संकोची विद्वान् विष्णुप्रसाद धिताल

‘सब्बै छाडी पुच्छराँ हात’ भन्ने उखान नेपालीमा किन चल्यो मलाई थाहा छैन, तर त्यो मलाई जस्तै अप्ठ्यारो पर्दा भन्नलाई होला । यहीँ हेरूँ न ! कत्राकत्रा कवि, महाकवि, राष्ट्रकवि र स्वनामधन्य लेखक साहित्यिकहरूलाई छाडेर यो क.दी.ले कसैले नचिनेको व्यक्ति कसरी छान्यो भन्नुहोला शिक्षक का सम्पादक र पाठकहरूले पनि । त्यति बेला मैले भन्नुपर्नेछ— ‘विष्णुप्रसाद धिताल नाम नचलेका त हुन् तर साना कवि या लेखक चाहिँ होइनन्’ । नेपाली, संस्कृत र अंग्रेजी तीनै भाषाका विद्वान् विष्णुप्रसाद नेपालीका अतिरिक्त संस्कृतमा पनि कविता लेख्थे । बालकृष्ण सम समेत विष्णुप्रसादलाई यदुनाथ खनालका कोटीका विद्वान् मान्थे । यो म कसरी भन्न सक्छु भने एक पटक ‘चिसो चूल्हो’ को प्रसंगमा कुरा चल्दा त्यसभित्रको कवि सम्मेलनको चर्चा भयो । त्यसमा ‘नक्कल’ गरिएका कविहरू कुन कुन हुन् भनेर मैले जिज्ञासा राख्तै जाँदा ‘भा आ, मा जा’ भनी एकाक्षरी छन्द गाउने कविमा पुग्दा समजीको भनाइ थियो— ‘त्यो चार अक्षरको कविता बनाउँदा यदुनाथ खनाल, विष्णुप्रसाद धिताल जस्ता दुवै भाषाका विद्वान् कविहरू मेरो मनमा आएका थिए ।’

यति भूमिका बाँधेपछि अब बाटो फुक्यो होला मेरो जीवनमा विष्णुले (अब म यहाँ ‘विष्णु’ मात्र भनेर सम्बोधन गर्छु उनलाई) के र कति प्रभाव पारे अनि कसरी पारे भन्ने विषयमा स्पष्ट पार्न । पैले नयाँ कुरा क्यै नभनी, मैले अघि नै यसबारे के भनिसकेको रहेछु, त्यही हेरौँ । २०४० सालमै मैले लेखी छापिइसकेका कुरा ‘कोट’ गर्दै २०६० सालमा विष्णुको ‘अर्को नी’ मा भूमिका जस्तो गरी मैले लेखेको रहेछु :

“विष्णु दरबार स्कूलमा भर्ना भएदेखि म उनीसँग नै बढ्ता लागेँ । केशरजङ (रायमाझ्ी) लाई विष्णुसँग एउटै ‘रीस’ थियो, ‘कमलमणिलाई मसँगबाट खोस्यो धितालले’ भन्थे उनी पछिसम्म । तर विष्णुको सम्पर्कले नै मलाई ऐलेको कमल दीक्षित बनायो । मभन्दा चार वर्ष जेठा भएका र घरको पनि चिनजान भएकाले उनले मलाई घप्लक्क ढाकिदिए— मेरो साथीभन्दा बढ्ता गार्जियन भएर । पढ्नुपर्छ, लेख्नुपर्छ भन्ने मलाई सिकाउने ‘गुरु’ नै उनी हुन् । नेपाली भाषा शुद्ध लेख्न मैले उनैबाट सिकेँ । साहित्यको प्रेम पनि । यो पहिल्यै भनिसकेको कुरा हो ।”

माथि ‘पहिल्यै भनिसकेको कुरा’ मात्र भनेर छाड्दा पढ्नेहरूलाई छल गरे जस्तो हुँदो रहेछ । त्यसैले यो प्रसंग सांगोपांग नै मैले बताउनुपर्ने भयो । त्यसै हुँदा म ‘रूपरेखा’ (२०२६) बाटै सार्छु :

“संवत् २००० सालतिरको कुरा हो, विष्णु र म घाममा बसेर स्कूलको वार्षिक परीक्षाका लागि पढ्दै थियौं । हलकराले चिठीहरू ल्यायो । चिठीका साथमा एउटा बूक–पोष्ट पनि थियो । हिन्दीका ‘कल्याण’ जस्ता पत्रिकाहरू आइरहन्थे, क्यै होला भनेर खोली हे‍¥यौं । गजब ! ‘नेपाली मासिक पत्रिका’ लेखेको छ, नाम छ ठूलठूला अक्षरमा ‘उदय’ भन्ने । नेपालीमा पत्रिका भनेपछि ‘शारदा’ एउटा देखेका थियौं हामीले । हिन्दुस्थानबाट पनि नेपालीमा पत्रिका निस्कन सक्छ भनेर हामीले विचारै गरेका रहेनछौं । त्यो ‘उदय’ देख्दा हामीलाई त्यही वेला भगवान्ले स्वर्गबाट सोझ्ै झरिदिए जस्तो लागेको थियो ।

