अंग्रेजी पढाउने पुराण सरको सरल काइदा !

प्रायः सबैको अनुभवमा, सरकारी स्कूलको मुख्य समस्या भनेकै अंग्रेजीको कमजोर पठन–पाठन हो । अभिभावकहरू ‘अंग्रेजी राम्रो हुने’ लोभकै कारण आफ्ना छोराछोरीलाई निजी अथवा बोर्डिङ स्कूलमा लैजान्छन् । तर मेहेनती शिक्षक फेला पार्न सक्ने हो भने सरकारी स्कूलमै पनि अंग्रेजीको पढाइ राम्रो हुन सक्छ भन्ने दृष्टान्त पेश गरेको छ — रामनगर, नवलपरासीको धान्याचल माविले । त्यहाँका शिक्षक पुराण गुरुङको अंग्रेजी सिकाउने विधि सरल छ, त्यसैले विद्यार्थीलाई अंग्रेजी विषय गाह्रो होइन सजिलो लाग्छ । एसएलसीमा पनि अंग्रेजीमा विद्यार्थी फेल हुन छोडेका छन् ।

कक्षा–१० को अंग्रेजी किताबको युनिट १४ मा ग्रुप फोटोग्राफ सम्बन्धी पाठ छ । पाठको विषयवस्तु बुझाउन एउटा चित्र पनि राखिएको छ, तर प्रष्ट छैन ।  सो पाठको कथावस्तु अनुसार सामूहिक चित्रको अग्रभागमा रहेको एकजना विद्यार्थीले हाफपाइन्ट (जाँगे) लगाएको छ भने बाँकी सबै स्कूल डे«समा छन् (हे. किताबको चित्र) । हाफपाइन्ट लगाएकै कारण कक्षामा आफू अपमानित हुनु परेको घटना उसले घरमा गएर बाबुआमालाई सुनाउँछ । तर बाबुआमा चाहिं केटाकेटीले हाफपाइन्ट लगाए पनि केही फरक पर्दैन भन्छन् । स्कूल डे«समै आउनुपर्ने कक्षा शिक्षकको दबाब अनि हाफपाइन्ट लगाए पनि हुन्छ भन्ने बाबुआमाको हप्काइले केटो तनावमा पर्छ । एक दिन कक्षा शिक्षकले ग्रुप फोटो खिच्नुपर्ने भएकोले सबैलाई डे«समा आउन भन्छन् । त्यसदिन छुट्टीपछि घर जाँदा त्यो केटाले बाटोमा साथीहरूसँग पाइन्ट माग्छ, तर उसलाई फिट हुँदैन । अनि घरमा गएपछि बाबुको पाइन्ट लगाउन खोज्छ, त्यो पनि फिट हुँदैन । भोलिपल्ट डे«स नभएकै कारण स्कूल जान मन नलाग्दा नलाग्दै पनि निराश हुँदै स्कूल जान्छ ।

उसलाई देख्ने बित्तिकै कक्षा शिक्षक रिसले मुर्मुरिन्छन् । साथीहरू पनि ‘हाँसको बीचमा बकुल्लो’ जस्तो ठानेर उसलाई ग्रुप फोटो खिच्दा सँगै राख्न मान्दैनन् । तर, प्रिन्सिपलले हाफपाइन्ट लगाए पनि ऊ त्यही कक्षाको विद्यार्थी भएकोले फोटो खिच्न दिनुपर्छ भनेपछि उसलाई अग्रभागमा राखेर फोटो खिचिन्छ । केही दिनपछि ग्रुप फोटो सूचनापाटीमा टाँसिन्छ । राम्रोसँग मिलेको स्कूल डे«समा रहेका सबै विद्यार्थीमाझ् ऊ भने हाँसोको पात्र बनेको देखिन्थ्यो । तर; उसले एक कपी फोटो घरमा लगेर देखाएपछि यो घटनाको यसरी सुखद् अन्त्य भएको देखाइएको छ कि फोटो देख्नासाथ बाबुको आदेशमा आमा तुरुन्तै स्कूल डे«स किन्न गइहाल्छिन् ।

