अरूको मन जित्न चाहनेहरूका लागि... !

अधिकांश मानिस आफ्नो बारेमा राम्रा कुरा सुन्न लालायित हुन्छन् नै । सबैको लागि प्रिय बन्न पाइओस्, अरूभन्दा आफू राम्रो भनेको सुन्न पाइयोस् र आफ्ना बारेमा राम्रा–राम्रा कुराहरू सुन्न पाइयोस् भन्ने चाहना हरेक मानिसमा हुन्छ भन्ने गरिन्छ । धर्तीमा सर्वगुणसम्पन्न मानिस भेट्न सहज नहोला । फेरि, कुन व्यक्ति के कति मात्रामा असल र उपयुक्त भनेर मापन गर्ने आधार केलाई भन्नेमा पनि एकमत हुन कठिन छ । तथापि; सबैका लागि नभए पनि धेरैका लागि असल बन्न अवश्य सकिन्छ । यस बारेमा धेरै अध्ययन–अनुसन्धान भएका पनि छन् ।

अरूको नजरमा असल र योग्य बन्न वा देखिनका लागि के गर्नुपर्ला त ? उत्तर सजिलो छ— व्यक्तिले आफ्नो व्यवहार सुधार्नुपर्छ, असल बन्नुपर्छ । असल बन्नका लागि केही मानक बनेका छन् । यसमध्ये सबैभन्दा पहिलो हो— व्यक्ति स्वयं सुध्रिनुपर्छ । व्यक्ति आफैं बदलिनुपर्छ । सबै वा अधिकको प्रिय हुनका लागि व्यक्तिले गर्ने काम ठीक गर्नुपर्‍यो, विधिसम्मत ढंगबाट काम गर्नुपर्‍यो, अरूको नजरमा पनि बेठीक हुनुभएन, अरूलाई बिझाउने हुनुभएन । यसमा यस्तै धेरै काम गर्नुपर्ने हुनसक्छ । सबै कुरा अरूले भनेबमोजिम गरेपछि व्यक्तिको आफ्नो के नै बाँकी रह्यो र ? भन्ने पनि हुनसक्छ । विज्ञहरूका अनुसार, सबैका नजरमा नभए पनि धेरैको नजरमा असल र योग्य बन्न सकिन्छ भन्ने छ ।

यस्तै विज्ञमध्ये एक अमेरिकन डेल कार्नेगीलाई मान्दा हुन्छ । उनले ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्यूलन्स पिपुल’ नामक पुस्तक सन् १९३७ मा प्रकाशित गरे । इन्टरनेटमा उपलब्ध तथ्याङ्क हेर्दा यो किताब अहिलेसम्म एक करोड ५० लाख प्रति बिक्री भएको देखिन्छ । यसमा इन्टरनेटबाट ईबुक डाउनलोड गरेर अध्ययन गर्नेको तथ्याङ्क समावेश छैन । यो किताब विभिन्न ३६ वटा भाषामा अनुवाद भइसकेको देखिन्छ ।

अरू मानिसको व्यवहार अध्ययन गरेर सोही अनुसार आफूले व्यवहार गर्न सकेमा असल र सफल बन्न सकिन्छ भन्ने उपयोगी सुझाव समाविष्ट यो पुस्तक वास्तवमै उपयोगी छ । यसको उपयोगिता आगामी दिनमा पनि रहने नै छ किनकि मानिसको व्यवहार अध्ययन गर्ने कार्य मानव जीवन रहेसम्म सान्दर्भिक नै हुन्छ । कार्नेगीका अनुसार व्यक्तिको वित्तीय सफलतामा १५ प्रतिशत भूमिका पेशागत ज्ञान–सीप (पेशाधर्मिता) को हुन्छ भने ८५ प्रतिशत भूमिका उसको क्षमतामा भर पर्छ, जस अन्तर्गत विचार व्यक्त गर्ने, निर्वाह गर्ने (नेतृत्व प्रदर्शन) भूमिका र मानिसहरूमा उत्साह जगाउन सक्ने कार्य पर्छन् । यो पुस्तक अन्य व्यक्तिसँग के कसरी व्यवहार गर्ने र उनीहरूको विश्वास के कसरी जित्ने भन्ने विषयसँग मात्र सम्बन्धित नभएर स्वयं व्यक्तिमा आनीबानी सुधार गरेर आफूलाई प्रभावकारी बनाउने कार्यसँग पनि सम्बन्धित छ । कार्नेगीले यो पुस्तकको अध्ययनबाट व्यक्तिका आठवटा व्यवहार सुधार गर्न सहयोग पुग्ने कुरा प्रारम्भमै उल्लेख गरेका छन्ः