‘शारदा’ मा ठूलठूला नाम चलेका लेखकहरूका लेख मात्र छापिने र त्यो ‘उदय’ मा चाहिँ धेरै नाम नसुनिएका लेखकहरूका पनि कविता छापिएको देखेर हामी झ्न् अचम्ममा प¥यौं । आशाको सानो आँकुरो पनि पलायो हाम्रो मनमा— हाम्रो कविता पनि छापिदिन्छ कि भन्ने । त्यस दिन हाम्रो पढाइ भएन । कवि बन्ने धूनले हामी दुवै जना ठिटा आकाशमा पुगेका थियौं । सहपाठी भए पनि विष्णु मभन्दा चार वर्ष जेठा, पढाइमा पनि संस्कृतमा शास्त्री गरिसकेकाले मेरा गुरु जस्ता थिए । उनले मलाई छन्दका रगण मगणहरूको ज्ञान गराइदिएका थिए र छन्दको मिठास र कविताका स्वादमा पल्काइदिसकेका थिए । उनले भने— “हामी पनि कविता पठाऊँ ।” तोटक छन्दको गण उनैले लेखिदिए— ननना ननना ननना ननना । भने— “सजिलो छ, त्यसैमा लेखे हुन्छ ।” उनले आफूले चाहिँ आर्या, पृथ्वी या कुनै छन्द छाने, गाह्रो चाहिँ ।

मलाई विषयले पि¥यो त नभनूँ किनभने विषय पहिले लिएर कविता बनाउनुपर्छ भन्ने मलाई थाहै थिएन । तर त्यो गणमा मिल्ने शब्द चाहियो— त्यही ठूलो पीर प¥यो । मनमनमा ननना ननना गर्दागर्दै एउटा लाइन मिल्यो— ‘फुरफर फुरफुर फुरफुर फुरफुर’ अर्थ केही नभए पनि एक पाउ त बन्यो, मेरो रामायणको ‘एक् दिन नारद’ त लेखियो कि ! म दंग थिएँ किनभने दोस्रो लाइन पनि गाह्रो थिएन, त्यही दोहो¥याइदिए भैहाल्ने ! दुई लाइन कविता बनिहाल्यो—
“फुरफुर फुरफुर फुरफुर फुरफुर
फुरफुर फुरफुर फुरफुर फुरफुर ।
विष्णुले हेरे र भने— “खालि फुरफुर गरेर हुन्छ ? भर्ब राख्नु पर्दैन ?” इत्यादि ।
यसरी ठोकपिट गरेर विष्णुले बनाएका हुन् मलाई कवि र साहित्यिक । उनलाई म मेरो जीवनमा नयाँ मोड या परिवर्तन ल्याइदिने कवि हुन् भनेर कसरी नभनूँ । तर म यहाँ विष्णुप्रसाद धितालको विरुदावली गाउन सक्तिनँ । त्यो गर्ने ठाउँ होइन यो । तर उनका बारेमा जान्न चाहनेले २०७१ साल चैतमा प्रकाशित ‘विष्णुप्रसाद धिताल स्मृति ग्रन्थ’ (मपुपु नं. २३००) हेरे हुन्छ । त्यसमा जयदेव भट्टराईले २०५५ सालमा उनीसँग लिएको अन्तर्वार्ताका आधारमा गोरखापत्र मा लेखेको एउटा अंश यहाँ उद्धृत गर्नु मलाई उपयुक्त लाग्यो । त्यसमा लेखिएको छ ः “आफ्ना बितेका दिनहरूबाट कुनै पश्चात्ताप गर्नुपर्ने अवस्था नरहे पनि साहित्यिक क्षेत्रमा त्यति योगदान दिन नसकेकोमा भने उहाँ चुकचुकाउनु हुन्छ । भन्नुभयो, “विद्यार्थी अवस्थामा जत्तिकै साहित्यिक क्षेत्रमा लागेको भए म ठूलै लेखक बनिसक्थें, तर साहित्यमा मात्र लागेर बसेको भए मै स्वास्नी छोराछोरी राम्ररी पाल्न सक्तिनथें, छोराछोरीलाई राम्ररी पढाउन सक्तिनथें होला । त्यसो त जागिर खाएर पनि साहित्य सेवालाई निरन्तरता दिनेहरू नभएका होइनन् तर नढाँटीकन भन्नुपर्दा ममा भएको हीनताबोध (स्तरीयताको निरन्तरता हुन्छ कि हुँदैन भन्ने शंका) ले मैले लेखेर पनि आफ्ना रचनाहरू त्यति छाप्न सकिनँ” इत्यादि ।

विष्णुको यो आत्मालोचना पढिसकेपछि जल्लाई पनि लाग्नेछ— नेपाली साहित्यलाई कत्रो ड्याग लागेछ !

(नोटः विगत डेढ वर्षदेखि चलिआएको यो स्तम्भको यही अंकदेखि अन्त्य भएको जानकारी गराइन्छ । – सम्पादक)

commercial commercial commercial commercial