म शिक्षक, मेरो मित्र शिक्षक

“पापान्निवारयति योजयते हिताय, गुह्यं निगूहति गुणान् प्रकटीकरोति
आपद्गतं च न जहाति ददाति काले, सन्मित्रलक्षणमिदं प्रवदन्ति सन्तः ।”
– हितोपदेश मित्रलाभ

(सन्तहरूले असल मित्रमा हुनुपर्ने जुन लक्षण बताएका छन्; ती हुन्— एउटा असल मित्रले आफ्नो मित्रलाई पापकर्मबाट रोक्दछ । अर्थात् बेइमानी, कामचोर, ठगी, अन्याय, हिंसा आदि दुष्कर्महरू गर्नबाट निरुत्साहित गरी हित हुने कामतर्फ प्रवृत्त गराउँछ । इमानदार, कर्तव्यनिष्ठ, न्यायप्रिय, प्रेमी र अहिंस्रक आदि बन्न प्रेरित गर्दछ । मित्रका गोप्य कुराहरू— जुन उसका कमजोरी पनि हुन सक्दछन्— तिनलाई गोप्य राख्दछ र साथीका असल पक्ष एवं गुणहरू जसले उसलाई मान, प्रतिष्ठा र प्रसिद्धि दिलाउन सक्दछन्— तिनलाई सबैका सामु प्रस्तुत गर्दछ । संकटको बेलामा साथ छोडेर हिंड्दैन, बरु बलियो साथ दिन्छ, सतर्क गराउँछ र जोगाउँछ ।)

मानिसका मित्र मानिसै हुनु स्वाभाविकै हो । तर विभिन्न क्षेत्र र पेशा—व्यवसायमा संलग्न हुनेहरूका लागि त्यसमा सहयोगी वस्तु पनि मित्र हुन सक्दछन् । उदाहरणका लागि, युद्धमैदानमा योद्धाका लागि शस्त्र–अस्त्र नै मित्र हुन् । त्यस्तै शिक्षण पेशामा लागेका हामी शिक्षकहरूका लागि हाम्रो पेशागत सुरक्षा र टेवा दिने सामग्री हाम्रा मित्र हुन् । यस्तै एउटा मित्र हो— एक सयौं अङ्कसम्म नियमित प्रकाशित भइरहेको शिक्षक पत्रिका जसले सेवा प्रवेश गर्न चाहनेहरूलाई सेवामा प्रवेश गर्न, स्थायी हुन चाहनेहरूलाई स्थायी हुन, बढुवा हुन चाहनेहरूलाई बढुवा हुन, सफल शिक्षक बन्न चाहनेहरूलाई सफल शिक्षक हुन, राम्रो व्यवस्थापन दिन चाहनेहरूलाई राम्रो व्यवस्थापक बन्न र लेखेर आफ्नो व्यक्तित्व उजिल्याउन चाहनेहरूलाई सिर्जना–रचना प्रकाशित गर्न अवसर दिएको र सहयोग गरेको छ ।

मानिसको मित्रता निरपेक्ष हुन सक्तैन । कुनै विन्दुमा कुनै अपेक्षाको टक्कर हुँदा भर्खरसम्मको मित्र शत्रु भइदिन सक्दछ र त्यस्तो शत्रु झ्न् खतरनाक हुन्छ, किनभने उसले हाम्रा सबै राम्रा नराम्रा कुराहरू जानेको र बुझ्ेको हुन्छ । तर सामग्रीका रूपमा प्रयोग हुने मित्रमा कुनै अपेक्षा र स्वार्थ नहुने हँुदा त्यो कहिल्यै शत्रु हुँदैन । शिक्षक हाम्रो त्यस्तै मित्र हो । हो ज्वरो आएको रोगीलाई दिइने तीतो गोली उसलाई मन पर्दैन तर जसले त्यो तीतो पचाउँछ उसलाई निको हुन्छ । त्यस्तै, शिक्षक ले पनि बेला–बेलामा ऐनामा हाम्रै अनुहार देखाइदिंदा हामीलाई लाग्यो ‘शिक्षक ले शिक्षकको खेदो मात्र खन्यो । शिक्षकलाई गाली मात्र ग¥यो ।’ तर एउटा सच्चा मित्रले मौका पर्दा अप्रिय व्यवहार गरेर पनि आफ्नो मित्रलाई सही मार्गमा लगाउनुपर्छ, लगाउँछ । हो, त्यही गरेको हो शिक्षक ले ।

