६ महीनामा सक्नेगरी पाठ-याेजना बनाउँदै छाैं !

सामुदायिक विद्यालयका विद्यार्थीको पठन–पाठनमा अनलाइन, रेडियो, टीभी आदि वैकल्पिक माध्यमका कक्षाहरू खासै प्रभावकारी हुन सकेका छैनन् । त्यसैले  विद्यार्थीको शैक्षिक वर्ष खेर नजावस् भनी हामी सबै कक्षाको एक वर्षको कोर्स ६ महीनामा पढाइ सक्ने गरी योजना बनाउनमा लागेका छौं । आगामी दशैंपछि विद्यालयहरू खुल्ने र चैत मसान्तसम्म कक्षा संचालन गर्न सम्भव हुने ठानेर यस्ताे शैक्षिक योजना तयार पारिएको हाे ।

कोभिड–१९ ले विश्वलाई आक्रान्त बनाइरहेको छ । यसले शिक्षा क्षेत्रलाई अझ प्रभावित बनाएको छ । सामान्य शिक्षा पनि आम विद्यार्थीको पहुँच बाहिर पुगेको अवस्था छ । हामी शिक्षकहरू के गरौं, कसरी गरौं भन्ने कुराले रनभुल्लमा परेका छौं ।

नेपाल सरकारले वैकल्पिक माध्यमबाट पठन–पाठनलाई अगाडि बढाउन भनेको छ । तर हाम्रा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिकाइका वैकल्पिक माध्यमबाट समेट्न ज्यादै नै मुश्किल परेको छ । आर्थिक स्थिति कमजोर रहेका अभिभावकहरूले वैकल्पिक सिकाइका लागि अत्यावश्यक स्मार्ट फोन कताबाट ल्याउनु, फोन भएतापनि इन्टरनेटको पहुँच नभएका र डाटा किनेर सम्भव नहुने जस्ता समस्याले पिरोल्दा मन कटक्क भाँचिन्छ । फलस्वरूप ‘भर्चुअल’ कक्षाको विकल्प त्यति प्रभावकारी हुन सकिरहेको पाइदैन ।

कोभिडका कारण अवरुद्ध सिकाइलाई कसरी सुचारु गर्ने भनेर हाम्रो विद्यालय परिवार भित्र छलफल गरी निष्कर्षका रूपमा रेडियो लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीलाई थप सिकाइ क्रियाकलाप गराउने कार्यको थालनी गरियो । यसका लागि हरेक हप्ता टेलिफोन मार्फत सम्पर्क गरी अभिभावक र विद्यार्थीसँग हालखबर सोध्ने र विद्यार्थीलाई घरमा नै परिवारसँग घुलमिल गरेर बस्ने, खाना पकाउने, विद्यालयमा सिकेका सीपहरू बत्ती कात्ने, मोजा बुन्ने, रुमाल बनाउने, पेन्टिङ्ग गर्ने, गीत सुन्ने, आमालाई भान्सामा सहयोग गर्ने, सरसफाइ जस्ता कार्यहरू गर्नका लागि अनुरोध गरियो । यसरी विद्यार्थीलाई घरमै केही सिक्ने वातावरण बन्यो ।

यस सँगसँगै काठमाडौं महानगरपालिका र शिक्षा विभागले मेट्रो एफएममा कक्षा सञ्चालन गर्ने कुरा भयो । यसरी वैकल्पिक प्रणालीबाट दूर शिक्षाको माध्यमबाट भए पनि विद्यार्थीले केही पक्कै सिक्छन् भन्ने आशाको किरण जाग्यो । तर यसबाट पनि सबै विद्यार्थीलाई समेट्न सम्भव भएन । कतिपय स्थानमा एफएम नसुनिने, कतिपय विद्यार्थीले रेडियो छैन भन्ने गुनासो गर्न थाले । दूर शिक्षाबाट पनि विद्यार्थी लाभान्वित हुन नसकेको देख्दा झन् झन् चिन्तित बनाउँदै लग्यो । नहुनु भन्दा केही त भयो भन्ने हिसाबले कोशिश जारी नै रह्यो । विद्यार्थीलाई हरेक हप्ता फोन मार्फत एफएम, एनटीभीबाट प्रसारण हुने कक्षा सुन्न र हेर्न विद्यार्थी र अभिभावकलाई अनुरोध गर्दै जाँदा सुन्ने र हेर्नेको प्रतिशत बढ्दै गयो । कक्षा शिक्षक र विषय शिक्षकहरूबाट विद्यार्थीको फोन तथा मोबाइलमा सम्पर्क गर्न थालियो । यसबाट आज यो पढ्यौं, यो हेर्‍यौं भन्ने विद्यार्थीको जिज्ञासा शुरू हुन थाल्यो । यसबाट मनमा केही सन्तोष हुँदै गयो । तर यो नै समस्याको समाधान भने थिएन ।