विद्यार्थीलाई गाह्रो लाग्ने अंग्रेजी किताबका यस्ता विषयवस्तु सरल ढंगबाट बुझउने शिक्षकका आ–आफ्नै शैली हुन्छन् ।

नवलपरासी–बुटवल सडक खण्डको रामनगर बडेरा चोकबाट सय मिटर उत्तरको धान्याचल महायज्ञ माविका अंग्रेजी शिक्षक पुराण गुरुङ (३५) को पढाउने र बुझउने शैली अलि फरक खाले छ । १५ फागुनको शनिबार, दिउँसो ३ बजे यो संवाददाता उक्त स्कूलमा पुग्दा शिक्षक गुरुङ एसएलसीको तयारी कक्षामा विद्यार्थीलाई ल्यापटपबाट खिचिएको उनीहरूकै तस्वीर देखाइरहेका थिए । तस्वीरको अग्रभागमा देखिएको एकजनालाई हाफपाइन्ट लगाउन लगाइएको छ, पुस्तकमा जस्तै (हे. तस्वीर) । ग्रुप फोटोग्राफीबारे विद्यार्थीलाई सरल ढंगबाट बुझउन शिक्षक गुरुङले यस्तो अभिनय गराएका हुन् । किताबमा यसको शीर्षक नदिइएको भए पनि उनले सजिलो गरी बुझउन शीर्षक राखेका छन् ग्रुप फोटोग्राफी । ग्रुप फोटोग्राफीको प्रसंगलाई ल्यापटपमा देखाइएको सदृश्य वर्णनले विद्यार्थीमा कहिल्यै नमेटिने छाप बसेको छ ।

उनी हरेक विषयवस्तु यसैगरी सरलशैलीमा पढाउँछन् । कक्षाकोठमा पढाउँदा विषयवस्तुलाई तानेर विद्यार्थीको जीवनशैलीमा गाँस्न सक्ने यस्ता शिक्षक अपवादमा पर्छन् । शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, “सफल शिक्षकमा हुनुपर्ने सबैभन्दा ठूलो गुण त्यही हो, जसले पढाएको जस्तो नगरी विद्यार्थीलाई धेरै कुरा सिकाइदिन्छ ।”

कक्षाकोठालाई जीवन्त बनाउन सक्नु नै शिक्षकको सफलता हो । तर कति शिक्षक खेलकुद जस्ता विषय पनि बोर्डमै कोरेर पढाउन खोज्छन् । समाजमा पुराण गुरुङ जस्ता शिक्षक कम हुन्छन् तर तिनले विद्यार्थीका मनमा र समाजमा नमेटिने प्रभाव छाड्छन् । कक्षामा प्रवेश गर्नासाथ शिक्षक गुरुङ पहिले विद्यार्थीको मनस्थिति बुझ्हिाल्छन् । विद्यार्थीको चाहना अनुसार कहिले उनीहरूलाई किताब बाहिरको छलफलमा सहभागी गराउँछन् । तर जे कुरा गरे पनि त्यो विद्यार्थीका लागि प्रेरक र उपयोगी बनाउँछन् । विद्यार्थीलाई केही समस्या परेको भए उनी त्यसको कारण पत्ता लगाइसकेपछि समाधानको उपाय पनि विद्यार्थीमाझ्बाटै निकाल्ने प्रयास गर्छन् ।

शिक्षक गुरुङ कक्षामा पस्नासाथ कक्षाकोठाको वातावरणमै फरक रौनक छाएको देखिन्छ । उनी कक्षामा पसेपछि विद्यार्थीहरू केही न केही नयाँ कुरा सिक्न पाउने आशा राखेका हुन्छन् । हरेक विषयको रोचक र प्रयोगात्मक प्रस्तुतिलाई विद्यार्थी पनि मन्त्रमुग्ध भएर सुन्छन् । अंग्रेजी विषयलाई सरल ढंगबाट बुझउने मनोरञ्जनात्मक शैली विद्यार्थीले मन नपराउने कुरै भएन ।

