के तपाईं जनवादी शिक्षक हो ?

नेपालका कम्युनिष्ट पार्टीको जन्मसँगै जनवाद शब्द प्रकट भएको मानिन्छ । गैरकम्युनिष्टहरूले प्रयोग गर्ने शब्द ‘प्रजातन्त्र’ र ‘जनवाद’ का बीचमा कित्ताकाट त्यहींबाट शुरू भयो । कम्युनिष्ट नेताहरूले जनवादी शिक्षाको दुहाइ दिए । जनवादी शिक्षालाई जनवादी क्रान्ति पछिको शैक्षिक परिपाटी ठाने । क्रान्ति सम्पन्न नभइसकेकाले यसको स्वरुपका सम्बन्धमा उनीहरूले टाउको दुखाउन चाहेनन् । तर ‘जनवाद’ नाम जपेर पवित्र बन्न र अरूलाई झ्स्काउन भने छाडेनन् । खासमा, जनवाद, जनतन्त्र, लोकतन्त्र र प्रजातन्त्र शब्द आफैंमा पर्यायवाची हुन् । यी सबैको अंगे्रजी अनुवाद ‘डेमोक्रेसी’ हुन्छ । तर कम्युनिष्ट पार्टीका झेला बोक्ने शिक्षकहरू नेताहरू जस्तै ‘जनवादी शिक्षा’ शब्द जप्ने जस्तो कर्मकाण्डमै रमाइरहेका पाइन्छन् । यो व्यर्थको शाब्दिक लडाइँ बुझनेतिर उनीहरूको चासो नै जाग्न सकेको छैन ।

औपचारिक रूपमा देशमा जनवादी शिक्षा लागू नभए पनि एउटा शिक्षक भने जनवादी बन्न सक्छ । उसको चिन्तन, व्यवहार, कार्यशैली, शिक्षण विधि, मूल्याङ्कन तरीका आदि जनवादी बन्न सक्छन् । तर, जनवादी शिक्षाको ओठे बोली बोल्ने हामी शिक्षक आफैंमा कति जनवादी छौं, त्यो हेरांै :

  • जनवादी शिक्षाले प्रजातान्त्रिक मूल्य बोक्छ । सापेक्ष स्वतन्त्रताको वकालत गर्छ । तर तपाईं ‘जनवादी शिक्षक’ ले कक्षाकोठामा प्रजातान्त्रिक मूल्य स्थापित गर्नुभएको छ ? विद्यार्थीको व्यक्तिगत भिन्नता अनुुसार सिकाउनुभएको छ ? कि तपाईंको मूल्य लाद्नुभएको छ ? के तपाईंले विद्यार्थीलाई अधिकार र कर्तव्य सिकाउनुभएको छ ? कक्षा समयमा पार्टीको झ्ण्डा बोकेर सडकमा जानुभएको त छैन ? सरकारको दाम, पार्टीको काम र विद्यार्थीको अपमान हुँदा त्यहाँ जनवाद रहन्छ ? विद्यार्थीले प्रश्न सोध्दा र आफ्नो तर्क राख्दा कहिल्यै रिसाउनुभएको छ ? छ भने विचारको सम्मान खै ? उनीहरूको जान्ने अधिकार खै ? तपाईंले विद्यार्थीलाई कुट्ने पनि गर्नुहुन्छ ? कुट्नु हुन्छ भने के जनवादी शिक्षाले विद्यार्थीलाई कुटेरै तह लगाउने भन्छ ? यी कसीमा आफूलाई दाँजेर हेर्नुहोस्, तपाईं जनवादी कि अतिवादी ?
  • माक्र्सवादीहरू ‘बुर्जुवा शिक्षा’ लाई बुर्जुवा संस्कृतिको पुनरावृत्ति ९चभउचयमगअतष्यल० गर्ने शिक्षा भनी आलोचना गर्छन् । लेनिन भन्छन्, “बुर्जुवा शिक्षाले पूँजीपतिलाई चाहिने उत्पादक हातको विकास गर्छ, सृजनात्मक दिमाग होइन ।” अनि, जनवादी शिक्षाको कुरा गर्ने तपाईं शिक्षकले कसको संस्कृति पढाउँदै हुनुहुन्छ— बुर्जुवा वर्गको कि आम जनताको ? तपाईंले प्रयोग गर्ने पाठ्यक्रमले कसलाई सहयोग पु¥याउने उद्देश्य राखेको छ ? यसले पुनरावृत्ति गर्ला कि रचनात्मकता भर्ला, सोच्नुभएको छ ? के तपाईं पाउलो फ्रेरेले भने जस्तो आफैं पाठ्यक्रम तयार गर्न सक्षम हुनुहुन्छ ? अर्थात् तपाईंलाई दिइएको विmताब भन्दा माथि उठेर तपाईंले स्थानीय समस्या समाधान गर्ने र स्थानीय आवश्यकता अनुसारको ज्ञान बाँड्नुभएको छ ? के तपाईंले दलित, पछाडि परेका, गरीब, किसान, मजदूरको ज्ञान, सीप, अभिवृत्ति र संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नुहोला ? पक्कै पनि तपाईंले अरूले लेखेका किताब नै घोकाउँदै हुनुहुन्छ । त्यही किताबबाट गृहकार्य गर्न दिनुहुन्छ । यसले पुनरावृत्ति गर्ला कि सृजना ? मनन् गर्नुहोस्; तपाईं जनवादी कि पुनरावृत्तिवादी ?