लगभग एक हप्ताको मिहिनेतमा सम्बन्धित विषयको पाठ्यक्रमले निर्दिष्ट गरेका मुख्य उद्देश्यलाई समेट्ने गरी एक वर्षमा पढाउने कुरा ६ महीनामै सिकाउन सम्भव हुने पायौं । यसका लागि पूर्व कक्षामा पढिसकेका कुरालाई विशेष ख्याल गरी सामान्यतः दोहोरिएका विषयलाई पुनः नदोहोर्‍याउने तरिकाबाट योजना निर्माण गर्‍यौं । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका तीनैवटालाई हेरी हरेक पाठको उद्देश्य वा सिकाइलाई समेटेर हामीले योजना बनायौं । 

विद्यार्थीको सिकाइलाई अझ प्रभावकारी बनाउन हरेक दिन दुई–दुईवटा कक्षाका अभिभावक वा विद्यार्थीलाई बोलाएर गृहकार्य दिने र सोको परीक्षणका लागि हरेक हप्ताको निश्चित दिन छुट्याइयो । यसबाट विद्यार्थी प्रत्यक्ष रूपमा सिकाइमा अलि बढी लाभान्वित भएको पायौं ।

यसैबीच, विद्यार्थीको पठनपाठनलाई कोभिड–१९ पश्चात् कसरी अगाडि बढाउने भन्ने विषयमा बृहत् छलफल गर्‍यौं । त्यसपछि हामी शिक्षकहरू कोरोना कहरको अवस्थालाई मध्यनजर गरी ६ महीनाका लागि योजना बनाउने तयारीमा लाग्यौं । विद्यालय कहिले खुल्छन्, अनिश्चित नै छ । तर दशैंपछि विद्यालय खुल्ने अनुमानका आधारमा हामीले विद्यालयको शैक्षिक योजना तयार पार्न लागेका छौं । हामीले आगामी चैतको अन्तिम सातासम्ममा विगतका वर्षको वार्षिक कार्ययोजना जस्तै कार्ययोजना बनाई ६ महीनामा पढाइ सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।

योजना निर्माणका क्रममा विद्यालयमै उपलब्ध सम्बन्धित विषयमा दक्षता प्राप्त शिक्षकहरूको सहायताबाट प्रत्येक कक्षाका सबै विषय समेटिएको छ । लगभग एक हप्ताको मिहिनेतमा सम्बन्धित विषयको पाठ्यक्रमले निर्दिष्ट गरेका मुख्य उद्देश्यलाई समेट्ने गरी एक वर्षमा पढाउने कुरा ६ महीनामै सिकाउन सम्भव हुने पायौं । यसका लागि पूर्व कक्षामा पढिसकेका कुरालाई विशेष ख्याल गरी सामान्यतः दोहोरिएका विषयलाई पुनः नदोहोर्‍याउने तरिकाबाट योजना निर्माण गर्‍यौं । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका तीनैवटालाई हेरी हरेक पाठको उद्देश्य वा सिकाइलाई समेटेर हामीले योजना बनायौं । योजना निर्माणका क्रममा ‘यो कसरी होला ?’ भन्ने पनि प्रश्न उठेको थियो, ‘सम्भव त होला ?’ भन्ने प्रश्न पनि आएको थियो । तर जसरी पनि गर्नुपर्छ भन्ने दृढ अठोटले हरेक प्रश्नलाई चिर्दै हामी अगाडि बढ्यौं र योजना बनायौं । यो आवश्यक पनि छ भन्ने कुराले बढी प्रेरित गर्‍यो ।