सुधार गर्न सकिने ८ वटा व्यवहार

  • व्यक्तिले आफूले सोचेको दृष्टिकोणबाट बाहिर निस्केर सोच्न, नयाँ–नयाँ विचार खोजी गर्न, नयाँ–नयाँ दृष्टिकोण बनाउन र आफ्नो विचारमा नयाँपन दिन ।
  • छिटो र सजिलोसँग साथी बनाउन ।
  • आफ्नो लोकप्रियतामा सुधार गर्न ।
  • आफ्नो सोच अनुसार अन्य मानिसको विश्वास जित्न ।
  • आफ्नो प्रभाव विस्तार गर्न, प्रतिष्ठा बढाउन र काम गर्नका लागि आफ्नो क्षमता बढाउन ।
  • उजुरीहरू व्यवस्थापन गर्न, तर्क–वितर्क पन्छाउन, मानवीय सम्बन्धलाई नरम र आनन्ददायी बनाउन ।
  • राम्रो वक्ता बन्न एवं संवादलाई मनोरञ्जनपूर्ण बनाउन ।
  • साथी–संगीमा उत्साह जगाउन ।

प्रस्तुत पुस्तक चार भागमा बाँडिएको छ । पहिलो भागमा मानिससँग कस्तो व्यवहार गर्ने वा मानिसलाई कसरी ‘हेन्डल’ गर्ने भन्ने बारेमा केही आधारभूत उपायहरू बारे चर्चा गरिएको छ । दोस्रो भागमा आफूले सोचेका कुरामा अरूलाई कसरी विश्वस्त बनाउने भन्ने उपायहरू उल्लेख गरिएका छन् । यसैगरी आफ्नो सोचमा अन्य मानिसलाई कसरी ल्याउने वा कसरी अरूको मन जित्ने भन्ने विषय तेस्रो भागमा समाविष्ट छ भने चौथो भाग मानिसलाई प्रतिरक्षात्मक नबनाइकन कसरी परिवर्तन गर्ने भन्ने विषयसँग सम्बन्धित छ ।

मानिसलाई प्रभावकारी ढंगबाट कसरी ‘ह्याण्डल’ गर्ने भन्ने विषयमा कार्नेगीले तीन वटा सिद्धान्त सुझाएका छन् ।

  • अरूको आलोचना नगर्ने, अरूलाई दोष नलगाउने र अरूको निन्दा नगर्ने ।
  • अरूलाई इमानदार र निष्कपट ढंगबाट प्रशंसा गर्ने ।
  • अरू व्यक्तिमा भित्रैदेखिको चाहना जगाउने ।

पुस्तकको दोस्रो भाग अरूलाई आफूले सोचे जस्तै वा आफ्नो सोच अनुसार ढाल्न सक्ने बनाउने विषयसँग सम्बन्धित छ । यस भागमा ६ वटा सिद्धान्त उल्लेख गरिएका छन् ।