यसैले यहाँका विद्यार्थीमाझ् अंग्रेजी कठिन होइन, सरल विषय हो भन्ने छाप परेको छ । शिक्षक गुरुङको मेहेनत र कलापूर्ण एवं सरल शिक्षण शैलीका कारण धान्याचल माविप्रतिको जनधारणामा नै सकारात्मक परिवर्तन आएको छ । यहाँ अंग्रेजी पढाइ राम्रो हुन्छ भन्ने सुनेका–थाहा पाएका अभिभावकले आफ्ना बच्चा बोर्डिङबाट झ्किेर यसमा भर्ना गराउन थालेका छन् । यसरी बोर्डिङबाट आउने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ ।

शिक्षक तथा विव्यसका अध्यक्ष ।

बोर्डिङ स्कूलमा शिक्षकहरूसँग यस किसिमको आत्मीय सम्बन्ध सम्भव नहुने विद्यार्थीको भनाइ छ । उनीहरूको अनुभवमा बोर्डिङ स्कूलले परीक्षालाई ध्यानमा राखेर विद्यार्थीलाई घोकन्ते विद्या सिकाउँछन् । तर यो स्कूलमा घोकाउने भन्दा सिकाउनेमा बढी ध्यान दिइएको विद्यार्थी बताउँछन् । रामनगर एकाडेमी भुमहीमा ६ कक्षासम्म पढेकी प्रकृति पोखरेल ७ कक्षादेखि यही स्कूलमा पढिरहेकी छन् । सरकारी स्कूल भएर पनि राम्रो पढाइ हुन्छ भन्ने सुनेर यो स्कूलमा भर्ना भएको पोखरेलको भनाइ छ ।

उनी भन्छिन्, “यहाँको सबैभन्दा राम्रो पक्ष भनेकै प्रयोगात्मक पढाइ हो ।” अंग्रेजी शिक्षकको मित्रवत् व्यवहार अनि हरेक विषयलाई स्थानीय सन्दर्भमा ढालेर बुझउने शैलीका कारण पनि अंग्रेजी अप्ठेरो विषय नभएको उनको बुझइ छ ।

कक्षा-७ सम्म पर्वतको स्कूलमा पढेका तिलक भट्टराई पनि यही स्कूलबाट यो वर्ष एसएलसी दिंदैछन् । यहाँ भर्ना भएपछि पढाइको चिन्ता नभएको भट्टराईको भनाइ छ । उनी भन्छन्, “हिजोका दिनमा म निकै कमजोर थिएँ, तर अहिले मलाई कुनै पनि विषय त्यति कठिन लाग्दैन ।” सबैभन्दा गाह्रो विषय लाग्ने अंग्रेजीमा अहिले नसोचेको सुधार भएको उनको अनुभव छ । पहिले पढेको स्कूलमा शिक्षकहरूले किताबमा भएको कुरा बाहेक केही पढाउँदैनथे तर यहाँ आएपछि बाहिरी कुरा पनि उत्तिकै पढ्न पाइएको भट्टराई बताउँछन् ।

पारिवारिक माहोल
शिक्षक गुरुङ कक्षामा बढीभन्दा बढी विद्यार्थीलाई अन्तरक्रियामा सहभागी गराउँछन् । फलस्वरुप बोल्न हिच्किचाउने विद्यार्थी पनि क्रमशः आफ्ना कुरा सबैका सामु राख्न सक्ने भएका छन् । सबैको सहभागिता बढाउनका लागि पढाइसकेपछि विद्यार्थीलाई बुझे–नबुझेको तत्काल सोधिहाल्छन् । त्यसो त सोधेको कुरा भन्न नसक्ने विद्यार्थीसँग कुनै वेला रिसाउँछन् पनि । अनि तत्कालै मायालु पाराले सोधिहाल्छन्, “के तिमी रिसायौ मैले यसो भन्दा ।” शिक्षकको यति नम्र व्यवहारबाट विद्यार्थी पनि रिसाउने कुरै भएन । प्रश्नको सही जवाफ दिने विद्यार्थीसँग हात मिलाउन उनी पुगिहाल्छन् । कुनैवेला अपेक्षा गरेभन्दा राम्रो जवाफ पाउँदा शिक्षक गुरुङ हौसिहाल्छन् । अनि उनी यस्तो जवाफ दिने विद्यार्थीलाई अंकमाल गरिदिन्छन् । जसले गुरु–चेला सम्बन्धलाई आत्मीय र घनिष्ठ त बनाएको छ नै साथै राम्रोसँग पढ्नका लागि थप हौसला समेत दिएको छ ।