के शिक्षक ले इमानदार, कर्मनिष्ठ र लगनशील शिक्षकहरूलाई चित्रसहित प्रस्तुत गरेन ? के शिक्षक ले आफ्नो विद्यालयलाई नमूना बनाउन लागिपरेका प्रधानाध्यापक, व्यवस्थापक र अभिभावकलाई उदाहरणस्वरूप अघि सारेन ? के शिक्षक ले प्रतिभा र क्षमता हुने शिक्षक तथा विद्यार्थीका लागि बेला–बेलामा सुअवसरहरू प्रदान गरेन ? कुनै विद्यालयले राम्रो ग¥यो भने किन र कसरी ग¥यो ? त्यसका लागि शिक्षा प्रशासनको भूमिका कस्तो रह्यो ? समुदाय र अभिभावकले कस्तो योगदान गरे ?

प्रधानाध्यापकको विद्यालयीय प्रशासन कस्तो रह्यो ? शिक्षकहरू कति लगनशील र अध्ययनशील अनि विद्यार्थी कति अनुशासित र लगनशील भएकाले अमूक विद्यालयले शैक्षिक उन्नति ग¥यो भन्ने कुराका लागि प्रेरणा लिएर सुधार गर्न सकिन्छ भने बिग्रेको विद्यालयको उदाहरणबाट त्यसका कारणहरू पत्ता लगाउन सकिन्छ । यी हाम्रा लागि सकारात्मक दिशातर्फ लाग्नका लागि सहयोगी सामग्रीहरू बन्न सक्दछन् ।

म अरूका कुरा के गरुँ ? आफ्नै कुरा गर्छु । म मोफसलको गाउँमा कार्यरत शिक्षक । म कसरी जोडिएँ शिक्षक सँग र के दियो शिक्षक ले ? हुन सक्दछ मेरो अनुभव पनि उदाहरण हुनसकोस् ।

२०६६ सालको कात्तिक हो कि मंसीर अङ्क हो, कता हो मैले झ्ुलुक्क हेर्न पाएँ । पूरै सामग्री पढ्न त के पाउँथें र तर एउटा सूचना पढ्न पाएँ । जसमा शिक्षकलाई पेशासँग सम्बन्धित संस्मरण लेखेर पठाउने र उत्कृष्ट रचनालाई पुरस्कृत गरिने जानकारी थियो । मैले ठेगाना टिपें । एउटा संस्मरण लेखें र हस्तलिखित सामग्री पे्रषित गरें । कुन आशाले भने छापिए मात्र पनि भयो ।

तर मेरो खुशीको सीमा त्यति बेला रहेन जब हेटौंडामा कार्यरत शिक्षक रमेशमोहन अधिकारीले बधाईसहित मेरो रचना प्रकाशित र पुरस्कृत समेत भएको जानकारी फोनबाट दिनुभयो । यो २०६६ साल पुसको कुरा हो, त्यतिबेला चन्द्रनिगाहपुरमा शिक्षक उपलब्ध थिएन । मैले हेटौंडा गएर त्यो अङ्क लिएँ; आखिर रु.५,००० को पुरस्कारको सवाल थियो ।

म एकाएक नेपालभरिका शिक्षकका पाठकका आँखामा आएँ । बधाई पाएँ । म उत्साहित थिएँ ।

२०६७ वैशाखमा शिक्षक ले ‘मनका कुरा’ मा मेरो एक पत्र छाप्यो ‘हराएको साथीलाई स्मृतिपत्र’ । मैले बधाई र शुभकामनाका साथै प्रशंसाका चिठी, एस.एम.एस. र फोनहरू प्राप्त गर्ने क्रममा स्याङ्जाका एक मित्रको यस्तो फोन आयो जसलाई मेरो हराएको साथीबारे जानकारी र फोेन नम्बर पनि थियो । उहाँले दिएको फोन नम्बरमा मैले २३ वर्षदेखि हराएको साथी त फेला पारें, लेखेको पारिश्रमिक पनि पाएँ । मेरो दुवै हातमा लड्डु थिए । एक एक लड्डु शिक्षक का स्टाफलाई खुवाएँ आखिर शिक्षक ले नै त मेरो त्यो साथी खोजेर दिएको थियो मलाई । म शिक्षक सँगै शिक्षक का पाठक ती मित्र हरिप्रसाद पोखरेललाई पनि धन्यवाद दिन्छु ।

यसपछि मैले प्रथम श्रेणीमा उन्नति पाएँ जसमा शिक्षक मा प्रकाशित मेरा लेखहरूको पनि योगदान रह्यो र हालमा म निवृत्त शिक्षकको रूपमा रहेर पनि शिक्षक र शिक्षणसित जोडिएकै छु र शिक्षक ले पनि मलाई बिर्सेको छैन भन्ने कुराको प्रमाण यो मेरो पुनः प्रविष्टि पनि हो । भएन त शिक्षक एक असल मित्र ?