  • माक्र्सले श्रम गरेर सिक्ने भन्छन् । माओले जनताबाट सिक्ने भन्छन् । तपाईं जनवादी शिक्षक चाहिं कति श्रम गर्नुहुन्छ ? कति उत्पादन गर्नुहुन्छ ? श्रमको कसरी सम्मान गर्नुहुन्छ ? विद्यार्थीलाई श्रम र शिक्षा जोड्न कसरी सिकाउनुहुन्छ ? तपाईंले विद्यार्थीलाई कहिल्यै श्रमिकसँग भेट गराउनुभएको छ ? तिनलाई किसानको खेतबारी, श्रमिकका कारखाना एवं परम्परागत कार्यस्थलमा घुमाउनुभएको छ ? कहिल्यै गरीब, किसान, मजदूर, दलितहरूबाट आफू सिक्न र विद्यार्थीलाई उनीहरूबाट सिक्न अभिपे्ररित गर्नुभएको छ ? फलामका भाँडा बनाउने, लुगा सिलाउने र जुत्ता बनाउने दलितको बच्चाले घरमा सिकेको कला र सीपलाई कसरी सम्मान गर्नुहुन्छ ? के उनीहरूलाई ज्ञान, सीप र प्रविधिको स्रोत मान्नुहुन्छ ? तिनीहरूको पारिवारिक पेशाबाट व्यावसायिक शिक्षा लिन अरूलाई अभिप्रेरित गर्नुभएको छ ? तिनीहरूलाई दलित, अछूत भनेर अपमान पो गर्नुहुन्छ कि ? के तपार्इं उनीहरूको घरभित्र पसेर खाना खानुहुन्छ ? तिनीहरूलाई आफ्नो घरभित्र पस्न दिनुहुन्छ ? विचार गर्नुहोस्; तपाईं जनवादी कि विभेदकारी ?
  • जनवादी शिक्षाले पाउलो फ्रेरेले भने जस्तो सिद्धान्त र व्यवहारको एकत्वमा जोड दिन्छ । तपाईं जनवादी शिक्षक हुँ भन्नेले सिद्धान्त र व्यवहारको मिलान खोज्नुभएको छ कि छैन ? तपाईंले पढे÷पढाएको सिद्धान्त कहाँ उपयोगी हुन्छ भनेर खोज्नुभएको छ ? जनवादी जीवनशैलीको वकालत गर्नुहुन्छ भने एकपल्ट आफूलाई ऐनामा हेर्नुहोस् र विचार गर्नुहोस्— कतै तपाईंको जीवनशैली सामन्ती, बुर्जुवा वा दलालको जस्तो त छैन ? तपाईंको घरमा खाना कसले पकाउँछ ? तपाईंका कपडा कसले धुन्छ ? घर कसले सफा गर्छ ? घरायसी निर्णय कसले गर्छ ? कतै तपाईं पैसाको लोभमा दलाली त गर्दै हुनुहुन्न ? स्कूल जाने बेला खेतीयोग्य जमीन प्लटिङ गरेर बेच्दै पो हुनुहुन्छ कि ? पैसा खाएर कसैलाई विदेश पठाउँदै हुनुहुन्छ कि ? सरकारी तलब खाने तपाईं आफ्नो कर्मलाई विश्वास नगरेर आफ्ना बच्चा निजी स्कूलमा पठाउने, अनि अरूलाई पनि त्यतै जान हौस्याउने त गर्नुहुन्न ? तुलना गर्नुहोस्, तपाईं जनवादी कि धनवादी ?