यस्तो घनिष्ठ सम्बन्ध र आपसी छलफलबाट विद्यार्थीमा अन्तरनिहित प्रतिभा बाहिर निकाल्न मद्दत पुगेको शिक्षक गुरुङको अनुभव छ । शिक्षकसँगको यो निकट सम्बन्धका कारण विद्यार्थी आफ्ना समस्या खुलस्तसँग भन्न सक्ने भएका छन् । कतिसम्म भने कतिपय विद्यार्थी प्रेममा पाएको धोकाका कुरा पनि विना हिच्किचाहट यी शिक्षकसँग भन्न सक्ने भएका छन् । अनि कुनै दिन कसैले घरबाट खाजा खर्च ल्याउन बिर्सेको रहेछ भने त्यतिवेला उनैले पैसा सापटी दिन्छन् । विद्यार्थी पनि सापटी पैसा भोलिपल्टै फिर्ता गर्छन् ।  

त्यसो त उनी तिनै शिक्षक हुन् जो सुनवल क्षेत्रमै विद्यार्थी पिट्ने शिक्षक भनेर कहलिएका थिए, एक जमानामा । हिजोका दिनमा विद्यार्थीले गल्ती गर्नासाथ लट्ठीले हिर्काउने शिक्षक गुरुङ ‘वान मिस्टेक वान स्टिक’ अर्थात् एउटा गल्ती फेला पर्नासाथ एक लट्ठी हिर्काउँथे । “विद्यार्थीले गल्ती गर्नै हुँदैन भन्ने लाग्थ्यो”, विगत सम्झ्ँदै उनले भने, “यसले ठगेकै हो गोद्नु पर्छ भन्ने लाग्थ्यो मलाई ।”

तर पछिल्लो समय यातनाबाट सुधार नहुने रहेछ भन्ने महसूस गरेका शिक्षक गुरुङ अहिले ‘वान मिस्टेक, वान फिडब्याक’ मा विश्वास गर्छन् । अर्थात् गल्ती गरेमा विद्यार्थीलाई सम्झाइबुझाइ गर्नुपर्ने उनको भनाइ छ । त्यसैले कसैले कुनै दिन किन गृहकार्य बुझाउन सकेन भनेर उनी विद्यार्थीका घरघरमै पुगेर तिनका समस्यासँग परिचित हुन थाले । अनि थाहा पाए गृहकार्य नबुझएकामध्ये कतिले बाबु गुमाएका, कतिले परिवारमा अनेक समस्या भोग्नु परेको रहेछ । यस्तो समस्या आइपरेका वेला स्वाभाविक रूपमा उनीहरू एकाग्र भएर पढ्न सक्दैनन् । विद्यार्थीको यस्तै पीडा बुझेपछि कतिपयलाई आफ्नै भाइबहिनी ठानेर कापी–कलम पनि किनिदिए उनले । कुनै दिन कसैबाट गल्ती भएमा ‘तिमीलाई केही समस्या परेको छ ?’ भनेर सोध्न थाले उनले । अनि विद्यार्थीले पनि नढाँटीकन आफ्ना समस्या खुलस्त भन्न थाले ।

