तीन महीनादेखि बन्द विद्यालय अब त खुल्लान् कि !

मधेस केन्द्रित दलहरूको आन्दोलनका कारण ३० साउन २०७२ देखि अवरुद्ध मध्यतराईका विद्यालयहरूको पठनपाठन छठ पर्वपछि शुरू हुने अपेक्षा धेरैले गरेका छन् । केही जिल्लाको पढाइ दशैँ–तिहारपछिदेखि नै चल्न थालिसकेको छ । विद्यालय सञ्चालन गर्ने दबाब सर्वत्र बढ्दै गएको छ । पेशागत धर्मका दृष्टिले कक्षा चलाउन सबैभन्दा बढी अग्रसर हुनुपर्ने शिक्षकका संघ–संस्था र तिनका नेताहरू यो मामिलामा सबैभन्दा कमजोर र पछाडि देखिएका छन् ।

श्रवणकुमार देव, राजविराज; सुरेश बिडारी, वीरगञ्ज

सर्लाही : सर्लाहीमा दशैँपछिदेखि नै अधिकांश स्कूल सञ्चालनमा आइसकेका छन् । “धेरै प्रयासपछि पढाइ शुरू गराउन सफल भयौँ,” जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले भने, “पेशागत संघ–संगठनका पदाधिकारी र शिक्षाप्रेमीलाई अगाडि सारेर बैठक बसाएपछि आन्दोलनकारी विद्यालय खोल्न सहमत भएका हुन् ।” उनका अनुसार पूर्व–पश्चिम राजमार्गसँग जोडिएका गाउँका विद्यालयहरू १० देखि ४ बजेसम्म नै सञ्चालन हुँदै आए पनि बढी आन्दोलन हुने भित्री गाउँहरूमा बिहान ६ देखि १० बजेसम्म कक्षा चलेका छन् ।

सिरहा : यहाँ ३ मंसिरदेखि पठनपाठन शुरू हुने बताइएको छ । १९ कात्तिकमा जिल्ला प्रशासन कार्यालयको पहलमा भएको सर्वपक्षीय, बैठकले तत्काल कक्षा सञ्चालन गर्ने सहमति गरेको भए पनि यसबीचमा कक्षा सञ्चालन भएनन् । “बीचमा चाडपर्वले केही प्रभाव पा¥यो,” शिक्षक महासंघ, सिरहाका अध्यक्ष सकलदेव यादवले भने, “तर ३ मंसिरदेखि सम्पूर्ण विद्यालयहरू सञ्चालनमा आउनेछन् ।”

रौतहट : राजमार्ग दक्षिणका विद्यालय खुल्ने टुंगो अझ्ै लाग्न सकेको छैन । “छठपछि खुल्ने आशा लिएका छौँ,” रौतहटका सहायक शिक्षा अधिकारी रामदरेश यादवले भने, “२ मंसिरमा संघ–संगठन, शिक्षाका सरोकारवालाहरूसँग छलफल राखेका छौँ । यो छलफल सकारात्मक हुने विश्वास छ ।”

महोत्तरी : यहाँ पनि धेरैजसो विद्यालय पछिल्लो तीन महिनादेखि ठप्प छन् । छठपछि स्कूल खुल्ने आसमा बसेका जिल्ला शिक्षा अधिकारी शत्रुध्न यादव विद्यालय खोलाउन बारम्बार प्रयास गरे पनि सफल हुन नसकेको बताउँछन् ।

धनुषा : यहाँका विद्यालयहरूको पनि अवस्था महोत्तरीको जस्तै छ । धनुषाका शिक्षा अधिकारी उपेन्द्र मण्डल प्रमुख जिल्ला अधिकारीको निवासमा दशैँ लगत्तै चियापान कार्यक्रम गरी सरोकारवालाहरूलाई बोलाएर विद्यालय खोलाउन पहल गरे पनि सफल हुन नसकेको विवरण सुनाउँछन् । “धेरै पटक औपचारिक र अनौपचारिक छलफलहरू ग¥यौँ,” उनले भने, “तर विद्यालय खोलाउ सकिएन ।”