  • अरूप्रति साँच्चिकै रुचि राख्ने वा रुचि लिने बन्ने ।
  • मुस्कानयुक्त भइरहने ।
  • अरू व्यक्तिलाई नामले बोलाउने (मानिसलाई जुनसुकै भाषामा पनि आफ्नो नाम महत्वपूर्ण र मीठो लाग्ने हुन्छ ।)
  • असल श्रोता बन्ने, अरूलाई आफ्नो बारेमा बोल्न लगाउने वा प्रोत्साहन गर्ने ।
  • अरू व्यक्तिको चाहना अनुरूप कुरा गर्ने ।
  • अरू व्यक्ति महत्वपूर्ण छन् भनेर स्वीकार गर्ने र सोको महसूस अरूलाई पनि गराउने ।

पुस्तकको तेस्रो भाग आफ्नो सोच अनुसार वा आफ्नो सोचमा अरू व्यक्तिलाई कसरी ल्याउने भन्ने विषयमा केन्द्रित छ । यसका लागि कार्नेगीले १२ वटा सिद्धान्त सुझाएका छन्ः

  • तर्क–वितर्क गर्ने कार्यबाट टाढै रहने ।
  • अरूका विचारलाई पनि सम्मान गर्ने, र ‘तपाईं गलत हुनुहुन्छ’ भनेर कसैलाई पनि नभन्ने ।
  • आफूले गल्ती गरेको लागेमा त्यसलाई तत्काल सुधार गर्ने ।
  • मित्रवत् रूपमा व्यवहार शुरू गर्ने ।
  • अरू व्यक्तिबाट सकारात्मक प्रतिक्रिया आउने ढंगबाट संवाद शुरू गर्ने ।
  • सकेसम्म अरू व्यक्तिलाई कुराकानी गर्न लगाउने ।
  • निष्कर्षमा अरूले अपनत्व लिने वा आफ्नो विचार हो भन्ने अनुभूत गराउने ।
  • इमानदारपूर्वक अरूका आँखाबाट घटना र अवस्थालाई हेर्ने प्रयास गर्ने ।
  • अरूका विचार वा सोचलाई वा सोचप्रति सहानुभूतिपूर्वक व्यवहार गर्ने ।
  • उच्च, महान र उत्प्रेरणा जागृत गराउने विचारहरु प्रकट गर्ने ।
  • आफ्नो विचारलाई नाटकीकरण गर्ने ।
  • चुनौतीलाई तल झार्ने ।

पुस्तकको चौथो भाग अरू व्यक्तिलाई नचिढ्याइकन कसरी परिवर्तन गर्ने भन्ने विषयसँग सम्बन्धित छ । यसका लागि लेखकले ९ वटा सिद्धान्त उल्लेख गरेका छन्ः

  • अरूको प्रशंसा र इमानदारीपूर्वक पहिचान दिई संवाद शुरू गर्ने ।
  • अरूको गल्तीलाई अप्रत्यक्ष रूपबाट नोटिसमा ल्याउने ।
  • अरूको कमजोरीका बारेमा कुरा गर्नुभन्दा पहिले आफ्ना गल्ती र कमजोरीका बारेमा कुरा गर्ने ।
  • सोझो र प्रत्यक्ष निर्देशन दिनुभन्दा प्रश्न सोध्ने ।
  • अरू व्यक्तिलाई सुध्रिने मौका दिने ।
  • हरेक प्रयास र सुधारको प्रशंसा गर्ने, प्रशंसालाई शानदार ढंगबाट प्रस्तुत गर्ने ।
  • अरू व्यक्तिलाई प्रतिष्ठापूर्वक बाँच्न दिने ।
  • प्रोत्साहन दिने र कमजोरीलाई सुधार गर्न दिने ।
  • आफ्नो काम अरूलाई खुशी बनाई गर्ने वातावरण बनाउने ।

