विज्ञान शिक्षणको नाजुक अवस्था

विज्ञान प्रमाणमा आधारित ज्ञान । अवलोकन, खोज, अनुसन्धान, व्याख्या विश्लेषण, प्रयोग, परीक्षण पछि प्राप्त हुने तथ्यपूर्ण ज्ञान । अन्धविश्वासको अन्धकार चिर्ने, अपसंस्कृति र रुढिवादी सोचलाई प्रमाणका आधारमा पराजित गर्ने ज्ञान । निरन्तर परिमार्जित र परिस्कृत हुँदै जाने र सत्य मात्र स्वीकार्ने ज्ञान । प्रकृतिमा विद्यमान रहस्यहरूको उद्घाटन गर्दै किंवदन्तीमा भौंतारिएको अवास्तविक ज्ञानलाई विस्थापित गर्दै सत्य स्वीकार्न सहयोग गर्ने खारिएको ज्ञान । विज्ञानको यो महत्वलाई स्वीकार्दै विश्वका सबै मुलुकमा विद्यालय तहको शिक्षामा विज्ञानलाई अनिवार्य विषयको रूपमा पाठ्यक्रममा समावेश गरेका छन् । हुन पनि शिक्षार्थीमा वैज्ञानिक चेतना जागृत हुन सक्यो भने समाज मा विद्यमान अनेकन् सामाजिक समस्याको सहज समाधान निकाल्न सजिलो पर्दछ

अवैज्ञानिक चिन्तन तथा अन्धविश्वासमा जकडिएको समाज मा जाति–पाति, छुवाछूत, रंग, लिङ्गभेद, साम्प्रदायिकता, बोक्सी, भूतप्रेत, भाग्य, धर्म–कर्म आदिले अड्डा जमाएर बसेका हुन्छन् । यिनै आधारमा समाज विखण्डित, अशान्त र असभ्य बनिरहेको हुन्छ । चेतनाको अभावले नै धामीझँक्री, फुकफाकमा भर परेर अनाहकमा मानिसले शारीरिक मान सिक पीडा भोग्नुका साथै ज्यान समेतगुमाउनु परिरहेको हुन्छ । यही अचेतनताले गर्दा नै दाइजो, बालविवाह, धार्मिक साम्प्रदायिक दंगा, अनमेल विवाह, चेलीबेटी बेचविखन, वन्यजन्तुहरूको चोरी शिकार, धर्मका नाममा आर्थिक तथा यौन शोषण भइरहेका हुन्छन् । यस किसिमका विकृतिहरू विद्यमान रहेको समाज लाई सभ्य समाज भन्न सकिन्न ।

यहाँनेर प्रश्न उठ्दछ, के विद्यालयमा हुने विज्ञानको पढाइले समाज मा विद्यमान विकृतिको अन्त्य गर्न सक्दछ त ? के धार्मिक कट्टरता, साम्प्रदायिक चिन्तन, दाइजो प्रथा, बाल तथा अनमेल विवाह, बोक्सी, धामी, भूतप्रेत,ग्रहदशा, छाउपडी आदि विसंगति विद्यालय तहको शिक्षा पनि प्राप्त न गरेकाहरूसम्म मात्र सीमित हुन् त ? अवश्य होइनन् । राजधानीसँग जोडिएको जिल्ला काभ्रेमै माध्यमिक विद्यालयमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकले एक महिलालाई बोक्सी भन्दै कुटी–कुटी मारेको घटनाले भर्खरै वर्ष दिन पूरा गरेको होला । तराईतिर का प्रायः इन्जिनियर, डाक्टर भएकाहरू जसले विज्ञान विषय कम्तीमा ६–७ वर्ष त पढेकै हुन्छन्, तर विवाहको वेला आफ्नी जीवनसाथी प्राप्त गर्ने जस्तो कुरा मा आफ्नो पढाइमा भएको लगानीको चौबर रकम दुलहीका बाबुसँग दाइजो माग गर्ने नत्र विवाह न गर्ने मा उनीहरू नै हुन्छन् । श्रीमतीले दाइजो नल्याएको वा कम ल्याएको निहुँमा नवविवाहिता पत्नीलाई मट्टीतेल खन्याएर आगो झेस्न पछि नपर्ने पनि यस्तै विज्ञान विद्वान हुन सक्छन् ।