सप्तरी : सप्तरीका बन्द विद्यालय खोल्न छठ सकिइसक्तासम्म पनि कुनै किसिमको पहल गरिएको छैन । बन्द शुरू भएसँगै शिक्षा अधिकारी लक्ष्मी भट्टराईसहित शिक्षा कार्यालयका धेरै कर्मचारी जिल्लाबाटै हराएका छन् । शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डल ‘धेरै पटक प्रयास गरे पनि विद्यालय खोलाउन नसकिएको’ बताउँछन् । यहाँका निजी विद्यालयहरू भने दशैँअघिदेखि नै कोचिङको रूपमा बिहान ६ देखि १० बजेसम्म सञ्चालनमा रहेका छन् ।

पर्सा : आन्दोलनका कारण पर्साका ३० प्रतिशत मात्रै विद्यालय बन्द रहेको दाबी यहाँका शिक्षा अधिकारी रामविनय सिंहको छ । उनले भने, “वीरगञ्ज र आसपासका गरी जिल्लाका ३० प्रतिशत विद्यालय मात्रै बन्द भएका हुन् । ती विद्यालय खुलाउन पनि हामीले पटक पटक पहल गरेका थियौँ तर सफल भएनौँ ।” बन्द रहेका विद्यालयले पनि ‘आउट ड्रेसमा’ ९ र १० कक्षाको पढाइ सञ्चालन गरेको उनको भनाइ छ । आन्दोलनरत दलहरूसँग भएको छलफलमा छठपछि सबै विद्यालय सञ्चालन हुने सहमति भएको जानकारी पनि उनले दिएका छन् । “विद्यालय खोल्ने घोषणा त गर्दैनौँ तर छठपछि पनि समस्या समाधान भएन भने विद्यालय खोले हुन्छ भनेर दलहरूले भनेका छन्,” जिशिअ सिंहले अगाडि भने ।

बारा : बाराको उत्तरी क्षेत्रमा रहेका करीब ३० प्रतिशत विद्यालय नियमित रूपमा सञ्चालनमा रहेका छन् भने दक्षिणी भेगका प्राय: स्कूल बन्द अवस्थामा छन् । एउटै जिल्ला भए पनि बाराको उत्तरी र दक्षिणी क्षेत्रका विद्यालयको अवस्थामा आकाश–जमिन अन्तर छ । मधेस आन्दोलनबाट आफ्नो विद्यालयमा कुनै असर नपरेको र दोस्रो त्रैमासिक परीक्षा चलिरहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदन; डुम्बरवानाका अध्यक्ष विदुर खड्का बताउँछन् ।

त्यति मात्र होइन; आन्दोलनको समर्थनमा पटक पटक विज्ञप्ति निकालेका नेपाल शिक्षक महासंघ बाराका अध्यक्ष भरत साह प्रधानाध्यापक रहेको गढीमाई नगरपालिका वडा नं. १६ स्थित मौवादेवी माविमा पनि पढाइ रोकिएको छैन । साहले आफ्नो विद्यालय पहाडी समुदायको बाहुल्य भएको क्षेत्रमा परेकाले चलिरहेको बताए ।

तर बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी भने जिल्लामा ५० प्रतिशत विद्यालय सञ्चालनमा रहेको बताउँछन् । भण्डारीले भने, “सीमा क्षेत्रका विद्यालय बाहेक अन्य क्षेत्रका विद्यालय सञ्चालनमा छन् ।” बन्दका कारण जिल्लाको शैक्षिक क्यालेन्डरमा असर परेको उनले स्वीकार गरे । बारामा करीब ५ सय सामुदायिक र निजी विद्यालयमा ८० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको शिक्षा कार्यालय, बाराका शाखा अधिकृत अशोक रौनियारले बताए ।

commercial commercial commercial commercial