यो पुस्तक लोकप्रिय मात्रै नभएर वास्तवमै उपयोगी पनि छ । यो पुस्तक किन र कसरी लेखियो भन्ने बारेमा लेखक कार्नेगीले पुस्तकमा नै बताएका छन्, जुन आफैंमा पुस्तक लोकप्रिय बनाउन सहयोगी भयो । पुस्तक लेखनका निम्ति प्रकाशन गृहका प्रमुख मालिकहरूसँगको कुराकानीले लेखकलाई ऊर्जा प्रदान गरेको देखिन्छ । त्यस समयको अमेरिकामा पुस्तक प्रकाशन गर्ने काम चुनौतीपूर्ण मानिन्थ्यो किनकि धेरै प्रकाशक पुस्तककै कारण घाटामा थिए । तर कार्नेगीले प्रकाशकलाई यसमा सफलता दिलाए । कार्नेगीले यो पुस्तक अरूले किन पढ्ने भन्ने प्रश्नको उत्तर आफैंले दिएका छन् ।

कार्नेगी सन् १९१२ देखि विश्वविद्यालयमा पढाउँथे । त्यस क्रममा उनी आफ्नो प्रस्तुति कसरी प्रभावकारी र आकर्षक बनाउन सकिन्छ भन्ने सोचले उनलाई घच्घच्याइरहन्थ्यो । आफ्ना विद्यार्थीमा सीप र क्षमता के कसरी विकास गर्ने भन्नेमा उनी सोच्ने गर्दथे । प्रस्तुतिलाई सान्दर्भिक, विशिष्ट र उपयुक्त बनाउन के कस्तो तालिम दिन सकिएला भनी घोत्लिने गर्दथे । व्यापार व्यवसाय र कला क्षेत्रमा काम गर्नका लागि त मानिससँग कसरी व्यवहार गर्ने भन्ने विषयले अझ ठूलो अर्थ राख्दथ्यो । अनि कार्नेगी यही विषयमा अध्ययन गर्न लागिपरे । माथि उल्लेख गरिएको ‘१५ प्रतिशत र ८५ प्रतिशत’ को सूत्र उनी आफैंले पत्ता लगाएका हुन् । व्यक्तित्व विकास मार्फत अरू व्यक्तिलाई विश्वासमा लिन सकिन्छ, अरूको मन जित्न सकिन्छ र सजिलोसँग काम लिन सकिन्छ भन्ने निष्कर्ष उनले निकाले । उनले इन्जिनियरिङ उत्तीर्ण गरेका विद्यार्थीसँगको अन्तरक्रिया पछि तयार गरेको निष्कर्ष त अचम्मको छ । इन्जिनियरिङ पूरा गर्दैमा कुनै पनि विद्यार्थीले धेरै तलब आउने काम पाएनन् । तर जोसँग प्राविधिक सीप र अन्य वैयक्तिक क्षमता छ तिनले नै बढी तलब पाउने काम हात पार्ने गरेको पाइयो । यसबाट व्यक्तिमा योग्यता मात्रभन्दा पनि योग्यता र वैयक्तिक क्षमता बढी महत्वपूर्ण देखियो ।

कार्नेगी आफूले लेखेको पुस्तक सफल हुने कुरामा कतिसम्म ढुक्क थिए भने, ‘पहिला तीन भाग पढ्दासम्म पाठकमा यसले कुनै प्रभाव पारेन भने पुस्तक असफल छ भनेर मान्छु’ भनेर कबोल गरेका थिए । ‘यो पुस्तकको सबैभन्दा ठूलो उद्देश्य ज्ञान बाँड्ने होइन, काम गर्ने हो’ कार्नेगीले अन्तमा लेखेका छन् । पाठकलाई खोजी गर्न प्रेरित गर्ने, स्वयंलाई विकास गर्न प्रोत्साहन गर्ने, आफूसँग भएको तर प्रयोग नभएको पूँजी प्रयोग गर्न उत्साहित बनाउने काम पुस्तक अध्ययनबाट प्राप्त हुन्छ भन्ने उनको भनाइ छ ।