घाँटीमा जन्तर र कम्मरमा बुटी बाँधेका, मोटो टुप्पी पालेका, निधारमा लम्बे टीको र दाहिने हातमा रंगीन रक्षाबन्धन बेरेका, हातमा तान्त्रिक औंठीहरू लस्करै लगाएका, पाखुरामा हात्तीको पुच्छरको रौं सुनले मोरेर लगाएका, गर्द नमा मोटो सुनको सिक्री लट्काएका, आफ्नोग्रहदशा, भाग्य, भविष्य थाहा पाउन चिना बोकेर ज्योतिष तथा माताकोमा धाउने, राशिफलमा रमाउने वा दिक्किनेमा स्नातक स्नातकोत्तरको संख्या पनि अनुमान गरिएको भन्दा अचाक्ली धेरै छ । आफूलाई वैज्ञानिक भौतिकवादी दर्शनका अनुयायी भन्नेहरू पनि माताका चरण स्पर्श गर्न र ज्योतिषबाट भविष्यको टुंगो लगाउन धाउने गरेका देखिन्छन् जो अनपढ अवश्य होइनन् ।

विज्ञान जस्तो यथार्थ ज्ञान पाएकामा पनि यस्तो भीरु प्रवृत्ति कसरी देखा परयो ? यो उत्तरको खोजी गर्न विद्यालयका कक्षाकोठामा पुग्नुपर्ने हुन्छ । हाम्रा अधिकांश विद्यालयका विज्ञान कक्षाहरू कथा, कविताका कक्षा जस्तै छन् । व्यावहारिक हिसाबले विज्ञान त्यहाँ शिक्षण वा सिकाइ गर्ने कुरा असम्भव प्रायः छ । प्रदर्शन विधिसम्मको प्रयोग पनि विरलै छ । प्रयोगशालामा रहेका वैज्ञानिक उपकरणहरूमा थुप्रिएको धूलोको मोटाइबाट पनि त्यसको प्रयोग कत्तिको हुने गरेको रहेछ भनेर सजिलै अनुमान गर्न सकिन्छ । महँगा उपकरणहरूमा खियाको रजाइँ चलिरहेको, रासायनिक यौगिकको बिर्कोको सिल नै सुरक्षित रहेको अवस्थामा रसायनको म्यादगुज्रिसकेको, बोतलमा टाँसिएका लेबलहरू उप्किएका वा अक्षरहरू मेटिइसकेकाले कुन वस्तु के हो ? छुट्याउन नसकिने स्थितिमा रहेका पाइएबाट विद्यालयको विज्ञान सिकाइमा प्रयोगशाला प्रयोगको अवस्थाबारे सजिलै थाहा पाउन सकिन्छ ।

माध्यमिक विद्यालय, जसले विज्ञान प्रयोगशालाका निमित्त सरकारबाट आ.व. २०७२/७३ मा रु.६ लाख ५० हजार अनुदान प्राप्त गरेका थिए; ती विद्यालयको स्थलगत अनुगमन गर्ने क्रममा हरफकारले अधिकांश विद्यालयका विज्ञान प्रयोगशाला त्यस्तै अवस्थामा भेट्टाएको थियो । केही विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीसँगै राखी बारम्बार प्रयोगमा ल्याइने विकर, टेष्टट्यूब, उल्फ बोतल, मेजरिङ सिलिण्डर, घिर्नी, स्प्रिङ ब्यालेन्स, म्याग्निफाइङग्लास, न्यूटन डिस्क, डेलिभरीट्यूब आदि उपकरणको नाम र काम भन्न ल गाउँदा मुश्किलले एक वा दुईको त्यो पनि नाम मात्र भन्न सकेको बाट पनि विद्यालयमा विज्ञानको पठनपाठन कति नाजुक छ भन्ने कुरा स्पष्ट हुन्छ ।