  • क्रुप्सकायाले बहुप्राविधिक शिक्षाका बारेमा चर्चा गरिन्, रूसमा प्रयोगमा पनि ल्याइन् । ठूला प्राविधिक कुरा मात्र नभएर साना दैनिक व्यवहारमा आउने प्रविधिलाई बहुप्राविधिक सिकाइका रूपमा प्रयोग गर्न सकिने औंल्याइन् । हो, बहुप्राविधिक शिक्षाले आफ्ना सानातिना काम आफैं गर्न सक्ने बनाउँछ । प्रविधिको आधारभूत ज्ञान दिन्छ । जनवादी शिक्षक तपाईंले आफैं बहुप्रविधि जान्नुभएको छ कि छैन ? तपाईंको घडीको सुई फुस्कँदा के गर्नुहुन्छ ? चप्पल छिन्दा के गर्नुहुन्छ ? टि.भी. सामान्य बिगँ्रदा के गर्नुहुन्छ ? मोबाइल सेटिङ्ग बिग्रँदा के गर्नुहुन्छ ? ग्याँस चूलो बिग्रँदा के गर्नुहुन्छ ? कपडा च्यातिंदा के गर्नुहुन्छ ? सम्भवत: तपाईं अर्कैकोमा जानुहुन्छ, किनभने आफैं बनाउने कला छैन । यहाँ बहुप्राविधिक शिक्षाको महŒव खट्कियो । अब तपाईंले विद्यार्थीलाई के सिकाउनुहुन्छ होला ? उही पराश्रयी बन्ने शिक्षा ?
  • मन्थन गरौं, के जीवनोपयोगी कला सिकाउन जनवादी क्रान्ति नै गर्नुपर्छ ? के स्कूलमा हामीले बच्चालाई सानैदेखि आफ्नो जुत्ताको तुना बाँध्न, कपडा लगाउन, कपाल कोर्न, दाँत माझन, नङ काट्न, आफ्नो विmताबमा गाता राख्न, आफूले खाएको प्लेट सफा गर्न, सामान्य च्यातिएको टाँस्न÷सिउन, टाँक लगाउन, उमेर अनुसार विभिन्न औजारहरू जस्तै नङ्कट, कैंची आदि, प्रयोग गर्न र तिनीहरूलाई प्रविधिसँग जोड्ने कला सिकाउन पनि औपचारिक पाठ्यक्रममा राखिनुपर्छ र ?
  • जनवादी शिक्षाले स्थानीय विशिष्टता अनुसारको शिक्षाको वकालत गर्छ, आयातीत शिक्षाको विरोध गर्छ । एउटा ‘जनवादी शिक्षक’ भएको नाताले तपाईंले स्थानीय विशिष्टताको अनुसन्धान गर्नुभएको छ ? त्यहाँको शैक्षिक, राजनीतिक, सामाजिक अवस्थाको विश्लेषण गर्नुभएको छ ? स्थानीय ज्ञान र विश्वव्यापी ज्ञानको तुलना गर्नुभएको छ ? स्थानीय आवश्यकता के हो पहिचान गर्नुभएको छ ? स्थानीय समाज बहुसांस्कृतिक वा बहुभाषिक हुन सक्छ । के तपाईंले ती सांस्कृतिक र भाषिक विविधता अनुसारको शिक्षण गर्नुहुन्छ ? स्थानीय माटोमा स्याउ वा अरू केहीको खेती हुन सक्छ, तर के तपाईं त्यसबारे सिकाउनुहुन्छ ? त्यहाँ बहुउपयोगी जडीबुटी पाइन सक्छन्; के तपाईंले त्यो पहिचान गर्न र खेती गर्न सिकाउनुहुन्छ ? त्यहाँ अलैंची, अदुवा, टिम्बुर वा चिया खेती हुन सक्छ, के तपाईंले त्यसबारे सिकाउनुहुन्छ ? सम्भवत: यी कुराहरू किताबमा लेखिएका छैनन्; त्यसैले सिकाउनुहुन्न । तर यस्ता विषयहरू पाठ्यक्रममा नराखे पनि सिकाउन सकिन्छ । अब भन्नुहोस्, तपाईं जनमुखी कि किताबमुखी ?