हरेक विषयको सबै कक्षाको एक वर्षको शिक्षणलाई ६ महीनाभित्र शिक्षण गर्न पाठयोजना निर्माण र पावर पोइन्टमा शैक्षिक सामग्री तयार गर्ने कार्य हुँदैछ । कोभिड–१९ ले ल्याएको यो विषम परिस्थितिमा नयाँ अनुभव सँगाल्ने मौका मिलेको छ ।

उदाहरणका रूपमा कक्षा–१ को गणित विषयको योजना निर्माण गर्दा कक्षा–१ का विद्यार्थीलाई वर्षभरिमा के–के सिकाउनुपर्छ त्यो कुरा पाठ्यक्रमको गहन अध्ययन गरियो । सबै विषयको पाठयोजनालाई समग्रमा हेरेर कुनै पाठ अर्को कक्षामा पनि पढ्नुपर्ने रहेछ भने त्यसलाई सामान्य जानकारी मात्र दिने, त्यस्तै अघिल्लो कक्षामा पढिसकेको भए सामान्य रूपमा दोहोर्‍याउने कार्य मात्र गर्ने, पाठको उद्देश्य अनुरूप विद्यार्थीलाई सिकाउनुपर्ने कुरालाई प्राथमिकतामा राखी ६ महीनाको योजना बनाउने कार्य गरियो । जस्तै, १–१०० सम्म अङ्क र अक्षरको सिकाइका लागि एक महीना, १–१०० सम्म अङ्क र अक्षरमा लेख्न एक महीना, साधारण जोड र घटाउ सिकाउन एक महीना, गुणन र भाग सिकाउन एक महीना, सिक्का र नोटका बारेमा सिकाउन १५ दिन, ज्यामितीय ९ भिन्न, नाप, आकारहरू— १५ दिन, १–५ पहाडा एक महीना गरी सरलबाट जटिलका क्रममा ६ महीनाभित्र सबै विषयमा पाठ्यक्रमको उद्देश्य अनुरूप प्रभावकारी ढङ्गबाट कम्तीमा यस्तो महामारीको चपेटाको समयमा शिक्षण गर्न सम्भव हुने गरी योजना बनाएको छ ।

यस अनुरूप हरेक विषयको सबै कक्षाको एक वर्षको शिक्षणलाई ६ महीनाभित्र शिक्षण गर्न पाठयोजना निर्माण र पावर पोइन्टमा शैक्षिक सामग्री तयार गर्ने कार्य हुँदैछ ।

कोभिड–१९ ले ल्याएको यो विषम परिस्थितिमा नयाँ अनुभव सँगाल्ने मौका मिलेको छ । नेपाल सरकारले शैक्षिक सत्रलाई आर्थिक वर्षसँगै मिलाउन सके सम्भवतः थप तीन महीनामा पूरै वर्षको शैक्षिक कार्यक्रम गर्न अझ सहज हुनेछ । त्यसो नभए पनि चैत मसान्तसम्म ६ महीनाको अवधिमा हामीले चाह्यौं र गर्‍यौं भने असम्भव केही हुँदैन । हामीले गर्दै आएका अतिरिक्त क्रियाकलापहरूलाई घटाएर कुनै पनि शनिबार बाहेकका विदाहरू नलिई अहोरात्र खटिई विद्यार्थीको एक वर्षको पढाइमा बाधा नपर्ने गरी कार्य गर्न सकिन्छ । यसका लागि हामी शिक्षकहरूको लगनशीलता, मिहिनेत र गर्छु भन्ने भावना प्रचुर मात्रामा हुनुपर्छ । चाहना राखेमा असम्भव भन्ने केही कुरा रहन्न त्यसैले कर्म गर्दै जाने हो । फलको आशा भविष्यकै गर्भमा छ । अहिले नै किन चिन्ता गर्ने ?

प्रधानाध्यापक, श्री पञ्चकन्या आधारभूत विद्यालय, कामनपा–४, लम्टङ्गीन, काठमाडौं

commercial commercial commercial commercial