तीन लघु निबन्ध

काउछाको माला

हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौं । तिमी भने दिनानुदिन टुसाउँछौ । हामी अझ् चाम्रिंदै होचिन्छौं । तिमी भने उम्रेर झयाङ्गिन्छौ । तिम्रो बुद्धि पलाइरहेझ्ैं छ । हाम्रो शुद्धि हराइरहेझ्ंै छ । अरू वेला हप्काउँछौ; थर्काउँछौ; त्यत्तिले नपुगे तर्साउँछौ । तर, चुनावमा भने हाम्रो ‍औंठाछाप लिन गुलिया आश्वासन वितरण गर्छौ । हामी मक्ख पर्छौं र, अन्तिम पटक भन्दै आफ्नो नागरिक अधिकार तिम्रा नाममा हवाला गरिदिन्छौं ।

जितेपछि तिमी जिताउनेलाई नै बिर्सन्छौ । जिताएको भूमिलाई समेत पराइ ठाउँ सम्झ्न्छौ । तिमीलाई जिताउँदा पनि उही भयो । हराउँदा पनि त्यही भयो । मन मिल्दा हिजोसम्म शत्रु ठानेकासित समेत घाँटी जोडिएको कुरा गर्छौ । मन भाँडिंदा पानी बाराबार गर्छौ । अझ्, आफ्नो स्वार्थको घैंटो रित्तियो भने बन्द–हडताल, धर्ना–अनशनको परिपञ्च रच्छौ । थपडीका लागि बेसुर हुन्छौ । सञ्चारमाध्यमले तिम्रो सक्कली तस्वीर सार्वजनिक गर्छन् । जगत तिमीलाई टेढा आँखाले हेर्न थाल्छ । अनि, रक्षाकवच धारण गर्ने सुरले योे पत्रकारको मनपरी हो भन्छौ । आफूलाई सधैं सत्यको राजमार्ग ठान्छौ । हामीलाई भने बेसुरा रागमा रमाउने जमात सम्झ्न्छौ ।

यद्यपि तिम्रो फैलँदो स्वरूप स्वीकार्न तत्पर रहन्छौं । परोक्षमा तिमीलाई ‘काउछो’ भने पनि त्यसकै माला पहिरिन तत्पर छौं । हामी तिम्रो उज्यालो मुहार हेर्न लालायित छौं । हामीले तिम्रै मुस्कानलाई देशको गौरव ठानेका छौं ।

मुस्कानको बढोत्तरी

गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन शहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रूखोसुखो खान्छ । विस्तरामा पल्टन्छ । गरीबीले पोल्न थाल्छ । विचारहरू युद्धमैदानमा उत्रन्छन् । शरीर झ्न् भारी हुन्छ । मन अस्थिर हुन्छ । कहिल्यै अघाउँजी जीवन नभोगी बित्ने हो कि भन्ने त्रासले तर्सन्छ । निकै बेरको गलफत्तीपश्चात् मन स्थिर बनाउँछ । र, सुनसान रातलाई अँगालो हालेर आनन्दमा डुब्छ ।

भालेको डाकोसँगै उठ्छ । घरायसी कामकाज फस्र्योट गर्छ । त्यसपछि भने शहर पुग्ने रीतिलाई पुनरावृत्ति दिन्छ । तलब पाएको दिन चाहिं थोरै मुस्कुराउँछ । गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छ । उसकी पत्नी पनि फिस्स हाँस्छिन् । बच्चाहरूको मुहारमा समेत हरियाली नाच्न थाल्छ ।

लुम्रे साथीहरूको साथको प्यारो छ । यदाकदा मुस्कान बढोत्तरीमा ऊ मधुशाला पुग्छ । त्यहाँ पुग्दा जिम्मेवारी भुल्दै जान्छ । पहिला साथीहरूको पकेट रित्तिंदै जान्छ । पछि ऊ स्वयम् रित्तिन्छ । बेसुरपन बढ्दै जान्छ । उधारो थपिंदै जान्छ । साहुनी टाढिंदै जान्छे । रात छिप्पिंदै जाँदा ऊ सटर बन्द गर्छे र आ–आफ्नो निवासस्थानतर्फ लम्कन्छे ।

लुम्रे पनि हल्लिंदै र लर्बरिंदै घर पुग्छ । पत्नीले सातो लिन्छिन् । ऊ विल्कुलै डग्दैन । युद्धमैदानको दुर्योधनको रूपमा खरोसाथ उभिन्छ । भिडन्त केही बेर चल्छ । जोई–पोईको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा त्यसै छाडिदिन्छ । भोलिपल्ट बिउँझ्दा उठ्नै नसक्ने गरी शरीर दुखेको भेट्छ ।

ऊ लाजले घोसेमुन्टो लगाएको लगाएकै गर्छ । श्रीमती चेतावनीको आवाज निकाल्छिन्– “यस पटकलाई केही भन्दिनँ । फेरि ठाडो घाँटी लगाउने हो भने चाहिं म छाडेर माइत हिंड्छु ।” ऊ बोल्न सक्तैन आँखाले नै सरी भन्छ । लोग्नेले त्यसरी लाचार भएर माफी मागेको उसकी श्रीमतीलाई मन पर्छ । ऊ माफी दिन्छे । माया गर्छे ।

उसलाई श्रीमतीको त्यस्तो मायाको भोक हप्ता दश दिनमा सधैं लाग्ने गर्छ ।

हैकमी परम्परा

जम्लाहात त भेट्नासाथ गर्नुपर्छ । काम परे चाकरी गर्नुपर्छ । अलि ठूला काममा त्यतिले पनि भ्याउँदैन, लाभको बाँडफाँड गर्ने उदारता छैन भने ढोका नढकढक्याउँदै बेस हुन्छ । किनभने जति नून थपे पनि अलिनै हुन्छ । जति मिश्री घोले पनि तीतै बाँकी रहन्छ । जति भर्न खोजे पनि उसको झेला आधाको आधै रहन्छ ।

सुटबुट उसकै छ । मीठो–मसिनो उसकै थालीमा पर्छ । धाक–धक्कू र सोर्सफोर्स उसैले पालेको छ । तलदेखि माथिसम्म उसकै पहुँच छ । त्यसैले त ऊ अग्लामा बसेको छ । उसको ‘हुन्छ’ मा हुने र ‘हुँदैन’ मा नहुने भएकाले उसको जिब्रोको तौल साह्रै बढेको छ ।

एउटा हातमा गह्रौं सामान बोकेको छ भने पनि उसलाई जम्लाहात नै गर्नुपर्छ । उसलाई ‘तपाईं’ को आदर अपमानजनक लाग्छ, हजुर भन्नै पर्छ । उसलाई प्रश्न मन पर्दैन, बिन्ती मनपर्छ । उसलाई यति साह्रो मानमनितो किन चाहिएको होला भनेर म सधैं चकित थिएँ । एकदिन ऊ उसको हाकीमसित बोलेको देखें । खुशी लाग्यो, ऊ हामीबाट जे लिन्छ, आफ्नो हाकीमलाई त्यसको दश गुणा बढी बुझउँछ ।

महावीर मावि, विषहरिया–४, सप्तरी

commercial commercial commercial commercial