परिवर्तनका लागि व्यक्ति आफैं तयार हुनुपर्छ भन्नेमा द्विविधा छैन । भनाइको मतलब व्यक्तिलाई तयार गराउनुपर्छ । अब प्रश्न उठ्छ, व्यक्तिलाई कसरी तयार गराउने त ? यसका लागि बाहिरी दबाब र स्वस्फूर्त चाहना दुवै उपयुक्त हुनसक्छन् । यस पुस्तकले दबाबबाट परिवर्तन ल्याउने सामथ्र्य राख्दैन । तर व्यक्तिले उपाय खोजी गरेर आफूमा परिवर्तन ल्याउन सक्छ भन्ने हुटहुटी जगाउने सामथ्र्य यस पुस्तकमा छ । पुस्तक भित्रैदेखि पढियो भने यसले पाठकलाई छुन्छ, अझ बुझेर पढ्नेलाई त छिटै छुन्छ । जब भित्रैदेखि छुन्छ अनि परिवर्तनको हुटहुटी जागिहाल्छ ।

 

नौ सुझाव

कार्नेगीले पुस्तक अध्ययनकर्ताहरूलाई नौ वटा सुझाव दिएका छन्, जसले पाठकलाई पुस्तकतर्फ आकर्षित गर्ने सामथ्र्य राख्दछन्ः

  • आफूमा परिवर्तन ल्याउँछु, आफ्नो व्यक्तित्व विकास गर्छु, केही सिकाइ हासिल गर्छु भन्ने भित्रैदेखिको चाहना व्यक्तिमा चाहिन्छ ।
  • शुरूमा हरेक च्याप्टरलाई ‘वर्डस् आइ भ्यू’ बमोजिम अध्ययन गर्नु आवश्यक छ । त्यसपछि बुझेर, आनन्द लिंदै अध्ययन गर्ने र आफूलाई बदल्छु भनेर पढ्नु आवश्यक छ ।
  • पुस्तकमा दिइएका मेसेजहरूका बारेमा सोच्दै अध्ययन गर्नुपर्छ । यसले भन्न खोजेको के हो भन्ने बारेमा रोकिंदै सोच्दै अध्ययन गर्दा राम्रो हुन्छ ।
  • अध्ययन गर्दै जाँदा मैले यसलाई प्रयोग गर्न सक्छु भन्ने लाग्यो भने त्यसमा चिह्न लगाउँदै जानु उपयुक्त हुन्छ । आफूलाई मन परेको विषय वा विचारलाई विभिन्न ग्रेडमा छुट्याउन सके सो अझ उपयुक्त र सान्दर्भिक हुन जान्छ ।
  • अनुभवले व्यक्ति खारिंदै जाने हो । विगतलाई सम्झँदै आफ्ना कार्यमा सुधार गर्दै जाने हो । विगत बिर्सने गति आश्चर्यजनक हुन्छ । सम्झनुपर्ने विषयलाई दोहोर्‍याइरहनुपर्छ । गर्नुपर्ने काम दोहोर्‍याइरहनुको विकल्प छैन ।
  • व्यक्तिले भनेर भन्दा गरेर सिक्ने हुन्छ । यस पुस्तकमा दिइएका सिद्धान्तहरू मौका आउनासाथ वा अवसर पाउनासाथ प्रयोग गरिहाल्नुपर्छ । सीपलाई प्रयोग गरिएन भने बिर्सने सम्भावना बढी हुन्छ । समस्या आयो भने वा भएका समस्यासँग जुध्न सकिएन भने आफूले मार्क वा चिह्न लगाएका स्थानलाई पुनरावलोकन गर्न उपयुक्त हुन्छ ।
  • यसमा उल्लेख गरिएका सिद्धान्तहरू घर एवं कार्यालयमा टाँस्ने र आफूबाट त्यसको पालना नभएको अवस्थामा स्मरण गराउन लगाउने । घरमा परिवार सदस्यहरू र कार्यालयमा कर्मचारीलाई यस कार्यमा लगाउन सकिन्छ ।
  • व्यक्ति स्वयंले समय–समयमा आफ्ना कार्यहरू र त्यसको प्रभावका सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ । बेलुका बेडमा भएको समयमा आज दिनभर के–के काम गरें, गरेका कार्यहरू के कस्ता रहे, यसबाट के कस्ता प्रभाव वा असर सिर्जना भए होलान् भनेर आत्मसमीक्षा गर्नु आवश्यक छ । यसबाट सिकिने सबैभन्दा ठूलो पाठ भनेकै आज मेरो कमजोरी केमा रह्यो भनेर यकिन गर्नु हो । उक्त कमजोरी सच्याउने उपाय पनि सँगै सोच्नुपर्छ । अर्को दिन वा अर्को पटक उक्त कमजोरी सुधार्ने प्रण गर्नुपर्छ ।
  • हरेक भाग अध्ययन गरेपछि वा प्रत्येक सिद्धान्त अध्ययन गरेपछि त्यसका बारेमा केही लेख्नै पर्छ । राम्रा/नराम्रा वा प्रयोग गर्न सकिने नसकिने बारेमा समय, मिति, नाम र स्थान सहित लेखेर राख्नुपर्छ । त्यस्ता नोट केही समय वा वर्ष पछि अध्ययन गर्दा राम्रो लाग्छ, सुध्रिने वातावरण बन्छ ।