आखिर के दिन्छ त शिक्षक ले हामीलाई ?
१.    शिक्षकलाई पेशाप्रति इमानदार, समर्पित र कर्तव्यनिष्ठ बन्ने प्रेरणा दिन्छ ‘दिवास्वप्न’ र ‘तोत्तो–चान’ जस्ता उदाहरणीय कृतिद्वारा ।
२.    विषय शिक्षकलाई कक्षाकोठामा आइपर्ने कठिनाइ र समाधानका उपायहरू बताउँछ अनुभवी र विशेषज्ञका लेखहरूद्वारा ।
३.    यसले शिक्षासँग सम्बन्धित सम्पूर्ण राष्ट्रिय नीतिगत सूचनाहरू तत्कालै दिएर तपाईंलाई अद्यावधिक गराउँछ ।
४.    शिक्षक सेवा आयोगद्वारा लिइने परीक्षाका सम्भावित प्रश्नहरू र तिनका उत्तरहरू (नमूना स्वरूप) दिएर सेवा प्रवेश गर्न चाहने, स्थायी हुन चाहने र बढुवा हुन चाहनेहरूका लागि पनि आवश्यक सामग्री उपलब्ध गराउँछ ।
५.    आफ्नो रेडियो कार्यक्रम शिक्षा–संवाद मा शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी अभिभावक र विज्ञसितका संवादहरू सुनाउँछ ।
६.    यसले सफल र असफल शिक्षक, प्रधानाध्यापक, व्यवस्थापक र विद्यालयहरूको उदाहरणद्वारा त्यसका कारणहरूको पनि खोजी गर्दछ ।
७.    यसले लेखकद्वारा व्यक्तित्व विकास गर्न चाहने शिक्षक तथा विद्यार्थीलाई स्थायी स्तम्भ एवं सामयिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
८.    शिक्षकका व्यक्तिगत जिज्ञासाहरूको समाधान सम्बन्धित अधिकारीबाट गराउँछ ।
९.    शिक्षाविद्, प्रकृतिविद्, शिक्षणविद्हरूका प्रेरणाप्रद लेखहरू प्रकाशित गरेर हाम्रो ज्ञानको परिधि विस्तार गरेको छ ।
१०.    फुर्सदको समयका लागि शब्दखेल र अंक खेलका स्तम्भहरू दिई पुरस्कृत गर्ने गरेको छ ।

समाहारः आदरणीय शिक्षक मित्रहरू ! हामी शिक्षक जुन तह, श्रेणी र प्रकृतिको र अवकाश लिएको भए पनि शिक्षामा सुधार चाहने समाजसेवी अभिभावक, व्यवस्थापनकर्ता, अन्वेषक, विचारक, सुधारकका रूपमा हामीले आपूmलाई समाज र राष्ट्रमा उभ्याउन सकौं । यसका लागि शिक्षक ले हाम्रा सबै आवश्यकता पूरा गर्दछ त म भन्दिनँ तर धेरै खाँचो टार्छ र थप के पनि निवेदन गर्दछु भने पाठक प्रतिक्रियामार्फत कुनै खास विषयमा विशेष जानकारी चाहनुभयो भने शिक्षक ले सम्भव भएसम्म त्यो जुटाइदिने गरेको पनि छ । शिक्षक हाम्रो असल मित्र हो र हामी पनि शिक्षक का मित्र बनौं ।

अब अन्त्यमा शिक्षक सँग पनि त केही भन्नु छ नि ! त्यो के भने शिक्षक ले विद्यार्थीहरूका लागि थप सामग्री राख्नुप¥यो, नियमित रूपमा र विषय शिक्षकबाट कक्षाकोठाका समस्याहरू उठाउन लगाउने र विषय विशेषज्ञबाट समाधानका उपायहरू पहिल्याई शिक्षक मित्रलाई सहयोग गर्नुप¥यो । भएकोमा पनि आवश्यकता केन्द्रित गर्नुप¥यो । धन्यवाद ! नमस्कार !

निवृत्त शिक्षक, मावि प्रथम श्रेणी (हालः साई ग्लोबल एकेडेमी, भैरहवा)

commercial commercial commercial commercial