एउटा असल शिक्षकले विद्यार्थीका बारेमा जानकारी राख्नुपर्ने शिक्षाविद् माथेमा बताउँछन् । विद्यार्थीका बारे तथ्य नबुझी आफ्ना कुरा मात्रै राख्ने शिक्षक मेशीन बाहेक केही नभएको उनको भनाइ छ । “पढाइ भनेको केवल विषयवस्तुबारे जानकारी गराएर विद्यार्थीलाई सीप सिकाउनु मात्र होइन”, माथेमा भन्छन्, “विद्यार्थीले कस्तो संस्कार सिकेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।”    

पठनपाठनमय वातावरणका कारण सरकारी स्कूल भएर पनि यहाँको पढाइ उत्कृष्ट रहेको सहायक प्रधानाध्यापक रामराज श्रेष्ठको भनाइ छ । श्रेष्ठ भन्छन्, “विद्यालय समयमा मात्र होइन, अरू वेला पनि विद्यार्थीका घरमै पुगेर कसले के गरेको छ निगरानी गर्छौं, उनीहरूले नदेख्ने गरी ।” अभिभावकसँगको नियमित भेटघाट र छलफलले गुणस्तरमा थप सुधार भएको सहायक प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम तिवारी विद्यार्थीको नियमित अनुगमन र विद्यार्थी शिक्षकसँगको निरन्तरको अन्तरक्रियाले पछिल्लो समय सकारात्मक सुधार देखिएको उल्लेख गर्छन् ।

सफलताको कसीमा गुरुङ  
सुनवल–४ नवलपरासीका अंग्रेजी शिक्षक पुराण गुरुङले स्याङ्जाको अमरज्योति माविबाट एसएलसी गरेका हुन् भने महाकवि देवकोटा उमावि सुनवलबाट दश जोड दुई । बुटवल बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर पूरा गरेका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट बीएड गरेका छन् ।

प्राविमा पढाउँदै आएका उनी २०६४ देखि यही स्कूलमा पढाउँदै आएका छन् । हरेक दिन पढाइ सकेपछि विद्यार्थीको सिकाइ मूल्यांकनका लागि पालैपालो प्रश्न गर्ने उनको पुरानो बानी हो । तर यो स्कूलमा पढाएको पहिलो दिन आफूले के सिकें भनेर कसैले पनि भन्न सकेन । यो घटनापछि कक्षाबाट बाहिर निस्केका शिक्षक गुरुङ घोरिन थाले । बेलुका घर गएर विद्यार्थीलाई किन बुझउन सकिनँ भनेर सोच्न बाध्य भए । भन्छन्, “त्यस दिन मलाई साह्रै नमज्जा लाग्यो ।” रातभरि यसबारे सोचेपछि अन्ततः उनी एउटा निष्कर्षमा पुगे कि एक पटक विद्यार्थीको स्तर नजाँची भएन । यसबाट पत्ता लाग्यो पढेको कुरा नबुझनुको कारण विद्यार्थीको स्तर निकै कमजोर रहेछ । कक्षा–९ का विद्यार्थी अंग्रेजीमा यतिसम्म कमजोर पाइयो कि कतिपयलाई ए देखि जेडसम्म राम्रोसँग लेख्न समेत आउँदैनथ्यो । चार धर्के कापीमा अंग्रेजी कसरी लेख्ने भनी ९ कक्षाका विद्यार्थीलाई सिकाएको घटना स्मरण गर्दै शिक्षक पुराण भन्छन्, “कतिपय विद्यार्थीलार्ई क्यापिटल र स्मल लेटर छुट्याएर लेख्न पनि आउँदैनथ्यो ।” अरू त अरू कक्षाको पहिलो विद्यार्थीले समेत शुद्ध लेख्न नजानेको उनको भनाइ छ । त्यसपछि यी शिक्षकले एबीसीडी सिकाउन थालेका हुन् । विद्यार्थीले पनि के बुझे भने कक्षा–९ मा पुगेर पनि हामीले केही बुझेका रहेनछौं । यस्तो पढाइबाट पार पाउन नसकिने कुरा विद्यार्थीले शिक्षक पुराणबाटै सिकेका हुन् । शुद्धतामा ध्यान दिनुपर्ने कुरा उनीहरूले अहिले आएर बल्ल बुझेका छन् ।