विज्ञान विषय शिक्षण गरिरहनु भएका शिक्षकहरूसँग यस्तो स्थिति किन आयो ? भनी जिज्ञासा राख्दा समग्र जवाफको सार के पाइयो भने— दिनमा ६–७ पिरियड लिनुपर्छ, पुस्तकको मोटाइ पनि बाक्लै छ, विद्यालयमा विज्ञान सामग्रीहरू पनि पर्याप्त छैनन् । मूल कुरो त एसईई परीक्षामा प्रयोगात्मक सीपको कुनै अर्थ छैन । परीक्षामा आउन सक्ने सम्भावित प्रश्नहरूको उत्तर घोकाउने हो; अलि राम्रालाई ए प्लस वा ए ल्याउन सक्ने बनाउन प्रयत्न गर्ने हो, नसके सी भन्दा तल नझ्रुन् त्यत्ति हो । यति गरे पछि विद्यार्थी, अभिभावक, सरकार सबै दंग पर्छन् । जसरी भए पनि बढी अङ्क चाहिएको न हो । यही अङ्कलाई शिक्षाको गुणस्तर र उपलब्धि मानिंदै आएको छ । अनि प्राक्टिकलको २५ प्रतिशत अङ्क चाहिं कसरी प्रदान गर्नु हुन्छ नि ? जवाफ अत्यन्त सहज हुन्छ ‘आ, त्यसका लागि ७५ बाट कति प्राप्त गरेका छन्, त्यसकै अनुपातमा अलि अलि बढाएर राखिदिने, राम्रालाई पूर्णाङ्क नै भरेर पठाउने, त्यस पछि कालाई २० देखि २४ सम्म बाँकीलाई १३ देखि १९ ।’ ख्वै भएकै छ । कतैबाट किन, कसरी भन्ने प्रश्न उठेको छैन ।

विज्ञान शिक्षकहरूका ती स्पष्टोक्तिको प्रतिवादमा कस्ता तर्कहरू अघि सार्ने ? पठनपाठनमा वैज्ञानिक विधि प्रयोग हुन नसके पनि उहाँहरूको उत्तरमा भने वैज्ञानिक तर्क छन् । हुन पनि बजारियागेसपेपर तथा क्याप्सुलहरू सरकारलाई चाहिएको ‘ गुणस्तर ’ दिनमा विशिष्ट योगदान गरिरहेका छन् ।गेसपेपर,गाइड, क्याप्सुलका लेखक उत्पादकहरूलाई शिक्षाको राष्ट्रिय पुरस्कार प्रदान गर्ने तिर सरकारको ध्यान किन पुग्न सकेन भनेर सोच्नुपर्ने भएको छ । घोकाइबाटै सिकाइ उपलब्धि  प्राप्त हुन्छ भने किन प्रयोग प्रदर्शनको झन्झ्ट बोक्ने, टण्टा बेहोर्ने ? हुँदै आएको पनि यस्तै छ । यो तरीकाबाट विज्ञान पढेर, विज्ञानको कुनै एक विधामा एमफिल, डक्टरेट वा पोष्ट डक्टरेट नै गरे पनि ज्ञानको उँचाइ त चुलिएला तर चेतनाको स्तर भने संस्कृति परम्पराका नाममा व्याप्त भ्रमहरू भित्र रुमलिइरहेको हुन्छ ।

ज्ञान मात्र त पेनड्राइभमा पनि पर्याप्त राख्न सकिन्छ र चाहिएको बेला कण्ठाग्र ज्ञान जस्तै प्राप्त गर्न पनि सकिन्छ । तर के यसैलाई विद्वत्ता भन्न सकिएला ? यदि ज्ञान सञ्चित भएकै आधारमा शिक्षित र सचेत मान्ने हो भने माइक्रोचिप्स, मेमोरीकार्डहरू नै पो मानिस भन्दा विद्वान हुने भए । त्यसैले जुन शिक्षाले मानिसलाई यन्त्रमा परिणत गरिदिन्छ, त्यो असल शिक्षा हुन सक्दैन । घोकन्ते ज्ञानलाई शिक्षा र त्यस्तो ज्ञान प्राप्त व्यक्तिलाई शिक्षित मान्ने ठान्ने हराम्रो प्रचलनकै कारण देशमा शिक्षितहरूको संख्या लाखौं लाख पुगिसक्दा पनि उनीहरू स्वयं नै अन्धविश्वासमुक्त हुनसकेका छैनन् भने चेतनशील समाज को निर्माण र वैज्ञानिक आविष्कारको त कुरै छाडौं ।

२०७५ जेठ अंकमा प्रकाशित । 

commercial commercial commercial commercial