  • जनवादी शिक्षाले विद्यार्र्थीलाई भिगोत्स्कीले भने जस्तो ज्ञानको निर्माणकर्ता ठान्छ । वस्तुगत जगतसँगको अन्तरक्रियाबाट सिकाइ हुन्छ भन्छ । पाउलो फ्रेरेले भने जस्तो ब्यांकिङ्ग धारणाको विरोध गर्छ, समस्या दिने विधिको सिफारिश गर्छ । किलपेट्रिकले भने जस्तो परियोजना कार्यबाट सिक्ने भन्छ । जोन डिवेको मत जस्तै क्रियाकलाप गरेर सिक्ने भन्छ । माक्र्सले भने जस्तै श्रम गरेर सिक्ने भन्छ । जनवादी शिक्षक तपाईंले कहिल्यै विद्यार्थीलाई समस्या दिएर समाधान खोज्ने र ज्ञान निर्माण गर्ने कार्यमा प्रोत्साहन गर्नुभएको छ ? प्रकृति, परिवेश, समाज, घटना आदिबाट सिक्न उत्प्रेरित गर्नुभएको छ ? कहिल्यै परियोजना कार्य गराउनुभएको छ ? क्रियाकलाप, नाचगान, खेल, नाटक आदि तरीका अपनाई सिकाउनुभएको छ ? कहिल्यै पुस्तक विना पढाउनुहुन्छ ? डा. विद्यानाथ कोइरालाले भने जस्तो घाँस काट्दा, कोदालो खन्दा, डोको बुन्दा त्यहाँ प्रयोग हुने कला, भौतिक विज्ञान, गणित, अर्थशास्त्र आदि सिकाउनुहुन्छ ? गार्नरका अनुसार व्यक्तिका फरक फरक सिक्ने तरीका हुन्छन् । के तपाईंले ती फरक सिकाइ क्षमता अनुसार पढाउनुहुन्छ ? यदि कक्षाकोठा अगाडिबाट मात्रै पाठ भट्याउने गर्नुहुन्छ भने, विश्लेषण गर्नुहोस् तपाईं ‘जनवादी’ कि मौखिक रूपमा मात्रै भट्याउने ‘भनवादी’ ?
  • जनवादी शिक्षक तपाईंले शिक्षण सामग्री के प्रयोग गर्नुहुन्छ ? पाउलो फ्रेरेले रिफ्लेक्ट विधिमा भने जस्तो सिकारुद्वारा उत्पादित सामग्री प्रयोग गर्नुुहुन्छ ? घरमा प्रयोग हुने कुटो कोदालो, हँसिया, ढुङ्गा, जाँतो, रूख, बिरुवा, फलफूल, अन्न आदिलाई शैक्षिक सामग्री मान्नुहुन्छ ? यी सामग्रीबाट भौतिक विज्ञान, सामाजिक, अर्थशास्त्र, मानवशास्त्र, जीव विज्ञान, गणित, भाषा आदि सिकाउने कला प्रयोग गर्नुहुन्छ ? विद्यार्थीको मूल्याङ्कन गर्दा लिखित र मौखिक बाहेक अन्य उपाय खोज्नुभएको छ ? विचार गर्नुहोस् त सबै विद्यार्थीले लेखेर मात्रै आफ्नो क्षमता प्रदर्शन गर्न सक्लान् ? बोलेर मात्रै उसको ज्ञान, सीप मापन गर्न सकिएला त ? तपाईंको कक्षामा कहिल्यै विद्यार्थीले आत्ममूल्याङ्कनको अवसर पाएका छन् ? साथीले साथीको मूल्याङ्कन गरेका छन् ? तपाईंले मात्रै गर्ने अन्तिम मूल्याङ्कन न्यायसंगत होला त ? फर्केर हेरौं, यी सबै काम गर्न राजनीतिक परिवर्तन कुर्नुपर्र्ला र ? नेताको मुख ताक्नुपर्ला र ? शिक्षक साथी; ऐना हेरौं त हामी जनवादी कि अवमूल्यनवादी ?

एउटा असल र सृजनात्मक शिक्षक स्वत: जनवादी हुन्छ, स्वघोषणा गर्नुपर्दैन । सबै शिक्षक जनवादी बन्ने प्रयत्न गरौं, कुनै पार्टीसँग साइनो गाँस्नु नै पर्दैन । जनवादी शिक्षा अचूक अस्त्र होइन, भूत पनि होइन, तर्सिनुपर्दैन । एउटा शिक्षक वास्तविक जनवादी बन्नका लागि कुनै क्रान्ति गरिरहनुपर्दैन । आफैंलाई बदल्न सके जनवाद आफैंभित्र छ । आफूलाई चिनौं, जनवादको सार बुझैं । बुर्जुवा शिक्षाको विरोधमा आफैं सामन्ती, दलाल र स्वयं बुर्जुवा नबनौं । जनवाद सिद्धान्त मात्र होइन स्वयं व्यवहार हो । व्यवहारमा परिवर्तन ल्याऊँ । अधिकारको खोजी सँगै कर्तव्य पनि पालना गरौं । कम्युनिष्ट, गैरकम्युनिष्ट सबै जनवादी शिक्षक बन्न सकिन्छ । यसमा हिलो नछ्यापौं । एउटा शिक्षक स्वयंबाट जनवादी शिक्षाको यात्रा प्रारम्भ हुन्छ ।

(‘जनवादी शिक्षा’ पुस्तकका लेखक आचार्य त्रि.वि. शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्छन्)

commercial commercial commercial commercial