आफूलाई सबैले राम्रो भनुन् भन्ने मानवीय चाहना नै हो । चाहना राख्नु एउटा पक्ष हो । तर सोको लागि के कति प्रयास गरियो अर्को महत्वपूर्ण विषय हो । व्यक्ति राम्रो वा असल बन्नका लागि दुई वटा दृष्टिकोण महत्वपूर्ण हुन्छन् । योगी तथा ज्ञानीहरूले आत्माबाट नै असल बन्ने प्रयास गरे । आत्मा अनुशासनमा जोड दिए । सत्विचारमा जोड दिए । हुन त कतिपय ऋषिहरूका कमजोरी बाहिर सार्वजनिक नभएका पनि होइनन् । ऋषि पनि मानव भएको हुनाले उनीहरूमा कमी–कमजोरी देखिनु अस्वाभाविक भएन । सनातन पद्धति एउटा पक्ष हो । ऋषिका व्यवहार वैयक्तिक हुन् । सनातन पद्धतिले असल बन्नमा व्यक्तिको आन्तरिक पक्षमा जोड दिन खोजेको देखिन्छ । यसले कसैले देखोस् नदेखोस्, आफू स्वयं आफूप्रति निष्ठावान रहने कार्य यसमा हुन्छ ।

अर्कोमा प्रसिद्ध चिन्तक/साधक वि.के. शिवानीको भनाइ यहाँ उपयुक्त हुने देखिन्छ । व्यक्तिलाई प्रतिक्रिया जनाउनका लागि ‘स्टिमूलस’ त चाहिन्छ । तर ‘रेस्पोन्स’ कस्तो देखाउने भन्नेमा ‘स्टिमूलस’ का साथमा व्यक्तिको सोच वा विचार समेत महत्वपूर्ण हुन्छ । ‘स्टिमूलस’ कै सहयोगबाट सकारात्मक सोचतर्फ लगाउन सकिन्छ ।

पुस्तकको भाषा सरल छ । विषयवस्तुलाई प्रष्ट्याउन उदाहरणहरू सान्दर्भिक मात्रामा दिइएका छन् । ई–कपी पढेकोले साजसज्जा त देख्न पाइएन । तर पुस्तक एकपटक पढ्दा समय बर्बाद भएको पटक्कै लाग्दैन । बरु; नपढ्दा पछुतो लाग्न सक्छ ।

(लेखक वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौंडामा सचिव पदमा आसीन छन् । यस लेखमा व्यक्त धारणा उनका निजी विचार हुन् ।)

commercial commercial commercial commercial