शिक्षा कार्यालयले स्थायी र करारलाई मात्र शिक्षण विधिसम्बन्धी तालीम दिएका कारण उनले औपचारिक तालीममा भाग लिने मौका पाएका छैनन् । तर पनि पढाउने र बुझाउने शैली भने तालीम लिएका शिक्षकको भन्दा फरक खालको छ । एसएलसीमा सुधार सम्बन्धी शिक्षा मन्त्रालयले शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा सन् २००४ मा गठन गरेको कार्यदलको प्रतिवेदनमा पनि तालीम लिएका शिक्षकको पठनपाठन शैली अपेक्षाकृत राम्रो नदेखिएको उल्लेख गरिएको थियो । प्रतिवेदनले तालीमभन्दा पनि व्यवस्थापन महŒवपूर्ण हुनेमा जोड दिएको थियो । तालीममा विषयवस्तु सिकाउने तर शिक्षक कस्तो हुनुपर्छ भनेर नसिकाउने चलन छ, हामीकहाँ । त्यसकारण तालीममा विषयवस्तुसँगै शिक्षकमा हुनुपर्ने संस्कार पनि उत्तिकै महत्वपूर्ण हुने माथेमा बताउँछन् । तालीम नपाएर पनि पढाउँदा कसरी राम्रोसँग बुझउने भन्नेमै यी शिक्षक बढी केन्द्रित हुन्छन् । यति गर्दा पनि विद्यार्थीले कुनै दिन पढाएको बुझेनन् भने भोलि कसरी बुझाउन सकिन्छ भनेर खाली समयमा घोत्लिरहन्छन् उनी ।

कक्षामा पस्नुअघि पुराण घरैमा विषयवस्तुबारे गहिरो अध्ययन गर्छन् । विषयवस्तु राम्रोसँग बुझेपछि विद्यार्थीलाई पढाइप्रति रुचि जगाउनन उनले सम्बन्धित विषयको व्यावहारिक फाइदाबारे विद्यार्थीलाई प्रयोगात्मक विधि सिकाउँछन् । यसो गर्दा कक्षाका कमजोर विद्यार्थीले समेत पढाइप्रति ध्यान दिने गरेको शिक्षक गुरुङको अनुभव छ । सफलताका उदाहरण दिएर मात्र होइन, पढाइका हरेक सन्दर्भलाई स्थानीय विषयवस्तुसँग जोडेर उनी बुझउने प्रयास गर्छन् । जस्तो स्वीमिङ पुलको उदाहरण दिनु परेमा काठमाडौं स्वीमिङ पुल होइन, नवलपरासीकै सन्तपुरको पोखरीको उदाहरण दिन्छन् ।

२०७० मा जिल्ला शिक्षा कार्यालयले उत्कृष्ट पाँच जना शिक्षकको सूचीमा राखेर नवलपरासीका उनलाई आफ्ना अनुभव सुनाउन बोलाएको थियो । उनले आफ्नो अनुभव सुनाए, उनका विद्यार्थी अंग्रेजीमा पढाएको कुरा बुझछन्, लेख्न पनि सक्छन् । कुराकानी पनि अंग्रेजीमै गर्न सक्छन् । प्रयोगात्मक सामग्री पर्याप्त नहुँदा जुन स्तरको लेखाइ छ, त्यस अनुसार कुराकानी गर्न भने सक्दैनन् यहाँका विद्यार्थी । तर पनि एक जना शिक्षकको प्रयासले सरकारी विद्यालयका विद्यार्थीको अंग्रेजी पढाइमा आएको परिवर्तन धेरै शिक्षक तथा स्कूलका लागि पनि अनुकरणीय देखिन्छ ।

तस्वीरः रामजी दाहाल

शिक्षक मासिक

२०७२ चैत अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial