प्रथम, मध्यम र उत्तम पुरुषका एकवचन, द्विवचन र बहुवचनका क्रियापदको वाक्यमा प्रयोग गरिएका छन् । प्रथम पुरुषका उदाहरणहरूचाहिं क्रमशः पुँल्लिङ्ग स्त्रीलिङ्ग र नपुंसकलिङ्गमा दिइएका छन् । यी वाक्यहरूको सकेसम्म बढी अभ्यास गर्नु उचित हुन्छ—

बालकः पठति । (एक बालक पढ्छ ।)
बालिका पठति । (एक बालिका पढ्छे ।)
मित्रम् पठति । (एक मित्र पढ्छ ।)

बालकौ पठतः । (दुई बालक पढ्छन् ।)
बालिके पठतः । (दुई बालिका पढ्छन् ।)
मित्रे पठतः । (दुई मित्र पढ्छन् ।)

बालकाः पठन्ति । (धेरै बालक पढ्छन् ।)
बालिकाः पठन्ति । (धेरै बालिका पढ्छन् ।)
मित्राणि पठन्ति । (धेरै मित्र पढ्छन् ।)

त्वम् पठसि । (तिमी पढ्छौ ।)
युवाम् पठथः । (तिमीहरू दुई जना पढ्छौ ।)
यूयम् पठथ । (तिमीहरू धेरै जना पढ्छौ ।)

अहम् पठामि । (म पढ्छु ।)
आवाम् पठावः । (हामी दुई जना पढ्छौं ।)
वयम् पठामः । (हामी धेरै जना पढ्छौं ।)

यसै गरी अन्य वाक्यहरू पनि बनाउन सकिन्छन् । जस्तै— छात्रः लिखति (लेख्छ) । छात्रागच्छति (जान्छे) । शिशुः खेलति (खेल्छ) । भ्राता हसति (भाइ हाँस्छ) । इत्यादि ।

(जिज्ञासा वा स्पष्टीकरणका निम्तिः  amoda67@hotmail.com; Twitter: @amoda67 )

commercial commercial commercial commercial